विज्ञ भन्छन्- राष्ट्र बैंक असफल भयो, अब बैंकले लगानी गर्न सक्दैनन्

काठमाडौं । बजारमा लगानी योग्य पूँजीको अभाव व्यवस्थापनमा नेपाल राष्ट्र बैंक पूर्णतः असफल भएको विज्ञहरुले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनामिक रिसर्च(आइएसएसआर)ले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले राष्ट्र बैंकको असफलताका कारण बजारमा लगानी योग्य पूँजीको अभाव देखिएको आरोप लगाएका हुन् । कार्यक्रममा प्रा.डा विश्वम्बर प्याकुरेल, प्रा.डा। गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे लगायतले वित्तिय क्षेत्रको व्यवस्थापनमा राष्ट्र बैंक असफल भएको बताएका हुन् । प्रा.डा प्याकुरेलले बाणिज्य बैंकहरुले तीन महिना अघि नै अधिक कर्जा लगानीबारे केन्द्रिय बैंकलाई जानकारी दिँदा पनि अनुगमन नगरेकोले अहिलेको अवस्था आएको बताए । उनले भने–‘यतिबेला राष्ट्र बैंकको क्षमतामा प्रश्न उठेको छ, तरलताको व्यवस्थापन गर्न नसक्न अर्थतन्त्र अस्तव्यस्त भएको छ ।’ उनले विगत २ बर्षमा ७० अर्ब ४२ करोड नेपाली रुपैयाँको विदेशी मुद्रा खरिद गरिएकाले पनि लगानी योग्य पूँजीको अभाव बढेको बताए । त्यस्तै पछिल्लो ४ महिनामा मात्रै १३ अर्ब ७५ करोड रुपैंयाँ विदेशी मुद्रामा लगानी भएको उनले दावी गरेका थिए । अर्का प्राध्यापक डाक्टर गोविन्द नेपालले पनि राष्ट्र बैंकको नियमन क्षमतामा प्रश्न उठेको बताए । उनले लगानी योग्य पूँजीको अभाव हुनुमा न्युन पूँजीगत खर्च पनि कारक रहेको बताए । प्रधानमन्त्री कार्यालयमा ६७ अर्ब पूँजीगत खर्चका लागि बजेट विनियोजन भएको तर त्यसको एक प्रतिशत पनि खर्च हुन नसकेको पनि उनको भनाई थियो । राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डेले बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिसकेको बताए ।‘अहिले सीडी रेसियो ८८ र सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ, बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिरहेका छन, केन्द्रिय बैंक अझै कर्जा लगानीले सिमा नाघेको छैन भनेर बसिरहेको छ’, पाण्डेले भने । आइएसएसआरले लिक्वीडीटी क्रन्च नभएर क्रेडिट क्रन्च मात्रै भएको निष्कर्ष पनि निकालेको छ ।

एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्था मर्ज भएर एकिकृत कारोबार सुरु लगत्तै सेयर कारोबार खुल्ला गर्न निर्देशन दिएको थियो । तत्कालै सेयर कारोबार खुल्ला गर्न नसके पनि अधिकतम १५ दिनभित्रै सेयर कारोबार खुलाउनु पर्ने भनेको थियो । तर एनसीसी बैंकले एकिकृत कारोबार सुरु गरेको एक महिना भन्दा बढि समय भैसक्दा पनि सेयर कारोबार खुल्ला गरेको छैन् । एनसीसी बैंकले मर्जरपछि पुस १७ देखि एकिकृत कारोबार आरम्भ गरेको थियो । एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ भन्ने प्रश्नको जवाफमा बैंकको उच्च श्रोतले भन्यो-‘हामी अन्तिम तयारीमा जुटेका छौं, फागुन १५ गतेभित्रै सेयर कारोबार खुल्छ ।’एनसीसीमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएका थिए । मेगा(धेरै संस्था) मर्ज भएकाले पनि सेयर कारोबार खुल्ला गर्न समय लागेको बैंकको उच्च व्यवस्थापन श्रोतले बतायो । ‘हाम्रै मात्रै थियो भने सेयर कारोबार खुल्ला गर्नु कुनै असहज कुरा थिएन तर हामी धेरै संस्था मर्ज गरेर अघि बढेका छौं, ८६ हजार त सेयरधनी छन, यसको मिलान सहज थिएन’, श्रोतले भन्यो । बैंकले फागुन १२ देखि १५ गतेको बिचमा सेयर कारोबार खुल्ला गर्ने गरि तयारी गरिरहेको हो । उता, नेपाल धितोेपत्र बोर्डका प्रवक्ता निरज गिरिले चाडोँ सेयर कारोबार खुलाउन निर्देशन दिईसकेको बताए । ‘उनीहरुले सेयर कारोबार खुलाउने तयारी गरिरहेको बताएका थिए, हामीले चाँडै गर्नुस भनेर निर्देशन दिईसकेका छौं’, धितोपत्र बोर्डका प्रवक्ता गिरिले विकासन्युजसँग भने ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा गुल्मीको तम्घास बजारमा

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबारदेखि गुल्मी जिल्लाको तम्घास बजारमा आफ्नो ३५ औँ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष रामबहादुर भण्डारीले गरेका छन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्ने बताएका छन् । साथै, उनले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ् सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याृन बैंक प्रतिबद्ध रहेको जानकारी गराएका छन् । पुस मुसान्तसम्ममा बैंकले १४ अर्ब २१ करोड निक्षेप संकलन गरि १२ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही अवधिसम्ममा बैंकले १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।