खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चाडबाड लक्षित सहुलियत पसल असोज २१ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा उक्त समयसीमा बढाएर माघ २ गतेसम्म पु¥याइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए । यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई रू दुई करोड ३२ लाख २० हजार बजेट उपलब्ध गराएको थियो । उक्त रकम बचत हुन गएमा त्यसपश्चात्का चाडपर्वमा पनि सहुलियत पसल सञ्चालन गर्ने निर्णयअनुसार निरन्तरता दिइएको सुवेदीको भनाइ छ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरा अहिलेको बजार मूल्यभन्दा प्रतिकिलो रू सातले सस्तोमा बिक्री वितरण भइरहेको छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो रू १० छुट दिइएको छ । खाद्य व्यवस्था कम्पनीले प्रवद्र्धन गरिरहेको ‘नेपाल फुड’ ब्राण्डका खाद्य सामग्रीमा यो अवधिसम्मका लागि निःशुल्क अनलाइन होम डेलिभरीको सुविधा पाइने पनि कम्पनीले जनाएको छ । खाद्य व्यवस्था कम्पनीको काठमाडौं उपत्यकासहित देशभरका ५० स्थानमा सहुलियतपूर्ण स्टल छन् । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस्ता पसलबाट खाद्य वस्तुमा बजार मूल्य नियन्त्रण हुने तथा गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलव्ध गराउने उद्देश्य सरकारले राखेको छ ।
एकैदिन तोलामा २४ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन घटेर प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शौर्य सिमेन्ट उद्योगले गर्यो भारतमा क्लिङ्कर निर्यात
काठमाडौं । शौर्य सिमेन्ट उधोगले भारतमा क्लिङ्कर निर्यातको शुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मंसिर १६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरेको हो । शौर्य सिमेन्ट उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको हो । यस क्लिङ्कर तथा सिमेन्टमा न्यून म्याग्नेसियम अक्साइड वा म्याग्नेशिया (एमजिओ) तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको कम्पनीले जनाएकाे छ । उद्योगले २०७८ माघबाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३ हजार मेट्रिक टन क्षमता रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपिसि (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।