नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच तलवी बचत खाता सञ्चालन सम्झौता
काठमाडौं, १७ असार । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्पूर्ण नेपाल प्रहरी कर्मचारीहरुको तलबी बचत खाता खोली सञ्चालन सम्बन्धमा बिहिबार सम्झौता भएको छ । उक्त समझदारी पत्रमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालको समुपस्थितीमा प्रहरी अतिरिक्त महानिरिक्षक रमेश शेखर बज्राचार्य र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि बैंकले हाल ६७ जिल्लामा रहेका १६७ वटै शाखा कार्यालयहरुबाट नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरुलाई आवश्यक प्रकिया पुर्याएर शुन्य मौज्दातमा तलबी बचत खाता खोलीदिने, सहुलियत दरमा एटिएम डेबिट कार्ड, मोवाइल बैकिङ्ग सुविधा, एबिबिएस सुविधा, निशुल्क स्टेटमेन्ट, चेकबुक सुविधा, दुई लाख रुपैया सम्मको निक्षेप बीमा, एक लाख रुपैया सम्मको दुर्घटना बीमा, प्रहरी तथा प्रहरीका परिवारलाई नियमानुसार डलर सटही सुविधा प्रदान गर्न तथा भिसा डेबिट कार्ड इन्टरनेशनल अथवा ट्राभल कोटा सुविधा उपलब्ध गराउने भएको छ । उक्त अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले इतिहास बोकेको नेपाल सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक संग तत्काल करिब ७२ हजार प्रहरीको तलबी खाता संचालन गर्न पाउदा खुशी लागेको विचार ब्यक्त गरेका छन् । साथै श्रेष्ठले हाल ६७ जिल्लामा रहेका यस बैंकको सेवालाई निकट भविश्यमा ७५ वटै जिल्लामा विस्तार गर्ने अभियानमा बैंक रहेको र यसबाट नेपाल प्रहरी लगायत सर्वसाधारण जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।
एभरेष्ट बैंकद्धारा निःशुल्क पिउने पानी सुविधा
काठमाडौं, १६ असार । एभरेष्ट बैंकले काठमाडौंको पूरानो बानेश्वरमा अवस्थित रत्न राज्य उच्च माध्यामिक विद्यालयमा निःशुल्क पिउने पानी सुविधा स्थापना गरेको छ । एभरेष्ट बैंक संस्थागत सामाजिक उत्तरदायित्व प्रति सदैव सजग रहेको बैंकले बताएको छ । बैंकले समाजका आवश्यक क्षेत्रहरुमा सहयोग उपलब्ध गराउँदै आएको र साथै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रहरुमा सामाजिक कार्यहरु पनि सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
हिमालयन बैंकको एटिएम सेवा अब स्वयम्भूमा
काठमाडौं, १६ असार । हिमालयन बैंक लिमिटेडले स्वयम्भूमा भगवान पाउमा आफ्नो एटिएम स्थापना गरेको छ । उक्त एटिएमको स्थापना पश्चात बैंकको देशभर ८३ वटा एटिएम भएका छन् । बैंकका अनुसार उक्त एटिएमबाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जे.सि.बि., युनियन पे तथा एस. सि. टी. ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्नेछन् । यस एटिएमको स्थापनाले स्थानीय व्यक्तिहरु, यस क्षेत्रका विभिन्न संस्थाहरु, तथा विदेशी पर्यटकहरुले नगद निकाल्ने सुविधा पाउने बैंकले जनाएको छ ।