प्रोफेशनल दियालो विकास बैंकको नाफा ३ करोड ५३ लाख, ११ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ९ साउन । प्रोफेशनल दियालो विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ५३ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५८ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले २ करोड २३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब ११ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २४ करोड ३ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप २ अर्ब १ करोड रुपैयाँ र कर्जा तथा लगानी १ अर्ब ७२ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.५३ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७४ प्रतिशत रहेको छ ।

एनआइसी एसिया र शिखर इन्स्योरेन्सबीच निर्जीवन बिमा सेवा सम्झौता

काठमाडौं, ७ साउन । एनआइसी एसिया बैंक र शिखर इन्स्योरेन्सबीच निर्जीवन बिमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकले नयाँ तथा पुराना ग्राहकमार्फत निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘हेल्थ इन्स्योरेन्स’ तथा ‘सेक्युर माइन्ड’ नामक दुई छुट्टाछुट्टै सेवा शुरु गरेको बताएको छ । हेल्थ इन्स्योरेन्स अन्तर्गत व्यक्तिगत तथा परिवारको स्वास्थ्य बीमा गराउन सकिने र सेक्युर माइन्डले बैंकको ऋण सुरक्षित गर्न सघाउ पुग्ने बैंकले जनाएको छ । बैंकले आव ०७२/०७३ मा १ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरी ५७ प्रतिशत मुनाफा कमाउन सफल भएको जनाएको छ । बैंकले हाल ६७ शाखा र ६९ वटा एटिएमबाट ग्राहकलाई बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।

मेगा बैंक लिमिटेड सातौँ वर्षमा प्रवेश

काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड शुक्रबारबाट सातौँ बर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सवका अवसरमा बैंकले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ नामक संस्थालाई ९० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संस्थाका संस्थापक सदस्य हौसला थापालाई सहयोग रकम हस्तान्तरण गरेका छन् । मेगा बैंकले हरेक बर्ष बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गर्दै आएको छ । शुक्रबार आयोजित छैटौं बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकलाई अब संघीय संरचना अनुसार लैजाने घोषणा गरेका छन् । बैंकले बुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेको जानकारी दिँदै उनले संघियताको कार्यान्वयनसँगै मेगा बैंकलाई संघिय संरचनामा लैजाने गरि गृहकार्य भइरहेको बताए । उक्त बैंकको गत आर्थिक बर्षमा निक्षेप संकलन १० अर्ब बढेर ३१ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब १० अर्ब बढेको छ । गत आर्थिक बर्ष कर्जा प्रवाह १८ अर्बबाट बढेर २८ अर्ब पुगेको हो । कर्जाको औसत आकार २५ लाख ५० हजार र निक्षेपको १ लाख ४४ हजार रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म मेगा बैंकको ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल र एउटा एक्सटेन्शन काउन्टर छ । देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवाका साथै करिब १४ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।