सिभिल बैंकको वित्तीय रिपोर्ट खराव, नाफा घट्यो, खराव कर्जा बढ्यो

काठमाडौं । सिभिल बैंकको वित्तीय रिपोर्ट खराव आएको छ । चैत मसान्तसम्ममा बैंकको नाफा घटेको छ भने खराव कर्जा बढेको छ । निक्षेप र कर्जा विस्तार अत्यान्तै न्यून छ भने कष्ट अफ फण्ड ह्वात्तै बढेको छ । चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको सिभिल बैंकले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको प्रथम ९ महिनामा बैंकले १९ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्ममा यस बैंकको सञ्चालन नाफा ३ करोड रुपैयाँ मात्र छ । प्रोभिजन राईट व्याकबाट २७ करोड ४४ लाख रुपैयाँ आउँदा बैंकको खुद नाफालाई सहयोग पुगेको छ । साथै चालु आर्थिक वर्षम ४७ करोड ८१ लाख रुपैयाँ प्रोभिजनमा गएको छ । बैंकको खराव कर्जा ४.६६ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा २.१७ प्रतिशत थियो । खराव कर्जा बढ्नु नै बैंकको नाफा घट्नुको मुख्य कारण हो । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५२ पैसामा झरेको छ । त्यस्तै बैंकको कष्ट अफ फण्ड उच्च भएको छ । चैत मसान्तसम्ममा कष्ट अफ फण्ड ६.३२ प्रतिशत छ । सामान्यतय वाणिज्य बैंकहरुको कष्ट अफ फण्ड ५ प्रतिशतभन्दा कम छ । ठूला र पुराना बैंकहरुको कष्ट अफ फण्ड २ देखि ३ प्रतिशतको बीमा देखिन्छ । यस बैंकको स्प्रेडदर २.५६ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार ५ प्रतिशतसम्म स्प्रेडदर राखेर काम गर्न पाईन्छ । स्प्रेडदर भनेको निक्षेप र कर्जाको औषत व्याजदर अन्तर हो । स्प्रेडदर जति बढी भए त्यति बैंकको खुद नाफा बृद्धिमा सहयोग गर्छ । एक वर्षमा बैंकको चुक्ता पुँजी १ अर्ब ५० करोडले थपिएको छ । तर व्यापार विस्तार कम छ । सिद्धान्तत बैकिङ क्षेत्रमा पुँजीको तुलनामा १० देखि ११ गुणा बढी व्यापार विस्तार हुनुपर्छ । यस आधारमा १ अर्ब ५० करोड पुँजी वृद्धि हुँदा निक्षेप र कर्जा १५ देखि १८ अर्बले वृद्धि हुनुपर्ने हो । तर एक वर्षमा बैंकको निक्षेप करिव ५ अर्ब बढेर ३३ अर्ब भएको छ । कर्जा सापटी पनि ५ अर्बले वृद्धि भई २९ अर्ब रुपैयाँ भएको छ । बैंकले ६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । लगानीकर्ताको लागि चिन्तको विषय के छ भने बैंकमा हालै मात्र अध्यक्ष इच्छाराज तामाङले पद छाडेका छन् । साथै, प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले पनि छाडेका छन् । संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले दुबैले एकै पटक छाड्दा बैंकका संस्थापक सेयरधनीमा केही निराशा देखिएको छ । साथै, विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनी गाभिएर आउँदा बैंकमा नयाँ लगानीकर्ता, कर्मचारी, ग्राहक भित्रिएकाले उनीहरुबीचको सम्बन्ध सन्तुलन बैंकका लागि निकै चुनौतिपूर्ण रहेको जानकारहरुहरु बताउँछन् ।

सेञ्चुरी बैंकको नाफा ३१ करोड, प्रति सेयर आम्दानी ११ रुपैंयाँ २४ पैसा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ३१ करोड ९ लाख नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा गरेको भन्दा ७ करोड ८५ लाखले बढि हो । गत आवको नौ महिनामा सेञ्चुरीले २३ करोड २४ लाख नाफा कमाएको थियो । ३ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको सेञ्चुरीको जगेडा कोषमा ९३ करोड रुपैंयाँ रहेको छ । ३३ अर्ब निक्षेप संकलन गरेर ३० अर्ब कर्जा तथा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी २ अर्ब ३ करोड छ भने ब्याज खर्च १ अर्ब २६ करोड रहेको छ । खराब कर्जा शुन्य दशमलब ५३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट ३ करोड प्राप्त गरेको देखिन्छ । सेञ्चुरीको प्रति सेयर आम्दानी ११ रुपैंयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैंयाँ २९ पैसा रहेको छ ।

नेपाल बैंकको नाफा ९ महिनामा २ अर्ब ५१ करोड

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा दुई अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा बैंकको नाफा एक अर्ब ६४ करोड रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी ७ अर्ब ४५ करोड छ । संचिज कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ । ८३ अर्ब ९५ करोड निक्षेप संकलन गरेको बैंकले ७४ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको लगानी ९ अर्ब ७२ करोड रुपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी दुई अर्ब ९० करोडबाट बढाएर चार अर्ब सात करोड रुपैयाँ पुर्याएको छ । आम्दानी ब्यापक रुपमा बृद्धि गरे पनि कर्मचारी खर्च पनि उत्तिकै बढेको छ । बैकले कर्मचारीका लागि गत वर्ष एक अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा यसपाली एक अर्ब ६८ करोड रुपैयाँ नाघेको छ । असाधारण आम्दानी १२ करोड रुपैयाँ गरेको बैंकले डुबेको ऋणमध्येबाट  ३० करोड ४७ लाख रुपैयाँ राइटब्याक गरेको छ । बैंकको खराव कर्जा ३.६७ प्रतिशतबाट घटेर २.८५ प्रतिशतमा आएको छ । पूँजी कोष अनुपात ९.५५ प्रतिशतबाट बढेर १३.५२ प्रतिशत पुगेको छ । यो वर्षको नाफाबाट बैंकका सेयरधनीले बोनस सेयर पाउने भएका छन् । बैंकको प्रति सेयर आम्दानी ४५ रुपैयाँ छ ।