जगदम्बा मोटर्सले ल्यायो “टिभिएस दशैंको दौड” योजना, निःशुल्क सहभागी हुने मौका
काठमाडौं । नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारीक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले “टिभिएस दशैंको दौड” योजना ल्याएको छ । उक्त योजनामा सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ । टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो । देशका विभिन्न भागहरुमा यसप्रकारको म्याराथन दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ । उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” योजनाप्रति उपभोक्ताहरुले उत्साहजनक रुची दर्शाएको बताएका छन् । रमाइलो दौड नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगी समापन हुनेछ । सबै उमेर सबै समुहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुट स्वरुप रु.१,०००÷प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथम हुनेलाई रु.५०,०००÷ त्यस्तै द्वितीय स्थानमा आउनेलाई रु.२५,०००÷ र तृतीय स्थानमा रहनेलाई रु.१५,०००÷ नगद पुरस्कार प्रदान गरिनेछ । काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकुमा रहेको टिभिएस शोरुमहरुमा आफै गई वा दौड शुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
कोहलपुर – सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने, अनुमानित लागत एक अर्ब ८० करोड
सुर्खेत । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत हुने तयारीमा रहेको र प्रसारण लाइन विस्तारका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिएका छन् । प्रसारण लाइन विस्तारले सुर्खेत–दैलेखवासीले लामो समयदेखि भोग्दै आएको ‘लो–भोल्टेज’को समस्या अन्त्य हुने उनको भनाइ थियो । उक्त लाइनको क्षमता विस्तारका सम्बन्धमा एक वर्षदेखि संसद्मा आवाज उठाउँदै आएका सुर्खेत–२ का सांसद नवराज रावतले निर्माण सम्पन्न नभएसम्म खबरदारी गरिराख्नुपर्ने बताए । “थुपै्रपटक उर्जा मन्त्रालय र विद्युत् प्राधिकरणमै पुगेर दबाब दिएपछि लाइनको क्षमता विस्तारको प्रक्रिया अघि बढेको हो”, उनले भने । प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले ‘इआइए’ अध्ययन गरेको थियो । आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सब–स्टेशनमा गएर टुङ्गिने उक्त प्रसारण लाइनको लम्बाइ करिब ५१ किलोमिटर हुने र ‘डबल सर्किटका एङ्गल टावर’ २६ वटा रहने छन् । आयोजनाको कुल टावरको सङ्ख्या १४५ रहने बताइएको छ । आयोजनाको अनुमानित लागत रु एक अर्ब ८० करोड लाग्ने जनाइएको छ । प्रसारण लाइनले घना बस्तीका मुख्य संरचना तथा वनक्षेत्रलाई समेत असर पुर्याउने अनुमान गरिएको छ । आयोजना क्षेत्रको स्थलगत सर्वेक्षणअनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सामुदायिक र सरकारी वन पर्नेछन् । प्रदेश ५ को बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र रहने सो आयोजनाका कारण बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगङ्गा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिका प्रभाबित हुने इआइए प्रतिवेदनमा उल्लेख छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको थियो । तत्कालीन राजा वीरेन्द्रको भ्रमणलाई मध्यनजर गरी छ महिनाको अवधिमा हतारहतार प्रसारण लाइन विस्तार गरिएको थियो । मापदण्डबिनै लाइन विस्तार गरिँदा सामान्य हावाहुरी र वर्षातमा पोल ढल्ने तथा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ । रासस
बाँकेबाट तीन हजार खसी काठमाडौँ ल्याइँदै
राँझा । यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिएका छन् । उनका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँ पठाउन लागिएको हो । काठमाडौँका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौँ पठाइने अध्यक्ष शाहले जानकारी दिए । भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँलगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ । महिला समूहमा आवद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् । महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एक पटकमा ५०० खसी बाख्रा राख्न मिल्ने नमूना केन्द्र निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए । यसलाई विस्तार गरी उक्त केन्द्रमा खसीको सङ्ख्यामा वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी दुई वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजार भन्दाबढी खसी सङ्कलन गरी बिक्री वितरण गर्ने योजना रहेको उनले बताएका छन् । रासस