भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला
काठमाडौं । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरिन् । जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेले अनुसार तीन दिने मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।
नेपाल विज्ञापन संघ आनको २३ औं साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित र्याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमको पहिलो सत्रको सहजीकरण संघका अध्यक्ष सोमप्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाईले गरेका थिए । दोश्रो सत्रको सहजीकरण भने संघका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरुमा मिडिया सोसाइटिका अध्यक्ष शुभशंकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिएि । कार्यक्रमकम सघंका सदस्य एजेन्सीहरुबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।कार्यक्रममा संघका अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउएका थिए । संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरेका थिए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गरे । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए । सञ्चार तथा सूचना प्रविधि सचिव अर्यालले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए । विज्ञापनको क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनीहरुलाई सम्मान समेत गरिएको संघले जनाएको छ । विज्ञापनदाता तर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डष्ट्रिज, एनआइसि एसिया बैंक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई सम्मान गरिएको संघले जनाएको छ । सम्मानित संघसंस्थाका प्रतिनिधिहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र संघका अध्यक्ष धितालले संयुक्त रुपमा अर्वाड प्रदान गरेका थिए ।
लालबन्दीबाट पाँच महिनामा ८३ करोडको तरकारी निकासी
सर्लाही ।लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९र८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ रुपैयाँको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रुपैयाँ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । साथै आव २०७८र७९ को अन्तिम असारमा ५५ लाख ५० हजार दुई सय किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार पाँच सय रकम आएको व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले बताए । उनका अनुसार आव २०७९र८० को पहिलो महिना साउनमा ५५ लाख ९१ हजार किलो तरकारीबाट २० करोड दुई लाख एक हजार सात सय ५० रुपैयाँ, भदौमा ४२ लाख ९२ हजार छ सय किलोको १८ करोड ८५ लाख ५२ हजार पाँच सय रुपैयाँ, असोजमा २५ लाख ६१ हजार आठ सय ७३ किलो तरकारीको २७ करोड ८० लाख ८३ हजार एक सय २५ रुपैयाँ, कात्तिकमा १५ लाख ३३ हजार नौ सय किलोको नौ करोड ६३ लाख ७८ हजार दुई सय ५० रुपैयाँ र मङ्सिरमा २५ लाख ९७ हजार चार सय किलोको सात करोड १० लाख ६८ हजार चार सय ५० रकम प्राप्त भएको हो । आव २०७९र८० को साउन १ गतेदेखि मङ्सिर मसान्तसम्म गरी पाँच महिनामा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभैँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गरेका कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष मगरका अनुसार देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ । लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फुलकोभी, बन्दा कोभी, घिराँैला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाजर, भिन्डी, परबल, रूख कटहर, वल, फर्सी, धनियाँको पात, कागती, उदुवा, मटरकोसा, प्याज र भेँडेखुर्सानी गरी १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । त्यसमध्ये सबैभन्दा धेरै परवल करिब एक करोड किलो निकासी भएको छ भने सबैभन्दा कम सिमी, रूख कटहर, धनियाँको पात, कागती, फर्सी, मटरकोसा, हरियो प्याज, वल, भिन्डी र झिँगनी निकासी भएको छ ।