लकडाउन प्रभाव: दैनिक १७.५ प्रतिशत दूध कम खपत

काठमाडौं । कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भएपछि काठमाडौंँ उपत्यकासहित देशैभरि दूध खपत घटेको हो । दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन् । निजी क्षेत्रअन्तर्गत सञ्चालित नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २० प्रतिशतभन्दा कम भएको छ । उनका अनुसार कोरोनाको प्रभावभन्दा अघि देशभर दैनिक ६२ लाख ५० हजार लिटर दूध किसानले उत्पादन गर्दै आएका थिए । किसानले उत्पादन गरेको दूधमध्येमा आधा आफैँले प्रयोग गरेर ३१ लाख ५० हजार लिटर बिक्री हँुदै आएको थियो । “बिक्री भएको दूधमध्ये काठमाडौँमा दैनिक रुपमा करीब चार लाख लिटर दूध खपत हँुदै आएको थियो तर कोरोना भाइरसको प्रभावपछि एक लाख ५० हजार लिटर मात्र खपत भएको छ”, उनले भने, “सरकारले अति आवश्यक वस्तुमा छुट दिने घोषणा गरे पनि हामीलाई प्रशासनले बेवास्ता ग¥यो ।” संस्थाले संकलन गरेका दूध बजारमा पु¥याउन सहज वातावरण नभएको र खोलिएका पसल सबै बन्द भएपछि कसरी दूध पु¥याउने भनी उनले दुखेसो गरे । काठमाडौँ उपत्यकामा खपत हुने दूधमध्ये निजी क्षेत्रको ६० र सरकारी स्वामित्वमा रहेको नेपाल दुग्ध संस्थान (डिडिसी) को ४० प्रतिशत दूध उपत्यकामा मात्रै खपत हुने गरेको थियो । डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेल किसान संघसंस्थाबाट नियमित रुपमा दूध संकलन भइरहेको बताउँछन् । उनका अनुसार लकडाउनअघि काठमाडौँ उपत्यकामा दैनिक ८८ हजार लिटर दूध खपत हुँदै आएको थियो, लकडाउनको अवधिमा ७२ हजार लिटर दूध खपत भएको छ । काठमाडौँ बाहिर भने करीब १५ प्रतिशत खपत घटेको बताइएको छ । “दैनिक १० देखि १२ हजार लिटर दूध कम खपत भएको हो, खपत नभएका दूधलाई हामीले पाउडर बनाएका छौँ”, उनले भने, “हामीले उत्पादन गरेका दूध नियमित रुपमा घरमा प्रयोग गर्ने ग्राहकहरुले लिइरहनुभएको छ, लकडाउन भए पनि खासै प्रभव परेको छैन ।” उनका अनुसार बिक्री नभएको दूध प्रयोग गरी संस्थानले विराटनगर र पोखराबाट दैनिक पाउडर दूध बनाइरहेको छ । पोखरामा निजी डेरीसँग मिलेर दैनिक २५ हजार लिटर पाउडर दूध र विराटनगरमा आफ्नै डेरीबाट ५० देखि ६० हजार लिटर पाउडर बनाइएको छ । पछिल्लो ६ महिनासम्मका लागि पुग्ने पाउडर तयारी अवस्थामा छ । कृृषि विकास मन्त्रालयको तथ्यांकानुसार हाल नेपालमा दर्ता भएर सञ्चालनमा आएका दुग्ध उद्योग करीब ८० छन् । दर्ता भएका दुग्ध उद्योगमध्ये प्रशोधनसहित सुविधा भएको दश लाख लिटर क्षमताका चालीस, १० हजारदेखि ५० हजार लिटर क्षमताका ३५/४० र १० हजार लिटरसम्म क्षमता भएका ४० जति रहेको उल्लेख छ । त्यस्तै डिडिसीका ८/१० डेरी सञ्चालनमा छन् । रासस

कम तौल भएको ग्यास सिलिण्डर बेच्ने बिरुद्ध ठगीको मुद्दा

काठमाडौं । कम तौल भएको ग्यासको सिलिण्डर बेच्ने बिरुद्ध ठगीको मुद्दा दायर गरिएको छ । चितवनको बाबा ग्यास र हेटौँडाको साहारा ग्यास माथि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ठगी मुद्दा दायर गरीएको छ । तोकिएको तौलभन्दा कम ग्यास भरिएको सिलिन्डर बजारमा बिक्री वितरण गरेको आरोपमा ठगी मुद्दा दायर गरीएको हो । बाबा ग्यासको सिलिण्डरमा ७ दशमलब १ किलो हुनु पर्नेमा ८ सय ३० ग्राम घटी र सहारा ग्यास उद्योगले पठाएको ग्यासमा १ सय ९५ ग्रामसम्म घटी फेला परेको थियो ।

अर्गानिक तरकारी तथा फलफूल मोबाइल भ्यानबाट बजारमा, दैनिक ३ हजार केजी बिक्री

काठमाडौं । व्यवसायिक घराना गोल्यान गु्रपले माटो ब्रान्डको अर्गानिक तरकारी तथा फलफूल लकडाउनको समयमा मोबाइल भ्यानबाट बजारमा बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नै ब्रान्ड र अन्य किराना पसल तथा स्टोरका सामानहरु पनि मोबाइल भ्यानबाट बिक्री सुरु गरेको हो । मोबाइल भ्यानबाट तरकारी तथा फलफूल गरी दैनिक ३ हजार केजी बिक्री हुने गरेको छ । लकडाउनको कारणले बजार धेरै पसलहरु बन्द छन् । संकटका बेला उपभोक्ताले खाद्यान्न,तरकारी र फलफूल सहज तरिकाले पाउने भनेर माटो बान्डले बिक्री सुरु गरेको हो । गोल्यान एग्रो प्रालिका निर्देशक लतिका गोल्यानले यस्तो बेलामा उपभोक्ताल सरल र सहज तरीकाले ताजा तरकारी तथा फलफूल उपभोग गर्न पाहुन भनेर मोबाइल भ्यान सञ्चालनमा ल्याएको बताइन् । बजारको अवस्था हेरेर सेवालाई बढाउँदै लैजाने पनि गोल्यानले बताइन् । कम्पनीले मोबाइल पसल चलाएको आज ५ दिन भइसकेको छ । एउटा मोबाइल भ्यानबाट सुरु गरेको तरकारी र फलफूलको माग बढन थाले पछि अर्को एउटा भ्यान थपेर सामान बिक्री बढाउन थालिएको छ । माग अनुसार भ्यान थप्ने माटो ब्रान्डको तयारी छ । भ्यान एक ठाउँमा डेढ घण्टा बस्छ र त्यस पछि अर्काे चोकामा जान्छ । लतिका गोल्यानले भ्यानले बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा दिने गरेको बताइन् । उनले भनिन् तरकारी, फलफुल र खाद्यान्न बिक्री नाफाभन्दा पनि सेवालाई ध्यानमा राखेको छौं । भ्यानले अहिले सबै प्रकारका तरकारी, फलफूल ताथा खाद्यान्न बिक्री बिक्री गरिरहेको छ । तरकारी, फलफूल तथा खाद्यान्नमा १ रुपैयाँ नाफा राखिएको माटो ब्रान्डले जाकारी दिएको छ । मोबाइल भ्यानमा १५ जना कर्मचारी खटिएका छन् । भ्यानले जावलाखेल चिडियाघर, रञ्जना गल्ली, छाँया सेन्टर, कमलादीको गणेश मन्दिर, झम्सिखेलको आर्मी ब्यारेक, बालकुमारीको वेस्टार रेसिडेन्सी, डिल्लीबजार चोक, ज्ञानेश्वर, नक्सालको भाटभटेनी, चुनदेवी, महाराजगञ्जको भाटभटेनी, सोल्टीमोड, जावलाखेल चिडियाघर, रञ्जना गल्ली, छाँया सेन्टर, कमलादीको गणेश मन्दिरलगाउतको ठाउँमा सेवा दिइरहेको छ । झापामा २ अर्ब लगानी गरी अर्गानिक तरकारी तथा फलफूल फर्म सञ्चालन गरि काउली, बन्द, टमाटर, फलफुल लगायतका उत्पादन भाटभटेनी र बिगमार्ट सहितका स्टोरहरुमा बिक्री सुरु गरेको थियो ।