बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार आठ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९८ दशमलव ५८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ
मुस्ताङबासीले बेचे एक वर्षमा ३३ करोडको आलु
म्याग्दी । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपालि नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उनका अनुसार मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष ३३ करोड रुपैयाँ मूल्य बराबरको छ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको उनले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो’, उनले भने, ‘कूल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।’ प्रतिहेक्टर जमिनमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ । ‘आलु एक पाथीको एक सय ५० देखि दुई सय १० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ’, उनले भने, ‘प्रतिपाथीमा औसत तीन किलो आलु हुन्छ ।’ उनका अनुसार बारीमा नखन्दै व्यापारीले अग्रीम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादन हुने आलुको स्वाद फरक हुन्छ । चिसो हावापानीका कारण आलुमा रोग किराको समस्या देखिएको छैन । मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् । मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौँ, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ ।
स्याङ्जाको एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री
स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए । ‘अहिले ठूला बगैँचाको सुन्तला ठेक्कामार्फत् एक करोडको बिक्री भइसकेको छ’, उनले भने, ‘अब साना बगैँचाका करिब सात लाख रुपैयाँ बराबरका सुन्तला बिक्री हुन बाँकी छ ।’ यहाँ उत्पादन भएका सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आइ बोट वा बगैँचा नै खरिद गर्छन् । तौल गरी बेच्दा प्रतिकेजी ६ देखि ७० रुपैयाँ मात्रै पर्ने भएकाले किसानले बोट नै ठेक्का दिने गरेका छन् । ‘गतवर्ष कति मूल्य थियो र अहिले कस्तो फलेको छ भन्ने आधारमा मूल्याङ्कन गर्छौ’, उनले भने, ‘अन्दाजी ४०र५० हजार फाइदा हुने गरी ठेक्का दिइने भएकाले बजार खोज्नुपर्दैन, ढुवानी तथा टिप्नका लागि कामदार पनि चाहिन्न ।’ गाउँमा रहेका २२ घरले न्यूनतम एक लाख ५० हजारदेखि बढीमा १३ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गरेको उनको भनाइ छ । सुन्तला बिक्रीबाट पाँच लाखभन्दा बढी आम्दानी गर्ने घरधुरीको सङ्ख्या धेरै छ । गतवर्ष यस गाउँबाट ८७ लाख ७४ हजार रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । यसवर्ष सुन्तला गतवर्षको तुलनामा धेरै र बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए । गत वर्ष एघार हजार सुन्तलाका बोट रहेपनि यस वर्ष तीन हजार तीन सय सुन्तलाका नयाँ बोट थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो । ‘यहाँ उत्पादन भएको सुन्तला सबै बिक्री हुँदैनन्’ उनले भने, ‘गाउँमा होमस्टे सञ्चालनमा रहेकाले यहाँ आउने पाहुना तथा आफन्तलाई कोसेलीस्वरुप सुन्तला दिने गरिएको छ ।’ यो गाउँको नाम पनि सुन्तालासँगै जाडिएको छ । अन्य समयको तुलनामा यस समयमा होमस्टेमा आउने पाहुनाको सङ्ख्यामा बढी हुनेगरेको छ ।