२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो कात्तिक १२ गते सेयरधनी भेला
काठमाडौं । २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले ल्यायो कर्जा पुनःतालिकीकरण योजना, उद्योग–व्यवसायलाई कर्जा सहजीकरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावितहरूको लागि कर्जाको पुनःतालिकीकरण सुविधा लागू गरेको छ । प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा कर्जाको पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सक्ने व्यवस्था लागू गर्न बैंकहरुलाई राष्ट बैंकले भनेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार यस्तो पुनःतालिकीकरण वा पुनःसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । पुनरतालिकीकरणवा पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ । नयाँ निर्देशनअनुसार कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्युनतम ब्याजदरमा कर्जा प्रदान गरिनेछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्युनत्तम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सकिने प्रबन्ध गरिएको छ । यस्तै जेनजी पुस्ताका प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भक्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा शुन्य दशमलव ५० प्रतिशत बिन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि प्रवाह गर्नुपर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनाका लागि दुई प्रतिशत ब्याजदर सरकारबाट अनुदानमा प्राप्त हुनेछ । त्यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्रमा आवेदन दिनुपर्नेछ । जेनजी प्रदर्शनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकको एकीकृत निर्देशनमा उल्लेख छ । रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित इजाजतप्राप्त संस्थाले व्यवसायमा परेको प्रभावको यकिन गरी आगामी पुस मसान्तभित्र पुनरतालिकीकरण गर्न सक्नेछन् । पुनरतालिकीकरण गरिएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थियो सोही वर्गमा नै वर्गीकरण हुनुपर्नेछ ।
जेनजी आनदोलकर्ताले आगजनी गरेपछि गभर्नरका लागि घर खोज्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा.डा. विश्वनाथ पौडलका लागि घर भाडामा लिने भएको छ । गत भदौ २३ गते र भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरुले घरमा आगजनी गरेपछि राष्ट्र बैंकले गभर्नर पौडलका लागि घर भाडामा लिन लागेको हो । राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकमा ३० वर्ष काम गरिसकेका अधिकारले घर सुविधा लिन पाउने सुविधा छ । तर, कुनै पनि अधिकारीले त्यो सुविधा लिएका नलिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । तर, डा. चिरञ्जिवि नेपाल गभर्नर हुँदा घर भाडामा लिएर बसेको उनले बताए । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो । ‘विगतमा डा. चिरञ्जीवी नेपालको पालामा गभर्नरले आफ्नो निवासमा बस्नलाई उपयुक्त नठानेमा सञ्चालक समितिबाट निर्णय गराएर आवास सुविधा लिन सक्ने नीति छ । सोही अनुसार विगतमा कुनै समस्या नहुँदा पनि डा. नेपालले भाडाको घरमा बस्नु भएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘गभर्नर पौडलले घर सुविधा लिने सोच बनाउनु भएको थिएन । तर, यो दुर्घटनापछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो ।’ राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो । घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ । साथै, २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । ‘प्रस्ताव के–कस्तो आउँछ, त्यो सबै बोलपत्र हेरेर मात्रै थाहा पाइन्छ । प्रस्ताव सञ्चालक समितिमा लगिन्छ । विगतमा १ लाखको हाराहारीमा घर भाडामा लिएको थियो । ७/८ वर्ष अगाडिको मूल्य र अहिलेको मूल्य फरक पर्न सक्छ । तर, विवरण पत्रमा उल्लेख भए बमोजिमको प्रस्ताव आएमा मूल्यको विषय पछि नै तोकिन सक्छ,’ स्रोतले भन्यो ।