वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बन्यो कामना सेवा विकास बैंक, ९.१९ प्रतिशत बढ्यो नाफा
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गर्ने कामना सेवा विकास बैंक पहिलो बनेको छ । बैंकको गत वर्ष खुद नाफा ९.१९ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब १३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशत बढेर ३१ करोड २५ हजार रुपैयाँ, कुल सञ्चालन खर्च ४.१९ प्रतिशत बढेर २ अर्ब ६३ करोड २६ लाख रुपैयाँ, सञ्चालन नाफा १.९७ प्रतिशत बढेर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको गत वर्ष वितरणयोग्य नाफा ४७.७१ प्रतिशत बढेर ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष वितरण गर्न मिल्ने नाफा ४१ करोड १२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ७ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ र जगेडा कोष १३.७३ प्रतिशत बढेर २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन ६.३८ प्रतिशत बढेर ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ र कर्जा लगानी ८.६७ प्रतिशत बढेर ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३७ पैसा बढेर १८.१० रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ । अघिल्लो वर्ष ३.३६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष सामान्य बढेर ३.३८ प्रतिशत पुगेको छ ।
लिलाम सम्पत्ति खरिद गर्न चाहनुहुन्छ ? एनआईसी एशिया बैंकको डिजिटल पोर्टलमा हेर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैंकिङ तथा गैर-बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । यस पोर्टलमार्फत बैंकले लिलाम बिक्रीमा ल्याइएका सम्पत्तिहरूको विवरण जस्तै कित्ता नम्बर, क्षेत्रफल, सम्पत्तिको फोटो, नक्सा, र लोकेशन (गुगल म्यापसहित) सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ । लिलाम सूचना प्रकाशनमा रहेको त्तच् कोड स्क्यान गरेर सो पोर्टलमा पहुँच गर्न सकिनेछ । त्यहाँबाट इच्छुक व्यक्तिले सम्पत्तिबारे थप जानकारी आवश्यक भएमा म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना लेखी सोधपुछ गर्न सक्ने सुविधा समेत राखिएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमा नियमित रूपमा लिलामसम्बन्धी सम्पूर्ण सूचना अद्यावधिक गरिनेछ। यसले बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितोमा रहेको सम्पत्तिहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि अत्यन्त उपयोगी र पारदर्शी माध्यमको रुपमा काम गर्ने बैंकको विश्वास छ । एनआईसी एशिया बैंकले डिजिटल माध्यमको प्रयोगद्वारा सम्पत्ति खरिद–बिक्री प्रक्रिया थप प्रभावकारी, पहुँचयुक्त र सहज बनाउन उक्त पहल सार्वजनिक गरेको हो ।
सानिमा बैंक र दराजबीच सहकार्य : ‘महाबचत बजार २०८२’ योजनामा छुट
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग महाबचत बजार २०८२ योजनामा छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।