ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर हस्तान्तरण
काठमाडौं । ग्रामीण भेगमा सुरक्षित मातृ–शिशु स्वास्थ्य सेवाको अभावलाई मध्यनजर गर्दै ज्योति विकास बैंकले काभ्रे जिल्लाको मंगलटार स्वास्थ्य चौकीमा नवजात शिशुहरूको ज्यान जोगाउन अत्यावश्यक उपकरण ‘बेबी वार्मर’ (न्यानो नानी) प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत उक्त मेसिन हस्तान्तरण गरेको हो । मंगलटार, रोशी गाउँपालिका–९ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरू, स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई विज्ञ मार्फत बेबी वार्मरको सञ्चालनसम्बन्धी विशेष तालिम पनि दिइएको छ । ग्रामीण क्षेत्रमा हाइपोथर्मिया (शरीरको तापक्रम असामान्य रूपमा घट्नु) को जोखिम उच्च हुने भएकाले यस्तो उपकरण अत्यावश्यक हुने भन्दै बैंकले शाखा नपुगेका दुर्गम क्षेत्रमा पनि यस्ता सेवा विस्तार गरिरहेको जनाएको छ। ज्योति विकास बैंकले हालसम्म देशभर ६२ वटा बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिसकेको छ। यी उपकरणहरूबाट हालसम्म करिब ११ हजार ४७० नवजात शिशु प्रत्यक्ष रूपमा लाभान्वित भइसकेको बैंकको तथ्याङ्क छ । वर्षेनी झन्डै २ हजार २९४ नवजात शिशुलाई जीवनरक्षक सेवा पुर्याउन सफल भएको बैंकको दाबी छ । सामाजिक उत्तरदायित्वप्रति गहिरो प्रतिबद्धता राख्दै ज्योति विकास बैंकले आफ्नो खुद मुनाफाको उल्लेखनीय हिस्सा यस्ता समाजोपयोगी कार्यमा खर्च गर्दै आएको छ । बैंकका अनुसार हालसम्म अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशतभन्दा बढी रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याइएको छ । बैंकले कर प्रणालीमा समेत उल्लेखनीय योगदान दिँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँ राजस्वमा योगदान गरेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा झन्डै १५ करोड रुपैयाँ राज्यको खातामा बुझाइसकेको जनाएको छ ।
माछापुच्छ्रे बैंकले महाकाली प्रादेशिक अस्पताललाई दियो वाटर चिलर
धनगढी । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी अस्पताल महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण गरेको छ । गर्मीको चाप र पिउने पानीको अभावलाई ध्यानमा राख्दै बैंकले अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र, धनगढीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले संयुक्त रूपमा वाटर चिलर महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टलाई हस्तान्तरण गरे । अस्पतालमा दैनिक सयौं बिरामीको आवागमन हुने भए पनि पिउने स्वच्छ पानीको पर्याप्त व्यवस्था नहुँदा समस्या भइरहेको जानकारी पाएपछि बैंकले उक्त सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ । यस सहयोगबाट अस्पताल सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।
‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकलाई आगामी वर्षका कार्यक्रम बनाउन सहज हुनेछ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयन मुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनीयता राखिएको हो । खरेलले भने, ‘राष्ट्र बैंक ऐनले पनि आगामी बर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ । यही महिनामै ल्याउनुपर्ने हो । कहिले यही महिनाको अन्त्यमा त कहिले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरिएको छ । विगतमा बजेट आउन ढिलो हुँदा मौद्रिक नीति आउन समय लाग्ने गरेको थियो । १/२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौँ । नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै कार्यान्वयनको गति बढ्नेछ ।’ नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनु अगावै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उनको विश्वास छ । पौडेलले भने, ‘यो मौद्रिक नीतिको ठूलो स्टेक होल्डर बैंक वित्त संस्था हो । बैंक तथा वित्तीय संस्थाले आगामी वर्षमा गर्नुपर्ने कार्यक्रमहरू, योजनाहरू बजेटहरुलाई पनि यो मौद्रिक नीतिले दिशा निर्देश गरेअनुसार कार्यान्वयन गर्न सहज हुनेछ । अब आगामी आवको योजनाहरू बैंक तथा वित्तीय संस्थाहरूले मौद्रिक नीतिलाई आधार बनाएर बनाउन सक्नेछन् ।’ उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको बताए ।