‘मास प्रिन्टर’ खरिद गर्दै यातायात व्यवस्था विभाग, एकैदिन ८ हजार लाइसेन्स छापिने

काठमाडौँ । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । विभागले चालक अनुमतिपत्र छपाइकै लागि १० लाख कार्ड मगाइएको उनले जानकारी दिए । “यो कार्ड र मास प्रिन्टर दुवै आएपछि सेवाग्राहीले छिट्टै र सजिलै चालक अनुमतिपत्र पाउनुहुनेछ”, उनले भने, “परीक्षा पास भएपछि महिनौँसम्म कुर्नुपर्ने छैन ।” ‘मास प्रिन्टर’ को खरीद मूल्य झण्डै रु पाँच करोड पर्ने उपाध्यायले जानकारी दिनुभयो । संविधानले यातायात व्यवस्थाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने उनले बताए । उनले भने, “प्रदेश सरकारले आफैँले प्रिन्टर किनेर अनुमतिपत्र छाप्न अझै केही वर्ष लाग्न सक्छ, त्यतिबेलासम्म विभागले नै छपाइ गर्छ ।” देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक तीन हजार रहेको विभागले बताएको छ । रासस

जनताको जलविद्युत् आयोजना कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने-पहिलो शेयर म किन्छु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गरे । कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरिद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले के कति परिमाणको शेयर खरीद गर्ने विषयमा जानकारी नदिनु भएपनि पहिलो शेयर किनेर सबै नेपालीलाई यस अभियानमा सहभागी हुन आग्रह गर्ने स्पष्ट पारे । उनले नेपाली जनताको सानोतिनो र निष्क्रिय रहेको पैसाको सदुपयोग गरेर जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्ने र सुखी नेपाली, समृद्ध नेपालको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिका लागि सबैको साथ र सहयोग जरुरी रहेको स्पष्ट पार्दै भने–, “केही मानिसलाई अचम्म लागेको र असम्भव ठानिएका विषयलाई समेत हामी क्रमशः अगाडि बढाउँदै लैजान्छौँ ।” प्रधानमन्त्रीले नेपालको समृद्धि र विकासका लागि आन्तरिक स्रोतको परिचालन र व्यवस्थापन नै महत्वपूर्ण भएको उल्लेख गर्दै अपुग भएको पैसा मात्रै विदेशी संस्थाबाट भित्र्याइने बताए । प्रधानमन्त्रीले धेरै मुनाफा हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्दै ससाना र निष्क्रिय बसेका पैसालाई गतिशील क्षेत्रमा परिचालन गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गरे । नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश भए पनि विगतका नीति र कार्यक्रमका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको एकाध वर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गरे । हरेक दिन सरकार एक कदम अगाडि बढेको जानकारी दिँदै उहाँले बुधबार कोही पनि नेपाली बेरोजगार बस्नु नपर्ने कार्यक्रमको शुरुआत भएको, आज मात्रै नेपालमा पानीजहाज कार्यालय खुलेको र जनताको लगानीमा जलविद्युत् आयोजनाको समेत शुरुआत गरिएको स्पष्ट पारे । वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान शुरु भएको बताए । कूल जनसङ्ख्याको ४० प्रतिशत युवा र ६० प्रतिशत बढी सक्रिय जनशक्ति भएको नेपालले एकाध वर्षमा ठूलो प्रगति हासिल गर्नेछ भन्दै प्रधानमन्त्रीले देश बनाउने महाभियानमा सबैको साथ र सहयोगसमेत जरुरी रहेकामा जोड दिए । उहाँले फरक एक प्रसङ्गमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई सफल बनाउन पार्टीको सबै तह सक्रिय भएर लागेको समेत जानकारी दिए । उनले भने, “हाम्रो पार्टीका हामी अध्यक्षद्वय (म र पुष्पकमल दाहाल ‘प्रचण्ड’) भवितव्यले बाटामा भेट भएका यात्री नभएकाले मिलेर देश बनाउने महाअभियानमा लागेका छौँ । हामी सुविचारित तवरले अगाडि बढेका छौँ ।” उनले कुरा मात्रै बोकेर जीविका चलाउनेहरुको दिन सकिएको छ भन्दै काम र परिणाममा लाग्नसमेत आग्रह गरे । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय सङ्कल्प पूरा गर्ने लक्ष्यका साथ सबै नेपालीलाई धनी बनाउने योजना अगाडि सारिएको बताए । उनले वर्तमान सरकारको सङ्कल्पका रुपमा रहेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अवधारणा सामाजिक न्यायसहितको हुने भएकाले त्यसमा यस कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने स्पष्ट पारे । यस्तै, ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सबै नेपाली नागरिकलाई शेयरधनी बनाउने लक्ष्यका साथ महाभियान शुरु भएको जानकारी दिँदै नेपालको विकासका लागि ऊर्जा क्षेत्रको विकास र त्यसमा जनसहभागिता नै महत्वपूर्ण विषय रहेको बताए ।

चिनी उद्योग संघका अध्यक्ष अग्रवाल भन्छन्-यसवर्ष उखु किसानका सबै पैसा भुक्तानी हुन्छ

काठमाडौं । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले विगतमा भुक्तानी गर्न नसकेको उखु किसानका सबै पैसा यसवर्ष भुक्तानी बताएका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग किसानलाई भुक्तानी दिन सहुलियत दरको ऋण लिनका लागि पहल भइरहेको समेत उनले बताए । सरकारले उखु कृषकलाई दिने भनेको अनुदानमा पनि जग्गाको लालपूर्जा पेश गर्नु पर्ने प्रवाधान गरेकाले अनुदान लिन पनि सकस भएको अध्यक्ष अग्रवालले बताए । तरकारीको मूल्य वृद्धि हुँँदा सरकार चुप लागेर बस्ने, तर चिनीको मूल्य केही मात्रामा बढ्दा पनि धेरै हल्लाखल्ला हुने गरेको अध्यक्ष अग्रवालको भनाई छ । चिनी उद्योग संघले विदेशबाट चिनी आयात गर्दा लाग्ने ३० प्रतिशत भन्सार शुल्कलाई ६० प्रतिशत पुर्याउन माग समेत गरको छ । नेपाली चिनी उत्पादनका लागत करिव ७७ रुपैयाँ ७४ पैसा लागत लाग्छ । सीमाक्षेत्रमा ३२ भारु अर्थात ५१.२ रुपैयाँमा चिनी पाइन्छ, जसका कारण नेपाली चिनीले विदेशी चिनीसंग प्रतिस्पर्धा गर्न नसकेको उनीहरुको भनाई छ । विदेशबाट विभिन्न बाटो हुँदै चिनी आयात हुने गरेको र त्यो चिनीसँग नेपालमा उत्पादित चिनीले प्रतिस्पर्धा गर्न नसकेका कारण चिनी बिक्री नभएको व्यवसायीहरुको भनाई छ । करिब २ सय ५० करोड बराबरको स्टक चिनी उद्योगीसँग रहेका कारण किसानलाई भुक्तानी दिन नसकिएको संघले जनाएको छ । संघका अनुसार श्रीराम सुगरले ९० करोड बक्यौता तिर्नुपर्नेमा अब करिब १३ करोड रुपैयाँ मात्रै बाँकी रहेको छ । अन्नपूर्ण १४ करोड रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, इन्दिरा सुगर फ्याक्ट्रीले ४ करोड रुपैयाँ तिर्न बाँकी छ ।