बैंक कर्मचारीले नै चोरे २३ लाख, एटीएमबाट चोरिएको पैसा परालमुनी भेटियो
धनगढी । एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन्। शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो। प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम बरामद गरेको हो। कान्तिपुर दैनिकबाट ।
तरलताले घर जग्गा व्यवसाय संकटमा, व्यवसायी भन्छन-‘भूकम्पबाट तंग्रिनै लाग्दा अर्काे धक्का’
काठमाडौं । बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो । ‘घरजग्गाको कारोबार ठप्प छ । पहिले रियलस्टेटको कर्जामा सिमा तोक्दा मन्दि आयो । पछि मन्दिको असर सकिनै लाग्दा भूकम्प आयो र त्यसले पनि हाउजिङ र अपार्टमेन्टबारे नकारात्मक असर गर्यो । पछि पुननिर्माण गरेर बेच्ने बेलामा कर्जामा कटौती गरियो र ब्याज वृद्धि भयो, यतिबेला घरजग्गा व्यवसाय चरम संकटमा छ’, नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले भने । नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति तथा घर जग्गा व्यवसायी ओमराज भण्डारीले पनि तरलताका नाममा घर जग्गाको ऋणमा कर्टाती गरिएसँगै व्यवसाय संकट उन्मुख रहेको बताए । ‘शहरी क्षेत्रमा एक करोड भन्दा कम मूल्यका घर पाइँदैनन्, एक करोडमा घर किन्न आउने मान्छे कसैसँग पनि नगद हुन्न । सबैले बैंकबाट ऋण लिने हो । बैंकले ऋण नियन्त्रण र व्याज वृद्धि गरेपछि घर बिक्रि घट्छ’, भण्डारीले भने । उनले भूकम्पका कारण थला परेको घर जग्गा व्यवसाय तंग्रिनै लागेका बेला राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए । नेपालमा घर जग्गा व्यवसाय र कारोबारलाई हेर्न दृष्टिकोणमै व्यापक सुधार आवश्यक रहेको दावी पनि गरे । ‘युरोप र अमेरिकामा घरको मूल्य एक लाख डलर पर्दा बैंकले एक लाख १० हजार डलर ऋण दिन्छन् किन की उसले इन्टेरियर र फर्निचर लगायतका समानमा अतिरिक्त लगानी गरेको हुन्छ । तर नेपालमा भने जम्मा ७० प्रतिशत मात्रै ऋण पाइन्छ’, राजभण्डारीले दुखेसो पोखे । युरोप अमेरिकामा मोर्गेज शिर्षकमा दिइन घर जग्गा कर्जाको ऋण भुक्तानी अवधी पनि ३५ बर्ष हुने रसुरुमा ब्याज मात्रै तिरेर अन्तिममा एकै पटक सावाँ भुक्तानी गर्ने सुबिधा पनि रहेको उनले जानकारी दिए । नेपालमा भने ७० प्रतिशत मात्रै कर्जा दिएर पनि सावाको किस्ता र व्याजसहित १५ बर्षभित्रै भुक्तानी गरिसक्नु पर्ने व्यवस्था राखिएको पनि उनले असन्तुष्ठि पोखे । ‘युरोप अमेरिकामा होम लोन दिन सरकारले पनि बैंकहरुलाई प्रोत्साहन गरेको हुन्छ । तर नेपालमा निरुत्साहित गरिरहेको छ, यो विडम्बना हो’, राजभण्डारीले भने । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले घर जग्गामा लगानी गर्नुलाई अनुत्पादक भन्ने परिभाष नै गलत रहेको बताए । ‘हामीले घर जग्गामा लगानी गर्नुलाई नै अनुत्पादक भनिरहेका छौं, घर घडेरीमा लगानी नगर्नु भनेर नागरिकलाई सधैँ डेरामा बस्नु भन्न खोजिएको हो ?’ शाहले प्रतिप्रश्न गरे । अनुत्पादक कर्जा भनेको के हो भन्ने कुरा नेपालका नियामक निकायले बुझ्नै नसेको पनि दावी गरे ।
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका सिइओ ‘म्यानेजर टु वाच २०१६’बाट सम्मानित
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) झलक प्रसाद खनाल ‘म्यानेजर टु वाच २०१६’ अर्वाडबाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकका सिइओलाईलाई उक्त अवार्ड प्रदान गरेका हुन् । नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाले व्यवस्थापन प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डोर्याएकाले नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाले बैंकको उक्त योगदानलाई कदर गर्दै खनाललाई सम्मानित गरेको हो । यसको साथै, हालै मात्र भिबोर सोसाईटी डेभेलपमेन्ट बैंक तथा यसका प्रमुख कार्यकारी अधिकृत खनाललाई यूरोप बिजनेस एसेम्ब्ली, अक्सफर्ड लण्डनबाट अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको थियो ।