पूँजी वृद्धि अवधि बढाउन दवाव दिदै ठूला लगानीकर्ता, लिखित प्रस्ताव गर्न डेपुटी गभर्नरको सुझाव

काठमाडौं, ८ चैत । दुई बाणिज्य बैंकका प्रमुख लगानीकर्ताले बैंकको पुँजी वृद्धि कार्यक्रमको अवधि बढाउन दवाव सिर्जना गर्न थालेका छन् । एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ र हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठले राष्ट्र बैंकमा डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग पुँजी वृद्धि कार्यक्रमको अवधि बढाउन आग्रह गरेका छन् । उनीहरुले पुँजी वृद्धि अवधि बढाउन दवाव सिर्जना राजनीतिक शक्तिको प्रयोग गरेका छन् । उनीहरुले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई साथमा राखेर डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग पुँजी वृद्धिको अवधि बढाउने आग्रह गरेका हुन् । विके श्रेष्ठ गत सोमबार एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले सोल्टी होटलमा डिनरको लागि भनेर गभर्नर डा चिरञ्जीवि नेपाल, डेपुटी गभर्नर शिबराज श्रेष्ठलाई बोलाए । उक्त उक्त डिनरमा हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठ र हिमालय शमशेर जवरा, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायतको सानो समूह सहभागि हुने तय भएको थियो । स्रोतका अनुसार अन्तिम समयमा नेता सिंहले सबैलाई आफ्नै घरमा बोलाए । सोल्टीको डिनर नेता सिंहको ठमेलको घरमा सरेपछि गभर्नर नेपाल सहभागी नहुने निष्कर्षमा पुगे । उनले आफूलाई सञ्चो नभएकोले सहभागि हुन नसकेको जानकारी विके श्रेष्ठलाई गराए । मनोजबहादुर श्रेष्ठ सिंहको घरमा नबनियुक्त डेपुटी गभर्नर श्रेष्ठ, दुई बैंकमा अध्यक्ष, हिमालय शमशेर जवरा गएका थिए । उक्त भेटमा इन्भेष्टर एसोसिएशनका अध्यक्ष समेत रहेका हिमालयन बैंकमा अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले वाणिज्य बैंकका सिईओहरुको मात्र भनाई सुन्ने गरेको र लगानीकर्ताको मर्काका बारेमा चासो नदिएको गुनासो गर्दै पुँजी वृद्धिको लागि तोकिएको अवधि बढाउन माग गरेका थिए । पूर्व गभर्नर समेत रहेका राणाले बजार विस्तारसँगै पुँजी वृद्धि आवश्यक भएको, पुँजी वृद्धि गर्न सबै तयार भएको तर समय कम भएको बताएका थिए । समय थप्दा कसैलाई पनि नराम्रो नहुने उनको धारण छ । सो अवसरमा एभरेष्ट बैंकमा अध्यक्ष विके श्रेष्ठले एक व्यक्ति वा कम्पनीले बढीमा १५ प्रतिशत मात्र सेयर लगानी गर्न पाउने सीमालाई बढाएर २० प्रतिशत पारिनुपर्ने माग गरेका थिए । उनले हकप्रद सेयर जारी गर्दा कुनै प्रवद्र्धकले नकिनेको अवस्थामा सोही संस्थाका अर्को प्रवद्र्धकले किन्न पाउने अग्राधिकार हुनुपर्ने समेत माग गरेका छन् । १५ प्रतिशत सीमाका कारण एभरेष्ट बैंकमा उनी र उनी सम्वद्ध लगानीकर्ताको लाभांश रोकिने अवस्था रहेका स्रोतले बतायो । भेटका अवसरमा नेता सिंहले राष्ट्र बैंकको पुँजी वृद्धि सम्बन्धि नीति ठिक भएपनि यस नीतिले नेपालमा लगानी गरेको विदेशी बैंकलाई अप्ठ्यारो परेको विषय आफूसँग धेरैले उठाएको चर्चा गर्दै पुँजी वृद्धिको समय थप्न राष्ट्र बैंक लचिलो हुनुपर्ने बताएका थिए । हिमालयन बैंक र एभरेष्ट दुबै बैंकमा विदेशी लगानी रहेको छ । एभरेष्ट बैंकमा भारतको पन्जाब नेसनल बैंकको र हिमालयन बैंकमा पाकिस्तानको हविब बैंकको सेयर लगानी रहेको छ । डेपुटी गभर्नर श्रेष्ठले यो विषयमा गभर्नर कुरा गर्ने बताएका थिए । साथै उनले यो विषयलाई औपचारिक प्रक्रियाबाट राष्ट्र बैंकमा ल्याउन आग्रह गर्दै लिखित रुपमा आएका मागका बारेमा मात्र छलफल गर्न सकिने बताएका थिए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि चार गुणाले बृद्धि गर्ने योजना ल्याएको छ । सो योजना अनुसार आगामी २०७४ सालको असार मसान्तसम्ममा बाणिज्य बैंकको चुक्ता पूजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनै पर्ने हुन्छ । गभर्नर डा. नेपालले पूजी बृद्धि गर्ने समय थप नगर्ने कुरा पटक पटक दोहोर्याएपछि राजनीतिक पहुचको आधारमा समय थप गर्ने योजनामा संयुक्त लगानीका बैंकका संचालक लागेका हुन् । यी दुबै बैंकले आफैले पैसा थपेर तथा बोनस सेयर प्रदान गरेर चुक्ता पूजी बृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् । हिमालयन बैंकको अहिले ४ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूजी छ । यस्तै चालु आर्थिक बर्ष र आगामी आर्थिक बर्षमा गरी १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गर्ने र आगामी आर्थिक बर्षमा ६४ करोड २७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर प्रदान गर्ने योजना सो बैंकको छ । यस्तो भएमा २०७४ को असार मसान्तमा बैंकको चुक्ता पूजी ८ अर्ब रुपैयाँ पुग्नेछ । एभरेष्ट बैंकको चुक्ता पूजी भने २ अर्ब १ करोड रुपैयाँ छ । उसले २ अर्ब रुपैयाँ नै पूजी भएको अर्काे बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्ने, अग्राधिकार सेयरलाई इक्वीटि सेयरमा परिणत गर्ने, फ्रि रिजर्भमा रहेको रकमलाई पूजीमा परिणत गर्ने, नाफावाट बोनस सेयर प्रदान गर्ने र एफपिओ जारी गर्ने जस्ता विकल्प सार्वजनिक गरेको छ । तर राष्ट्र बैंकले अग्राधिकार सेयरलाई इक्विटीमा परिणत गर्न र रिजर्भमा रहेको रकमलाई पनि सेयरमा परिणत गर्न नपाइने निर्देशन जारी गरिसकेको छ ।

एनएमबी बैंकमा नेदरल्याण्डको एफएमओले २० प्रतिशत सेयर लगानी गर्ने

काठमाडौं, ७ चैत । एनएमबी बैंकमा नेदरल्याण्डको एफएमओ बैंकले थप सेयर लगानी गर्ने भएको छ । हाल एनएमवीमा सेयर पुँजी ४ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ छ । त्यसमध्ये एफएमओको करिव तीन प्रतिशत सेयर रहेको छ । एफएमओले थप सेयर पुँजी लगानी गरी कुल सेयर पुँजीको २० प्रतिशत बनाउन लागेको छ । एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलका अनुसार थप पुँजी लगानी गर्ने सम्बन्धमा दुई बैंकबीच सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ । दुई बैंकका अधिकारीहरुले मार्चको पहिलो साता नेदरल्याण्डमा सो सहमति गरेका हुन् । राष्ट्र बैंकको नियम अनुसार विदेशी बैंकले नेपालको कुनै पनि बैंकमा लगानी गर्दा कुल पूँजीको कम्तिमा २० प्रतिशत सेयर लिनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार एफएमओले लगानी गर्न लागेको हो । यसअघि एफएमओले क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा १४ प्रतिशत सेयर लिएको थियो । क्लिन इनर्जी डेभलपमेन्ट बैंक एनएमबीमा मर्ज भएपछि उक्त सेयर हिस्सा करिव ३ प्रतिशतमा झरेको थियो । एफएमओ नेदरल्याण्डको सरकारी बैंक हो । एफएमओले लगानी गर्नुपूर्व एनएमवी बैंकमो पुनः ड्यू डेलिजेन्स अडिट (डीडीए) गरिने छ । त्यसपछि बैंकको सेयरको प्रिमियम मूल्य निर्धारण हुनेछ । प्रिमियम मूल्य निर्धारण गरेपछि कुल सेयरको कम्तिमा २० प्रतिशत हुने गरि थप सेयर एफएमओको लागि निश्काशन गरिनेछ । एफएमओको सेयर २० प्रतिशत पुर्याउने करिव एक अर्ब रुपैयाँ बराबरको थप सेयर जारी हुन सक्ने उनले बताए । त्यसबाहेक प्रिमियम मूल्यको अतिरिक्त पुँजी बैंकमा आउनेछ । एफएमओका लागि २० प्रतिशत सेयर जारी गर्दा विदेशी पुँजी कति थपिन्छ कुरा डीडीए रिपोर्ट आएपछि मात्र भन्न सकिने उनले बताए । एफएमओले २० प्रतिशत लगानी गर्ने भएपछि एनएमबी बैंकलाई पुँजी वृद्धि सहज हुने भएको छ । बैंकले बोनस सेयर र एफपीओ जारी गरेर ८ अर्ब सेयर पुँजी पुर्याउने पुँजी योजना सार्वजनिक गरेको थियो ।

महालक्ष्मी, सिद्धार्थ फाईनान्स र मालिका विकास बैंकबीच मर्ज सम्झौता

काठमाडौं, २ चैत । महालक्ष्मी फाइनान्स लिमिटेड , सिद्धार्थ फाईनान्स लिमिटेड र मालिका विकास बैंक लिमिटेडबीच आपसमा गाभ्ने गाभिने सम्झौता भएको छ । मर्जपछि संस्थाको नाम महालक्ष्मी विकास बैंक लिमिटेड राख्ने सहमति भएको छ । सम्झौता अनुसार गाभिए पछि बन्ने राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडको चूक्ता पुंजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ हुनेछ । मंगलबार भएको सो सम्झौता पत्रमा महालक्ष्मी फाईनान्स तर्फबाट मर्जर समितिका संयोजक संजय गिरी, सिद्धार्थ फाईनान्स लिमिटेडका तर्फबाट अध्यक्ष रमेश कुमार अग्रवाल र मालिका विकास बैंक लिमिटेडको तर्फबाट मर्जर समितिका संयोजक राजेश रौनियारले हस्ताक्षर गरेका छन् । मर्जपछि बैंकको शाखा संजाल ४० सहित निक्षेप १० अर्ब ७१ करोड र कर्जा लगानी ८ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । राष्ट्रिय स्तरको विकास बैंकको लागि चाहिने बाँकी पूँजी २०७४साल आषाढ मसान्त भित्रै अन्य बैंकलाई गाभेर वा हकप्रद शेयर जारी गरी पुर्याउने सहमति भएको छ । मर्जपछि बन्ने संचालक समितिमा महालक्ष्मी फाईनान्सबाट ३ जना, सिद्धार्थ फाईनान्सबाट २ जना र मालिका विकास बैंकबाट २ जना गरी जम्मा ७ सदस्यीय संचालक समिति बन्ने व्यवस्था गरिएको छ । तिनै संस्थाको सम्पत्ति दायित्व मूल्यांकन पश्चात आउने प्रतिवेदनलाई आधार बनाई शेयर स्वाप अनूपात निर्धारण गर्ने सहमति भएको संयुक्त प्रेस विज्ञप्तिले जनाएको छ ।