लुम्बिनी बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २२ असार । लुम्बिनी बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंखु क्षेत्रीले मंगलबार हस्ताक्षर गरेका थिए । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।

माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले मानेन, लाखौं सेयरधनी तनाबमा

काठमाडौं, २१ असार । माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया तोडिएको तीन महिना बित्नै लागेको छ । तर नेपाल स्टक एक्स्चेञ्जमा दुबै बैंकको सेयर कारोबार खुला भएको छैन । यी बैंकको सेयर बेच्न तथा सेयर किन्न चाहानेहरु अनिश्चित बाटो कुरिरहेका छन् । आखिरी कारोबार खुल्दैन किन ? दुई बैंकको साधारण सेयरमा लगानी गर्ने एक लाख भन्दा बढी सेयरधनीले प्रश्न गरिरहेका छन् । तर उनीहरुको लागि चित्त बुझ्दो जवाफ कसैले दिएको छैन । ‘प्रश्न मात्र सोध्ने होइन, सेयरधनीले दुबै बैंकको सञ्चालक समितिलाई घेर्नुपर्छ’ राष्ट्र बैंकको एक उच्च अधिकारीले आक्रोशित हुँदै भने–‘मर्जर प्रक्रिया केटाकेटी खेल हो र ?’ दुई बैंकबीच गत असोज ३ गते मर्जर गर्ने सहमति भएको थियो । त्यसमा राष्ट्र बैंकले पुसको अन्तिम साता सैद्धान्तिक सहमति पनि दियो । तर सात महिनापछि मर्जर प्रक्रिया भाँडियो । दुबै बैंकका मर्जर कमिटि, सञ्चालक समितिले मर्जर प्रक्रियाबाट बाहिरीने निर्णय गरे । दुबै बैंकले साधारणसभा गरे । माछापुच्छ्रे बैंकले हकप्रद सेयर र बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने निर्णय गर्यो । जनता बैंकले पनि हकप्रद सेयर, बोनस सेयर जारी गर्दै पुँजी वृद्धि गर्दै जाने र मर्जरको प्रयास पनि जारी राख्ने निर्णय साधारणसभाबाट गरायो । तर दुबै बैंकलाई यतिबेला राष्ट्र बैंकले अप्ठ्यारोमा पारेको छ । मर्जरको लागि सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंक मर्जर तोडेकोमा आक्रोसित छ । दुबै बैंकलाई सेयर कारोबार खुला गर्न स्वीकृति नदिएर पुनः मर्जमा जान दवाव दिईरहेको छ । यद्यपी राष्ट्र बैंकको यो प्रयास असफल हुने निश्चित छ । स्रोतका अनुसार दुबै बैंकका सञ्चालक समितिले मर्जर प्रक्रिया तोड्ने सम्बन्धमा गरेको निर्णयसहित सेयर कारोबार खुला गरिदिन नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेञ्ज, धितोपत्र बोर्ड सबैलाई चैत २८ गते नै पत्राचार गरेका थिए । राष्ट्र बैंकले तत्काल दुबै बैंकलाई मर्जर प्रक्रिया नतोड्न मौखिक रुपमा सुझाव दियो । त्यति मात्र होइन, राष्ट्र बैंकले आफै मध्यस्तता गरेर भएपनि मर्जर सफल बनाउन प्रयास पनि गर्यो । राष्ट्र बैंक स्रोत भन्छ–‘हामीले दुबै बैंकका सञ्चालक समिति र मुख्य सेयरधनीलाई बोलाएर मर्ज प्रक्रिया नतोड्न सुझाव दियो । तर उहाँहरुले मान्नु भएन ।’ स्वाप रेसियो नमिलेका कारण मर्जर प्रक्रिया तोडिएको दुबै बैंकले जनाएका थिए । प्रोफेशनल तरिकाबाट स्वाप रेसियो मिलाउन सकिन्छ भनेर राष्ट्र बैंकले पुनः मर्ज प्रक्रियामा फर्कन सुझाव दिएको थियो । तर दुबै बैंकमा सञ्चालक तथा प्रवद्र्धकले स्वाप रेसियोको ‘मूल्य मिले पनि मन नमिलेपछि मर्ज हुन सक्दैन, बलपूर्वक गरिएको मर्जले परिणाम राम्रो दिदैन’ भन्दै राष्ट्र बैंकको सुझावलाई अस्वीकार गरे । राष्ट्र बैंकको चाहाना र भावना विपरित जान नहुने भन्दै केही सेयरधनीले मर्जर प्रक्रिया अगाडि बढाउनु उपयुक्त हुने धारणा सार्वजनिक नै गरेको थिए । बैशाख २३ गते एक विज्ञप्ति प्रकाशित गर्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष तथा महत्वपूर्ण प्रवद्र्धक सूर्यबहादुर केसीले जनता बैंकसँगको मर्जर प्रक्रिया अगाडि बढाउन सुझाव दिएका थिए । राष्ट्र बैंकले गरेको प्रयास असफल भएपछि जनता बैंक नेपालले पनि साधारणसभा गरेर नयाँ बाटो तय गर्यो। माछापुच्छ्रे बैंकले चैत २९ गते नै साधारणसभाबारे सूचना सार्वजनिक गरिसकेको थियो । राष्ट्र बैंकमा प्रबक्ता त्रिलोचन पंगेनीका अनुसार मर्जरमा जान राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थालाई मर्जर प्रक्रियाबाट वाहिर जान पनि राष्ट्र बैंकको सहमति आवश्यक हुन्छ । मर्जर प्रक्रियालाई हलुका रुपमा लिने सोच र प्रयाप्त गृहकार्य विना मर्जर प्रक्रिया अगाडि बढाउने तथा साना साना विषयमा चुस्की लगाएको भरमा मर्जर प्रक्रिया तोड्ने अभ्यास गलत भएको उनको भनाई छ । राष्ट्र बैंकको स्वीकृतिविना दुबै बैंकको सेयर कारोबार खुला नहुने नेपाल स्टक एक्स्चेञ्जका प्रवक्ता शम्भु पन्तले बताए । ‘मर्जर प्रक्रिया तोडिएको जानकारी दुबै बैंकले हामीलाई दिएका छन् । तर कारोबार खुला गर्न राष्ट्र बैंकको सहमति चाहिन्छ, अहिलेसम्म राष्ट्र बैंकको सहमति पत्र आएको छैन’ उनले विकासन्यूजसँग भने ।

हिमालयन बैंक र ट्रयाङ्गलोबीच रेमिट्यान्स सम्बन्धि सम्झौता

काठमाडौं, २० असार । हिमालयन बैंक लिमिटेड र ट्रयाङ्गलो सिन्डरिन बर्हाड, मलेसिया बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा. तथा ट्रयाङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले हस्ताक्षर गरेका छन् । मलेसियाको कुआलालम्पुरमा प्रधान कार्यालय भएको ट्रयाङ्गलोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा कार्यालय रहेका छन् । ट्रयाङ्गलोले विश्वका करीब ८० देशहरुमा सहज, सुलभ र सुरक्षित विप्रेषण तथा प्रिपेड कार्ड सेवा प्रदान गरिरहेको छ । मलेसियन सरकारको स्वामित्व भएको ‘इकयूनाज’को लागानी रहेको ट्रयाङ्गलोेको एशियामा फिलिपिन्स, बाङ्गलादेश, भारत, चीन, श्रीलंका लगायतका दशवटा देशहरुमा रेमिट्यान्स भुक्तानी केन्द्रहरु समेत संचालनमा छन् । हिमालयन बैंक तथा ट्रयाङ्गलोबीचको यस सम्झौताबाट विदेशमा कार्यरत करीव २२ लाख नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् । ट्रयाङ्गलोेको माध्यमवाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा ७५०० भन्दा बढी हिमालरेमिट काउन्टरबाट तत्कालै भुक्तानी लिन सकिनेछ । हिमाल रेमिट बैंकको आफ्नै अनलाईन रेमिट्यान्स सेवा हो । बैंकको रेमिट्यान्स सेवाको लागि विश्वभरी ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायिक साझेदाहरु रहेका विज्ञेप्तिमा उल्लेख छन् ।