नबिल बैंकको मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, 'बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।' मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए । मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ । नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ । मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ । नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।
झण्डै ३० खर्ब पुग्यो विदेशी विनिमयको सञ्चिति, जीडीपीको आधा हिस्सा
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति धमाधम बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै विदेशी विनिमय सञ्चिति बढ्दै गएको देखाएको हो । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
३ महिनामा भित्रियो साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब बढी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको असोजसम्ममा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार ३ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।