यसरी पुर्याउँदैछ गरिमा विकास बैंकले २ अर्ब ५० करोड पुँजी
काठमाडौं, १२ माघ । गरिमा विकास बैंकले फागुन ६ गतेका लागि १० औं बार्षिक साधारण सभा डाकेको छ । पोखरा केन्द्रिय कार्यालय रहेको बैंकले सोही साधारण सभाबाट राष्ट्रियस्तरको विकास बैंकका लागि आवश्यक पर्ने २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउने खाका पनि अघि सारेको छ । हाल एक अर्ब ८ करोड चुक्ता पुँजी रहेको बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिबाट पारित गरिसकेको छ । फागुन ६ गतेकै साधारण सभाबाट सो निर्णय पारित गराउँदैछ । बोनस सेयरबाट बैंकको चुक्ता पुँजी २१ करोड ६१ लाख थपिनेछ । यसपछि बैंकको चुक्ता पुँजी एक अर्ब २९ करोड ६६ लाख पुग्नेछ । बैंकले फेरी १० बराबर ७ कित्ताको अनुपातमा हकप्रद सेयर वितरण गर्ने योजना साधारण सभामा लगेको छ । सो हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयरबाट बैंकको चुक्ता पुँजी ९० करोड ७६ लाख रुपैंया थपिनेछ । बोनस सेयर र हक प्रद सेयर निष्काशन सम्पन्न गर्दा बैंकको चुक्ता पुँजी २ अर्ब १६ करोड पुग्नेछ । गरिमा विकास बैंकले उपयुक्त वित्तिय संस्थासँग मर्जरमा जाने वा खरिद गर्ने विकल्पलाई पनि खुल्ला गरेको छ । यसरी बोनस सेयर, हकप्रद सेयर र मर्जर तथा एक्विजिशनका माध्मबाट गरिमा विकास बैंकले तोकिएकै समयमा आफ्नो पुँजी २ अर्ब ५० करोड पुर्याउने रोडम्याप तयार पारेको छ । यस्तो रोडम्यापलाई आगामी फागुन ६ गते डाकिएको १० औं बार्षिक साधारण सभाले पारित गर्नेछ ।
कैलाश विकास बैंकको नाफा ९३ प्रतिशतले बढ्यो, ६ महिनाको नाफा २६ करोड
काठमाडौं १२ माघ । कैलाश विकास बैंकले २६ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा चालू आर्थिक वर्षको ६ महिनाको मात्र हो । बैंकको नाफा अघिल्लो वर्षको सोेही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ९३ प्रतिशतले बढेको छ । यो बैंकमा गत पुस मसान्तसम्म निक्षेप १५ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । कर्जा १४ अर्ब ३२ करोड रुपैयाँ र लगानी ६९ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमलव ३१ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ७० प्रतिशत रहेको । यो विकास बैंकको प्रति सेयर आम्दानी भने २६ रुपैयाँ ७१ पैसा रहेको छ । बैंकको प्रतिसेयर हाल ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कृषि विकास बैंकको १९ लाख कित्ता सेयर लिलाम बिक्रीमा, ५ सयमा कारोबार भैरहेको सेयर १ सयमै
काठमाडौ १२, माघ । कृषि विकास बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता साधारण सेयरको लिलाम बिक्री गर्ने खुला गरेको छ । बैैंकले हाल बजारमा ५०८ रुपैयाँमा कारोबार भइहरेको यसको सेयर न्यूनमत एक सय रुपैयाँमा बोलकबोलद्वारा बिक्री खुला गरेको छ । गत साउनमा यस बैंककाे सेयर अधिकतम एक हजार ८२ रुपैयाँसम्ममा कारोबार भएको थियो । माघ २७ गतेबाट खुला गरिएकाे बोलपत्र पेश गर्ने अन्तिम मिति फागुन १२ गतेसम्मलाई तोकिएको बैंकले जानकारी दिएको छ । यसको बिक्री प्रवन्धक एस क्यापिटल लिमिटेड रहेको छ । यो सेयरको न्युनतम १०० रुपैयाँबाट बोलकबोल सुरु गर्नुपर्ने यो सेयर अधिकतम १० हजार कित्तासम्म मात्र आवेदन गर्न पाइने छ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म हकप्रद सेयरको बिक्री खुला गरको थियो । बैंकले २ः १ अर्थात २ सेयरको अनुपातमा १ सेयर दिने गरी हकप्रद दिएको थियो । यो सेयर लिँदा १० ले भाग जाने अंककोलागि मात्रै आवेदन दिन पाईने बैंकले उल्लेख गरेको छ । बैंकले सबैभन्दा बढी रकम कबोल गर्ने आवेदनकलाई सेयर विक्री गर्ने छ । यो बैंकको ५ करोड ९० लाख ६४ हजार कित्ता सेयर नेपाल स्टक एक्जेन्जमा सूचीकृत भएको छ ।