जेष्ट आईडियोलोजी सहकारीको साधारण सभामा संस्कृतिविद् जोशीसहित बाँस्कोटा र यात्री सम्मानित
काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको छ । सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्री लाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले १० वर्ष अवधि पार गर्दा संस्थाले सबैको सहयोग प्राप्त गरेको तथा आम शेयर सदस्यहरुलाई उचित मुनाफा दिन सकेको बताउँदै नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोमा भ्रमण वर्ष सफल बनाउन संस्थाले आफ्नो भूमिका अब्बल बनाउने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टराईले भ्रमण वर्षमात्र नभई नेपाललाई पर्यटनको केन्द्र बनाउन सहकारी संस्थाहरुले आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गरे । संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीले संस्थाले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पु¥याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । कार्यक्रममा आईसिएकी निर्देशक एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कँडेल, राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराईले संस्थाले एक दशक पार गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
म्याट्रेस र कार्पेट बजारको पायोनियर हेरिटेज कार्पेट, ३ महिनाभित्र नयाँ उद्योग थपिदै
काठमाडौं । हेरिटेज कार्पेटका प्रबन्ध निर्देशक हेमराज ढकाल नेपालको म्याट्रेस र कार्पेट उद्योगको क्षेत्रमा सफल उद्यमीको रुपमा स्थापित छन् । उनले करिब ७० करोड रुपैयाँ लगानी गरेर सञ्चालन गरिरहेको हेरिटेज कार्पेट नेपालको म्याट्रेस र कार्पेट बजारको पायोनियर उद्योग हो । नेपालमा कार्पेट तथा म्याट्रेसको बजार बिस्तारै स्थापित हुँदै गएको छ । कार्पेट र म्याट्रेसको प्रयोग सहरी क्षेत्रमा मात्र सीमित छैन, यातायातका साधन पुगेका सबै जिल्ला, ग्रामिण क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ । ‘अहिले सहरी जीवनमा कार्पेट र म्याट्रेस प्रयोग अनिवार्य बन्दै गएको छ । उपभोक्तालाई म्याट्रेस र कर्पोटको प्रयोग गर्न सिकाएको हेरिटेजले नै हो’ गर्वका साथ ढकालले भने । मार्वल हाल्न महङ्गो पर्ने हुनेले कार्पेटको प्रयोग गर्न ग्राहकहरुले रुचाउँछन् । काठमाडौ तथा हिमाली जिल्लामा जाडो याममा तातो बनाउन समेत यो कार्पेट राख्नु राम्रो मानिन्छ । साथै, विदेशी मुलुकमा भने घरको भित्तामा समेत यो कार्पेट प्रयोग गरेको पाईन्छ । कार्पेट प्रयोग गर्दा तातो हुने मात्र नभई ग्राहकहरुले विविध फाईदाहरु उठाउँदै आएका छन् । कार्पेट प्रयोग भएको स्थानमा ग्राहकहरुले आफ्ना बाल बच्चा खेलाउन सक्छन् । कार्पेट सरसफाई गर्न समेत सहज हुन्छ । कार्पेटमा भ्याकुम लगाउन पनि सकिनेछ भने ब्रस लगाएर समेत सहजै सरसफाई गर्न सकिन्छ । अविकसित देशमा सस्तो दामका कार्पेट ग्राहकहरुको रोजाईमा पर्ने भएका कारण हाम्रो कार्पेटको नाम चलेको जस्तो लाग्छ । पहिलेपनि कार्पेट त पाईन्थ्यो, तर त्यसको मूल्य भने महङ्गो हुने गथ्र्यो । सोही कारण आर्थिक अवस्था कमजोर भएका ग्राहकहरुको घरमा कार्पेट ओच्छ्याईएको हुँदैनथ्यो । पहिले उपत्यका भित्र रहेका ग्राहकहरुले मात्र कार्पेट प्रयोग गर्थे भने उपत्यका बाहिर रहेका ग्राहकहरुले त्यति कार्पेट प्रयोग गर्दैनथे । संघर्षका दिन १६ बर्षअघिदेखि नै म्याट्रेस उत्पादनबाट बजार थालेको कम्पनीले सुरुवाती दिनमा स्वदेशी उत्पादन प्रति ग्राहक आकर्षित गर्न निकै सङ्घर्ष गर्नुपर्याे । पहिलोपटक नेपालमै ‘रवराइज्ड कोयर म्याट्रेस’उत्पादन शुरु गरेपनि यसको आयातित बजारसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई हम्मेहम्मै नै पर्याे । ‘म्याट्रेस भन्नासाथ विदेशीमात्रै हुन्छ भन्ने सोचबाट बाहिर ल्याउन नै धेरै समय लाग्यो’ ढकालको अनुभव छ । कम्पनीले अहिले ग्राफिक्स, जकार्ड, भेलोर, स्ट्राईप, १२ लाइन ड्रिब्स, रिब्डलगायत गरी विभिन्न प्रकारका कार्पेट उत्पादन गर्दै आएको छ । हेरिटेजका उत्पादन नेपालको ७७ जिल्लामा पुगेको उनले सुनाए । नेपालमै पहिलोपटक आधुनिक कम्प्युटराइज पद्धतिबाट कार्पेट उत्पादन सुरु गरेको कम्पनीले आफ्नो बजार विस्तारमात्र गरेन, आयातित कार्पेटको ४० प्रतिशत बजार हिस्सा नै विस्थापित गरिदिएको छ । ‘रिब्ड’ बाहेक नेपालमा सबै किसिमका कार्पेटको उत्पादन थालेकै हेरिटेज इण्डष्ट्रिजले नै हो । बढ्दो बजार पहिलेको अवस्थामा धेरै जस्तो कार्पेटको बजार विदेशीमा निर्भर रहँदै आएको थियो । अहिलेको अवस्थामा भने ६५ प्रतिशत बजार नेपाली उत्पादनले नै धान्न थालिसकेको अवस्था छ । ‘आगामी २ वर्ष भित्रमा नेपालले ९० प्रतिशत नेपाली कार्पेट प्रयोग गर्ने अवस्था छ । अपवादको रुपमा मात्रै बाहिरबाट मगाउने अवस्थापनि आउन सक्छ’ ढकालको विश्लेषण छ । बढ्दो बजार देखेर उद्योगमा थप लगानी गर्दैछन् र नयाँ उत्पादन ल्याउँदैछन् । उनले ६ महिना भित्र हेरिटेज कार्पेटले एम्बोसिङ्ग कार्पेट ल्याउने तयारी भईरहेको जानकारी दिए । अहिले ३ तहको सरकार आएको बेलामा बजारमा माग पनि बढ्ने भएकोले उद्योगको साईज बढाउन आवश्यक रहेको बुझाई छ । समस्या नेपालमा उद्योग चलाउने काम सजिलो छैन । तर राष्ट्रियता र स्वभिमानसँग जोडेर गर्वका साथ उद्योग चलाईरहेको छन् ढकाल । ‘ल एन्ड अर्डर अर्थात कानुनको पालना पहिलो आवश्यकता हो’ ढकाल भन्छन्–‘श्रम र यातायातका क्षेत्रमा उद्योगले भोग्दै आएका समस्या समाधान गर्न सरकारले सहयोग गर्नुपर्छ ।’ ल एन्ड अर्डर कमजोर भएकाले उद्योग क्षेत्रमा गाउँलेले एउटा–एउटा निहुँ खोजेर गाडी गुड्न नदिने समस्या भोग्नु परेको उनले सुनाए । त्यस्तै दस हजारमा ट्रान्सपोर्ट हुने चीजलाई ६० हजार तिर्नुपर्ने वाध्यता रहेको उनले सुनाए । सरकारले उद्योगलाई सहयोग गर्ने बलियो नीति लिनुपर्ने उनको सुझाव छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणि सदस्य समेत रहेका ढकालले सरकारले नीति निर्माण गर्दा व्यवसायीकहरुको राय सुझाव समेत लिन आवश्यक भएको बताउँछन् । ‘हामीले भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरू ठूलो परिणाममा उत्पादन गर्छन । सरकारले जमित उपलब्ध गराउँछ । मजदुरको समस्या आउँदा राज्यले उद्योगलाई सहयोग गर्छ । यातायात सेवा द्रुर्त र सस्तो छ’ उनले भने–‘यस्ता विषयमा राज्यले ध्यान दिने हो भने नेपाली उद्योगहरुले विदेशी उत्पादनसँग नेपालमा मात्र होइन, अरु देशमा पनि प्रतिस्पर्धा गर्न सक्छ ।’
साताको शेयर बजार, एक अर्ब ५६ करोडको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता पनि शेयर कारोवार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस ट्रेन्ड’ मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए । साताभरिमा नेप्से ३३.१९ अङ्कले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो । साताभर कूल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर रु एक अर्ब ५६ करोड तीन लाख ९९ हजार बराबरको कारोवार भयो । गत बिहीबार अर्थात् यही भदौ १९ गते नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरु भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । परिसूचक १२.६१ विन्दुले घटेर एक हजार १७८.४६ मा झर्यो । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहन पुग्यो । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो । सोमबार पनि बजारको अवस्था उस्तै रह्यो । त्यस दिन कूल १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर रु २९ करोड ९२ लाखमा कारोवार भयो । साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २।२४ विन्दुले घटेर एक हजार १६६.६७ विन्दुमा झर्यो । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद–बिक्री भए । बुधबार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोवार भयो । यस्तै साताको शुरूवातदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा पर्यो । सो दिन नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेन्जले यसै साता विभिन्न २१ वटा धितोपत्र व्यवसायीलाई मार्जिन कारोवारका लागि अनुमति प्रदान गरेको छ । मार्जिन कारोवार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि ‘मार्जिन कारोवारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उनीहरुलाई उक्त अनुमति दिइएको हो । मार्जिन कारोवारका लागि कर्जा प्रवाह गर्ने अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले दिने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्ने स्टकको विश्वास छ । त्यस्तो सुविधाबाट धितोपत्र कारोवारमा विस्तार भई अर्थतन्त्र थप चलायमान हुने नेप्सेको भनाइ छ । रासस