मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

काठमाडौं । मुस्ताङबाट यस वर्ष ४९ करोड रुपैयाँ बढीको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए । ‘मुस्ताङमा फलेको मध्ये ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको छ’, उनले भने, ‘करिब पाँच सय मेट्रिक टन स्याउ बेमौसममा बिक्री गर्न चिस्यान गृहमा राखिएको छ ।’ कृषकले बिक्री गरेको सरदर प्रतिकिलो रु एक सय १० का दरले हिसाब गर्दा ४९ करोड २५ लाख २५ हजार मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रुपमा स्याउ किनेर लैजाने गर्छन् । धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका व्यापारी शिवाङ तामाङले बेनी, बागलुुङ र पोखराका बजारमा मुुस्ताङको स्याउको माग उच्च हुने गरेको बताउनुुभयो । पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको उनले भने । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छन् । मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ । मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ । करिब ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती गरिएको छ । गत वर्ष मुस्ताङमा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएकामा यसपालि २४ दशमलव ५८ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । ‘फूल खेलेर परागसेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेकाले उत्पादन घटेको हो’, उनले भने, ‘स्याउको फूल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेसन)हुन नपाउँदा उत्पादनमा असर परेको हो ।’ केन्द्रले मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैँचामा क्रम कटिङ विधिबाट उत्पादकत्वको विवरण सङ्कलन गरेर तथ्याङ्क बनाएको जनाएको छ । थासाङ गाउँपालिकाको कूल एक सय आठ हेक्टरमा पाँच सय ५१ दशमलव ८८ मेट्रिक टन, घरपझोङ गाउँपालिकाको दुई सय ८२ हेक्टर क्षेत्रफलमा दुई हजार चार सय दुई दशमलव ६४ मेट्रिक टन, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक सय ८३ हेक्टर क्षेत्रफलमा एक हजार नौ सय २३ दशमलव ३३ मेट्रिक टन, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १२ हेक्टरमा ९५ मेट्रिक टन र लोमान्थाङ गाउँपालिकाको शून्य दशमलव २५ हेक्टर क्षेत्रफलमा एक दशमलब ९९ मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष रु पाँच करोड मूल्यको स्याउ बिक्री गरेका घरपझोङ गाउँपालिका–२ स्याङका किसान कर्म गुरुङले यस वर्ष रु तीन करोडको मात्र स्याउ बिक्री भएको बताए । उनले बगैँचामा एक हजार पाँच सय बोट स्याउले उत्पादन दिन्छ । स्याउ टिपेर बजार पठाएपछि मुुस्ताङका किसान बगैँचामा व्यवस्थापनमा जुटेका छन् । सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्षसम्म कूल एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको थियो । यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिँचाइ, चिस्यान गृह निर्माणलगायत काममा किसानलाई सहयोग गरेका छन् । रासस

एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् । गत वर्ष खानेसहित बीउ आलु सात सय टन निर्यात भएको बताए । ‘यहाँ उत्पादित आलुको बीउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, खोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका छन्’, अध्यक्ष कँडेलले भने, ‘यी बाहेक अन्य जिल्लाका करिब ३० पालिकामा बीउ आलु निर्यात गरेका छौँ, आलुको गुणस्तर राम्रो भएकाले जातअनुसार ६५ देखि ७० टन सम्म सजिलै बिक्री भएको छ ।’ यहाँ डेढ सय हेक्टर क्षेत्रफलमा खुमल रातो, मुखल उज्ज्वल, जनकदेव, एनएस दशमलव तीन, कार्डिललगायत राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्रले अनुमोदन गरेका आलु उत्पादिन गरिन्छ । उनले आलु उत्पादक किसान भेला भएर बर्सेनि खाने र बीउ आलुको मूल्य निर्धारण भएपछि बजारमा पठाउने बताए। ‘सहकारीले बजारीकरणमा सहयोग गर्ने भएपछि यहाँका किसान आलु उत्पादनमा हौसिएका छन्’, कँडेलले भने, ‘आलुको गुणस्तर राम्रो भएकाले आलु खोसाखोस हुन्छ, माग धान्नै सकिँदैन ।’ ‘जिमुहाँको मुख्य पेसा आलु उत्पादन हो, आलु उत्पादन गरेका यहाँका प्रत्येक परिवार आत्मनिर्भर छन्’, उनले भने, ‘आलु र सागसब्जी फलाएर एकल महिलाले पनि वार्षिक रु पाँच लाखसम्म कमाउने गरेका छन् ।’ अध्यक्ष कँडेलका अनुसार यहाँ तीन सय किलोदेखि ४० टनसम्म आलु उत्पादन गर्ने कषक छन् । स्थानीय ७१ वर्षीय कृषक ज्योतिलाल ढकालले जिमुहाँमा सिँचाइ सुविधा आएदेखि बसाइँसराइ रोकिएको बताए । उहाँले यहाँका सामान्य परिवारले पनि आलु र अन्य सागसब्जी उत्पादन गरेर सजिलोसँग जीवनयापन गरिरहेको दाबी गरे । ‘यहाँ पानीको सुविस्ता भएदेखि मैले पनि तरकारी उत्पादन गरेर घर चलाएको छु, छोराछोरी काठमाडौँ पोखरा बसेर पढेका छन्’, उनले भने, ‘दूध बेचेर मासिक रु २५ देखि ३० हजार कमाइ हुन्छ, सागसब्जी बेचेर पनि राम्रो कमाइ गरेका छौँ ।’ शीतभण्डारमा प्राविधिकको काम गर्दै आएका नारायण अधिकारीले शीतभण्डार सञ्चालनपछि धेरैको जीवन फेरिएको बताए। ‘शीतभण्डार नहुँदा पोखरा, बुटवललगायतको शीतभण्डारमा महँगो मूल्यमा आलु भण्डारण गर्न लैजानुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले यहाँको शीतभण्डारमा कृषिउपज भण्डार गरेर उपयुक्त मूल्य पाउने समयमा बिक्री गर्दा धेरैलाई फाइदा भएको छ ।’ अधिकारीले शीतभण्डारमा सामान्य समस्या आए पनि ‘स्टक एसी’ भएकाले कृषि उपज नबिग्रने बताए । अध्यक्ष कंडेलका अनुसार यो वष सहकारीले रु १२ लाख ८३ हजार आम्दानी गरेको छ । ‘कार्यालय सञ्चालन, कर्मचारी, विद्युत्, ढुवानीलगायतमा वार्षिक रु सात लाख खर्च हुन्छ’, उनले भने, ‘शेयर धनीलाई पहिलोपटक रु आठ लाख र दोस्रो पटक रु चार लाख मुनाफा वितरण ग¥यौँ ।’ कँडेलले यसअघिको स्थानीय सरकारले रु १० लाखको जेनेरेटर, रु १० लामा कार्यालय भवन निर्माण गरिदिएको बताए। तर अहिलेको सरकारले कुनै पनि सहयोग नगरेको उनको गुनासो छ । नगरपालिकासँग विद्युत् महसुलमा छुट गरिदिन र नयाँ शीतभण्डारका लागि टाँड निर्माण गरिदिन कँडेलको आग्रह छ । जिमुहाँ शीतभण्डार सहकारीका रु एक करोड १८ लाख र एक करोड ५२ लाखका एकसय ५० टन क्षमताका दुई छुट्टाछुट्टै शीतभण्डार छन् । यहाँ आलु भण्डारका लागि छिमेकी जिल्ला पाल्पाका कृषक पनि आउने गरेका छन् । यहाँ कृषिउपज भण्डारण गर्दा सहकारीले प्रति किलोको रु सात लिने गरेको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेड २०७५ सालमा स्थापना भएको हो । रासस

एक करोड केजी चिया गोदाममा थन्कियो

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया व्यवसायीले सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको गुनासो गरेका हुन् । झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन गरेको करिब ५० देखि ६० लाख केजी सीटिसी चिया असोजदेखि गोदामै थन्किएको बताए । उनले चिया बिक्री नहुँदा मजदूरलाई समयमै पारिश्रमिक दिन नसकेको बताए । उनले चिया उद्योगी व्यवसायीको संरक्षणमा सरकार उदासिन देखिएको आरोप लगाए । उनले भने, ‘सरकारले अक्सन सेन्टर मात्र स्थापना गरिदिए पनि हाम्रो चिया ब्रोकरमार्फत विश्व बजारसम्म पुग्थ्यो । यस्तो समस्या हुने थिएन ।’ यसैगरी, ग्रीनहिल टि–इण्डस्ट्रिज इलामका प्रबन्धक गोपाल दाहालले कोशीका एक सय ७० वटा साना ठूला उद्योगले उत्पादन गरेको अर्थोडक्स चिया बिक्री नभएको बताए । उनका अनुसार हाल प्रत्येक उद्योगका गोदाममा ३० हजार केजीका दरले तयारी चिया थन्किएको छ । चिया तथा कफी विकास बोर्डका प्रवक्ता  दीपक खनालले नेपालमा सिटिसी चियाको ५० प्रतिशत खपत हुने र बाँकी भारत निर्यात हुने गरेको बताए । उनले सिटिसी चिया आधा खपत हुने मुलुकमा अर्थोडक्स चिया भने १० प्रतिशत मात्र खपत हुने र ९० प्रतिशत भारतलगायत तेस्रो देश निर्यात हुने गरेको जानकारी दिए । सिटिसी चियाको तुलनामा अर्थोडक्स चिया महँगो हुने हुँदा मुलुकमा कम खपत हुने गरेको उनको भनाइ छ । चिया व्यवसायी रामचन्द्र उप्रेतीले चियाको गुणस्तर मापन गर्न सरकारले क्वाटिली टि टेस्टर स्थापना गर्ने, नेपालमा उत्पादित चियाको गुणस्तरबारे जानकारी गराउन सूचना केन्द्र स्थापना गर्नसके तेस्रो मुलुक चिया निर्यातमा सहज हुने बताए ।  रासस