यसपाली चिनियाँ सामान पाउन मुस्किल, महँगिने भो दशैं

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै छ । अघिल्ला वर्षहरुमा दशैं आउन एक महिना मात्र बाँकी रहँदा आम नागरिकमा उत्साह र  बजारमा त्यतिकै चहलपहल हुन्थ्यो । मानिसहरु सपिङ गर्न ब्यस्त हुन्थे भने गाउँ लैजानका लागि सामान तयार पारेर बसेका हुन्थे । धेरैले बस वा जहाजकाे टिकट  पनि बुकिङ गरिसकेका हुन्थे । तर, त्यो माहोल यसपालिको दशैंमा देखिँदैन । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकोे कारण धेरै सर्वसाधारणहरु घर भित्रै रहेका छन् भने धेरैले यसपालिको दशैंमा घर जाने तयारी पनि गरेका छैनन् । यसपालिको दशैंमा धेरैले गाउँ जाने योजना पनि बनाएका छैनन् । अघिल्ला वर्षहरुमा एक महिना अगाडि नै टिकट बुकिङमा व्यस्त हुने नागरिकहरु यसपालि भने घर जाने कि नजाने भन्ने दुविधामा छन् । दशैं नेपालीहरुरुको लागि मिठो मसिनो खाने मात्र होइन शरिरमा चिटिक्क सफा लगाउने पर्वका रुपमा पनि चिनन्छ । धेरैले दशैंमा नयाँ नौलो कपडा मात्र होइन धेरै सामानहरु खरिद पनि गर्ने गर्छन् । तर, यस वर्षको दशैं नरमाइलो अर्थात खल्लो मात्र होइन महँगो पनि हुने पक्का छ । नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सामान चनबाट आयात गरिन्छ । अन्य देशको भन्दा चीनको सामान सस्तो पनि हुन्छ । तर, चीनबाट आउने सामानहरु विगत १० महिनादेखि नाकामै थन्किएको र नाका बन्द भएको कारण ती सामान नआउने पक्का र अरु दशैंका सामानहरु पनि नआउने भएपछि नेपाली बजारमा चीनको सामान पाउन मुस्किल हुने भएकाे छ । यसपालिको दशैंमा नेपाली बजारमा भारत, कोरिया, जापान लगायतका देशका कपडा तथा अन्य सामान मात्र हुनेछन् । नेपालमा आउने अधिकांश सामान स्थलमार्ग भएर आउँछ । स्थल मार्ग बन्द भएपछि सक्ने व्यापारीहरु जहाज चार्टर गरेर सामान ल्याउन थालेका छन् । यो पनि सामान महँगो हुने अर्को कारण हो । अहिले व्यापारीहरुले चर्को शुल्क तिरेर चीनबाट हवाई चार्टरमार्फत सामान ढुवानी गरिरहेका छन् । ढुवानी भाडा नै चर्को पर्ने भएपछि उनीहरुले अवश्य नै सामानको मूल्य पहिलेको भन्दा महँगोमा नै बिक्री गर्नेछन् । व्यापारी व्यवसायीहरुले यसपालिको दशैंमा बजारमा सामानको अभाव नहोस् भनेर महँगो ढुवानी भाडा तिरेर भएपनि चार्टरमार्फत सामान आयात गरिरहेको उनीहरुले बताएका छन् । यसले पनि महँगो हुन सक्नेछ । उसो त व्यापारीहरुले पहिलेको सामान पनि स्टक अवस्थामा रहेकोले त्यति धेरै सामान ल्याउन आवश्यक नभएको बताइरहेका छन् । नेपाली व्यापारीहरुले विशेषतः चीनबाट कपडा जुता लगायतका सामानहरु ल्याउने गरेका छन् । दशैंमा अधिकांश मानिसले खरिद गर्ने नै कपडा र जुत्ता हो । ती सामान स्थल मार्गबाट नआएपछि र ती सामानहरु अन्य देशबाट आयात भएपछि अब सर्वसाधारणहरुले महँगो मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता हुनेछ । चीनसँग व्यापार हुने प्रमुख नाका तातोपानी २०७२ को भूकम्पदेखि नै बन्द थियो । गत बैशाखमा केही दिनको लागि नाका खोलिए पनि कुनै एउटा ‘ताल फुटेर बाढी आउन सक्ने’ भन्दै तातोपानी नाका पुनः बन्द भएको छ । तातोपानी नाका बन्द भएपछि चीनसँगको स्थल व्यापारको केन्द्र बनेको रसुवागढी भन्सार नाका गत माघ १५ गतेदेखि बन्द छ । चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि बन्द गरिएको सो नाका बीचमा केही दिन खुलेपनि पुनः ठप्प छ । चीनले गत माघ १५ गतेदेखि बन्द गराएको रसुवागढी नाका गत असारमा १२ दिन जति खुलेको थियो । नाका खुलेको समयमा पहिरोको कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका पछि कोरोनाको कारण देखाउँदै बन्द गरिएको हो । त्यसपछि नेपाली ब्यापारीहरुले चीनबाट सामान ल्याउन सकिरहेका छैनन् । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले धेरै सामान व्यापारीहरुसँग स्टक नै रहेकोले पहिलेको मूल्यमा नै किनबेच हुने बताए । ‘चीनको सामानको मूल्य अन्य देशको भन्दा सस्तो नै हुन्छ, यसपालि चीनतर्फका नाकाहरु बन्द भएकोले भारत लगायतका देशहरुबाट सामान आयात भइहरेको छ, व्यापारीले सामान आफुले किनेको र त्यसमा केही नाफा लिएर बिक्री गर्नेछन्, ग्राहकलाई थोरै मात्रामा महँगो पर्न सक्छ, उनले भने । त्यति धेरै महँगो भने नहुने उनको भनाई छ । ‘६ महिनादेखि व्यापार नै भएको छैन्, व्यापारीले मूल्य बढ्ने बढाउने भन्ने कूरा हुन सक्दैन, अब चीनबाट आउँछ कि आउँदैन भन्ने कूराले पनि नेपाली बजारको मूल्य तय गर्ने छ,’ उनले भने । भारतबाट भने सामान आइरहेको उनले बताए । तर, भारतको सामान चीनको भन्दा महँगो हुने गर्छ । त्यसमा पनि कोरिया, जापान लगायत देशका सामानहरु महँगो हुने गर्दछ ।

अब ४३ लाख ९६ हजारमा हुन्डाई क्रेटा, यस्ता छन् नयाँ विशेषता

काठमाडौं । अब नेपालमा पनि हुन्डाई क्रेटा एसयुभी बीएस–६ मापदण्डको कार खरिद गर्न पाइने भएको छ । नेपालमा हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज भर्चुअल रुपमा सो कार सार्वजनिक गरेको हो । हुन्डाईले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै क्रेटा सार्वजनिक गरेको बताएकाे छ । सात रंगमा उपलब्ध रहेको सो कारको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ भने अन्य फिचरसहितकाे बढीमा ६५ लाख ९६ हजारसम्ममा खरिद गर्न पाइने छ । डिजेल र पेट्रोल दुवै इन्जिनमा भएका क्रेटा नेपालमा बीएस ४ (प्रदूषण मापदण्ड)को बिक्री हुँदै आएकोमा अब बीएस ६ को नयाँ गाडी बजारमा उपलब्ध भएको हाे। बीएस ४ मापदण्डमा बढी प्रदूषण उत्सर्जन हुन्छ भने बीएस–६ मा त्योभन्दा धेरै कम प्रदूषण उत्सर्जन हुने कम्पनीले जनाएकाे छ। ४ सिलिन्टर रहेको गाडीमा १६ भल्भ रहेका छन्। गाडीमा डिस र ड्रम ब्रेक सिस्टम रहेको छ। ५० लिटरको फ्युल ट्यांक रहेको छ। यस्तै, डिजेल इन्जिनको इ–प्लस १३ सय ९६ सीसीको हो भने एसएक्स १५ सय ८२ सीसीको गाडी हो। १‍.५ पेट्रोल इन्जिनका भेरिएन्ट सबै १५ सय ९१ सीसीका हुन्।

सबै कम्पनीका ग्यास सिलिण्डरकाे मूल्य २१०० रुपैयाँ

  काठमाडौं । नयाँ ग्यास सिलिण्डरको मूल्य कति ? काठमाडौं महानगरपालिका वडा नम्बर १४ लाम्पाटी स्थिति किराना पसल र ग्यास पसल चलाउँदै आएका प्रेम तिवारी बिहिबार विहान भने–‘कम्पनी अनुसार फरक फरक छ, नेपाल ग्यासको ४ हजार ५००, एभरेष्ट ग्यासको ४ हजार, साइवावाको ३ हजार ९ सय, त्रिशुलको ३ हजार ७५० रुपैयाँ । सरकारले ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँ तोकेको छ । तिवारीका अनुसार ग्यासको मूल्य घटाएपछि खाली सिलिण्डरको मूल्य नेपाल ग्यास ३ हजार १२५, एभरेष्टको २ हजार ६२५, साइबाबाको २ हजार ५२५ र त्रिशुलको २ हजार ३७५ रुपैयाँ हुन आउँछ । बुधबार नेपाल एलपी ग्यास उत्पादक संघले सबै कम्पनीका खाली ग्यास सिलिण्डरको मूल्य २ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य उपभोक्ताले तिर्ने मूल्य हो । ग्यास बिक्रेता तिवारीले भनेको मूल्य ग्यास उत्पादक संघले तोकेको मूल्यभन्दा प्रतिसिलिण्डर २७५ रुपैयाँ देखि १ हजार २५ रुपैयाँसम्म बढी हो । के ग्यास बिक्रेताले उपभोक्तासँग प्रति सिलिण्डरमा १ हजार २५ रुपैयाँ बढी असुल गर्दै आएका थिए ? नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष गोकुल भण्डारी भन्छन्–बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको र उपभोक्तालाई मर्काे परेको देखिएकोले एउटै मूल्य लागू गर्ने निर्णय भएको हो । ‘ग्यासको मूल्य सरकारले तोक्दै आएता पनि सिलिण्डरको मूल्य उद्योगले तोक्दै आएकोले बजारमा ग्यासको मूल्यमा एक रुपता थिएन । अब ग्यास र सिललिण्डर दुबैको मूल्य एउटै हुनेछ’ अध्यक्ष भण्डारीले भने–‘अब उपभोक्ता ठगिदैनन् । उत्पादक र विक्रेताले पनि अस्वस्थ प्रतिस्पर्धा गदैनन् ।’ फलामे ग्यास सिलिण्डरको उत्पादन लागत १ हजार ९५० रुपैयाँ रहेको र त्यसको ढुवानी खर्च, बिक्रेताले पाउने कमिसन, सरकारले लिने सबै जोडर प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिएको उनले बताए । यो मूल्य वाग्मती प्रदेशभर लागू हुने उनले बताए । ‘अहिले वाग्मती प्रदेशभर सबै उद्योगी बसेर एउटै मूल्य लागू निर्णय गरेको छौं । अरु प्रदेशमा पनि यस्तो व्यवस्था क्रमशः लागू गर्दै जाने छौं ।’ यसअघि उद्योगीले प्रति ग्यास सिलिण्डर १ हजार ७ सयदेखि २ हजार ६ रुपैयाँमा बेच्दै आएको र त्यसमा बिक्रेताले लागत र नाफा जोडेर बेच्दै आएको उनले बताए ।