प्राइम कमर्सियल बैंकको नाफा २५ करोड नाघ्यो

काठमाडौं, १० कात्तिक । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २५ करोड १० लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा २२ करोड ५ लाख मात्रै नाफा कमाएको थियो । बैंकले चालु आवको पहिलो तीन महिनामा ५२ अर्ब निक्षेप संकलन गरेर ४२ अर्ब कर्जा तथा सापटी प्रवाह गरेको छ । ३ अर्ब ७० करोड पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब रुपैंयाँ रहेको छ । बैंकले एक दशमलब ७२ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर एक दशमलब ३२ प्रतिशत कायम गराएको छ । प्राइम बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ १० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ १६ पैसा रहेको छ ।

यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त, नयाँ सिइओको भोगाइ र अबको योजना

काठमाडौं, ९ कात्तिक । यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो । शर्मा यस अघि सोही बैंकमा कामु सीईओमा रुपमा कार्यरत थिए । त्यसभन्दा अघि उनी यति फाइनान्सको प्रमुख कार्यकारी अधिकृत थिए । मनकामना विकास बैंक र यति फाइनान्स मर्जपछि बनेको यो विकास बैंक बीचमा समस्यामा परेको थियो । समस्यामा परेको समयमा पनि शर्माकै व्यवस्थापकीय नेतृत्वमा यो बैंकको वित्तीय सुधार भएको थियो । बैंक संकटमा पर्दा नेतृत्व गर्दाको अनुवभ र भावी योजना बारे सागर शर्मा भन्छन्–दुई वर्षअघि ७९ करोड नोक्सानमा गएको यति अहिले नाफामा, अब ‘ब्राण्डिङ अन वार फुटिङ’  

४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ वटा बन्दै, अधिकांश विकास बैंक र फाइनान्स कम्पनी वाणिज्य बैंकमा गाभिदै

काठमाडौं, ९ कात्तिक । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्जभई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् । राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७७ वटा बैंक तथा वित्तीय संस्थाको लाईसेन्स खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा ४१ वटा मात्र भएको छ । राष्ट्र बैंकका सहायक प्रबक्ता राजेन्द्र पण्डितले दिएको जानकारी अनुसार हाल ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज तथा एक्विजिशन प्रक्रियामा रहेका छन् । त्यसमा १८ वटा विकास बैंक तथा फाइनान्स कम्पनी ८ वटा वाणिज्य बैंकमा मर्ज हुँदैछन् । प्राइम कमर्सियल बैकले बिराटलक्ष्मी विकास बैक र कन्ट्री डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । दुई विकास बैंक प्राप्तिपति बैंकको नाम प्राइम कमर्सियल बैंक नै रहने छ । ग्लोबल आईएमई बैकले प्यासिफिक डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । त्यस्तै बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने विषयमा दुई पक्षबीच सम्झौता भएको छ । उक्त प्रक्रिया राष्ट्र बैंकमा पुगे रिलायबल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निश्काशन सम्बन्धमा विवाद उत्पान्न भएको छ । नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई यसअघि साधारणसभाले पारित गरेअनुसार हकप्रद सेयर जारी गरेर मात्र मर्ज मर्ज तथा प्राप्तिको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ । कुमारी बैकले काष्ठमण्डप डेभलपमेण्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गर्दैछ । यसअघि काष्ठमण्डप डेभलपमेण्ट बैंकले महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको थियो । काष्ठमण्डप डेभलपमेण्ट बैंकले महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्ति गर्ने प्रक्रिया रोकेर सबैलाई कुमारी बैंकमा गाभिने नयाँ प्रक्रियामा राष्ट्र बैंकले सहमति दिएको काष्ठमाडप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए । नेपाल इन्भेष्टमेण्ट बैकले एस डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । सेन्चुरी कमर्सियल बैकमा दुई विकास बैंक गाभिदै छन् । यस बैंकले इन्नोभेटिभ डेभलपमेण्ट बैक र अरनिको डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । आईएलएफसीलाई एक्वाएर गरेपछि हालै एकिकृत कारोबार गरेको सिभिल बैकले थप दुई वटा फाइनान्सलाई प्राप्ति गर्दैछ । सिभिल बैंकमा युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फइनान्सलाई विलय हुँदैछन् । सनराइज बैकले एनआइडिसि क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्दैछ । यसअघि सनराईज बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यस्तै, लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गर्दैछ । सानिमा विकास बैंकले बाग्मती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दैछ । एनसीसी बैंकमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज हुँदैछन् । यो मर्ज प्रक्रिया लगभग पुरा भईसकेको छ । उनीहरु एकिकृत कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति कुरेर बसेको छन् । नेपाल राष्ट्र बैंकका अनुसार ८ वटा विकास बैंक मर्ज भई चार वटा बन्दैछन् । त्यसमा टुरिजम् डेभलपमेण्ट बैकले कालिञ्चोक डेभलपमेण्ट बैक र मातृभूमी विकास बैकलाई प्राप्ति गर्दैछ । प्राप्तिपछि टुरिजम डेभलममेन्ट बैंक बन्दैछ । सहयोगी विकास बैक र सहारा विकास बैकबीच मर्ज भई सहयोगी विकास बैंक बन्ने प्रक्रिया जारी छ । त्यस्तै फेवा विकास बैक र गण्डकी विकास बैक गाभिएर फेवा विकास बैंक बन्दैछन् । ओम डेभलपमेण्ट बैक र मनास्लु डेभलपमेण्ट बैक मर्ज भई ओम डेभलपमेन्ट बैंक बन्दैछन् । त्यस्तै ६ वटा फाइनान्स कम्पनी मर्ज भई ३ वटा फाइनान्स कम्पनी बन्दै छन् । सेन्ट्रल फाईनान्स र भक्तपुर फाइनान्स गाभिएर सेन्ट्रोल फाइनान्स बन्दैछ । त्यस्तै इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र एभरेष्ट फाइनान्स कम्पनी मर्ज भई श्री फाइनान्स कम्पनी बन्दैछ । प्रोग्रेसिभ फाइनान्सले वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लाई प्राप्ति गर्दैछ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा वित्त कम्पनी, ४२ वटा, माइक्रो फाइनान्स छन् । आर्थिक वर्ष २०६९/७० सम्म २ सय १४ ओटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले १ सय ७३ मा सीमित भएका छन् । प्रक्रियामा रहेको मर्जर टुंगिदा बैंक तथा वित्तीय संस्थाको संख्या १४६ मा सीमित हुने राष्ट्र बैंकले जनाएको छ । गाभिनेमा पनि विकास बैंक र फाइनान्स कम्पनी बढी छन् । माइक्रो फाइनान्सको संख्या भने डब्बल वृद्धि भएको छ ।