बैंकको संस्थापक सेयर बिक्रीसम्बन्धी नीति पुनरावलोकन गर्दै राष्ट्र बैंक

काठमाडौं । गत जेठ ३० गते पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राख्यो । बैंकको उक्त सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ११८.८८ रुपैयाँका दरले ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँमा खरिद गर्‍यो । हबिब बैंकलाई हिमालयनमा रहेको संस्थापक सेयर बिक्री गर्न करिब साढे ४ महिना समय लाग्यो । यसबीचमा हबिबले संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गर्‍यो । बैंक सञ्चालक समितिबाट स्वीकृत गरायो । र, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्‍यो । जसले गर्दा हबिबलाई आफ्नो सेयर बिक्री गर्न कम्तिमा साढे ४ महिना समय लाग्यो । यदि सहज रुपमा खरिदकर्ता भेटिएको थिएन भने हबिबलाई सेयर बिक्री गर्न अझै समय लाग्ने थियो । संस्थापक सेयर बिक्री गर्न हबिबलाई मात्रै यति धेरै समय लागेको होइन । अन्य बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले पनि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्नुपर्याे भने कम्तीमा ३ महिना लामो प्रक्रिया नै अपनाउनुपर्ने हुन्छ । ग्लोबल आइएमई बैंकका कम्पनी सचिव विष्णु बाँस्कोटाका अनुसार हाल कायम व्यवस्था बमोजिम संस्थापक सेयरधनीले सेयर बिक्री गर्न चाह्यो भने सेयर बिक्रीको सूचना निकालिदिन भन्दै बैंकमा अनुरोध गर्नुपर्छ । निवेदन दिएपछि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई राखेर ३५ दिने सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ । ‘बिक्रीका लागि निवेदन आएपछि सुरुमा इच्छुक संस्थापक सेयरधनीले खरिदका लागि आवेदन दिनु होला भनेर ३५ दिने सूचना निकालिदिन्छ । यदि बिक्रीकर्ता सेयरधनी आफैले खरिदकर्ता खोजेको छ भने ३५ दिने सूचनाले काम गर्छ । यदि संस्थापक सेयरधनीले खरिद गर्ने इच्छा गरेनन् भने अन्य सर्वसाधारण लगानीकर्ताका लागि फेरि अर्काे ३५ दिने सूचना निकाल्नुपर्छ,’ उनले भने, ‘संस्थापक सेयरधनी हुनका लागि नेपाल राष्ट्र बैंकले निश्चित सीमा तोकेको छ । कालोसूचीमा नरहेको, कर तिरेको लगायत कागजातहरू पेस गरेपछि बैंकको सञ्चालक समितिले निर्णय गरेर बिक्री र खरिदकर्ताले आ-आफ्नो ब्रोकर कम्पनीमार्फत कारोबार गराउँछन् ।’  उनका अनुसार संस्थापक सेयर खरिदबिक्री प्रक्रिया लामो छ । दोस्रो बजारमा पब्लिक सेयर खरिदबिक्री भइरहेको जस्तो संस्थापक सेयर कारोबार नहुने गरेको उनले बताए । संस्थापक सेयर कारोबारका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, सम्बन्धित संस्थाको सञ्चालक समितिले स्वीकृति दिएको हुनुपर्ने लगायत झण्झटिलो प्रक्रिया रहेको उनको भनाइ छ । कानुनी व्यवस्थामा संशोधन गरेर सेयर कारोबारमा सहजीकरण गर्न आवश्यक रहेको उनले बताए । ‘संस्थापक सेयरको मूल्य पनि कम हुन्छ र खरिद गर्ने मान्छे पनि कम हुन्छन् । खासमा एउटै संस्थाको संस्थापक र साधारण गरी दुई थरी सेयर नै नहुनुपर्ने हो । किनकी विदेशतिर सबै सेयर एउटै प्रकृतिको हुन्छ र पब्लिक सेयर सरह कारोबार भइरहेको हुन्छ । तर, हाम्रोमा पब्लिक र प्रमोटर भनेर दुई किसिमको सेयर छुट्याएको छ,’ उनले भने, ‘साथै संस्थापक खरिद बिक्री प्रक्रियामा नियामकले कडाइ गरेको छ ।’  उनका अनुसार यदि बिक्री र खरिदकर्ता आपसी सहमति गरेर आउँछन् भने ३५ दिने सूचना आवश्यक छैन । बिक्री र खरिदकर्ताबीच नेगोसियसन गरेको संस्थापक सेयर ७ दिन भित्रमा सम्पन्न हुने गरी कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए । अहिलेको व्यवस्था अनुसार एउटा संस्थापक सेयर बिक्रीका लागि कम्तिमा ३ महिना समय लाग्ने गरेको उनको भनाइ छ । ‘कानुनले सेयरलाई चल सम्पत्ति भनेको छ । तर, चल सम्पत्ति सरह कारोबार हुन पाएको छैन । आफ्नै सम्पत्ति बिक्री गर्न झण्झट छ । त्यसैले सुन बिक्री गरे सेयर बिक्री प्रक्रिया पनि सहज हुनुपर्छ । फटाफट खरिदबिक्री हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने । महालक्ष्मी विकास बैंकका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय संस्थापक सेयर र सर्वसाधारण सेयर गरी दुई थरी सेयर संरचना राखेर असमान व्यवहार गरिएको बताउँछन् । नीतिगत व्यवस्थामा परिवर्तन गरी एउटै किसिमको सेयर कायम गर्नुपर्ने उनको धारणा छ । ‘प्रमोटर र पब्लिक सेयरका विषयमा बाफियाले एउटा भन्छ तर राष्ट्र बैंकले रोकेर राखेको छ । के अब सधैं थुनिराख्ने हो त । विभेद हुन दिनु भएन नि । बैंकिङमा लगानी गर्ने पनि एउटा नागरिक नै हो । कर तिरेर कमाएको पैसा बैंकमा लगानी गरेको हो । बैंकको जस्तो फिट एण्ड प्रपर टेस्ट अरू कुनै संस्थामा हुँदैन । वैध स्रोतबाट कमाएको लगानी बैंकमा गरिएको हो । यति पारदर्शी हुँदा पनि सहज रूपमा बाहिरिन दिनुपर्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदबिक्री प्रक्रियामा सहजीकरण गर्ने गरी काम भइरहेको बताउँछन् । संस्थापक सेयर बिक्री सम्बन्धित बैंकबाटै हुने गरी कानुनी व्यवस्था गर्न लागेको उनको भनाइ छ ।  ‘सकेसम्म रिटेल कामहरू केन्द्रीय बैंकबाट नहोस् भन्ने छ । जसमध्ये सेयरको ट्रान्सफरको काम पनि हो । हामीले एउटा गाइडलाइन बनाएर बैंकको कम्पनी सचिवमार्फत गर्न सकिने कामहरू राष्ट्र बैंकमा आउन नपरोस् । राष्ट्र बैंकमा आएर फलानो सेयर ट्रान्सफर भयो, फलानोको सेयर ट्रान्सफर भएन भनेर गुनासो गरिरहेका छन्,’ उनले भने, ‘राष्ट्र बैंकमा आएर १० थरि कुरा हुन्छन् । त्योमध्ये कति ट्रान्सफरबेल हो, कति होइन ? आफै हेरेर काम गर्न सकिने व्यवस्था हुँदैछ ।’ 

ब्याजदर व्यवस्थापनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ फागुन ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

एनएमबि बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहनेछ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भई कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।