साधारणसभा स्थगित गर्न एनसीसी बैंकलाई नेप्सेको आग्रह

८ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल कमर्स एन्ड क्रेडिट बैंकलाई आगामी पुस ३० गते गर्न लागेको वार्षिक साधारणसभा स्थगित गर्न आग्रह गरेको छ । मंगलबार नेप्सेले सूचना जारी गरी नेप्सेलाई बिनु श्रेष्ठले बेचेको सेयरको हक हस्तान्तरण समस्या समाधान हुन बाँकी रहेकाले पुस ३० गते हुने साधारणसभा स्थगित गर्न आग्रह गरेको हो । नेप्सेले बैंकको नाममा पत्र लेख्दै बिनु श्रेष्ठबाट एनसीसी बैंकको सेयर खरिद गरेका लगानीकर्ताहरूको नाममा सेयर हस्तान्तरणका लागि पटक पटक गरिएको आग्रहलाई बेवास्ता गरिएको सन्दर्भमा सो समस्या समाधान नभएसम्म साधारणसभा हुन नसक्ने स्पष्ट पारेको छ । नेप्सेले श्रेष्ठलाई सेयर हस्तान्तरण गर्न लिखित र मौखिक दुवै आग्रह गरिसकेको जनाएको छ । एनसीसी बैंकले पुस ३० गते १६औ र १७औ साधारणसभाका लागि पुस ९ गते सेयरधनी दर्ता किताब बन्द गर्ने सूचना जारी गरेको थियो । बिनु एनसीसी बैंकका प्रबद्र्धक लक्ष्मीबहादुर श्रेष्ठकी पत्नी हुन् । उनले बेचेको एनसीसी बैंकको १ लाख ७ हजार कित्ता शेयर खरिदकर्ताहरूको नाममा हक हस्तान्तरण नसकेको नेप्सेले जनाएको छ । राष्ट्र बैंकको नियन्त्रणमा रहेको एनसीसी बैंकले लगानीकर्तालाई ३७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । नेप्सेले साधारणसभा स्थगित गर्न गरेको आग्रहबारे एनसीसी बैंकले कुनै प्रतिक्रिया जनाइसकेको छैन । नेप्सेको आदेश बाध्यकारी हुने भएकाले बैंकले सेयर हस्तान्तरण गरेर मात्र साधारणसभा गर्नुपर्ने हुन्छ । नेप्सेले साधारणसभा स्थगन गर्न दिएको आग्रह नेपाल धितोपत्र बोर्डलाई समेत बोधार्थ पठाएको छ ।

एनसीसी बैंकको ११ लाख कित्ता सेयर लिलामीमा, एनबी समूहको सेयर कसले किन्ला ?

२४ मंसिर । यति डेभलपमेन्ट बैंकले एनसीसी बैंकको ११ लाख २० हजार कित्ताभन्दा बढी सेयर लिलामी गर्ने भएको छ । सेयर धितोमा कर्जा लिएका एनबी ग्रुपका संचालकहरु जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठसहितका परिवारले कर्जा नतिरेपछि बैंकले धितो लिलामी गर्न लागेको हो । यति डेभलपमेन्ट बैंकले बुधवार सार्वजनिक सुचना प्रकाशित गरी आफ्नो बैंकमा धितो बन्दकी रहेको एनसीसी बैंकको ११ लाख २० हजार ५ सय कित्ता सेयर लिलामी गर्ने जानकारी दिएको हो । मंगलवार एनसीसी बैंकको सेयर प्रतिकित्ता ५ सय १८ रुपैयाँमा कारोवार भएको छ । यो मूल्य अनुसार एनसीसीको सेयरको बजार मूल्य ५८ करोड ४ लाख १९ हजार रुपैयाँ हुने छ । एनबी ग्रुपका संचालक र उसका परिवारले एनसीसीको सेयर धितो राखेर यति डेभलपमेन्ट बैंकवाट कर्जा लिएका थिए । सो कर्जाको सावा ब्याज रकम समयमै तिर्न नसकेपछि बैंकले नियमानुसार धितो लिलामीको प्रक्रिया सुरु गरेको हो । यतिले जीतबहादुर श्रेष्ठका छोरा जेन श्रेष्ठ प्रबन्ध संचालक रहेको जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजको नाममा रहेको ३ लाख ८६ हजार कित्ता सेयर लिलामी गर्न लागेको छ । यस्तै अनारदेबी श्रेष्ठको नाममा रहेको एनसीसी बैंककै ७८ हजार ५ सय कित्ता सेयर पनि लिलामी गर्ने सुचनामा उल्लेख छ । यतिले लक्ष्मीबहादुर श्रेष्ठको नाममा रहेको एनसीसीको ३६ हजार कित्ता सेयर पनि लिलामी गर्ने भएको छ । यतिमा लक्ष्मीबहादुरको नामको धितो राखिएको सेयर लिलामी गर्न लागिएको हो । लक्ष्मीबहादुरकी श्रीमती विनु श्रेष्ठको नाममा रहेको एनसीसी बैंककै १ लाख ९९ हजार ५ सय कित्ता सेयर पनि लिलामी गरिने भएको छ । यतिले एनबी इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको एनसीसी बैंकको ४ लाख २० हजार ५ सय कित्ता सेयर पनि लिलामी गर्ने भएको छ । एनबी इन्भेष्टमेन्ट प्रालि पनि एनबी ग्रुपका परिवारको हो । सो प्रालिमा पूर्णवहादुर श्रेष्ठका छोरा सुजित श्रेष्ठ प्रबन्ध संचालक उनकी आमा गीता श्रेष्ठ संचालक रहेका छन् । यतिले १५ दिन भित्रमा सो सेयर लिलामी गरिसक्ने जानकारी दिएको छ । यसअघि १९ मंसिरमा ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरेर कर्जा तिर्न जानकारी गराउदा पनि कुनै प्रयास नगरेको भन्दै यतिले धितो लिलामी प्रक्रियामा लगेको हो । सो सेयर गोप्य शिबन्दी टेण्डरवाट बढाबढ प्रक्रियामा विक्री गरिने भएको छ ।

पूर्व बैंकर देवेन्द्र ध्वजु पक्राउ, ३२ करोड अपचलन

२२ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले तत्कालिन बुटवल फाईनान्सका कार्यकारी अध्यक्ष देवेन्द्र प्रसाद ध्वजुलाई पक्राउ गरेको छ । अनुसन्धान व्युरोका अनुसार तत्कालिन बुटल फाईनान्सको कार्यकारी अध्यक्ष रहँदा ध्वजुले शक्तिको दुरुपयोग गरि फाईनान्सलाई ३२ करोड ४९ लाख ४९ हजार रुपैंयाँ नोक्सानी पु¥याएका थिए । बंैकिङ कसुर गरि फरार रहेका ध्वजुलाई केन्द्रिय अनुसन्धान व्युरोको बिशेष टोलीले ललितपुरको मानभवनबाट पक्राउ गरेको हो । पक्राउ परेका ध्वजुलाई पुनरावेदन अदालत बाणिज्य इजलास पाटनबाट १० दिन म्याद लिएर थप अनुसन्धानका लागि लगिएको सिआईबीले जनाएको छ । ध्वजुले फाईनान्सको कार्यकारी अध्यक्षसहित कर्जा समितिको समेत संयोजक बनेर कमसल धितोको अधिक मुल्यांकन गराई फाईनान्सलाई करोडौ नोक्सानी पु¥याएका थिए । ध्वजुले ऋणीहरुसँग मिलेर कम्पनीको कोषको दुरुपयोग तथा एकै समूहका व्यक्तिलाई अधिक ऋण उपलब्ध गराएर फाईनान्सलाई आर्थिक नोन्सान गराएको प्रहरीको भनाई छ । प्रहरी उपरिक्षक पिताम्बर अधिकारीका अनुसार ध्वजुले आफ्ना व्यावसायीक साझेदार तथा परिवारका नाममा ११ वटा कर्जा फाइल सिर्जना गरी ३२ करोड ४९ लाख ४९ हजार रुपैंयाँ अपचलन गरेका थिए । उक्त कर्जा प्रवाह गर्दा तत्कालिन किष्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको उच्च व्यवस्थापकसँग मिलेर कर्जा सट्टेवाजी गरेको पाईएको प्रहरी स्रोतले बतायो । कर्जा प्रवाहको लागि राखिएको धितो सावाँको ५० प्रतिशतभन्दा कम छ । तीन वर्षको व्याजसमेत जोड्दा असुल हुनुपर्ने रकमको ३० प्रतिशत पनि धितोले नथाप्ने प्रहरी स्रोतको भनाई छ । हाल तत्कालिन बुटवल फाईनान्स, एल्पिक एभरेष्ट फाईनान्स र सिएमबी फाईनान्स गाभिएर सिनर्जी फाईनान्स लिमिटेड बनेको छ । हाल यो फाइनान्स नोक्सानमा छ ।