गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाकै प्रतिष्ठित इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्समा उत्कृष्ट प्रदर्शन गर्दै ‘द बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको छ ।  बैंकले ‘बेस्ट एआईरएमएल इम्प्लिमेन्टेसन’ विधामा समेत उत्कृष्ट अवार्ड जित्नुका साथै ‘बेस्ट एमएसएमई एण्ड एक्सेलेरेसन’ विधामा रनरअप बन्न सफल भएको हो । इण्डियन च्याम्बर अफ कमर्शले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंकलाई सम्मान गरिएको हो ।   कार्यक्रममा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो । गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए ।  यसअघि सन् २०२४ मा सम्पन्न दोस्रो संस्करणमा पनि बैंकले बेस्ट एसेट म्यानेजमेन्ट विधामा रनरअप अवार्ड प्राप्त गरेको थियो । हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएम र अत्याधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत सेवा प्रवाह गरिरहेको छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई राजधानीस्थित र्‍याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता बैंक र होटलबीच सम्पन्न भएको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले होटलको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित र्‍याडिसन होटलमा खाना तथा पेय पदार्थ र फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एयरपोर्ट लाउन्ज, रेस्टुरेन्ट तथा ट्राङ्क्विलिटी स्पामा १५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ । ग्राहकले यो सुविधाको उपभोग गर्न एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले १ अर्ब रकम संकलन गर्न सफल

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रवर्द्धन र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले निर्धारित १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो फण्ड, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य नवीकरणीय स्रोतमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा योगदान पु‍र्‍याउने उद्देश्य यस फण्डले लिएको छ । लक्ष्मी सनराइज क्यापिटलले फण्डप्रति देखाइएको विश्वास र निरन्तर समर्थनका लागि सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गरेको छ ।