अधिकांश बैंकले घटाए ब्याजदर, हिमालयन र स्ट्याण्डर्ड चार्टर्ड बैंकले बढाए
काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन् । आज साउन १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । साउनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर ५.७ प्रतिशतमा झरेको छ । साथै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.२६ प्रतिशत घटेर ४.११ प्रतिशत कायम भएको छ । बैंकको निक्षेपको ब्याजदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि स्वतः घट्नेछ । साउनमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ग्लोबल आइएमई बैंक, माछापुच्छ«े बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् भने स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले ब्याजदर बढाएका छन् । हिमालयन बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.५० प्रतिशत बढाएर ६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ५ प्रतिशत ब्याजदर पुर्याएको छ । यसअघि असारमा व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०१ प्रतिशत बढाएर ६.२६ प्रतिशत पुर्याएको छ । यसअघि असारमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । तर, यस बैंकले संथागत मुद्दती निक्षेपमा भने ब्याजदर स्थिर राखेको छ । कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०५ प्रतिशत घटाएर ५.४० प्रतिशत र संस्थागततर्फ ०.९५ प्रतिशत घटाएर ३.५० प्रतिशत ब्याजदर तोकेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ०.३० प्रतिशत बढाएर व्यक्तिगततर्फ ६.२ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०५ प्रतिशत घटाएर ५.४० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१० प्रतिशत घटाएर ५.६१ प्रतिशत र संस्थागततर्फ ०.४० प्रतिशत घटाएर ४.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.३५ प्रतिशत र संस्थागततर्फ ४.३५ प्रतिशत ब्याजदर निर्धारण तोकेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ५.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । संस्थागततर्फ भने असारकै ब्याजलाई यथावत राखेको छ ।
सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते अन्तिम दिन रहेको छ । असार २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आजसम्म लगानी गर्न सकिनेछ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
१६८ छोरीलाई प्रभु बैंकको मुद्दती खाता उपहार, २० वर्षका लागि ५ हजार रुपैयाँ जम्मा
काठमाडौं । बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत २ वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरूप प्रदान गरिएको जनाएको छ । नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगर प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा ५ हजार रुपैयाँका दरले ८ लाख ४० हजार रुपैयाँ जम्मा गरिसकेको बताए । नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक बागलुङ शाखामा खाता खोली नगद ५ हजार रुपैयाँ नगरपालिकाले जम्मा गरिदिएको हो । ‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘१३औँ नगर सभाद्वारा पारित नीति तथा कार्यक्रम अन्तर्गत अहिलेसम्म १६८ जना छोरीहरूको २० वर्षे मुद्दती खाता उपहार दिइएको छ, छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने नगरको नीतिअनुसार हो, त्यही अनुसार मुद्दती खातमा चक्रीय ब्याज आउने गरी कार्यविधि निर्माण गरेर बैंकसँग सम्झौता गरिएको छ ।’ परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरको छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो । नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एक पटक ५ हजार रुपैयाँ जम्मा गर्ने प्रावधान छ । सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ । नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका-२ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका उक्त कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दत्त कँडेलले जानकारी दिए । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको कँडेलको भनाइ छ ।