समस्याग्रस्त एक संस्थाको पूजीकोष १९ प्रतिशतले धनात्मक, अर्काे संस्थाको ४० प्रतिशत ऋणात्मक
काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको एक फाइनान्स कम्पनीको पूजीकोष १९ प्रतिशतले धनात्मक रहेको छ । राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार सेयरधनीलाई लाभांश बाढ्नको लागि पनि पूजीकोष ११ प्रतिशतले धनात्मक हुदा मात्रै पनि हुन्छ । समस्याग्रस्त घोषणा गरिएको जनरल फाइनान्सको पूजी कोष १९ प्रतिशतले धनात्मक भएको पाइएको हो । राष्ट्र बैंकले अहिले १३ बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । गत असोज मसान्तसम्मको विवरणका आधारमा राष्ट्र बैंकले नै प्रकाशित गरेको तथ्यांकमा जनरल फाइनान्सको पूजी कोष १९ दशमलब १८ प्रतिशतले धनात्मक भएको देखाइएको छ । सो फाइनान्सको खराब कर्जाको अनुपात भने ९९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ । जनरल फाइनान्सको चुक्ता पूजी १३ करोड २२ लाख रुपैयाँ छ । सो फाइनान्सलाई राष्ट्र बैंकले १२ जेठ २०७० मा समस्याग्रस्त घोषणा गरेको थियो । जनरल फाइनान्सले लोनलस प्रोभिजनको लागि १८ करोड ३५ लाख रुपैयाँ छुट्टयाएको छ । सो फाइनान्ससँग १ करोड ६८ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति छ । यस्तै समस्याग्रस्त घोषणा गरिएको कर्पोरेट डेभलपमेन्ट बैंकको पूजीकोष पनि धनात्मक छ । सो डेभलपमेन्ट बैंकको पूजीकोष ४ दशमलब ७१ प्रतिशतले धनात्मक रहेको पाइएको हो । सो बैंकको खराब कर्जाको अनुपात ६० दशमलब ७७ प्रतिशत छ । कर्पाेरेटको चुक्ता पूजी २० करोड रुपैयाँ छ । सो बैंकलाई राष्ट्र बैंकले ४ पुस २०७१ मा समस्याग्रस्त घोषणा गरेको थियो । बैंकले लोनलस प्रोभिजनको लागि १६ करोड ६० लाख रुपैयाँ छुट्टयाएको छ । कर्पोरेटसँग २३ करोड ३१ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति छ । अन्य संस्थाहरुको पूजीकोष भने ऋणात्मक छ । समस्याग्रस्त गोर्खा विकास बैंकको पूजीकोष १४ दशमलब ३२ प्रतिशतले ऋणात्मक छ । राष्ट्र बैंकले सो बैंकलाई ११ चैत २०६७ मा समस्याग्रस्त घोषणा गरेको थियो । गोर्खाको खराब कर्जाको अनुपात ८१ दशमलब २१ प्रतिशत छ । सो बैंकको चुक्ता पूजी १९ करोड ८२ लाख रुपैयाँ छ । गोर्खाले लोनलस प्रोभिजनमा ७७ करोड ८ लाख रुपैयाँ छट्टयाएको छ भने २२ करोड ७४ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति छ । नेपाल सेयर मार्केटस् एण्ड फाइनान्सको पूजीकोष २ दशमलब १ प्रतिशतले ऋणात्मक छ । सो फाइनान्सलाई २८ पुस २०६८ मा समस्याग्रस्त घोषणा गरिएको थियो । उसको चुक्ता पूजी २ अर्ब ३ करोड ४२ लाख रुपैयाँ छ । सेयर मार्केटस् फाइनान्सले लोनलस प्रोभिजनको लागि २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ छुट्टयाएको छ । सो फाइनान्ससँग १ करोड ६१ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति छ । सो फाइनान्सको खराब कर्जा ९८ दशमलब ६८ प्रतिशत छ । समस्याग्रस्त अर्काे कम्पनी क्रिष्टलको पूजीकोष ३१ दशमलब ४६ प्रतिशतले ऋणात्मक छ । सो फाइनान्सलाई राष्ट्र बैंकले ७ असोज २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो । क्रिष्टल फाइनान्सले लोनलस प्रोभिजनको लागि ४२ करोड ६८ लाख रुपैयाँ छुट्टयाएको छ । सो फाइनान्सको खराब कर्जाको अनुपात ९८ दशमलब ५ प्रतिशत छ । क्रिष्टलसँग ७ करोड २४ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति छ । सो फाइनान्स कमपनीको चुक्ता पूजी ७ करोड रुपैयाँ छ । कुबेर मर्चेन्ट फाइनान्सको पूजीकोष २६ दशमलब ९५ प्रतिशतले ऋणात्मक छ । सो फाइनान्सलाई राष्ट्र बैंकले २३ पुस २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो । कुबेरमा खराब कर्जाको अंश ९४ प्रतिशत छ । उसले लोनलस प्रोभिजनको लागि ३१ करोड ७८ लाख रुपैयाँ छुट्टयाएको छ । कुबेरसँग गैर बैंकिङ सम्पत्ति छैन । हिमालयन फाइनान्सको पूजीकोष ७ दशमलब ८२ प्रतिशतले ऋणात्मक छ । सो फाइनान्स खारेजीको प्रक्रियामा गइसकेको छ । उसलाई राष्ट्र बैंकले २३ पुस २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो । हिमालयनको खराब कर्जाको अंश शत प्रतिशत नै छ । अर्थात उसका कुनै पनि कर्जाको अवस्था राम्रो छैन । उसले लोनलस प्रोभिजनको लागि कुनै रकमको ब्यवस्था गरेको छैन भने गैर बैंकिङ सम्पत्ति पनि छैन । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको पूजीकोष २२ दशमलब २६ प्रतिशतले ऋणात्मक छ । सो फाइनान्सलाई राष्«ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो । क्यापिटलको खराब कर्जाको अंश शतप्रतिशत नै छ । लोनलस प्रोभिजनको लागि उसले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ छुट्टयाएको छ भने गैर बैंकिङ सम्पत्ति छैन । यसको चुक्ता पूजी ९३ करोड ५० लाख रुपैयाँ छ । यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको पूजीकोष ४० दशमलब २६, नारायणी डेभलपमेन्ट बैंकको २७ दशमलब ७६, नेपाल फाइनान्सको १३ दशमलब ६८, अरुण फाइनान्सको ९ दशमलब ९३ र ललितपूर फाइनान्सको १८ दशमलब ४५ प्रतिशतले ऋणात्मक छ ।
प्रिमियम मूल्यमा इन्भेष्टमेन्ट बैंकको सेयर निश्काशन, पाँच वर्षमा संचित कोष २२ अर्ब पुर्याउने घोषणा
काठमाडौं, १ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतिकित्ता ६०१ रुपैयाँ तोकेर ९० लाख ६९ हजार ३८८ कित्ता नयाँ साधारण सेयर निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रतिकित्ता ५०१ रुपैयाँ प्रिमियम जोडेर उक्त सेयर निष्काशन गरेको हो । बैंकका अनुसार नयाँ सेयरको लागि फागुन ११ गतेबाट आवेदन खुला गरिएको छ । छिटोमा १४ गते र ढिलोमा २८ गते सेयर आवेदन संकलन बन्द हुनेछ । आवेदकले न्यूनतम १० र बढीमा २ लाख कित्ता सेयर आवेदन गर्न पाउने छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धन नागरिक लगानी कोष रहेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ छ । नयाँ सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ हुनेछ । बैंकले आगामी सात वर्षसम्म सेयर पुँजी ७ अर्ब २५ करोड रुपैयाँ मात्र रहने जनाएको छ । नयाँ सेयर निष्काशन गर्दा बैंकले ४ अर्ब ५४ करोड ३७ लाख ६३ हजार रुपैयाँ अतिरिक्त आम्दानी गर्ने छ । उक्त रकम बैंकको संचित कोषमा जम्मा हुनेछ । नयाँ सेयर निश्काशन पछि बैंकको जगेडा तथा कोषहरुमा १० अर्ब २० करोड रुपैयाँ हुनेछ । शुन्य लागतको यो रकमले बैंकको नाफा वृद्धिमा योगदान गर्नेछ । आगामी पाँच वर्षको वित्तीय विवरण प्रक्षेपण गर्दै बैंकले संचित कोष पाँच वर्षपछि २२ अर्ब २२ करोड रुपैयाँ हुने जनाएको छ । बैंकको घोषणा कार्यान्वन भएमा यस बैंकको सेयर भविष्यमा उच्चदरले वृद्धि हुनेछ । तर आगामी पाँच वर्षमा संचित कोष २२ अर्ब २२ करोड रुपैयाँ हुन्छ भन्ने प्रक्षेपणसँगै लगानीकर्ताले भविष्यमा पाउने लाभांशबारे अनिश्चिता बढाएको छ । बैंकले शनिबार सार्वजनिक गरेको आह्वान पत्रमा आगामी पाँच आर्थिक वर्षका वार्षिक कम्तिमा २ अर्ब १९ करोड र बढीमा ३ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा हुने उल्लेख छ । प्रक्षेपण गरिएअनुसार जगेडा तथा कोषहरुमा राख्ने हो भने आगामी पाँच वर्षसम्म बैंकले कमाएको नाफा सबै संचित कोषमा राख्नु पर्नेछ । र, सेयरधनीलाई लाभांश दिन दिइने छैन । आर्जित नाफा संचित कोषमा जम्मा गर्दा बैंक बलियो हुन्छ । भविष्यमा बैंकको प्रतिसेयर आम्दानी बढ्दै जान्छ । बैंकले प्रतिसेयर आम्दानी आगामी पाँच वर्षमा ३० रुपैयाँदेखि ४७ रुपैयाँ सम्म हुने बताएको छ । र, बजारमा सेयरको मूल्य वृद्धि हुनेछ । सेयरधनीले बैंकबाट नभई सेयर बजारबाट लाभ लिनेछन् । यस्तो अभ्यास विश्व धेरै कम्पनीले गर्ने गरेका छन् नेपालमा हालसम्म भएको छैन ।
मर्जपछि प्रभु बैंकको वित्तीय अवस्था, करिव ६ अर्ब पुँजी, ५५ अर्बको व्यापार, ५५ करोड नाफा
काठमाडौं, २७ माघ । प्रभु बैंक र ग्राण्ड बैंकबीच सम्पन्न भई शुक्रबारदेखि एकिकृत कारोबार हुँदै छ । एकिकृत कारोबार सञ्चालन गरेपछि यो बैंक ठूला र पुराना बैंकसँग प्रतिस्प्रर्धामा उक्लने छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ हुनेछ । बैंकको विजनेशन ५५ अर्ब भन्दा माथि पुग्ने छ । शाखा संख्या १३४ वटा हुने छ । शाखा संख्याको आधारमा निजी क्षेत्रको सबैभन्दा धेरै शाखा भएको बैंक हुनेछ । मर्ज पूर्व दुबै बैंकले पुस मसान्तसम्मको वित्तीय विवरण छुट्टाछुट्टै सार्वजनिक गरेका छन् । दुबै संंस्थाको वित्तीय विवरण जोड्दा निक्षेप ५४ अर्ब ४१ करोड रुपैयाँ हुन्छ । लगानी तथा कर्जा सापटी ४९ अर्ब ३१ करोड रुपैयाँ हुन्छ । त्यसमा कर्जा सापटी ४० अर्ब १३ करोड रुपैयाँ छ भने लगानी ९ अर्ब १८ करोड रुपैयाँ छ । अन्तिम अवस्थामा ग्राण्ड बैंक १२ करोड ८३ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहँदा पनि दुई संस्था मर्जपछि पुस मसान्तसम्ममा ५५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । दुबै बैंकको जगेडा तथा संचित कोषको जोड ४३ करोड ८७ लाख रुपैयाँ ऋणात्मक छ । दुई बैंकको स्थिर सम्पत्ति २ अर्ब ११ करोड रुपैयाँ भन्दा बढी छ । प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात ५ दशमलव ५३ प्रतिशत छ भने ग्राण्ड बैंकको निष्क्रिय कर्जा ३४ दशमलव ५३ प्रतिशत छ ।