माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्ज तोडिनुको कारण र अबको बाटो

काठमाडौं, २९ चैत । माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया तोडिएको छ । स्वाप रेसियो नमिलेपछि मर्ज तोडिएको दुबै बैंकका अधिकारीहरुले बताएका छन् । माछापुच्छ्रे बैंकले आईतबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड,स्टक एक्चेन्ज र जनता बैंकलाई पत्र पठाउँदै मर्जर प्रक्रिया तोडिएको जानकारी दिएको छ । मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति समेत पाएका यी दुई बैंकबीच किन एकाएक मर्ज कसरी तोडियो ? यसमा को को जिम्मेवार छन् ? अब दुई बैंक कसरी अगाडि बढ्छन् ? धेरैको चासोको विषय बनेको छ । दुई बैंकबीच मर्ज सम्वन्धि प्रारम्भिक सम्झौता असोज ३ गते भएको थियो । त्यतिबेला माछापुच्छ्रेको प्रतिकित्ता १२१ र जनता बैंकको ८२ रुपैयाँ स्वाप रेसियो तय भएको थियो । पछि माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने र त्यसपछिको अवस्था मर्ज रेसियो १०९ र ८२ कायम गर्नेमा सहमति भएको थियो । जनता बैंक सम्वन्ध स्रोतका अनुसार डिडिए रिपोर्टका आधारमा फागुन दुई गते दुई बैंकका संयुक्त मर्जर कमिटिमा स्वाप रेसियो माछापुच्छ्रे बैंकको प्रतिकित्ता १०९ र जनता बैंकको प्रतिकित्ता ८२ रुपैयाँमा कायम गर्ने सहमति भएको थियो । उक्त सहमतिका विषयबारे दुबै बैंकले प्रमोटर सेयरधनीको भेला गराएर छलफल गरेका थिए । भेलामा जनता बैंकका सेयरधनीले १०९ र ८२ रुपैयाँ स्वाप रेसियोमा सहमति जनाएका थिए । तर माछापुच्छ्रे बैंकले आयोजना गरेको आफ्ना सेयरधनीको भेलामा सहमति भईसकेको स्वाप रेसियोको विरोध भयो । स्रोतका अनुसार माछापुच्छ्रे बैंकसँग अचल सम्पत्ति धेरै भएको, लाजिम्पाटमा २६ आनामा बनेको ७ तले आफ्नै भवन, पोखरामा ५ रोपनी जग्गासहित आफ्नै भवन, बागलुङ, जोमसम, भैरहवा लगायत क्षेत्रमा रहेका जग्गाको बजार मूल्य उच्चदरले वृद्धि भएको जनाउँदै त्यसको उचित मूल्याङकन हुनुपर्नेमा जोड दिए । १६ वर्ष पुरानो संस्थाको ब्राण्ड इमेज र भ्यालु राम्रो भएको, नेटवर्क, ग्राहक तथा व्यापार जस्तो आधारभूत पक्ष राम्रो भएकोे, ६ महिनामा ४० करोड रुपैयाँभन्दा बढी नाफा भएकाले स्वाप रेसियो आफ्नो बैंकमो धेरै हुनुपर्न प्रमोटर सेयरधनीहरुको धारणा थियो । Bikashnews.com उता राष्ट्र बैंकले स्वाप रेसियो तय गर्दा बढी मूल्य राख्नेले प्रतिकित्ता १०० र घटी हुनेको सयभन्दा तलको उपयुक्त मूल्य राख्ने मौखिक रुपमा सुझाव दिएको माछापुच्छ्रे बैंक सम्वद्ध स्रोतले बतायो । राष्ट्र बैंकको सुझावलाई आधार मान्दै माछापुच्छ्रे बैंकले आफ्नो सेयर मूल्य प्रतिकित्ता १०० राख्ने र जनता बैंकको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ कामय गरी मर्जमा जाने नयाँ प्रस्ताव गर्यो । तर स्वाप रेसियो १०० र ४५ बनाउने माछापुच्छ्रे बैंकको पत्रमा असहमति जनाउँदै जनता बैंकले फागनु २ मा भएको सहमतिका आधारमा मात्र मर्ज गर्न सकिने भन्दै चैत २६ गते माछापुच्छ्रे बैंकलाई पत्र लेख्यो । जवाफमा माछापुच्छ्रे बैंकले चैत २८ गते जनता बैंकलाई पत्र काट्दै १०९ र ८२ रुपैयाँ स्वाप रेसियोमा मर्ज गर्न नसकिने जनाउदै मर्जबाट आफू वाहिरीने निर्णय गरेको पत्र पठायो । अबको बाटो २८ गते नै बसेको माछापुच्छ्रे बैंकको सञ्चालक समितिले आफैले पुँजी थपेर ८ अर्ब रुपैयाँ पुर्याउने उदेश्यसहित तत्काल १६ प्रतिशत बोनस सेयर र त्यसपछिको पुँजीको आधारमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयमा पुगेको छ । साथै साधारणसभामा उपयुक्त वित्तीय संस्थासँग मर्ज गर्ने प्र्रस्ताव पनि साधारणसभामा लैजादै छ । माछापुच्छ्रे« बैंकको हाल चुक्ता पुँजी ३ अर्ब ३० करोड रुपैयाँ छ । बैंकले ५३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको छ । बोनस सेयर वितरणपछि २ बराबर १ को अनुपात (५० प्रतिशत) १ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बोनस र हकप्रद सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा र आगामी आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ८ अर्ब नजिक पुग्न सकिने, केही विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जमा ल्याएर नपुग पँुजी जुटाउन सकिने उसको योजना छ । दुई अर्ब ६ करोड रुपैयाँ मात्र सेयर पुँजी भएको जनता बैंकका लागि भने अर्को बैंकसँग मर्जमा जार्नु दवाव फेरी पनि रहिरहने छ ।

एसवीआई बैंकले मर्चेन्ट बैंकर्सको लाईसेन्स पायो बीमा, रेमिट र माइक्रोक्रेडिट खोल्ने योजना

काठमाडौं, २८ चैत । नेपाल एसवीआई बैंकले मर्चेन्टर बैंक खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । राष्ट्र बैंकबाट स्वीकृत पाएपछि एसवीआई बैंकले सहायक कम्पनी ‘नेपाल एसवीआई मर्चेन्ट बैंकर्स’ दर्ता प्रक्रिया अगाडि बढाएको छ । २०७३ असार मसान्तअघि नै कम्पनी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भईरहेको बैंकका कम्पनी सचिव रमेश घिमिरेले जानकारी दिए । यस कम्पनीको सेयर पुँजी १० करोड रुपैयाँ हुनेछ । सबै पुँजी नेपाल एसवीआई बैंकले मात्र लिने छ । ‘बैंकको सहायक कम्पनी भएकोले बैंकले पनि सेयर लिन्छ, बैंकका प्रवद्र्धक सेयरधनीलाई सहायक कम्पनीको पनि सेयरधनी बनाउने काम हामी गर्दैनौ । धितोपत्र बोर्डले अनिवार्य गरेको अवस्थामा सर्वसाधारणलाई सेयर निश्काशन गर्न सकिन्छ’ उनले भने । कम्पनीले पहिलो चरणमा मर्चेन्ट बैकिङ सर्भिस, सेयर रजिष्ट्रार, म्यूचलफण्ड, डिपी, पोर्टफोलियो म्यानेजमेन्ट लगायतको काम तत्काल थाल्ने छ । दोस्रो चरणमा वित्तीय परामर्श सेवा, लगानी जोखिम मूल्याङकन लगायत सेवा दिने उनले बताए । त्यस्तै बैंकले जीवन बीमा कम्पनी, रेमिट्यान्स कम्पनी र माईक्रो क्रेडिट कम्पनी खोल्ने तयारी गरिरहेको छ । गत माग २४ गते सम्पन्न कम्पनीको २२ औं साधारण सभाले सहायक कम्पनी खोली सेवा विस्तार र विविधिकरणमा जाने गरि गरेका निर्णयहरुको आधारमा सहायक कम्पनीहरु खोल्ने प्रक्रिया अगाडि बढेको कम्पनी सचिव घिमिरेले बताए । तर बीमा समितिका अध्यक्षमा डा फत्तबहादुर केसी रहेसम्म कुनै पनि संस्थाले बीमा कम्पनी खोल्न स्वीकृति पाउने सम्भावना छैन । नयाँ लगानीलाई प्रवेश दिने, रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने, बीमा क्षेत्रमा सिर्जनात्मक काम गर्ने, सेवा विस्तार गर्ने योजनप्रति अध्यक्ष केसीले शुरु देखि नै नकारात्मक सोच राख्दै आएका छन् । उनको कार्यकालमा विगत सात वर्षयता यस्ता कुनै पनि काम भएका छैनन् ।

इन्भेष्टमेन्ट बैंकको एफपिओ माग्ने साढे ८ सय प्रमोटरको ६२ करोड फिर्ता, बाँडफाँड चैत अन्तिममा

काठमाडौं, २२ चैत । नेपाल इन्भेष्टमेन्ट बैंकको थप सेयर (एफपिओ) मा लगानी गरेका ८ सय ५५ जना आवेदकको आवेदन रद्द गरिएको छ । सेयर विक्री खुल्ला गरिएको २ दिन पछि प्रमोटर सेयरधनीले बैंकको एफपिओमा लगानी गर्न नपाउने भन्दै धितोपत्र वोर्डले निर्देशन जारी गरेपछि सो आवेदन रद्द गरेर विक्री प्रबन्धक नागरिक लगानीकोषले रकम फिर्ता दिएको हो । बैंकको एफपिओको विक्री प्रबन्धक नागरिक लगानी कोषका प्रवक्ता सुशील अर्यालले प्रमोटर सेयर धारण गरेको प्रमाणित भएका ८ सय ५५ जना सेयरधनीको आवेदन रद्द गरिएको जानकारी दिए । अर्यालका अनुसार ती ब्यक्तिले ६२ करोड रुपैयाँ फिर्ता लिइसकेका छन् । कोषले सेयर माग गर्न नपाउने भनिएका आवेदकलाई पैसा फिर्ता लिन सार्वजनिक सुचना नै प्रकाशित गरेको थियो । बैंकले प्रतिकित्ता ६०१ रुपैयाँ तोकेर ९० लाख ६९ हजार ३ सय ८८ कित्ता नयाँ साधारण सेयर निष्काशन गरेको थियो । बैंकले प्रतिकित्ता सय रुपैयाँ अंकित सेयरमा प्रतिकित्ता ५ सय १ रुपैयाँ प्रिमियम जोडेर उक्त सेयर निष्काशन गरेको हो । बैंकले फागुन ११ गतेबाट आवेदन खुला गरिएको थियो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ छ । नयाँ सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ हुनेछ । बैंकले आगामी सात वर्षसम्म सेयर पुँजी ७ अर्ब २५ करोड रुपैयाँ मात्र रहने जनाएको छ । नयाँ सेयर निष्काशन गर्दा बैंकले ४ अर्ब ५४ करोड ३७ लाख ६३ हजार रुपैयाँ अतिरिक्त आम्दानी गर्ने छ । उक्त रकम बैंकको संचित कोषमा जम्मा हुनेछ । नयाँ सेयर निश्काशन पछि बैंकको जगेडा तथा कोषहरुमा १० अर्ब २० करोड रुपैयाँ हुनेछ । शुन्य लागतको यो रकमले बैंकको नाफा वृद्धिमा योगदान गर्नेछ । आगामी पाँच वर्षको वित्तीय विवरण प्रक्षेपण गर्दै बैंकले संचित कोष पाँच वर्षपछि २२ अर्ब २२ करोड रुपैयाँ हुने जनाएको छ । बैंकले जारी गरेको एफपिओको बाँडफाँड चैतको २८ वा २९ गते गर्ने गरी तयारी भइरहेको कोषका प्रवक्ता अर्यालले जानकारी दिए ।