एनसीएचएलसँग सहकार्यमा एनएमबि बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे
काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचलएलस) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधामार्फत बैंकले फिजिकल मर्चेन्टजस्तै अनलाईन मर्चेन्ट पनि अक्वायर गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिसा र मास्टरकार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवेले थ्रीडी सेक्यूर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पेमेन्टहरू सपोर्ट गर्ने भएकोले उक्त पेमेन्ट गेटवेले मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुनेछ । अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन् । एनएमबि बैंकले एनसीएचएलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि इसीसी, आईपीएस, आरपीएस, नेपालपे क्यूआर, कनेक्टआईपीएस, कर्पोरेटपे लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएकोमा अब ई–कमर्स पेमेन्ट गेटवेको सेवा पनि थपिएको हो । एनसीएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिङ, स्विचिङ र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागिता सँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ । एनएमबि बैंकले ७७ जिल्लामा २०२ शाखा कार्यालय, १८४ एटिएम, ९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
द्वन्द्वकालमा गएको नेपाल बैंक फर्किने पर्खाइमा
जागिरे भएपछिको पहिलो पटक बाहिर जाँदै गर्दा बेग्लै अनुभव, सबैले भने आफ्नै घरगाउँमा जाँदै हुनुहुँदो रैछ, बधाई छ ! हो, हुन त, मेरो जन्मथलो हो, हुर्केको गाउँघर हो तर के गर्नु ? यो पनि अब एकादेश भैसकेको थियो मेरा लागि । मनलाग्दा, फुर्सद हुँदा जाने थलो बनिसक्यो मेरो जन्मथलो । मेरो जे छ अब काठमाडौंमै छ । त्यसैले पनि होला आफ्नै जन्मघर आउन पनि सजिलो चाहिँ भएन मलाई । घर छोडेर हिँड्ने अघिल्लो रातको त्यो छट्पटि र पीडा त मलाई थाहा छ । रात बाक्लिँदै जान्छ, निद्रा भने झन् पातलिँंदै जान्छ । के के भुलेँ जस्तो लाग्छ, के छुटे जस्तो लाग्छ । भोलि एक दिनको भए पनि सबै तयारी गरिदिनुपर्छ भन्ने लाग्छ । कपडामा आइरन, जुत्ता, मोजा, टाई, टिफिन, पानी, ब्याग आदि सबै सबै । सबैतिर व्यवस्थापन गर्न कहाँ सजिलो छ र ! म आफ्नो जन्मथलोलाई कर्मथलो बनाउन बिहानको घरका सबै काम सकेर सबेरै नुवाकोटतिर लागेको थिएँ । वास्तवमा म नुवाकोटमै जन्मिएर पनि मलाई मेरो बैंकको शाखा कहाँनिर छ थाहा थिएन । काठमाडाैं सहरभित्रै काम गरेर अनुभव भएको म सहरबाहिरको शाखामा काम गर्नुपर्ने हुँदा नितान्त फरक लागिरहेको थियो मलाई । परिवेश, काम गर्ने शैली, सेवा लिने शैली र दिने शैलीमै फरक लाग्यो । सहरका तुलनामा गाउँका समस्यामा नै फरकपन पाएँ । साह्रै सोझा अनि अशक्त लाग्ने ग्राहकहरू, सेवामूलक कार्यमा समय बढी व्यतीत हुने, समय परिवर्तन भएर कार्डलेसका समयमा आइपुग्दा डिजिटल ज्ञानसमेत कम भएका ग्राहकसँग काम गर्दा ठूलो ठूलो स्वरमा कुरा गर्नुपर्ने, भिडभाड एवम् कोलाहलको माहोल सृजना हुने जस्ता कुराहरूले गर्दा फरक अनि भिन्न ग्राहकहरूको अनुभव गरिरहेको थिएँ मैले । अशक्तहरूका भीडमा शक्तहरू पनि अशक्त बनेर ससाना कुरामा पनि कर्मचारीहरूको भर परेको देख्थें । एकदमै फरक तर बेग्लै अनुभव लाग्थ्यो मलाई । कोही समस्यालाई सुस्तरी शान्त भएर सुनाउँछन् त कोही हतासमा रिसाएर सुनाउँछन् तर हामीले धैर्यपूर्वक सुनिदिनुपर्छ अनि बुझेर समाधान पनि निकालिदिनुपर्छ । हाम्रो पेसा नै यस्तै छ, सुन्न सक्ने क्षमता एकदमै हुनुपर्ने । त्यसैले पनि हाम्रा बुढापाकाहरूले भन्नुहुन्छ नि– कम बोल्नु, धेरै सुन्नु । सुन्न सक्ने बानीले समस्यालाई बुझ्न सक्छौँ र सुल्झाउन पनि किनकि ठाउँ, परिवेश, समय र उमेरसँगै फरक फरक कथा, व्यथा र समस्या अनि सुनाउने र बुझाउने शैली पनि फरक फरक । नेपाल बैंकको महत्त्वपूर्ण के रैछ भन्ने कुरा सहरका शाखाहरूबाट भन्दा यस्ता गाउँमा भएका शाखाहरूबाट थाहा हुने रैछ । नेपाल बैंकप्रतिको लगाव, तछाडमछाड अनि भिडमभिडले स्पष्ट हुन्छ कि नेपाल बैंकप्रतिको आस्था र विश्वास कति अटल र अटुट छ भन्ने कुरा । जति नै भिड किन नहोस्, बरु नेपाल बैंकमै बास बस्न तयार हुन्छन्, एक हप्ता धाउन तयार हुन्छन् तर बैंक छाडेर जाने कुरा कहिल्यै गर्दैनन् । छोराछोरीले घुर्काए जस्तो गाह्रोसाह्रोमा घुर्काउन थाल्छन् तर नराम्रो सोच्दैनन्, गाली पनि गर्दैनन् । कति सादा र सरल व्यवहार उहाँहरूको । हाम्रा यिनै इमान्दार एवम् सोझा ग्राहकहरू नै नेपाल बैंकको पहिलो बलियो आधार हुन् भन्दा खासै फरक नपर्ला । यस्ता प्रकारका हाम्रा ग्राहकहरू जोगाइराख्नु नै हाम्रो पहिलो कर्तव्य पनि हो जस्तो लाग्छ । पेन्सन अनि सामाजिक सुरक्षा भत्ताका ग्राहक जोगाउनु बैंकको पहिलो कर्तव्य हो जस्तो लाग्छ मलाई जसले बैंक रहेसम्म स्वेच्छाले साथ दिइरहन्छन् । कस्ता कस्ता ग्राहक हुन्छन् सायद कमैले कल्पना गर्न सक्छन् । एक दिन एकजना आमा मेरो रूममा आएर भुइँमा टुसुक्कै बस्नुभयो । हातमा एउटा बोराको पोको थियो । पछि थाहा भयो कि उहाँको एफडी खाता रैछ । आज सकिने भनेर उहाँको दिमागमा बसेको रैछ, अनि हतार-हतारमा बैंक आउनुभएको रहेछ । उहाँको ३० लाख रकम बैंकमा जम्मा थियो, फेरि थप गर्न भनेर २० लाख बोरामा राखेर आउनुभएको थियो, कल्पना पनि गर्न नसकिने । आफ्ना कागजात ५ वटा खामभित्र स्टिच लगाएर सुरक्षित राख्नुभएको थियो । मलाई कागजात निकाल्नै १५ मिनेट लागेको थियो । जति गाढा आस्था उति गहिरो विश्वास नेपाल बैंकसँग । हाम्रो नेपाल बैंकका ग्राहकहरू यस्तै नै हुन्छन्, सोझा अनि सादा । यही नै नेपाल बैंकको जग हो । जबसम्म ग्राहकहरू हाम्रा साथमा रहन्छन् तबसम्म हामी रहन्छौं साथै जबसम्म नेपाल बैंक रहन्छ तबसम्म साथ दिइरहन्छन् हाम्रा यस्ता ग्राहकहरूले । एक दिन एक जना ८२ वर्षको बाजे आउनुभयो बैंकमा । उमेरले ८२ तर उहाँ एकदमै भरिलो, रसिलो र तगडा देखिनुहुन्थ्यो । कान भने कम सुन्नु हुँदो रैछ, अलि बेस्सरी बोल्नुपर्ने । उहाँले धेरै वर्ष पहिले कर्जा लिएको रे १० लाख रुपैयाँ । अनि चुक्ता पनि उही छोटो समयमै गर्नुभएको रैछ । तर फुकुवा नगरी बस्नुभएको रैछ जग्गा । पुरानो फाइल भएकाले हामीलाई त्यो जग्गा फुकुवा गर्नका लागि प्रक्रिया पूरा गर्न समय पनि लाग्यो अनि अलि सजिलो पनि भएन । अनि मैले किन यति लामो समय राख्नुभएको फुकुवा नगरी भनेर सोधेको त उहाँको जवाफ सुनेर म छक्क परेँ । नेपाल बैंकमा राखेपछि ढुक्क हुन्छ किनभने यहाँबाट कतै हराउन्न भनेर उहाँले भन्दा म छक्क परेँ । न चोरीको डर न सन्तानले खालान् भन्ने डर भन्दै हँसाउनुभयो । ग्राहकहरूबाट थाहा हुन्छ हामीलाई उहाँहरूको नेपाल बैंकप्रतिको अथाह विश्वास । पेन्सन लिन आउने समय र चाडपर्वका समयमा हामीले राम्रो सेवा दिन सक्नु पनि कर्मचारीको एक परीक्षा जस्तो हुन्छ । सामान्य अवस्थामा त गर्न सकिन्छ अनि त्यति साह्रो खटिनु नपर्ला तर भीडभाड अनि चाडपर्वमा छिटो छरितो अनि राम्रो सेवाको अपेक्षा गर्नु उहाँहरूको अधिकारको कुरा पनि हो । हामी हरेक कर्मचारीले यस्ता कुरामा ध्यान दिन सकेमा पनि हाम्रो सेवालाई उत्कृष्ट बनाउन सहयोग पुग्दछ । एक त हामी प्रत्येक कर्मचारीले आफूलाई आफ्नो कामको, आफ्नो डेस्कको अनि आफ्नो कर्तव्यको बोस मानेर समयमै उचित निर्णय लिई सेवा दिन सक्नुपर्छ भने अर्कातिर भिडभाड अथवा असमान्य अवस्थामा आफूसम्म आइपुगेका ग्राहकलाई आफैले सेवा दिई काम निम्टाइदिने, उसको र फलानोको भनेर नपन्छाइदिने अनि अर्को फाँट नदेखाइदिने, एउटा साथीसँग रिसाइरहेको र डिसकस परिरहेको ग्राहकलाई हेरेर सुनेर बस्नुभन्दा अवस्था हेरेर फरक अनि समझदारीको वातावरण सृजना गर्न सहयोग गरिदिने, यस्ता हाम्रा स-साना सहयोगी भावले एकातिर ग्राहकले सहज वातावरणको अनुभव गर्न थाल्छन् भने कार्यालयमा कर्मचारीहरूमा कामको प्रेसर कम अनुभूति हुने, कर्मचारी साथीहरूमा सौहाद्र भावको सृजना हुन जाने हुँदा यसले अन्ततः ग्राहकले पनि प्रत्येक कर्मचारीलाई विश्वास गर्न सक्ने वातावरण बन्छ । यसरी नै हामी प्रत्येक कर्मचारी प्रत्येक ग्राहकको विश्वासिलो एवम् भरपर्दो बन्न सक्नुपर्छ । यो पनि प्रत्येक कर्मचारीका लागि एउटा चुनौती बन्दै गइरहेको छ जस्तो लाग्छ । नेपाल बैंकका तत्कालीन ३ वटा शाखा यसै शाखामा गाभिई सेवा प्रदान गर्दै आइरहेको यस शाखामा पेन्सन तथा सामाजिक सुरक्षा भत्तालगायतका सेवा प्रदान गर्दा ग्राहकको भीडभाड अत्यधिक हुने, कतिपय ग्रामीण भेगका र वित्तीय साक्षरताको कमै ज्ञान भएका विशेष गरी कृषक, ज्येष्ठ नागरिक र शारीरिक रूपले दुर्बल अवस्थाका ग्राहकलाई सेवा प्रदान गर्दाका अवस्थामा हामीले नरिसाई, झन्झट नमानी सहज तरिकाले सेवा दिने वातावरण सृजना गर्न सक्नु नै चुनौती बन्न जान्छ । आएका ग्राहकलाई सन्तुष्ट बनाएर फर्काउन सक्नु नै शाखाको ठूलो उपलब्धि मानिन्छ । अधिकांश गृहिणी दिदीबहिनीहरू भने खाली हात नबसेको पनि पाइयो । पेवा तथा खेती किसानी गर्दै बैंकमा पैसा जम्मा गर्न आउने, आफ्नो सिप एवम् कलाका सामान अनि करेसाबारीका अर्गानिक कृषिका सामानहरू बेचेर राम्रै आम्दानी गरेको पनि देखियो । यो अवसर पनि हो उहाँहरूका लागि । सामूहिक रूपमा स्थानीय तहमा आयोजना गरिने विभिन्न घरेलु तथा हस्तकलाका साथै विभिन्न सृजनशील कलासम्बन्धी तालिम लिनु, यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनु, विभिन्न समूहहरूको प्रतिनिधित्व गर्नु अनि समसामयिक विषयमा चासो राख्नु जस्ता विविध कार्यहरूमा व्यस्त रहनु नै उनीहरूको दिनचर्या रहेको छ भने के कसो गर्दा गाउँघरको राम्रो हुन्छ त्यो आफै सोच्न सक्ने बन्नु दिदीबहिनीहरूका लागि यो राम्रो उपलब्धि पनि लाग्यो भने अहिलेको समयमा गाउँघरको समस्या भनेको युवापुस्ताको सङ्ख्यामा कमी आउनु, गाउँघरमा बिरलै युवायुवतीको बसोबास हुनु र सङ्ख्यात्मक हिसाबले ज्येष्ठ नागरिकहरूको बाहुल्य हुनु हो । गाउँघरमा गइयो भने बुढाबुढी अनि विदेशमा रहेका छोराछोरीका सन्तान स-साना नातिनातिनाभन्दा अरू भेटिन्नन् । बैंक टाढा हुनु, सहयोगका लागि सहयोगी युवा हातहरू साथमा नहुनु, बुढेसकालमा बुबाआमाहरू एक्लो जीवन बाँच्नुपर्ने अवस्था अहिले गाउँघरको तीतो यथार्थ बन्न पुगेको छ । त्यसैले पनि समस्यामाथि समस्या थपिएको हो । सवारी साधनमा ल्याइदिने मान्छे छैनन्, सार्वजनिक साधनको भर पर्नुपर्छ, यसो गरिदेऊ न भनेर पठाउने मान्छेको अभाव छ, जता गए पनि बुढाबुढी भएको बुबाआमा नै अघि लाग्नुपर्छ । युवाहरू गाउँबाट बेँसी, बेँसीबाट सहर, सहरबाट विदेश जाने क्रम घट्दो होइन, बढ्दो रूपमा देखिन्छ । यसकारण पनि गाउँबाट आउनुपर्ने आमाबुबालाई बैंकिङ कारोबार गर्न समस्या भएको हो । फोन गर्न सक्नुहुन्न, भनेको बुझ्नुहुन्न, डिजिटल ज्ञान छैन । जसले गर्दा बैंकिङ कारोबारमा असहज भएको देखिन्छ । त्यसैले पनि अहिलेको समयमा गाउँघरमा बैंक खाता बढाउन सक्ने अवस्था नभए पनि भएका खाताहरूलाई जोगाउन सक्नु नै सफल मान्नुपर्ने अवस्था आएको छ । यी सब कुरा भनिरहँदा कथा जस्तो लाग्न सक्छ तर वास्तवमा आजको गाउँघरको तीतो यथार्थ यही हो । यस्तैमा एक दिन गेटसम्म आइदिनुपर्यो म्याडम, मैले मान्छे लगाएर बोकाएर ल्याएको छु आमालाई भन्दै एकजना पाको अर्थात् बुबाको उमेरको व्यक्ति आउनुभयो । म गएँ, उहाँको शारीरिक अवस्था अनि बिरामी भई अशक्त अवस्थामा आफ्नै खाताको पैसा झिक्न पनि कति गाह्रो, बैंकमा राखिएको आफ्नै पैसा पनि एक प्रकारको घाँडो बनेजस्तो आभास भयो मलाई, उहाँलाई देखेर । लामो समयदेखि उहाँको पैसा निकाल्न केही बैंकिङ नियम मिलिरहेको थिएन, त्यसैले उहाँले आफैँ आउनुपरेको थियो । भित्र आउन सक्नुभएन अनि आउन पनि मान्नुभएन । बाहिरै बसेर कुरा गर्न खोजेको देखेर मैले उभिएर नै कुरा गरें । उहाँको पहिलो शब्द नै आम्मै म जस्तै केटी मान्छे रैछ नि हाकिम त, उहाँको मुहारमा एक प्रकारको आशाको उज्यालोपन देखें । सायद उहाँलाई समस्या मैले बुझिदिन्छ भन्ने पनि लाग्यो । उहाँले नेपाल बैंकमा खाता कसरी खोलियो अनि किन नेपाल बैंक छोड्न सकिएन, सबै खासखुस खासखुसमै भन्दै जानुभयो । म कतिपय शब्द बुझ्दिनथें तैपनि ओठको लवजमै बुझ्ने कोसिस गर्दै गएँ, उहाँ आफै पनि कतिपय कुरा दोहोर्याई तेहेर्याई भन्नुहुन्थ्यो । बोली प्रस्ट छैन तैपनि मनभित्र गुम्सिएर बसेका धेरै धेरै कुरा सुनाउन चाहनुहुन्थ्यो । आँखामा रोशनी थिएन तैपनि मलाई राम्ररी नियाल्न खोज्दै हुनुहुन्थ्यो । आँखामा भएका आँसु सुकेर सुक्खा भैसकेका थिए, शब्द शब्दमा मन भकानिथ्यो, मन रुन्थ्यो तर सुक्खा आँखाले साथ दिँदैनथ्यो । हामी जस्ता अनपढ, सोझा अनि गाउँघरका सबैको नजिकको साथी जस्तो थियो नेपाल बैंक । खै, कता हरायो, कता गयो भन्दै लामो सास तान्नुभयो। बेग्लाबेग्लै नौवटा स्थान जनाउने नौ कोटहरू बुझाउने शब्दहरूबाट बनेको शब्द अपभ्रंश भएर बनेको नुवाकोट जिल्ला रमणीय मात्र होइन यसको आफ्नै ऐतिहासिक विशेषता पनि छ । नेपाललाई सार्वभौम सम्पन्न मुलुक बनाउन राजा पृथ्वीनारायण शाहले युद्धमा प्रयोग गरेको महत्त्वपूर्ण ऐतिहासिक जिल्ला मानिन्छ नुवाकोट । काठमाडौंबाट नजिक रमणीय र एक अलग ऐतिहासिक विशेषता रहेको यस जिल्लालाई सेरा दरबार, सात तले नुवाकोट दरबार, भैरवी मन्दिर अनि दुप्चेश्वर मन्दिरले अझ थप परिचित बनाएको देखिन्छ । काठमाडौंबाट नजिक मानिने यो जिल्ला पर्यटकीय रूपमा पनि विकसित हुँदै गइरहेको देखिन्छ भने नजिक र कम दूरीमा रहेको शाखाका रूपमा लिइन्छ त्रिशूली शाखालाई । द्वन्द्वकालभन्दा अघि नुवाकोटमा नेपाल बैंकका देउराली शाखा, ढिकुरे शाखा, चोकदे शाखा र त्रिशूली शाखासमेत गरेर जम्मा चार शाखा थिए । जसबाट हाम्रा ग्राहकहरूले राम्रै सेवा सुविधाहरू लिइरहेका थिए । सशस्त्र द्वन्द्व चलिरहेका समयमा यी सबै शाखाहरू हटाइए अनि एउटै शाखाका रूपमा त्रिशूली शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । अहिले पनि नुवाकोटका धेरै टाढाका ठाउँहरू घ्याङफेदी, भाल्छे, मेदान र उर्लिनी जस्ता ठाउँबाट ग्राहकहरू सेवा लिन आउनुहुन्छ । के गाउँ, के सहर, के सिधासादा, के बाठा, सबै प्रकारका ग्राहकहरूको भिड नेपाल बैंकको यस शाखामा हुने गरेको पाइन्छ । यहाँ आउने सबै ग्राहकहरूको एउटै इच्छा हुन्छ, विनाझन्झट छिटोछरितो सजिलै काम होस् अनि कर्मचारीको व्यवहार पनि सद् भावपूर्ण होस् । यसकारणले नै आमाको पनि यही इच्छा पनि हो अनि आमाको भावानात्मक सम्बन्धसँग जोडिएको, एक प्रकारको गहिरो अटूट आस्थाले भरिएको पनि थियो ‘नेपाल बैंक । नुवाकोटको सबैभन्दा ठूलो गाउँपालिका सूर्यगढी गाँउपालिकालाई सेवा दिने नेपाल बैंकको चोकदे शाखा पुनःस्थापना हुन सकेन । द्वन्द्वकालमा गएको नेपाल बैंक कहिले आउँछ, म पर्खाइमा छु नानी भन्नुभयो आमाले मसँग । श्रीमान् आर्मी हुनुहुन्थ्यो । छोरा फार्मेसी पढेर गाउँमै सानो औषधि पसल गर्दै थियो । म घर सम्हाल्थें । लामो कथा छ तर एउटै शब्दमा भन्नुपर्दा दुवैले नेपाल आमाका लागि ज्यान दिए । म एक्लो भएँ । पछि सरकारले दिएको पैसा लिन मैले यस नेपाल बैंकमा खाता खोलेँ । हुन त म पटक पटक नेपाल बैंक श्रीमान्सँग आइरहेकी हुन्थँे तर मेरा नाममा खाता थिएन । मेरा श्रीमान्को निधनले नेपाल बैंकमा सुरु भएको मेरो खाता तर मलाई खाताभन्दा पनि नेपाल बैंक प्यारो लाग्छ । यस बैंकमा आएपछि त्यतिबेलाका सम्झनाहरू ताजा हुन्छन् मेरा स्मृतिमा । नेपाल बैंकमा जाँदा धेरै कुरा सोध्न मन लाग्थ्यो अनि उहाँ व्यस्त भएका बेला म गार्डलाई अनि त्यहाँ सरसफाइ गर्ने बहिनी थिइन् उनैसँग सबै कुरा सोध्थें । एक दिन मलाई उहाँले खुब चासो लिएकी छौ त तिम्रो नाममा पनि खोलिदिन्छु नि खाता, त्यसमा म केही पैसा राखिदिन्छु अनि तिमी बाख्रा र कुखुरा खुब पाल्नु अनि मेरो पेवा भन्दै बेचेर पैसा धेरै बनाउनु भनेर भन्नुभएको थियो । त्यो त सपना नै रह्यो मेरो । औषधि पसल पनि छोड्नुपर्यो । चोकदेमै खोलेको थिएँ खाता, त्यसको केही समयपश्चात् बैंक गाउँबाट सरेर सहर गयो, पछि फेरि आउँछ भन्नुहुन्थ्यो तर कहिल्यै आएन । हामी जस्ता अशक्तहरूलाई धेरै गाह्रो भयो । निल्नु नओकल्नु भयो । यति टाढा छ बैंक आउन । त्यो बैंक फेरि ल्याउन मिल्दैन र ? कसलाई भन्नुपर्ने हो नानी ? सरकारले किन यस्तो हामीहरूको पीडा नबुझेको ? हामी जस्ता अशक्तहरूको गुनासो पनि सुन्ने ठाउँ छ र भनेको ? ए नानी ! ल न भन्दिनुपर्यो सरकारलाई । मेरो भदो छोरा हो यो, न मैले अधिकार दिन मिल्छ, न आफै आइरहन सक्छु । एक त साधन पनि समयमा पाइन्न अनि दिन नै माया मारेर आउनुपर्छ । एक पटक त म यतै बास बस्नुपरेको नि नानी । लोकल गाडी हिँडिसकेछ अनि यतै बास बस्नुपर्यो तर म आफन्तकहाँ गएर बसेँ । एक हजार रकम लिन आउन पाँच सय खर्च गर्नुपर्छ नानी । घर नजिकै अरू दुईटा बैंक छन् छ न त तर जान मन लाग्दैन मलाई ती बैंकमा । किन किन यही बैंकसँग मेरो आत्मीयता छ अनि बढी विश्वास पनि । तर नानी मलाई यहाँसम्म पटक-पटक आइरहन नपर्ने गरी मिलाइदिनु प¥यो भन्दै व्यथा पोख्दै भन्नुभयो, ‘अब त आउनुपर्ने हो, फर्किनुपर्ने हो, लामो समय भयो क्यार आउँछु भनेर गएको हो । सबैले भन्छन् आउँछ, हाम्रो गाउँमा नेपाल बैंक फेरि आउँछ । मलाई विश्वास छ नानी नेपाल बैंक म नमर्दै फर्केर मेरो गाउँ आउँछ, म पर्खाइमा हुनेछु ।’’ (लक्ष्मी पण्डित नेपाल बैंककी उपप्रबन्धक हुन् ।)
सिटिजन्स बैंक : सरकारलाई डेढ अर्ब, सेयरधनीलाई ७७.७३ करोड रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा (एजीएम) आज बस्दैछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै संस्थापक समूहबाट १ र सर्वसाधारण समूहबाट ३ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । मजबुत वित्तीय स्थिति गत वर्ष बैंकको कुल सम्पत्ति १०.१९ प्रतिशतले वृद्धि भएर २ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षको २ अर्ब २२ अर्ब ८६ करोड रुपैयाँ कुल सम्पत्ति थियो । समीक्षा वर्षमा बैंकको निक्षेप संकलन ११.७९ प्रतिशत बढेर २ खर्ब १४ अर्ब ८ करोढ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको तथ्याङ्क अनुसार कुल निक्षेपमा सर्वसाधारण ग्राहकको २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थाको २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस्तै, कुल निक्षेपमा चल्तीतर्फको ५.३२ प्रतिशत, बचतको ३४.२६ प्रतिशत, मुद्दतीको ५१.८३ प्रतिशत, मागेको बखत तिर्नुपर्ने ८.०५ प्रतिशत र बाँकी अन्य निक्षेप रहेको बैंकले जनाएको छ । बैंकका अनुसार गत वर्ष कुल कर्जा १.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवमा बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमध्ये १ खर्ब ७३ अर्ब ८९ करोड रुपैयाँ सर्वसाधारणलाई र १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गरेको छ । २०८२ असारसम्ममा कुल कर्जामध्ये रियल स्टेटमा २.७७ प्रतिशत, हाउजिङ्गमा ६.३८ प्रतिशत, मार्जिन लेन्डिङ्गमा ४.०१ प्रतिशत, अधिविकर्ष कर्जामा ३.१३ प्रतिशत, आवधिक कर्जामा ४४.४६ प्रतिशत, डिमाण्ड तथा चालु पुँजी कर्जामा ९.८७ प्रतिशत, हायर पर्चेजमा २.५७ प्रतिशत, विपन्न वर्ग लक्षितमा ६.८१ प्रतिशत र अन्य कर्जामा १९.७० प्रतिशत लगानी रहेको बैंकले जनाएको छ । साथै, प्राथमिकता प्राप्त क्षेत्रमा ३३.६ प्रतिशत लगानी गरेको छ, जसमध्ये कृषि क्षेत्रमा ११.७७ प्रतिशत छ । यस्तै, हाइड्रोपावर प्रोजेक्टका लागि स्वीकृत कुल सीमा ४३ अर्ब ८ करोड रुपैयाँमध्ये २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरी जलविद्युत क्षेत्रको विकासमा योगदान पु¥याएको बैंकले जनाएको छ । करिब १ हजार २२७.०८ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनामा कर्जा लगानी गरेको दाबी सिटिजन्स बैंकको छ । २०८२ असार मसान्तसम्ममा ६ हजार ६७१ वटा साना तथा मझौला कर्जा शीर्षक अन्तर्गत कुल १५ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । कृषि तथा साना व्यवसायलाई लक्षित ९ हवार २९७ वटा फास्ट ट्रयाक लोन शीर्षक अन्तर्गत कुल कर्जा ६ अर्ब ५० करोड रुपैयाँ र कृषि तथा उद्यम कर्जामा १८ अर्ब ९६ करोड रपैयाँ तथा कृषि ऋणपत्र तर्फ ६६ करोड ९० लाख रुपैयाँ सहित बैंकले कृषि क्षेत्रमा कुल १९ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । कृषिलाई थप योगदान पु¥याउने उद्देश्यले ‘एक क्षेत्र एक उत्पादन/एक जिल्ला एक उत्पादन’ को रणनीति तयार पारी १ हजार ९२२ वटा ऋणीलाई २ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७६ अन्तर्गतका विभिन्न क्षेत्रमा कुल २ हजार ५४८ ऋणीलाई १ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष ५.७२ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको गत वर्ष १२.०८ प्रतिशत बढेर ६.४१ अर्ब रुपैयाँ गरेको जनाएको छ । अघिल्लो वर्ष गैह्र ब्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत वर्ष २८.१८ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ गरेको छ । कुल सञ्चालन खर्च अघिल्लो वर्ष ३ अर्ब ४३ करोड रुपैयाँ थियो भने गत वर्ष शाखा सञ्जाल वृद्धि, घर भाडा, बीमा शुल्क, स्टेशनरी, पोशाक खर्च, सुरक्षा खर्च, इन्टरनेट जडान जस्ता खर्चले कुल सञ्चालन खर्च ६.८४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा पुँजी कोष अनुपात १२.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष पुँजी कोष अनुपात १३.०६ प्रतिशत थियो । बैंकको उपस्थिति नभएको स्थानमा व्यवसाय विस्तार गर्न गत वर्ष बैंकले काठमाडौंको पानीपोखरी, ललितपुरको हरिसिद्धि र खोटाङको दिक्तेलमा नयाँ शाखा विस्तार गरी २ सय शाखा पुर्याएको छ । यस्तै, बैंकले थप ६ वटा एटीएम सञ्चालनमा ल्याएसँगै कुल एटीएमको संख्या १६८ वटा र पीओएसको संख्या ५१६ वटा पुगेको जनाएको छ । बैंकका अनुसार डेबिट कार्डको संख्या ४ लाख २ हजार २ सय वटा, क्रेडिट कार्डको संख्या ५ हजार १३४ वटा र प्रिपेड कार्डको संख्या ५ हजार २६६ वटा रहेको छ । सेवा सुविधालाई सरल, सहज र सुरक्षित रुपमा ग्राहक समक्ष पु¥याउन बैंकले नविन प्रविधिको प्रयोगमा जोड दिइरहेको छ । बैंकले आफ्नो डाटा सेन्टरलाई थप सबल भौतिक पूर्वाधार भएको स्थानमा स्थानान्तरण गरेको छ । जसले गर्दा डाटा सेन्टरमा हुने विद्युतीय तथा अन्य भौतिक जोखिमहरु पनि न्यूनीकरणमा सहयोग भई बैंकको आन्तरिक तथा ग्राहक केन्द्रित सेवाहरुलाई सदैब सुचारु अवस्थामा राख्न थप टेवा मिल्ने बैंकले जनाएको छ । बैंकिङ्ग सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनको लागि इन्फोसिसले विकास गरेको विश्वकै उत्कृष्ट बैंकिङ्ग सफ्टवेयरमा पर्ने फिनाकल कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आएको छ र साथै फिनाकल भर्जन तथा फिचरलाई अद्यावधिक गर्ने कार्य भइरहेको बैंकले जनाएको छ । विदेशमा रहेका नागरिकलाई सेवा प्रदान गर्न उद्देश्यका साथ बैंकको सिटिजन्स रेमिट सेवा सञ्चालनमा छ । उक्त सेवामार्फत बैंकले विप्रेषण कारोबार सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले गत वर्ष कुल ३ करोड २६ लाख २० हजार ५ सय ६६ अमेरिकी डलर बराबरको विप्रेषण भित्र्याएको छ । जसबाट बैंकलाई २ करोड ६५ लाख ६८ हजार १९१ रुपैयाँ आम्दानी भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही बमोजिम गत वर्ष बैंकले स्वास्थ्यमा २१ लाख ४३ हजार रुपैयाँ, शैक्षिक क्षेत्रमा २८ लाख ८४ हजार रुपैयाँ, वातावरण संरक्षणमा ६ लाख ३९ हजार रुपैयाँ, वित्तीय साक्षरताका निम्ति २६ लाख रुपैयाँ, मानवीय सहयोग तथा राहतमा ४८ लाख ८ हजार रुपैयाँ, दिगो विकासका लक्ष्यमा ६ लाख २५ हजार रुपैयाँ गरी विभिन्न संघ संस्थालाई १ करोड ४७ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको तथ्याङ्क अनुसार २०८२ असारसम्म कुल १ हजार ८०७ जना कर्मचारी कार्यरत छन् । गत वर्ष १६८ जना नयाँ कर्मचारी थपिएका छन् भने १४५ जना कर्मचारी नै बैंकबाट बाहिरिएका छन् । कुल कर्मचारीमध्ये ७७२ जना (४२.७२ प्रतिशत) महिला रहेको बैंकको दाबी छ । गत वर्ष कर्मचारीको दक्षता अभिवृद्धि गर्न २ करोड ६८ लाख रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । गत आव २०८१/८२ मा बैंकले अग्रिम आयकर बापत ५० करोड रुपैयाँ, विभिन्न भुक्तानीमा कर कट्टी गरेबापत ९१ करोड ९८ लाख १६ हजार रुपैयाँ ठूला करदाता कार्यालयमा र २ करोड ३५ लाख ९८ हजार रुपैयाँ अन्य आन्तरिक राजस्व कार्यालयमा गरी कुल १ अर्ब ४४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ । बैंकमा चुनौती सिटिजन्स बैंकले बैंकिङ क्षेत्रका लागि जेनजी आन्दोलनदेखि साइबर सुरक्षासम्मको खतरा देखाएको छ । नेपालको बैंकिङ क्षेत्र अहिले जटिल र बहुआयामिक चुनौतीको घेरामा परेको बैंकले जनाएको छ । जसले आगामी दिनमा बैंकिङ सञ्चालन थप कठिन बन्न सक्ने बैंकको निष्कर्श छ । परम्परागत आर्थिक तथा वित्तीय जोखिम मात्र नभई सामाजिक, राजनीतिक र प्राविधिक पक्षबाट उत्पन्न हुने नयाँ र गम्भीर खतराहरू बैंकले समावेश गरेको छ । आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमहरूलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बन्दै गएको छ । आर्थिक, मौद्रिक तथा वित्तीय नीतिमा हुने आकस्मिक परिवर्तन, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दी, विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा आउने उतार चढाव र विदेशी विनिमय दरमा हुने परिवर्तनले बैंकको कारोबारमा सीधा असर पार्ने देखिएको छ । यस्तै, तरलतामा हुने उतार चढावका कारण निक्षेप तथा कर्जाको ब्याजदरमा हुने परिवर्तन र लगानीयोग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमले बैंकहरूलाई दबाब दिएको छ । यसको विपरीत, अत्यधिक तरलताका कारण बढेको तीव्र बैंकिङ्ग प्रतिस्पर्धाले नाफामा असर पारेको देखिन्छ । समयमै कर्जा असुली नभई उत्पन्न हुने जोखिम र गैरकोषीय सेवा (प्रतीतपत्र/जमानतपत्र) जारी गर्दा हुन सक्ने जोखिम प्रमुख छन् । पुँजी बजारमा आउन सक्ने उतारचढाव र वैकल्पिक लगानी क्षेत्रको अभावले बैंकको लगानी पोर्टफोलियोलाई जोखिममा राखेको बैंकले जनाएको छ । आम्दानीको स्रोत साँघुरिएको बेला पनि लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरिरहने चुनौतीले बैंकको व्यवस्थापनमा ठूलो दबाब सिर्जना गरेको छ । आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बनेको छ । सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्याङ्क र पर्याप्त प्रविधिहरूको अभावले नेपाललाई अन्तर्राष्ट्रिय अनुपालनको चुनौतीमा पारेको छ । जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जोखिमलाई समेत प्रमुख खतराको सूचीमा राखिएको छ, जसले बैंकिङ क्षेत्रमा उदीयमान जोखिमको आयामलाई स्पष्ट पारेको छ । कुन कोषमा कति छुट्यायो ? बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त नाफाको २० प्रतिशत अर्थात् २५ करोड ७४ लाख १५ हजार रुपैयाँ साधारण जगेडा कोषमा छुट्याइएको छ । यस्तै, नाफाको २५ प्रतिशत अर्थात् १४ लाख १५ हजार रुपैयाँ सटही समीकरण कोष, १ प्रतिशत अर्थात १ करोड २८ लाख ७० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको छ । यस्तै, कर्मचारी क्षमता अभिवृद्धि कोष अन्तर्गत १ करोड २४ लाख ५ हजार छुट्याइएको छ भने २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गरिएको छ । गैह्रबैंकिङ्ग सम्पत्तिको निमित्त जम्मा गरिएको नियमनकारी कोष रकममा समेत यस वर्षको समायोजन अनुसार १० करोड ९९ लाख ६७ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ भने बिमाङ्किक लाभको निमित्त नियमनकारी कोषमा ३९ लाख २ हजार रुपैयाँ र स्थगन कर सम्पत्ति बापत ३ करोड २ लाख ६१ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ । यसैगरी, नाफा नोक्सान मार्फत उचित मोलमा मापन गरिएका व्यापारिक सम्पत्तिको प्राप्त भइ नसकेको यस वर्षको नाफा रकमको निमित्त २ करोड ६ लाख ११ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ । साथै, पुँजीकृत ब्याज आम्दानीको निमित्त जम्मा गरिएको नियमनकारी कोषबाट चालु आ.व. को समायोजन पश्चात् सञ्चित मुनाफामा ६१ लाख ३९ हजार रुपैयाँ फिर्ता गरिएको छ । बैंक अफ द इयर २०२४ को अवार्ड पाएको सिटिजन्स बैंकका सिटिजन्स क्यापिटल र सिटिजन्स सेयर ब्रोकर गरी २ वटा सहायक कम्पनी छन् । २० करोड रुपैयाँ पुँजी रहेको सिटिजन्स क्यापिटलमा बैंकको ५८.६० प्रतिशत अर्थात् ११ करोड ७२ लाख रुपैयाँ लगानी रहेको छ । क्यापिटलले गत वर्ष ३ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा गर्दा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सतप्रतिशत लगानी रहेको ब्रोकरको पुँजी २० करोड रुपैयाँ छ । गत वर्ष २ करोड १० लाख रुपैयाँ नाफा गर्दा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।