सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर र आशा लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

मंसिरमा ११ बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१७ प्रतिशत घटेर औसत ५.०३ प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.२० प्रतिशत थियो ।  यस्तै, मंसिरमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.१० प्रतिशत घटेर ३.५८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.६८ प्रतिशत ब्याजदर थियो । मंसिर महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले ब्याजदर स्थिर राखेका छन् ।  कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । जसमध्ये एनआईएमबिले संस्थागततर्फ भने ब्याजदर घटाएको छ ।

नेपालको वित्तीय क्षेत्र विकासमा डा. यादवप्रसाद पन्तको योगदान उल्लेखनीय : अर्थमन्त्री

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर स्व. डा. यादवप्रसाद पन्तको १००औँ जन्मजयन्तीको अवसरमा ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ विषयक एकदिने विचार गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालमा आधुनिक अर्थतन्त्रको जग बसाल्न डा. पन्तले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । उनले डा. पन्तलाई बहुआयामिक व्यक्तित्वका रूपमा वर्णन गर्दै वित्तीय तथा मौद्रिक नीतिसँगै कुटनीति, योजना तथा राजनीतिमा उहाँको उत्कृष्ट दखल रहेको उल्लेख गरे । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्वकालमा मुलुकको वित्तीय क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण संरचनागत सुधारको प्रारम्भ भएको बताए । उनका अनुसार ५०० र १००० रुपैयाँका बैंक नोटको प्रचलन, बैंकिङ विकास कोषको स्थापना तथा बैंकिङ सेवाको पहुँच विस्तार जस्ता उल्लेख्य कार्यहरू डा. पन्तकै कार्यकालमा सम्पन्न भएका थिए । पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले डा. पन्तलाई ‘आधुनिक अर्थतन्त्रका चिन्तक’का रूपमा प्रस्तुत गर्दै आर्थिक सुधारका उनका प्रयास आज पनि मार्गदर्शक रहेको बताए । त्यस्तै, पूर्व गभर्नर गणेशबहादुर थापाले बैंकिङ र वित्तीय सेवाको विस्तारमा पन्तको पहल निर्णायक रहेको धारणा राखे । गोष्ठीमा पूर्व अर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, डा. रूप ज्योति तथा पूर्व गभर्नरहरू—डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई र दीपेन्द्रबहादुर क्षेत्रीले डा. पन्तको व्यक्तित्व र योगदानका विविध पक्षबारे विचार व्यक्त गरे । कार्यक्रममा पूर्व महालेखापरीक्षक भानुप्रसाद आचार्य, ‘डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान’का सदस्य राधेश पन्तलगायतले स्वर्गीय पन्तसँग सम्बन्धित प्रेरणादायी क्षणहरू स्मरण गरे । कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भोलाराम श्रेष्ठले ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ शीर्षक कार्यपत्र प्रस्तुत गरे । प्रतिष्ठानले तयारी गरेका डा. पन्तको जीवनीसम्बन्धी श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राखिन् भने डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्र सहजीकरण गरे । कार्यक्रम गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले सञ्चालन गरेका थिए । वि.सं. १९८२ मंसिर २ गते काठमाडौंमा जन्मिएका डा. पन्त २०२५–२०३० मा नेपाल राष्ट्र बैंकका गभर्नर र २०३७–२०३९ मा अर्थमन्त्री रहे । राष्ट्रिय योजना आयोगका संस्थापक सदस्यसमेत रहेका पन्तले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत संस्थासँग नेपालको वित्तीय साझेदारी विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । आर्थिक नीतिगत तथा संरचनागत सुधारमा योगदानलाई स्मरण गर्दै राष्ट्र बैंकले गोष्ठी आयोजना गरेको हो ।