अन्तर बैंक निक्षेप नीतिबाट राष्ट्र बैंक पछि हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्रोत, कर्जा र निक्षेप (सीसीडी) को अनुपात गणना सम्बन्धि निर्णयबाट पछि हटेको छ । राष्ट्र बैंकले बुधबार पुनः अर्को निर्देशन जारी गर्दे सीसीडी अनुपात गणना गर्दा अन्तर बैंक निक्षेपलाई स्रोत परिचालनमा समावेश गर्न नपाइने व्यवस्थालाई हटाएर पुनः मान्यता दिने जानकारी गराएको छ । बैंकहरुको दवावमा राष्ट्र बैंक पछि हटेको हो । गत साउन ३१ गते निर्देशन जारी गर्दे अन्तर बैंक निक्षेपलाई स्रोत परिचालनमा गणना गर्न नपाइने निर्देशन जारी गरेको थियो । यस्तो निर्देशन आएपछि बैंकबीचमा रहेको झण्डै ७५ अर्ब रुपैयाँ निक्षेप गणना गर्न नपाउदा बैंकको आम्दानी पनि घट्ने देखिएको थियो । पछिल्लो समयमा राष्ट्र बैंक नीतिगत रुपमा असफल हुन थालेको छ । एउटा नीति ल्याउने तर विरोध भएपछि फेरी पछि फर्कने अस्थिरता रहेको देखाउछ ।
ललितपुर फाइनान्सले निक्षेप फिर्ता लिन बोलायो
काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले निक्षेपकर्तालाई रकम लिन बोलाएको छ । फाइनान्सले बुधबार सुचना प्रकाशित गरी निक्षेप लिन चाहनेले प्राप्त गर्न सकिने जनाएको छ । वित्तीय सुशासन पालना नगरेर वित्तीय अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले ०७१ पुसमा ललितपुरलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालन तथा कर्जा लगानीमा प्रतिवन्ध लगाएको थियो । फाइनान्स अब सुधारको क्रममा रहेको छ । ललितपुर लगायत वित्तीय अनुसाशन पालना नगरेका ९ वित्तीय संस्था समस्याग्रस्त रहेका छन् ।
अल्पाइन डेभलपमेन्ट र सेती फाइनान्स प्राप्ति गर्न सेन्चुरी बैंकले बोलायो विशेष सभा
काठमाडौं । सेन्चुरी बैंकले दुई वित्तीय संस्थालाई प्राप्ति गर्न भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्तिको प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो । चुक्तापुँजी बढाउन बैंकले दुई संस्थालाई प्राप्ति गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब पु¥याउदै छ । मूल्याँकनकर्ताले तयार पारेको चल अचल सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) ले अल्पाइनको १ सय कित्ता बराबर सेन्चुरीको ९३ र सेतीको १ सय कित्ता बराबर सेन्चुरीको ७० कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) हुने भएको छ । हाल बैंकको चुक्तापुँजी ५ अर्ब ४६ करोड रुपैयाँ छ ।