प्रभु बैंकको साढे १० करोडको प्रमोटर सेयर बिक्री, सोमबार ४३ करोडको सेयर कारोबार
काठमाडौं, १० माघ । सोमबार प्रभु बैंकको करिब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस बैंकको प्रमोटर सेयर ५ लाख १८ हजार ८२५ कित्ता १० करोड ४२ हजार रुपैयाँमा कारोबार भएको हो । यो सेयर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ । स्रोतका अनुसार शाक्य समूहको सेयर शेरचन समूहले किनेको हो । यो कारोबारसँगै बैंकको प्रवद्र्धक प्रभु समूहको हिस्सा वृद्धि भएको छ । सोमबार नै यस बैंकको पब्लिक सेयर २ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पब्लिक सेयर प्रतिकित्ता ३३० रुपैयाँमा किनबेच भएको छ । सोमबारको सेयर बजारमा ४३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार करिब १४ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन करिब १३४ कम्पनीको २३ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक ७ दशमलब ९६ अंकले घटेर १४५७ दशमलब ८८ अंकमा झरेको छ ।
राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंक मर्ज अन्तिम चरणमा
काठमाडौं, १० माघ । राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकबिचको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय बाणिज्य बैंककको ५२ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले यी दुई बैंकबिच मर्जको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् । मन्त्रि महराले भने–‘चालु आर्थिक बर्षभित्रै राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकबिच मर्ज हुन्छ, त्यसको फाइलमा हस्ताक्षर गरिसकेँ, अबको मन्त्रिपरिषद बैठकबाट पारित गराउँछु ।’ दरबार मार्गमा केन्द्रिय कार्यालय रहेको एनआइडीसी डेभलपमेन्ट बैंक यथेष्ठ अचल सम्पति रहेको सरकारी बैंक हो । यसैबिच, चालु आर्थिक बर्षभित्रै राष्ट्रिय बाणिज्य बैंकले ३० प्रतिशत साधारण सेयर निष्काशन गर्ने पनि मन्त्री महराले बताएका थिए ।
सानिमा बैंकले शुरु गर्यो यूसडि क्रेडिट कार्ड, दुई देशबाहेक अन्य देशमा प्रयोग हुने
काठमाडौं, १० माघ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड भिसा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिएम तथा पिओएस मेसिनहरुमा प्रयोग गर्न सकिनेछ । चिप प्रविधिमा आधारित र विश्वमा नै बढी स्विकृत हुने यो कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोवार गर्न सक्नेछन्। यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने बैंकले जनाएको छ ।