राष्ट्रिय वाणिज्य बैंकको १० नयाँ स्थानमा शाखा विस्तार, शाखा संख्या ३०७ पुग्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा नयाँ शाखा विस्तार गरी कारोबारको शुभारम्भ गरेको छ । नयाँ शाखाहरू धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा सञ्चालनमा आएका छन् । यससँगै बैंकका शाखा संख्या ३०७ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो उपस्थिति कायम गरेको छ । हाल बैंकसँग ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम तथा ७३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले पहुँच विस्तारसँगै वित्तीय समावेशीकरणलाई बल पुर्याउँदै सेवा सहज, सरल र सुलभ बनाउने उद्देश्य लिएको जनाएको छ ।
ज्योति विकास बैंकका ग्राहकका लागि होटल मारकोपोलोमा छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौंको हात्तिसारस्थित होटल मारकोपोलोमा छुट दिने समझदारी गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटलको रेस्टुरेन्ट सेवा तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न क्षेत्रका व्यवसायहरूसँग सहकार्य गर्दै छुट तथा सुविधाहरू प्रदान गर्ने रणनीति अघि बढाएको छ । यसअघि पनि बैंकले ललितपुरको ‘बेक्ड एन्ड सर्भ’ मा १२ प्रतिशतसम्म, काठमाडौंको ‘भ्यू थ्री हन्ड्रेड सिक्स्टी डिग्री रिसोर्ट’ र ललितपुरको ‘प्याराडाइज हिल्स’ मा १० प्रतिशतसम्म छुट दिने समझौता गरिसकेको छ । ज्योति विकास बैंकले ग्राहक अनुभवलाई समृद्ध बनाउने उद्देश्यका साथ यस्ता सहकार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।
नेपाल एसबिआई बैंक एनपीएस नेसनल कार्ड स्वीचमा आबद्ध, डिजिटल सेवा विस्तार
काठमाडौं । नेपाल एसबिआई बैंकले डिजिटल बैंकिङ सेवा विस्तारको दिशामा थप महत्वपूर्ण कदम अघि बढाउँदै एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड सँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । सम्झौता पत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रम प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।