नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले भदौ १८ गते नै सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ । यसअघिका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले भने राजीनामा दिएका छन् ।
एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी
काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरूलाई थप सुविधा उपलब्ध गराउन बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ । साझेदारीअनुसार एनएमबि बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, होटलका रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे मा खानेकुरामा, बेकरीका सबै सामानमा र स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट सुविधा पाउनेछन् । बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटबीच छुट सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानी गरे १० प्रतिशत छुट प्राप्त गर्नेछन् । ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्दा छुट सुविधा लिन सक्नेछन् । बैंकले यस सहकार्यले ग्राहकलाई सहज सुविधा मात्र नभई देशभर डिजिटल भुक्तानी प्रवर्द्धन गर्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।