दिगो र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई स्वागत गर्दै यसले दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणतर्फ स्पष्ट मार्गचित्र कोरेको बताएको छ । सीबीफीनले हालको आर्थिक एवं वित्तीय चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै नीति निर्माणमा अवलम्बन गरिएको सन्तुलित, समयसापेक्ष र उदार दृष्टिकोणले बैंकिङ क्षेत्रको मनोबल र आत्मविश्वास उकास्ने काम गरेको उल्लेख गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरू पूँजीकोषको दबाबमा रहेको अवस्थामा, मौद्रिक नीतिले कर्जा विस्तार सहज बनाउने, वित्तीय स्थायित्व कायम गर्ने र कर्जा व्यवस्थापनमा लचकता ल्याउने सकारात्मक संकेत दिएको सीबीफीनको भनाइ छ । साथै निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिमा भइरहेको वृद्धिलाई सम्बोधन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि ऐन तथा नियम निर्माण प्रक्रिया अगाडि बढाउनु, आवासीय कर्जा तथा सेयर धितो कर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जाको लचिलो मार्गदर्शन लगायतका प्रावधानलाई सिबिफिनले सुधारमुखी कदमका रूपमा मूल्याङ्कन गरेको छ । यसबाहेक, 'ऋणीसँग नेपाल राष्ट्र बैंक' कार्यक्रमको व्यावहारिक कार्यान्वयन, सम्पत्ति शुद्धीकरण निवारण रणनीति, लघु तथा साना व्यवसायमा कर्जा सहजीकरणजस्ता विषयले वित्तीय प्रणालीको सुधारमा टेवा पुर्‍याउने विश्वास परिसंघले व्यक्त गरेको छ । सीबीफीनले दिगो बैंकिङ विकासका लागि लगानी प्रवद्र्धन, युवा जनशक्तिको परिचालन, उत्पादनमूलक उद्यमको प्रवर्द्धन, हरित लगानी र नवप्रवर्तनको विकास जस्ता बुँदामा केन्द्रित थप सुझावहरू पनि मौद्रिक नीतिमा समेटिनुपर्ने बताएको छ । ती सुझावहरू आगामी निर्देशन र समीक्षा प्रक्रियामार्फत सम्बोधन हुने अपेक्षा पनि सीबीफीनले व्यक्त गरेको छ । सङ्गठनले राष्ट्र बैंकसँग सहकार्य र सहयोग गर्दै नीतिहरुको प्रभावकारी कार्यान्वयनमा सहायक बन्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

नबिल र ग्लोबलको प्रतिस्पर्धा, ५४ अर्ब रुपैयाँ नाफा गर्दा ३ बैंक करोड क्लबमा सीमित

काठमाडौं । वाणिज्य बैंकहरुले ११ महिनामा ५४ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  ११ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा गरेर दोस्रो स्थानमा रहेको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईमबि)ले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, जेठसम्ममा प्राइम बैंकले २ अर्ब ९० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड रुपैयाँ, माछापच्छ«े बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले ९० करोड ५३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् ।

मौद्रिक नीति पछि पहिलो पटक ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएपछि मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७१ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ साउन १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।