बैंकिङ प्रणालीमा ५१ अर्ब तरलता, बुधबार राष्ट्र बैंकले ५ अर्ब उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता तिहारअघि पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको थियो । तिहाललगतै बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता रहेको अधिकारीको भनाई छ । राष्ट्र बैंकले एक साताका लागि तरलता प्रशोचन गर्न लागेको हो । कात्तिक १५ गते परिपक्व हुने छ । तिहारअघि प्रशोचन गरेको ५ अर्ब रुपैयाँ बुधबार परिपक्व भएर पुनः बैकिङ प्रणालीमा जाने भएपछि केन्द्रीय बैंकले प्रशोचन गर्न लागेको हो । ४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । यो समेत गरी केन्द्रीय बैंकले २१ अर्ब रुपैयाँ बढी तरलता प्रशोचन गरेको छ । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।
सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ मात्र
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ५१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकको खुदनाफा २ करोड रुपैयाँ बढीले घटेको छ । बैंकले मंगलबार चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्दे नाफा घटेको जानकारी दिएको हो । असोजसम्म बैंकले ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको निक्षेप परिचालन ५० अर्ब ३१ करोड रुपैयाँ थियो । गत आवको सोही अवधिको तुलनामा यो वर्ष बैंकको निक्षेप परिचालन ४ अर्ब रुपैयाँ बढेको जानकारी दिएको छ । चालु आवको असोजमा बैंकले ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ४३ अर्ब ७३ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा चालु आवमा बैंकको कर्जा लगानी ७ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेर १.९९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १.७३ प्रतिशत थियो । यस्तै बैंकको पुँजीगत लागत दोब्बर बढेर ८ प्रतिशत नाघेको छ । गत आवको सोही अवधिमा बैंकको पुँजीगत लागत ४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.६२ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा छ । संचित वचत १ अर्ब ७४ करोड रुपैयाँ छ । बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ नाघेको छ ।
मंसिर ६ गते नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ८.५० प्रतिशत ब्याज दिने
काठमाडौं । वार्षिक साढे ८ प्रतिशत ब्याज दिने गरी नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्न लागेको छ । आउदो मंसिर ६ गते सरकारको तर्फबाट राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ५ वर्षका लागि बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको ब्याज भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र खरिद गर्न पाउने सीमा घटिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक बराबर पाउने राष्ट्र बैंकले जनाकारी दिएको छ । नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने व्यवस्था गरिएको छ । कात्तिक १२ गतेदेखि मंसिर १ गतेसम्म बिक्री खुला गरी मंसिर ६ गते बचतपत्र निष्कासन हुने छ । बचतपत्रको साँवा भुक्तानी ०७९ मंसिर ६ गते हुने राष्ट्र बैंकले जनाएको छ । चालु आवमा सरकारले नागरिक बचतपत्र उपकरणबाट ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।