बजार अनुगमन गरेको भन्दै व्यापारीहरूले गरे विरोध
काठमाडौं । सर्लाहीको हरिवनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीले विरोध गरेका छन् । अनुगमन टोलीले अचानक आएर बजार अनुगमन गरेको भन्दै आक्रोशित भएका स्थानीय व्यापारीले केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले अचानक हरिवन बजार आएर अनुगमन गरी सामान्य गल्ती, कमी–कमजोरीमा पनि जरिवाना तोकेको भन्दै हरिवनका व्यापारी आक्रोशित भएका उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष मोहन श्रेष्ठले बताए । कार्यालयले कुनै जानकारी नै नगराई आएको र अहिलेको देशको परिस्थितिअनुसार बजार अनुगमनको कुनै आवश्यकता नरहेको अध्यक्ष श्रेष्ठले बताए । बजार अनुगमन गर्नु स्वाभाविकै भए पनि अहिले देशको आर्थिक अवस्थाका कारण व्यापारीहरू आत्मदाह गर्ने अवस्थामा पुगेका र यो अवस्थामा गरिएको बजार अनुगमनले व्यापारीलाई डस्ने काम मात्र गरेको चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए । उनका अनुसार बजार अनुगमनका क्रममा अनुगमन टोलीले व्यापारीका सामान्य कमी–कमजोरीमा पनि सचेत गराउनुपर्नेमा एकैपटक जरिवाना तोकेका कारण हरिवनका व्यापारी आक्रोशित भएका हुन् । अनुगमन टोलीले अचानक आएर सामान्य कमी–कमजोरीमा पनि जरिवाना तोकेपछि आक्रोशित हरिवनका व्यापारीले केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि अनुगमन टोली फर्किएको अध्यक्ष प्रधानले बताए । उपभोक्ता संरक्षण ऐनअनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको टोलीले बजार अनुगमन गरेको निमित्त कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले बताए । । उनले राज्यले तोकेको कानूनको पालना गर्ने व्यापारीलाई अनावश्यक दुःख नदिएको बताए । ‘देशको आर्थिक अवस्था खराब छ भन्दैमा अनुगमन नै गर्नु नपर्ने भन्ने छैन, व्यापारीहरूले राज्यको कानून पालना गरेका छन् कि छैनन्, बजारमा कुनै गैरकानूनी कार्य भएका छन् कि छैनन्, व्यापार–व्यावसाय सञ्चालन गर्न नियमानुसार राज्यको कानूनमा बाँधिएका छन् कि छैनन् भन्ने विषयमा अनुगमन गरिएको र सचेतसमेत गराएको हो,’ निमित्त कार्यालय प्रमुख रेग्मीले भने । यता व्यापारीले अनुगमन टोलीले मानवीयता त्यागेर व्यापारीलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । स्थानीय व्यापारीको चर्को विरोधपछि अनुगमन समिति अनुगमन छाडेर फर्किएको छ ।
झापाका युवा बेसार खेतीतर्फ आकर्षित, मनग्य आम्दानी
झापा । कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक एक लाख ५० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएर बेसार खेती गर्न थालेको ३२ वर्षीय प्रदीपले बताए । ‘पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भयो’, उनले भने, ‘यसपटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ ।’ सुरुआतमा बजार नपाउँदा समस्या भएको थियो । ‘बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाले नलगेपछि त्यसै थन्कियो’, उनले भने, ‘थोरबहुत सहकारीले बीउका लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।’ स्थानीय सामग्रीको प्रयोग गरेर बेसार प्रशोधन गर्ने गरेको प्रदीपले बताए । काँचो बेसार नबेचिएपछि उनीहरुले साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालेका हुन् । बेसारको बीउसमेत बिक्री गर्ने गरिएको छ । बेसारको धुलो बनाएर करिब तीन हजार किलो बिक्री गरेको अर्का कृषक गोविन्दले बताए । बेसार खेतीबाट पहिलो उत्पादन गर्न १२ लाख रुपैयाँ खर्च भएको उनले बताए । खेतीमा अग्र्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ । धुलो बेसार प्रतिकिलो तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उनले बताए । ‘हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ता अर्कोपटक पनि हामीकहाँ नै आउनुहुन्छ’, गोविन्दले भने, ‘थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अग्र्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।’ व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लग्ने गरेका छन् । भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार दुई सयदेखि दुई सय ५० रुपैयाँमै बिक्री हुने भएकाले समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन् । यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई सात लाख रुपैयाँसमेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । ‘बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो’, उनले भने, ‘यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।’ झापामा व्यावसायिक बेसार खेती खासै नभएको उनको भनाइ छ । रासस
अणुब्रत महोत्सवका अवसरमा बृहत प्रभातफेरी सम्पन्न
काठमाडौं । नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ । विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरी मा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य थिए भने बिशेष अतिथिको रुपमा पूर्व मिसनेपाल उष खड्गी , बरिष्ठ गायक आनन्द कार्कि लगायतका बिशिष्ठ ब्यक्तिको उपस्थितिमा प्रभातफेरी गरिको थियो । प्रभातफेरीमा बिभिन्न बिधालयका बिधार्थि , समाजसेवी , बिभिन्न सम्प्रदायको प्रतिनिधि, बिबिध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व लगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो । प्रभातफेरीको पूर्व सन्ध्यामा सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरि अणुब्रतको आन्दोलन र अणुव्रतको बिषयमा जानकारी दिइएको थियो । अणुब्रत आन्दोलन सुरुवात भएको ७५ औ बर्षको अवसरमा आयोजीत यस अणुब्रत अमृत महोत्सव अणुब्रतका सिद्धान्तलाइ जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुब्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताएका थिए । उनले अणुब्रतका आचार संहिताको बारे पनि जानकारी दिएका छन् । अणुब्रत आचार्य संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने , कहि कसैलाइ आक्रमण नगर्ने , मानबिय एकतामा बिश्वास राख्ने , धार्मिक सहिष्णुतालाइ कायम राख्ने , व्यवसाय र व्यवहारमा प्रमाणिक रहने , ब्रम्हचर्य साधना र संग्रहमा सिमा निर्धारण गर्ने , सामाजिक कुरीतीलाइ प्रश्रय नदिने , नशामुक्त जिवन जिउने र पर्यावरण प्रति सधै सजक रहने जस्ता अणुव्रत नियम सबैले पालना गरे समाज सुन्दर हुने पनि बताएका थिए । सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल जैन परिषद्का पूर्व अध्यक्ष फूलकुमार लालवानि , नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र भटेरा , तेरापन्थ सभाका अध्यक्ष महाबिर संचेचि, सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष हरि शंकर निरौला , जैन महिला मण्डलका पूर्व अध्यक्ष शिल्पी जैन, तेरापन्थ महिला मण्डलकि अध्यक्ष अमिता नाहाटा नेपाल अणुब्रत समितिका निबर्तमान अध्यक्ष ज्योति बेगानी लगायतका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रभातफेरी सम्पन्न पछि मह जोडिले यस प्रभातफेरीले आफूहरुलाइ सकारात्मक उर्जा दिएको र अणुब्रतका हरेक बुदाले आफूलाइ भित्री रुपमा छोएको पनि बताएका छन् । प्रभातफेरी काठमाण्डौको जैन भवन बाट सुरु भएर सोभाभगवती , ज्ञानेश्वर , मैतिदेबि ,चारखाल हुदै पुन जैन भवनमा पुगेर टुंगीएको थियो । अणुब्रतको बारे जानकारी दिने उदेश्यका साथ आयोजीत यस प्रभातफेरी सफलतापूर्वक सम्पन्न भएको र अणुव्रतको यस अभियानलाइ सबैले प्रशसा गरेको कार्यक्रम संयोजक सुमित जैनले जानकारी दिएका छन् ।