सनराइज बैंक र एनआईडिसी क्यापिटल मार्केट्सबीच एकिकृत कारोबार शुरु

काठमाडौं । सनराइज बैंक लिमिटेडले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्त (एक्विजिसन) पश्चात शुक्रबारदेखि एकीकृत कारोवार शुरु गरेको छ । उक्त एकीकृत कारोबार सम्झौतामा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र एन.आई.डि.सी. क्यापिटल मार्केट्सका अध्यक्ष सुरेन्द्र थापाले हस्तान्तरण गरेका छन् । उक्त कारोवारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले गरेका छन् । गभर्नर डा. नेपालले सनराइज बैंकले एन.आई.डि.सी. क्यापिटललाई प्राप्त गरि एकीकृत कारोवार शुरु गरेकोमा शुभकामना दिएका छन् । साथै, उक्त एकीकरणबाट सनराइज बैंक थप सशक्त भइ मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य गर्न सक्षम भई ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्ने बैंकले प्रतिवद्धता गरेको छ । उद्घाटन समारोहका सभापति सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल सरकारको लगानी रहेको कर्मचारी संचयकोष, बिमा संस्थान जस्ता ५ वटा सरकारी निकाय संस्थापक रहेको कम्पनीलाई एकीकरण गर्न पाउँदा हर्ष प्रकट गर्दै यस पछि बैंकले ६८ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न पाउने जानकारी दिएका छन् । हाल बैंकको चुक्ता पूँजी करिब ५ अर्व ४५ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्व ९ करोड रुपैयाँ पुग्ने दुगडले बताए । आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्व रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।  एन.आई.डि.सी. क्यापिटलका शाखा कार्यालय, कमलपोखरीमा समेत छुट्टै कार्यक्रमको आयोजना गरि सो स्थानमा बैंकको ६८औं शाखा कार्यालय स्थापना गरेको छ । त्यसै गरि एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष सुरेन्द्र थापाले फाइनान्स कम्पनीलाई सानो दायरामा बस्नु भन्दा सनराइज बैंक  “क” वर्गको संस्था संग समाहित हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । सनराइज बैंक आगामी पाँच वर्ष भित्र ठूला दश बैंकभित्र पार्ने गरि “हामी संग संगै” भन्ने हातेमालोको सिद्धान्त अंगिकार गरि अघि बढिरहेको छ । उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

सनराइज बैंकको नाफा ६७ प्रतिशतले बढ्यो, ६ महिनाको खुँद नाफा ६० करोड ९७ लाख

काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको नाफा गत वर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशत बढाउन सफल भएको छ । बैंकले यो नाफा चालू आवको गत पुस मसान्तसम्ममा ६० करोड ९७ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २४ करोड ५७ लाख रुपैयाँले बढि हो । बैंकले गत वर्ष ३६ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा गर्न सकेको थियो ।  बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ५७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ९ अर्ब २१ करोड रुपैयाँ छ । बैंकको जगेडा कोष भने रित्तिएको छ । खराब कर्जा अनुपात १ दशमलव ४० प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ९० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२७ रुपैंयाँ ४१ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विश्व बैंकले ११ अर्ब ऋण दिने, नेपालको नेपालले वित्तीय क्षेत्र सुधार्नमा सहयोगि हुने

काठमाडौं । विश्व बैंकले आउँदो महिना वित्तीय क्षेत्र सुधार कार्यक्रमका लागि करिब ११ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको ऋण सहायता दिने भएको छ । नेपालले वित्तीय क्षेत्र सुधारका लागि तोकिएका सबै सर्त पूरा गरेपछि बैंकले यो सहायता रकम निकासा गर्न लागेको हो । विश्व बैंक बोर्डको आउँदो मार्च पहिलो साता बस्ने बैठकले ‘डेभलमेन्ट पोलिसी क्रेडिट–थ्री’ अन्तर्गत करिब ११ अर्ब रुपैया (१० करोड डलर) रकम नेपाललाई प्रदान गर्ने बैंकका वरिष्ठ बाह्य मामिल विज्ञ (सिनियर एक्स्टर्नल अफेयर्स एक्स्पर्ट) राजीव उपाध्यायले जानकारी दिए । “नेपालले सबै कानुनी सुधारका प्रक्रिया पूरा गरिसकेकाले डीपीसी थ्रीको ऋण सहायता स्वीकृतिका लागि बोर्डसमक्ष प्रस्ताव पठाइसकिएको छ, बोर्डको मार्चमा बस्ने बैठकले सहायता स्वीकृत गर्नेछ,” उपाध्यायले भने । यो रकम प्राप्त भएपछि नेपालमा तेस्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रम आरम्भ हुनेछ । गत वर्षको भूकम्पपछि बैंकले ५ अर्ब ९ ५० करोड अमेरिकी डलर०बराबरको रकम ‘पोस्ट डिजास्टर सेकेन्ड फाइनान्सियल सेक्टर स्ट्याबिलिटी क्रेडिट’बापत नेपाललाई उपलब्ध गराएको थियो । दोस्रो चरणको सुधार कार्यक्रमअन्तर्गत नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, निक्षेप तथा कर्जा सुरक्षण ऐनसहितका बैंकिङ तथा वित्तीय प्रणालीसम्बन्धी ऐनहरूमा समयानुकुल संशोधन गर्नुपर्ने सर्त थियो । डीपीसी–टूअन्तर्गत पनि १० अर्ब डलर नै सहायता दिने योजना रहेकोमा भूकम्प र नेपालका राजनीतिक संक्रमणका कारण प्रस्तावित सुधारहरू अघि बढ्न नसकेपछि उक्त सहायता रकम रोकिएको थियो । “अब विश्व बैंक बोर्डले डीपीसी टू र थ्री दुवैका एकमुष्ट रकम दिनेछ,” उपाध्यायले भने । हालैमात्र बाफियाको संशोधन विधेयक पारित भएसँगै बैंकले नेपालमा नयाँ चरणको सुधार अघि बढाउने निर्णय गरेको हो । बैंकको सर्तअनुसार नयाँ चरणको सुधार अघि बढाउन नेपाल सरकारले हालैमात्र ंपाँच वर्षे वित्तीय क्षेत्र विकास रणनीति सार्वजनिक गरिसकेको छ । कारोबारलाई प्राप्त विश्व बैंकको डीपीसी–थ्री, कार्ययोजना प्रस्तावअनुसार तेस्रो सुधार कार्यक्रमका मुख्य चार स्तम्भ तोकिएका छन्, नेपालको वित्तीय क्षेत्र विकासको सबलीकरण गर्ने, वित्तीय क्षेत्रको पुनर्संरचना र संगठित तुल्याउने, पर्याप्त कानुनी आधारसहित बैंकिङ सुपरीवेक्षण र व्यवस्थापनलाई बलियो तुल्याउने, बैंकिङ प्रणालीमा सुशासन र पारदर्शितालाई बलियो तुल्याउने कार्यक्रम छन् । यसअन्तर्गत विगतदेखि नै अलमलमा पर्दै आएको नेपाल राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाउन मुख्य जोड दिइने भएको छ । राष्ट्र बैंकको सुपरीवेक्षण क्षमता बढाउँदै बैंक तथा वित्तीय संस्थाहरूको अन्तर्देशीय कारोबारको सुपरीवेक्षणको निमित्त उपयुक्त संयन्त्र तयार पार्ने, निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी कानुनी तथा संस्थागत संरचना विकास गर्ने योजना यो सुधार योजनाअन्तर्गत राखिएको छ । कारोबार दैनिकबाट