चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट आजदेखि बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंक १०० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज मंसिर ११ गतेदेखि साविककै आकार तथा रङ्गमा १०० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको हो । राष्ट्र बैंकका अनुसार सङ्केत नं. क२० ०००००१ देखि घ४० ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउने भएको हो । नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्यभागमा नेपालको चुच्चे नक्सा रहेनछ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपसषदको निर्यणले २०८१ वैशाख २० गते १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर जारी गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयको प्रस्तावमा १ सय रुपैयाँका नयाँ नोटमा नेपालको चुच्चे नक्सा समावेश गर्ने निर्णय गरेको थियो । त्यस्तै, नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो कलरको थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवि चित्र अंकित रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, २ मि.मी चौडा भएको रंग परिवर्तन हुने (नोट सिधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं. २०८१“ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपीज हण्डे्रड र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी लेखिएको रहेको छ । विसं २०७६ साल असोज ७ गतेदेखि रुपैंया १०० दर (सेरिज २०१९) को बैंकनोट सङ्केत नं. ओ१८ ०००००१ देखि क३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ओ१८ ०००००१ देखि क१९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
कुमारी बैंक ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा दुई विधाबाट सम्मानित
काठमाडौं । भिजा इन्टरनेशनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा कुमारी बैंक दुई विधाबाट सम्मानित भएको छ । बैंक एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस र एक्सिलेन्स इन कम्ज्युमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट अवार्डले सम्मानित भएको हो । यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्सको मोबाइल एपबाटै सेयर भर्न सकिने, यसरी लिन सकिन्छ सेवा
काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सेयरमा आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । जुन सेवा नेपालको बैंकिङ्गमा पहिलोपटक सिटिजन्स बैंकले ल्याएको हो । डिजिटल बैंकिङमा जोड दिइरहेको सिटिजन्स बैंकले मोबाइल बैंकिङ्ग एपबाटै सार्वजनिक निष्काशन (आईपीओ), थप सार्वजनिक निष्काशन (एफपीओ), हकप्रद सेयर लगायतमा आवेदन दिन सकिने सेवा ल्याएको हो । नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलोपटक सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सीआस्बा तथा सीआरएन नम्बर सेवा प्रदान गर्ने गरी माईआस्बा फिचर ल्याएको बैंककी डिम्याट तथा आश्वा हेड रोजीना तिवारीले जानकारी दिइन् । ग्राहकहरूलाई सहज होस् भन्ने उद्देश्यले मोबाइल बैंकिङ्ग एपबाट सेयरमा आवेदन दिन सकिने व्यवस्था मिलाएको उनको भनाइ छ । तिवारीका अनुसार माईआस्वा सेवा मोबाइल बैंकिङ्ग एपमा भएका फिचरहरूमध्ये ‘एडिस्नल’ फिचर हो । यस फिचरबाट आईपीओ, एफपीओ लगायत सेयरमा आवेदन दिन सकिनेछ । डिम्याट खाता भएका ग्राहकहरूले सोही डिम्याटका आधारमा सीआस्बा नम्बर र सीआरएन नम्बर पाउने उनको भनाइ छ । उक्त सेवा लिनका लागि ग्राहकले डिम्याट खाता खोलेको हुनुपर्छ । जुनसुकै निक्षेप सदस्यमा डिम्याट खाता भएपनि बैंक खाता र मोबाइल बैंकिङ्ग सुविधा भने सिटिजन्समा हुनुपर्छ । मोबाइल बैंकिङ्गमा माईआस्वा फिचर देखिन्छ । त्यसमा क्लिक गरेर डिम्याट खाता राख्नुपर्छ । सीआरएन नम्बर पहिला नै लिएको छ भने उक्त नम्बर ‘डिस्प्ले’ हुन्छ । यदि सीआरएन नम्बर लिएको छैन भने नयाँ सीआरएन नम्बर समेत तत्काल लिन सकिने तिवारीले बताइन् । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमै उक्त सुविधा भएपछि ग्राहकहरूले अन्य एप तथा शाखा कार्यालयमा जानु पर्ने वाध्यताको अन्त्य भएको उनको भनाइ छ । ‘बैंकको सिस्टम अटोमेटिक भएकाले रियल टाइममा रकम होल्ड हुन्छ । सीआस्वा नम्बर पनि मोबाइल एपबाट लिन सकिन्छ । सेयर आवेदन दिएपछि बैंकको एपबाटै केही समयमै रिजेक्ट वा भेरिफाइड हेर्न सकिन्छ । साथै सेयर बाँडफाँट भएपछि नतिजा पनि एपबाटै हेर्न सकिन्छ,’ तिवारीले भनिन् । बैंकले उक्त सेवा ल्याएको छोटो समयमै औसत ८० हजार बढीले सिटिजन्स बैंकको मोबाइल एपबाटै आवेदन दिने गरेको उनको दाबी छ । साथै बैंकमा २ लाख भन्दा बढी डिम्याट खाता छन् ।