फिफा विश्वकप २०२६ : इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता

चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ ।  नेपालको समयअनुसार जेठ २९ गते मध्यराति १२ बजेर ४५ मिनेटदेखि शुभारम्भ हुने विश्वकप साउन ४ गते मध्यराति १२ बजेर ४५ मिनेट जाँदा सुरु हुने फाइनल खेलपछि टुङ्गिने खेलतालिका रहेको छ । विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्रीअनुरुप सञ्चालन गरिने विश्वकप फुटबलले समग्र रूपमा विश्वमा आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रको विकासका लागि समेत यथोचित योगदान गर्ने आशा गरिएको छ ।   विगतभन्दा फरक   यसपालि पहिलोपटक तीनवटा देश मिलेर संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन् । अमेरिका, क्यानडा र मेक्सिकोले सञ्चालन गर्ने यस प्रतियोगिताको विशेषता भनेको फुटबलप्रेमी दर्शकहरूले धेरै खेल हेर्ने अवसर प्राप्त गर्नु हो । प्रतियोगिताको उद्घाटन खेल जेठ २९ गते मेक्सिको सिटीमा ‘ए’ समूहमा रहेको विश्वकपको सहआयोजक मेक्सिको तथा दक्षिण अफ्रिकाबीच हुँदैछ । जेठ ३० गते अर्को सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनियासँग टोरोन्टोमा तथा सहआयोजक अमेरिकाले पाराग्वेसँग क्यालिफोर्नियामा पहिलो खेल खेल्ने कार्यक्रम छ । यसरी विभिन्न तीन देशमा आयोजना हुने बेग्लाबेग्लै उद्घाटन खेलले विश्वमा रहेका सम्पूर्ण मुलुकहरूलाई नै फुटबलमय बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ ।  विश्वकपका सहभागी मुलुकहरूको सङ्ख्यामा व्यापक मात्रामा वृद्धि गरिनु सन् २०२६ को अर्को उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । विगतका विश्वकपहरूमा ३२ टोलीको मात्र सहभागिता हुने गर्दथ्यो भने अब ४८ मुलुकका टोलीले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने मौका पाएपछि थप थुप्रै टिम तथा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाएका छन् । विश्वकपको इतिहासमा खेल सङ्ख्या पनि अत्यधिक मात्रामा वृद्धि गरिएबाट प्रतियोगिताको रौनक अझ बढन पुगेको छ । प्रतियोगिताको सहभागी मुलुकभित्र व्यापक चासो र चिन्ता हुने गरेको विश्वकपको लहरले सम्पूर्ण विश्वलाई प्रभावित गर्नेछ । यो प्रतियोगिता विश्वकै लामो प्रतियोगिताका रूपमा स्थापित हुँदैछ ।  यसअघिका विश्वकपमा ६४ वटा खेल हुने गरेकामा अब खेल सङ्ख्या बढेर १०४ खेल हुने भएपछि यसको सकारात्मक असर ती खेल सञ्चालन हुने तीनवटै मुलुकका विभिन्न १६ वटा सहरमा पर्ने देखिएको छ । विभिन्न देशबाट खेल हेर्न ती शहरमा जाने पर्यटकको घुइँचोले समग्र आर्थिक अभिवृद्धिमा प्रभाव पर्न जानेछ । सन् २०२२ को कतारमा भएको विश्वकपमा भन्दा यसपटक ४० वटा बढी खेल हुने भएपछि फुटबलप्रेमीहरूलाई धेरै खेल हेर्न पाउने अवसर जुटेको छ । यसअघि समूहगत खेलका लागि सहभागी टिमहरूलाई आठ समूहमा विभाजन गर्ने गरिएको थियो भने यसपटक समूहको सङ्ख्या बढ्न गई ‘ए’ देखि ‘एल’ समूह गरी १२ वटा समूहमा विभाजन गरिएको छ । यसअनुसार प्रत्येक समूहमा चारवटा टोली रहेका छन् । प्रत्येक टोलीले खेल्ने लिग र नकआउट चरणका सम्पूर्ण खेलहरूले व्यापक रूपमा फुटबलको लहर ल्याउनेछ ।  सम्भावित प्रतिस्पर्धा  प्रतियोगिताका सहभागी टिमहरूमध्ये गत विश्वकप विजेता अर्जेन्टिना यसपालि पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । विपक्षीलाई सन्तुलित रूपमा दबाब दिन यो टिम सफल मानिएको छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको कुशल नेतृत्व यो टिमको प्रमुख शक्ति रहेको छ । सन् २०१० मा एकपटकमात्र विश्वकप जितेको स्पेनका खेलाडी पनि राम्रो फर्ममा रहेको विश्लेषकहरूले जनाएका छन् । फिफाको विश्व बरियतामा विभिन्न पटक शीर्षस्थानमा रहन सफल स्पेन वर्तमान युरोपेली च्याम्पियन पनि हो । स्पेनको टिम शक्तिशाली राष्ट्रिय टोलीमध्ये एक मानिएको छ ।  गत विश्वकपको उपविजेता फ्रान्स पनि विपक्षी टिममाथि आक्रमण गर्न पारङ्गत देखिएको छ । प्रतिभाशाली खेलाडीहरूले भरिएको फ्रान्सेली टिम तेस्रोपटक विश्वकप जित्ने लक्ष्य लिएर मैदानमा उत्रिँदैछ । विपक्षीतर्फ आक्रमण गर्ने सन्दर्भमा इङ्गल्यान्डको टिम पनि कम देखिएको छैन । यो टिम अनुभवी खेलाडीहरूले भरिएका छन् । इङ्गल्यान्डले सन् १९६६ मा एकपटकमात्र आफ्नै गृह मैदानमा विश्वकप जितेको थियो । यस्तै अनुभवी कप्तान क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलको टिम यो विश्वकपमा सन्तुलित टिममध्ये एक मानिएको छ । यो टिममा मिडफिल्ड होस् वा फूलब्याकजस्तो महत्त्वपूर्ण स्थानमा यथोचित व्यवस्थापन भएको देखिएको छ । विश्वकपमा बलियो टिमका रूपमा हेरिने गरिएको पोर्चुगलले एकपटक पनि विश्वकप जित्न सकेको छैन । सन् १९६६ मा पोर्चुगल तृतीयसम्म भएको थियो ।  त्यसैगरी, ब्राजिल पनि विश्वकपका सहभागी टिमहरूमा शक्तिशाली टिमहरूमध्ये पर्दछ । विश्वमा सबैभन्दा धेरैचोटी पाँचपटक विश्वकप जित्न सफल ब्राजिल अहिले छैटौँपटक उपाधि जित्ने दाउमा रहेको छ । अनुभवी खेलाडीहरूको कमी नदेखिएको ब्राजिलले विश्वकप फुटबल प्रतियोगिता आयोजना भएको प्रारम्भिक दिनदेखि नै प्रतिस्पर्धा गर्दै आइरहेको छ । चारपटक विश्वकप जितिसकेको जर्मनीजस्ता टिम पनि विश्वकपका बलिया दाबेदार मान्न सकिन्छ । तर सन् २०१८ तथा २०२२ मा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक त्यस्तो पीडा फेरि नपरोस् भन्नेतर्फ सचेत रहेको छ । विश्वकपमा दुईपटक तृतीय भइसकेको क्रोयसिया तथा सन् २०२२ को विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा क्रोयसियासँग एक गोलअन्तरले मात्र पराजित भएपछि विश्वव्यापी रूपमा चर्चित भएको मोरक्कोजस्ता टिमबाट पनि यसपटक अझ उत्कृष्ट नतिजाका लागि प्रयत्न हुने नै छ । यस्तै नेदरल्यान्डस्, बेल्जियमजस्ता टिमलाई पनि कम आँक्न सकिँदैन ।  धेरै पटक जित्नेहरू  फिफा विश्वकप फुटबल हालसम्म सबैभन्दा धेरैपटक ब्राजिलले जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र सन् २००२ मा गरी पाँचपटक विश्वकप हासिल गरेको थियो । यस्तै जर्मनीले चारपटक उपाधि हात पारिसकेको छ । जर्मनी सन् १९५४, १९७४, १९९० र २०१४ मा विजेता बन्न सफल भएको थियो । उपाधि चारपटक नै जितेको इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा ट्रफी कब्जामा लिएको थियो । तीनपटक जितिसकेको अर्जेन्टिनाले सन् १९७८, १९८६ तथा अघिल्लो विश्वकप २०२२ मा विजेता बनेको थियो । फ्रान्स र उरुग्वेले भने दुईदुईपटक विश्वकप जितेका छन् । फ्रान्सले सन् १९९८ र २०१८ मा तथा उरुग्वेले सन् १९३० तथा १९५० मा उपाधि हात पारेका थिए ।  अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाको पछिल्लो विश्व वरियताक्रममा अर्जेन्टिना सबैभन्दा अग्रपङ्क्तिमा रहेको छ । दोस्रो स्थानमा स्पेन तथा तेस्रो स्थानमा फ्रान्स रहेका छन् । यस्तै इङ्ग्ल्यान्ड चौथो, पोर्चुगल पाँचौँ स्थानमा छन् । अत्यधिक गोल फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गरेको इतिहास जर्मनीका मिरोस्लाभ क्लोसले कायम गरेका छन् । उनले सन् २००२, २००६, २०१० र २०१४ गरी चारवटा विश्वकपमा कुल १६ गोल गरेर कीर्तिमान राखेका थिए । विश्वकपमा धेरै गोल गर्नेहरूको सूचीमा दोस्रो स्थानमा रहेका ब्राजिलका रोनाल्डोले कुल १५ गोल गरेका थिए । तत्कालीन पश्चिम जर्मनीका गेर्ड मुलरले कुल १४ गोल, फ्रान्सका जष्ट फोन्टाइनले कुल १३ गोल गरेका थिए । हालसम्म पाँचवटा विश्वकप खेलिसकेका अर्जेन्टिनाका लिओनेल मेस्सीले कुल १३ गोल गरिसकेका छन् । एउटै प्रतियोगितामा सबैभन्दा धेरै १३ गोल फ्रान्सका जष्ट फोन्टाइनले सन् १९५८ को विश्वकपमा गरेका थिए । मेस्सीको छैटौँ विश्वकप अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले छैटौँपटक फिफा विश्वकपमा भाग लिएर इतिहास रच्दै छन् । सम्भवतः यसपालिको विश्वकप उनको लागि अन्तिम विश्वकप हुनेछ । मेस्सीले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा १८ वर्षकै उमेरमा डेब्यु गर्ने अवसर प्राप्त गरेका थिए । उनले त्यतिखेर सर्बियाविरुद्ध पहिलो गोल गरेका थिए ।   सन् २०१० मा दक्षिण अफ्रिकामा दोस्रोपटक विश्वकप खेलेका मेस्सीले सन् २०१४ मा ब्राजिलमा विश्वकपको फाइनलमा आफ्नो टिमलाई प्रवेश गराउने अवसर पाए पनि जर्मनीसँगको नमीठो हार व्यहोरेका थिए । आफ्नो टिम फाइनलमा पराजित भए पनि प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा मेस्सीले गोल्डेन बुट जित्नु सामान्य सफलता थिएन । सन् २०१८ मा समेत विश्वकप खेलेका मेस्सीले सन् २०२२ मा कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका थिए । मेस्सीले प्रतियोगितामा सात गोल गर्नुका साथै दोस्रोपटक गोल्डेन बल जितेका थिए । करोडौँ पुरस्कार फिफा विश्वकपको अर्को महत्त्वपूर्ण विशेषता भनेको आकर्षक पुरस्कार पनि मानिएको छ । यसमा विजेता बन्ने टिमले करोडौँ रकम पुरस्कार पाउनेछन् । फिफाले विश्वकपका विजेता टिमलाई पुरस्कारबापत पाँच करोड डलर रकम प्रदान गर्नेछ । उपविजेताले तीन करोड तीन लाख डलर पाउनेछ । तेस्रो स्थान प्राप्त गर्ने टिमले दुई करोड ९० लाख डलर तथा चौथो हुने टिमले दुई करोड ७० लाख डलर पुरस्कार प्राप्त गर्नेछ । यसबाहेक खेलाडीहरूलाई सम्बन्धित मुलुकका सरकार तथा विभिन्न संस्थाका तर्फबाट पनि आकर्षक पुरस्कार प्रदान गरिने प्रचलन रहेको छ । फिफा विश्वकप विजेताले प्राप्त गर्ने ट्रफीको मूल्य पनि सामान्य छैन । फिफा विश्वकप ट्रफीको लागत करिब दुई लाख ४२ हजार ७०० डलर भएको अनुमान गरिएको छ । ट्रफीको तौल छ किलोभन्दा बढी रहेको छ । यसको निर्माण १८ क्यारेटको सुनबाट गरिएको हो । उक्त सुनको ट्रफी स्थायी रूपमा फिफाको स्वामित्वमा रहने नियम छ । यस्तो महत्तवपूर्ण ट्रफीलाई राष्ट्र प्रमुखहरू, फिफा अध्यक्ष र पूर्व विश्वकप च्याम्पियनहरूले मात्र छुन पाउने नियम रहेको छ । नयाँ परिवर्तन  विश्वकप फुटबलका सिलसिलामा केही परिवर्तनहरू देख्न पाइने भएको छ । खेल सञ्चालनका लागि खटिने रेफ्रीहरूलाई सघाउन भिडियो सहायक रेफ्रीको व्यवस्था गरिएको छ । खेल सञ्चालनका क्रममा रेफ्रीले कुनै खेलाडीले समय खेर फालिरहेको देखेमा थ्रो–इन तथा गोलकिकको लागि पाँच सेकेन्ड काउन्टडाउन गर्न सक्ने नियम बनाइएको छ । त्यो समयभित्र खेल पुनः सुरु गर्न असफल भएमा विपक्षी टोलीलाई अवसर दिइने नियम बनाइएको छ । यसअनुसार खेलाडीले ढिलो गोलकिक प्रहार गरे विपक्षी टिमलाई कर्नर किकको अवसर प्रदान गरिने छ ।  खेल सञ्चालनका क्रममा रेफ्रीका निर्णयहरूको समीक्षा भिडियो सहायक रेफ्रीले गर्न सक्नेछन् । यसरी रेफ्रीले खेल सञ्चालन हुँदा देखाएका पहेँलो तथा रातो कार्डबारे पनि समीक्षा गर्न सकिने भएको छ । खेलका बेला कुनै पनि खेलाडीलाई मुख ढाक्न प्रतिबन्ध लगाइएको छ । खेलको समयमा कुनै खेलाडीले आफ्नो मुख हातले छोपेमा तुरुन्तै रातो कार्डको सामना गर्नुपर्ने भएको छ । कुनै खेलाडी परिवर्तन गरिँदा १० सेकेन्डभित्र मैदान छोडिसक्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै खेलको बेला घाइते भएका खेलाडीलाई मैदान बाहिर उपचार गरिसकेपछि कम्तीमा ६० सेकेन्डसम्म मैदानबाट बाहिरै रहनुपर्ने नियम बनाईएको छ । गर्मीको चुनौती  विश्वकप गर्मीयाममा सञ्चालन गरिने भएकाले खेल सञ्चालनका बेला खेलाडीहरूको सुविधाका लागि प्रत्येक खेलको प्रत्येक हाफमा तीन मिनेटको विश्राम दिइने भएको छ । प्रतियोगिता सञ्चालन गरिने सहरहरूमा हुने गरेको अत्यधिक गर्मी चिन्ताको विषय भएकाले खेल सुरु भएको २२औँ तथा ६७औँ मिनेटमा विश्राम दिइने व्यवस्था मिलाइएको छ । यस्तो विश्राम सबै खेलमा दिइने भएको छ । रङ्गशालाको तापक्रम जस्तोसुकै भए तापनि प्रत्येक खेलमा विश्राम दिइने नियम बनाइएको हो । यस अवधिमा खेलाडीलाई पानी पिउन, आराम गर्न तथा प्रशिक्षकलाई थप रणनीति बनाउन अनुमति दिइने छ । यसअघि तापक्रम ३१ डिग्री सेल्सियस नाघेको अवस्थामा मात्र विश्राम दिइने गरिन्थ्यो ।  नेपालको सहभागिता  नेपालले विश्वकप फुटबलमा सहभागिताका लागि लामो समयदेखि प्रयास गर्दै आएको भए तापनि हालसम्म सफलता मिल्न सकेको छैन । नेपालले हालसम्म नौवटा विश्वकप छनोट प्रतिस्पर्धामा भाग लिए तापनि नतिजा सन्तोषजनक हुनसकेको छैन । नेपालमा फुटबलको संस्थागत विकास भएको लामो समय भइसकेको भए तापनि नेपालका लागि विश्वकप फुटबल ज्यादै कठिन प्रतियोगिताका रूपमा रहेको छ । नेपालमा २००७ साल अगाडि नै तत्कालीन राणा शासनकालमा फुटबल सङ्घको स्थापना भइसकेको थियो । नेपालले अन्तराष्ट्रिय फुटबल महासङ्घ फिफाको सदस्यता लिएको पनि ५० वर्ष नाघिसकेको छ ।  नेपालले विगत केही वर्षदेखि विश्वकपका लागि छनोट चरणमा खेल्दै आए तापनि त्यसभन्दा अगाडि भने बढ्न सकेको छैन । नेपाल विश्वकप २०२६ को छनोटमा प्रारम्भिक चरणमै रोकिएको थियो । नेपालले फिफाको विश्व वरियताक्रममा लगातार सुधार नगरेसम्म नेपालको फुटबल टिमले विश्वकपका प्रारम्भिक चरणभन्दा अघि बढन कठिनाइ देखिएको छ । विश्वकपमा पुग्न पहिले एसियाली कपमा स्थापित हुनुपर्ने जरुरी देखिएको छ । एसियाकै उज्वेकिस्तान, जोर्डन तथा बहराइनजस्ता मुलुकले एसियाली कपको अनुभवपछि विश्वकपमा सहभागी हुने अवसर पाएका हुन् । नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबललाई विश्वकप लक्षित दीर्घकालीन योजनालाई प्राथमिकतापूर्वक अघि बढाउनुपर्ने आवश्यकता टड्कारो महसुस गरिएको छ ।   नेपालले पहिलोपटक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा प्रतिस्पर्धा गरेको थियो । सन् १९८५ को मार्च २ तारिखका दिन काठमाडौँको दशरथ रङ्गशालामा नेपालले गरेको पहिलो प्रतिस्पर्धामा दक्षिण कोरियासँग शून्यका विरुद्ध दुई गोलले पराजय भोगेको थियो । सन् १९९० मा इटलीमा भएको विश्वकपका लागि नेपालले दक्षिण कोरिया, मलेसिया र सिङ्गापुरसँग खेलेका छवटा खेलमा नेपालले कुल २८ गोल खाएर सबै खेलमा पराजित भएको थियो । नेपाल सन् १९९४ को विश्वकपको छनोटबाट बाहिरिएको थियो । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको लागि ओमानमा भएको छनोट खेलमा नेपालले पहिलोपटक अङ्क प्राप्त गरेको थियो ।  नेपाल तथा मकाउबीच भएको खेलमा दुवै पक्षबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएकाले नेपालले पहिलो अङ्क पाएको थियो । नेपालको तर्फबाट विश्वकप छनोटमा पहिलो गोल प्रहार गर्ने कीर्तिमान हरि खड्काले राखेका हुन् । सो खेल प्रारम्भ भएको २२औँ मिनेटमा हरि खड्काले उक्त ऐतिहासिक गोल गरेका थिए । सोही छनोटका सिलसिलामा जापानमा मकाउसँगको खेल पनि एक–एक गोल भई बराबरीमा सकिएको थियो । दोस्रोपटक मुलुकका लागि गोल हान्ने खेलाडी दीपक अमात्य थिए । सन् २००२ मा दक्षिण कोरिया तथा जापानमा संयुक्त रूपमा आयोजित विश्वकपको छनोट चरणमा नेपालले पहिलोपटक मकाउलाई दुईवटा खेलमा हराउन सफल भएको थियो । नेपालले मकाउलाई पहिलो खेलमा एक गोलका विरुद्ध चार गोलले हराएको थियो । उक्त खेलमा निराजन रायमाझीले दुई तथा हरि खड्का तथा वसन्त थापाले एक–एक गोल गरेका थिए ।   दोस्रो खेलमा पनि नेपालले मकाउलाई एक गोलका विरुद्ध छ गोलले हराएर विजय हासिल गरेको थियो । उक्त खेलमा नेपालीका लागि  निराजन रायमाझीले ह्याट्रिक गरेका थिए भने हरि खड्का, बालगोपाल महर्जन तथा दीपक लामाले एक–एक गोल गरेका थिए । नेपालले इराकविरुद्ध खेलेको पहिलो खेलमा निराजन रायमाझीले एक गोल गरेका थिए भने अर्को खेलमा निराजन रायमाझी र  हरि खड्काले एक–एक गोल गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोट चरणमा नेपालले टिमोर लिष्टेलाई अनिल गुरुङ र जुमानु राईको गोलको मद्दतले पराजित गरेको थियो । दोस्रो खेलमा टिमोर लिष्टेलाई शून्यका विरुद्ध पाँच गोलले हराउँदै छनोट चरणको दोस्रो चरणमा प्रवेश गर्दा मुलुकका लागि गोल प्रहार गर्ने खेलाडीहरूमा अनिल गुरुङ, जुमानु राई, भोला सिलवाल, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ थिए । दोस्रो चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग पहिलो खेलमा शून्यका विरुद्ध नौ गोलको भारी अन्तरले हार्न पुगेको थियो भने दोस्रो खेलमा दुवै टिमबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्ग्याउन नेपाल सफल भएको थियो । त्यतिखेर महत्तवपूर्ण गोल गर्न सफल खेलाडी भरत खवास थिए ।   सन् २०२२ मा कतारमा भएको विश्वकपको छनोट चरणको दोस्रो चरणमा सोझै खेल्ने अवसर पाएको नेपालले चाइनिज ताइपेइलाई दुई खेलमा पराजित गरेको थियो । पहिलो खेलमा अन्जन विष्टले शून्यका विरुद्ध दुई गोल प्रहार गरेका थिए भने दोस्रो खेलमा अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलको मद्दतले नेपाल शून्यका विरुद्ध दुई गोलले विजयी भएको थियो । सन् २०२६ को फिफा विश्वकपको प्रारम्भिक चरणमा नेपाल र लाओस दुवैतर्फबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएको थियो । नेपालका लागि उक्त गोल अन्जन विष्टले गरेका थिए । दोस्रो खेलमा मनिष डाँगीको गोलद्वारा नेपाल लाओसलाई शून्यका विरुद्ध एक गोलले हराउन सफल भएको थियो । यसरी नेपाल दोस्रो चरणमा प्रवेश गरेपछि यमनसँग दुई–दुई गोल गरेर बराबर गर्न सफल भएको थियो । ती गोल सञ्जीव विष्ट र जिलेस्पी कार्कीले गरेका थिए । तर यमन र बहराईनसँग भने नेपाल भारी गोलको अन्तरले पराजित भएको थियो ।  नेपालले संयुक्त अरब इमिरेटस युएई, बहराइन र यमन कुनै टिमलाई जित्न नसकी प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल युएईसँग दुवै गोलमा शून्यका विरुद्ध चार गोलको अन्तरले हारेको थियो । नेपाल बहराइनसंँग पनि दुवै खेलमा शून्यका विरुद्ध पाँच गोलले हार्न पुगेको थियो । त्यतिखेर नेपालले आफ्नो गृहमैदान काठमाडौंँको दशरथ रङ्गशालामा खेल्न पाउने एउटा खेलमैदानको स्थिति राम्रो नभएकाले बहराइनमै दुवै खेल खेल्न बाध्य भएको थियो । नेपाललाई यमनले पनि दुवै खेलमा हराएको थियो । नेपाल पहिलो खेलमा शून्यका विरुद्ध तीन गोलले तथा दोस्रो खेलमा शून्यका विरुद्ध चार गोलको अन्तरले पराजय हुनुपरेको थियो । अन्त्यमा, विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको फिफा विश्वकप फुटबल प्रतियोगिताको अवधि हालसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म सञ्चालन हुँदैछ । यो प्रतियोगिता समग्रमा विगतका प्रतियोगिताहरूभन्दा थप रोचक तथा रोमाञ्चक हुनसक्ने सम्भावना देखिएको छ । फुटबलमा आधिपत्य जमाइरहेका टिमहरूको अग्रता यसपटक पनि जारी रहने आकलन गर्न सकिन्छ तर कम चर्चित टिमलाई नकार्न सकिँदैन । प्रतियोगितामा सहभागी मुलुक धेरै भएकाले अप्रत्याशित नतिजा पनि आउनसक्ने सम्भावना पनि छँदैछ तर समूह चरणमै प्रत्येक टिमले खेल्न पाउने तीन–तीन खेलमै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।   विश्वकपका खेलहरू सुरु भइसकेपछि टिमहरूले प्रारम्भिक खेलहरूमा देखाउने खेलको आधारमा आगामी नतिजाको आकलन गर्न सकिनेछ । समग्रमा फिफा विश्वकप फुटबल सन् २०२६ ले विश्वभर छरिएका नागरिकहरूलाई फुटबलप्रति आकर्षित गर्दै विश्वलाई एक गाउँको रूपमा परिणत गर्न महत्त्वपूर्ण योगदान गर्नेछ । विश्वकपले फरक भूगोल, फरक भाषा तथा संस्कृति भएका मानिसहरूलाई खेलमार्फत जोड्दैछ । ठूलो होस् वा सानो भूभाग भएको राष्ट्र जोसुकै भए पनि एउटै मैदानमा स्वच्छ खेलको भावना राख्दै खेलिने यस प्रतियोगिताको माध्यमबाट शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह हुनजाने आशा गरिएको छ । रासस

परम्परा तोड्ने बजेट, गन्तव्य अझै टाढा

बजेट केवल एक वर्षको आय-व्ययको लेखाजोखा होइन, यो राज्यले अर्थतन्त्रलाई कुन दिशामा हिँडाउन चाहन्छ भन्ने नियत र प्राथमिकताको दर्पण हो । त्यसैले, आजको यो संवाद केवल बजेटका अङ्क-तथ्याङ्कमाथिको टिप्पणी होइन, यो मुलुकको आर्थिक दिशामाथिको गम्भीर मन्थन हो । म सुरुमै एउटा कुरा स्पष्ट पार्न चाहन्छु । निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन, हामी यसलाई एउटै विषयले हेर्छौं- के यसले लगानीको वातावरण सुधार्छ, उत्पादन बढाउँछ र स्वदेशमै रोजगारी सिर्जना गर्छ ? यसरी हेर्दा म यो बजेटलाई शंकाको लाभ दिन चाहन्छु, यो बजेटले सही दिशा समातेको छ । दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको थियो । यो बजेटले त्यो चक्र तोड्ने आँट गरेको छ । अब कार्यान्वयन कस्तो हुन्छ हेर्नै पर्छ । कुनै पनि बजेटको मूल्यांकन त्यो कुन परिस्थितिमा आयो भन्ने सन्दर्भ बिना अपूर्ण हुन्छ । विगत केही वर्षदेखि हाम्रो अर्थतन्त्र एउटा असहज विरोधाभासमा गुज्रिएको छ। एकातर्फ बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ, ब्याजदर ऐतिहासिक रूपमा तल झरेको छ, अर्कातर्फ कर्जाको माग बढेको छैन, किनभने बजारमा माग नै संकुचित छ । निजी लगानी सुस्ताएको छ, उद्योगहरूको क्षमता उपयोग घटेको छ र युवाशक्ति निरन्तर विदेश पलायन भइरहेको छ । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर करिब पौने चार प्रतिशतमा सीमित रहने प्रक्षेपण छ । यस्तो शिथिलता र अन्योलको बीचमा आएको यो बजेटले अर्थतन्त्रमा आत्मविश्वास र गति फर्काउने अपेक्षा बोकेको छ । समग्रमा भन्नुपर्दा यो बजेटले परम्परागत खर्च-बाँडफाँडभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारको महत्त्वाकांक्षा देखाएको छ । यो दिशालाई महासंघ सकारात्मक रूपमा लिन्छ। तर दिशा सही हुनु र गन्तव्यमा पुग्नु फरक कुरा हुन् र त्यही फरकमा आजको मेरो मन्तव्य केन्द्रित रहनेछ । नीतिगत र कानुनी सुधारको साहसिक प्रयास महासंघले वर्षौंदेखि भन्दै आएको छ- ‘नेपालको समस्या कानुनको अभाव होइन, बरु पुराना, परस्पर बाझिने र व्यवसायलाई निरुत्साहित गर्ने कानुनहरूको बाहुल्य हुनु हो ।’ बजेटले हाम्रो स्वर सुनेको छ । पहिल्यै घोषणा भएका पन्ध्रवटा कानुन तत्काल खारेजीका लागि संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने, उधारो असुली कानुन, बौद्धिक सम्पत्ति संरक्षण कानुन र सनसेट कानुन ल्याउने प्रतिबद्धता दूरगामी महत्त्वका छन् । यी कानुनले व्यवसायको कानुनी जोखिम घटाउँछन् र लगानीको पूर्वानुमान बढाउँछन् । त्यसैगरी, एकतीस सरकारी निकायको खारेजी, छ वटाको मर्जर, छ वटाको हस्तान्तरण र अठार निकायको पुनर्संरचनाको घोषणाले छरितो र मितव्ययी प्रशासनको आधार तयार पार्छ । यो सुधार पूर्ण रूपमा कार्यान्वयन भए यसले दीर्घकालमा राज्यको खर्च-संरचनालाई नै स्वस्थ बनाउनेछ । वैदेशिक लगानी भित्र्याउन स्वचालित स्वीकृति प्रणालीको व्यवस्था र लगानी फिर्ता लैजाँदा नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने गरी केवल जानकारीमा सीमित गरिनुले लगानीकर्ताको मनोविज्ञानमा गहिरो सकारात्मक छाप पार्नेछ । लगानी सहजीकरण र पुँजी परिचालनका नवीन औजार लगानी आकर्षण यो बजेटको सबल पक्ष हो । वैदेशिक लगानी भित्र्याउन स्वचालित स्वीकृति प्रणालीको व्यवस्था र लगानी फिर्ता लैजाँदा नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने गरी केवल जानकारीमा सीमित गरिनुले लगानीकर्ताको मनोविज्ञानमा गहिरो सकारात्मक छाप पार्नेछ । विदेशी पुँजी कानुनभन्दा बढी विश्वासमा बग्छ र विश्वास यस्तै सहजताबाट बन्छ । सीमित दायित्वको साझेदारी (एलएलपी) कानुन तर्जुमा गरी एन्जल इन्भेस्टमेन्ट, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई प्रोत्साहन गर्ने व्यवस्थाले नेपालमा आधुनिक वित्त-पारिस्थितिको जग बसाल्नेछ । यद्यपि यी सबै व्यवस्था एउटै शर्तमा सफल हुन्छन्- प्रभावकारी अन्तर-निकाय समन्वय । हाम्रो विगतको अनुभवले उत्कृष्ट नीति पनि निकायहरूबीचको समन्वयको अभावमा कार्यान्वयनको दैलोमै अल्झिन्छ भन्ने देखाएको छ। महासंघ यस विषयमा सरकारलाई विशेष सतर्कताका साथ अघि बढ्न आग्रह गर्दछ । औद्योगिक प्रवर्द्धन र लघु, साना तथा मझौला उद्यम औद्योगिक क्षेत्रका लागि केही व्यावहारिक सहजीकरण आएका छन् । उद्योगको क्षमता र पुँजी वृद्धिमा उद्योग विभागलाई जानकारी मात्र दिए पुग्ने व्यवस्था र विशेष आर्थिक क्षेत्र (सेज) तथा औद्योगिक क्षेत्रको लिजको जग्गामा निर्मित संरचनालाई बैंकिङ धितोका रूपमा प्रयोग गर्न पाउने प्रावधान यी उद्यमीको दैनिक व्यवहारमा प्रत्यक्ष राहत दिने निर्णय हुन् । विशेषगरी, दामासाहीसम्बन्धी ऐनमा संशोधन गरी लघु, साना तथा मझौला उद्यमको वित्तीय समस्या सम्बोधन गर्ने र फर्स्ट (लस रिकभरी हुने गरी कर्जा सुरक्षणको व्यवस्था गर्ने घोषणा महत्त्वपूर्ण छ । हाम्रो रोजगारीको सबैभन्दा ठूलो हिस्सा यिनै उद्यमले धानेका छन्, तर वित्तीय पहुँचमा यिनीहरू सधैं सबैभन्दा बढी मारमा परेका छन् । यो व्यवस्थाले त्यो असन्तुलन केही हदसम्म सच्याउने अपेक्षा छ । पुँजी बजारतर्फ, सेयर बजारमा पुँजीगत लाभकरलाई अन्तिम कर मान्ने निर्णय, नेप्सेको पुनर्संरचना र इन्ट्राडे, सर्ट-सेलिङ तथा डेरिभेटिभ जस्ता आधुनिक उपकरणको चरणबद्ध सुरुवातले बजारमा तरलता र गहिराइ दुवै बढाउनेछ र गैरआवासीय नेपालीको पुँजी भित्र्याउन सघाउनेछ । ऊर्जा, पुँजी बजार र डिजिटल अर्थतन्त्र ऊर्जा क्षेत्रमा यो बजेट दूरदर्शी देखिन्छ । नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना, टेक-अर-पे विधिमा नयाँ विद्युत खरिद सम्झौता, दश मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पीपीए र निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारको अनुमति- यी निर्णयले ऊर्जा क्षेत्रलाई लगानीयोग्य र निर्यातमुखी बनाउने आधार तयार पार्छन् । पुँजी बजारतर्फ, सेयर बजारमा पुँजीगत लाभकरलाई अन्तिम कर मान्ने निर्णय, नेप्सेको पुनर्संरचना र इन्ट्राडे, सर्ट-सेलिङ तथा डेरिभेटिभ जस्ता आधुनिक उपकरणको चरणबद्ध सुरुवातले बजारमा तरलता र गहिराइ दुवै बढाउनेछ र गैर-आवासीय नेपालीको पुँजी भित्र्याउन सघाउनेछ । व्यक्तिगत आयकर छूटको सीमा १० लाख रुपैयाँ पुर्‍याउनु, अधिकतम दर उनन्चास प्रतिशतबाट उनन्तीस प्रतिशतमा झार्नु, आयकर ऐनको दफा ५७ मा सुधार गर्नु र गैर-व्यावसायिक हस्तान्तरणलाई करको दायरा बाहिर राख्नु- यी सबैले मध्यम वर्गको हातमा क्रयशक्ति फर्काउँछन् । र यही क्रयशक्ति नै आज संकुचित आन्तरिक मागलाई पुनर्जीवन दिने सबैभन्दा प्रत्यक्ष औषधि हुन सक्छ । डिजिटल अर्थतन्त्रतर्फ, सूचना प्रविधि सेवा निर्यातमा पचास प्रतिशत कर छूट, स्वेट इक्विटीमा छूट, विदेशमा लगानी खुला गर्ने प्रबन्ध र काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने घोषणाले हाम्रो स्वच्छ जलविद्युतलाई उच्च-मूल्यको डिजिटल निर्यातमा रूपान्तरण गर्ने सम्भावना बोकेको छ । महासंघले यसलाई सूचना प्रविधि क्षेत्रको विकासको कोसेढुङ्गाका रूपमा हेर्छ । बजेटले छुटाएका र पुनर्विचार गर्नुपर्ने विषय अब म उत्तिकै इमानदारीका साथ ती पक्षतर्फ जान्छु, जहाँ बजेट अपूर्ण छ वा पुनर्विचार अपरिहार्य छ । किनभने निजी क्षेत्रको जिम्मेवारी केवल प्रशंसामा होइन, रचनात्मक खबरदारीमा पनि छ । पहिलो, करको वास्तविक भार अपेक्षित रूपमा घटेको छैन, तीन सय साठी वस्तुको अन्तःशुल्क खारेज गरिएको घोषणा सतहमा स्वागतयोग्य देखिन्छ । तर वास्तवमा तीमध्ये धेरैलाई आन्तरिक उत्पादन प्रवर्धन तथा संरक्षण शुल्क, र स्वच्छ पूर्वाधार लगानी शुल्कमा समायोजन गरिएको छ । फलस्वरूप, उद्योगी र उपभोक्तामाथिको करको वास्तविक भार त्यति घट्दैन । नाम फेरेर भार कायम राख्ने यस्तो प्रवृत्तिले नीतिगत पारदर्शितामाथि प्रश्न खडा गर्छ र महासंघ यसप्रति सचेत छ । दोस्रो, कच्चा पदार्थमा दिइएको राहत सतही छ । दुई सय त्रिहत्तर औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनु राम्रो कदम हो । तर, यीमध्ये अधिकांश सहायक कच्चा पदार्थ हुन् । मुख्य कच्चा पदार्थमा ठोस राहत आएको छैन। त्यसैले उत्पादन लागत घटाउने अपेक्षित प्रभाव सीमित हुनेछ । स्वदेशी उत्पादनलाई साँचो अर्थमा प्रतिस्पर्धी बनाउने हो भने राहत मूल कच्चा पदार्थसम्म पुग्नुपर्छ । कच्चा पदार्थमा दिइएको राहत सतही छ । दुई सय त्रिहत्तर औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनु राम्रो कदम हो । तर यीमध्ये अधिकांश सहायक कच्चा पदार्थ हुन् । तेस्रो, साना किसानमाथि प्रत्यक्ष असर पर्ने व्यवस्था आत्मनिर्भरताको लक्ष्यसँग बाझिएको छ, साना किसानले प्रयोग गर्ने कृषि औजारमा भन्सार दर एक प्रतिशतबाट पाँच प्रतिशत पुर्‍याइएको छ । यसले प्रत्यक्ष रूपमा कृषकलाई मार पार्छ। महासंघको स्पष्ट आग्रह छ- यसलाई साविककै एक प्रतिशतमा कायम राखियोस् । चौथो, कर विवाद निरूपणको समयसीमा अव्यावहारिक रूपमा साँघुरो छ, लामो समयदेखि थन्किएका कर विवादलाई एक प्रतिशत थप शुल्कमा फर्स्याैट गर्ने छूट स्किम स्वागतयोग्य छ । तर यसको अवधि २०८३ पुस मसान्तसम्म मात्र तोकिनु अपर्याप्त छ । लक्षित करदातालाई पर्याप्त रूपमा समेट्न यो समयसीमा कम्तीमा चैत मसान्तसम्म विस्तार गर्नु उपयुक्त हुनेछ । पाँचौँ, स्टार्टअप कार्यक्रमलाई स्पष्टता र पहुँच चाहिएको छ । बिना धितो स्टार्टअप कर्जाको व्यवस्था सराहनीय छ । तर स्टार्टअपको परिभाषा, ऋणको मोडालिटी र ब्याजदरमा पुनरावलोकन गर्दै, यो कार्यक्रमको तल्लो तहसम्म व्यापक प्रचार र सरल कार्यान्वयन नभए यो काठमाडौं केन्द्रित घोषणामै सीमित हुने जोखिम छ । हाम्रो विकास यात्राको अनुभवमा कहिल्यै राम्रो योजनाको अभाव रहेन, कमजोरी सधैं कार्यान्वयनमा रह्यो । आज पनि हाम्रो चालू खर्चले कुल स्रोतको झन्डै साठी प्रतिशत ओगटेको छ, जबकि पुँजीगत खर्च बीस प्रतिशतकै सेरोफेरोमा रहेको छ । यो अनुपातले एउटा कटु सत्य उद्घाटन गर्छ, हामी भविष्य निर्माण गर्नभन्दा वर्तमान धान्न बढी खर्चिरहेका छौं । परियोजना कार्यान्वयनमा ढिलाइ, कमजोर खर्च क्षमता, नीतिगत अस्थिरता र अन्तर-निकाय समन्वयको अभाव– यी रोग नयाँ होइनन्, तर अझै निको भएका छैनन् । यदि यी संरचनागत रोगको उपचार भएन भने यो बजेटका सबै उज्याला सम्भावना कागजकै पानामा ओइलाउने जोखिम रहन्छ । सात प्रतिशतको आर्थिक वृद्धिको महत्त्वाकांक्षी लक्ष्य पनि त्यसै आधारमा परीक्षण हुनेछ । त्यसैले महासंघको सरकारसँग तीनवटा ठोस आग्रह छ । पहिलो, घोषित नीतिहरूको पूर्ण र समयबद्ध कार्यान्वयन सुनिश्चित गरियोस्, घोषणा गरिएका ऐनहरूको संशोधन विधेयक यथाशीघ्र संसदमा पुर्याइयाेस् । दोस्रो, करका दरमा देखिएका व्यावहारिक अस्पष्टता र अन्तरविरोधको तत्काल परिमार्जन गरियोस् । तेस्रो, नागरिक एपमा बिजनेस आइकन थपी व्यवसाय दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकीकृत गरियोस् । समग्रमा आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रका धेरै मागलाई नीतिगत र कानुनी रूपमा समेट्न खोजेको छ । यसले सुधारको स्पष्ट नियत देखाएको छ र यसका लागि महासंघ सरकारलाई धन्यवाद दिन्छ। तर सम्भावना देखिएको छ, कार्यान्वयन अझै देखिन बाँकी छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र लगानीकर्ताको मनोबल उच्च राख्न, घोषणा र अनुभवबीचको खाडल पुर्नु अनिवार्य छ । हामीले अर्को स्पष्टता खोजेको विषय- सरकारको काम उद्योग चलाउने भन्दा पनि उद्योग चल्न सक्ने वातावरण बनाउने हो । राज्यको प्रमुख भूमिका निष्पक्ष नियामक, सक्षम सहजकर्ता र प्रभावकारी सेवा प्रदायकको हुनुपर्छ। उद्योग, लगानी, नवप्रवर्तन, रोजगारी र सम्पत्ति सिर्जना गर्ने काम निजी क्षेत्रले गर्छ । त्यसैले सार्वजनिक-निजी साझेदारीलाई केवल वित्तीय स्रोत जुटाउने माध्यमका रूपमा होइन, विकासको नयाँ कार्यशैलीका रूपमा राख्नुपर्छ । आज देशसँग एउटा दुर्लभ अवसर छ- स्थिर सरकार। स्थिरता आफैमा उपलब्धि होइन, त्यसलाई आर्थिक रूपान्तरणमा बदल्न सक्नुपर्छ । सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सरकारको मात्र लक्ष्य होइन, निजी क्षेत्रको पनि साझा आकांक्षा हो। हामी पुँजी लगानी गर्न, उद्योग विस्तार गर्न, रोजगारी सिर्जना गर्न र नेपाललाई उच्च आयतर्फ उन्मुख अर्थतन्त्र बनाउने यात्रामा सरकारसँग काँधमा काँध मिलाएर हिँड्न तयार छौं । समग्रमा हामी सतर्कताका साथ आशावादी छौं, निजी क्षेत्र चिन्तित भने छ। (नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि नीति संवाद कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले राखेको मन्तव्य)

सरकारी कार्यालय : झ्यालहरूको भुलभुलैया र फाइलका भरियाहरू

वैशाख २१ गते, २०८३ साल । मलाई लागेको थियो, त्यस दिन म एउटा सामान्य काम लिएर सरकारी कार्यालय जाँदैछु । सोचेको थिएँ, केही कागजात चेकजाँच अनि केही हस्ताक्षरपछि त मेरो काम सकिइहाल्छ । तर थाहा थिएन, म कुनै कार्यालयमा होइन, एक अदृश्य भूलभुलैयामा प्रवेश गर्दैछु । जहाँ प्रत्येक मोडमा एउटा झ्याल छ, हरेक झ्यालमा एउटा ‘रेडिमेड’ उत्तर छ र प्रत्येक उत्तरले अर्को झ्यालतर्फ देखाउँछ । यस भुलभुलैयामा प्रवेश गर्दा कुनै द्वारले स्वागत गरेनन् । बरु सुरुमै झ्यालसँग जम्काभेट भयो । त्यसपछि नयाँ–नयाँ झ्यालहरूसँग लगालग जम्काभेट भइरह्यो । झ्यालले मलाई हेरिरहे, कहिले शंका गरेर, कहिले मौन भएर, कहिले ‘अर्को झ्यालतर्फ जानूहोस्’ भन्ने इशारा गरेर । मेरो हातमा फाइल थियो । फाइल हलुको भए पनि झ्यालदेखि झ्यालको यात्रामा त्यो गह्रौं हुँदै गइरहेको थियो । फाइलको भरिया बनेर म झ्याल चहारिरहेको थिएँ । मजस्तै धेरै मानिस फाइल च्यापेर झ्यालमा ढुकिरहेका थिए ।  लामो लाइन पार गरेर पालो पाएका मेरो अघिका एक बुज्रुकले फाइल फिर्ता बुझिसकेर सोधे अब कहाँ जाने ? झ्यालवालाले भने– ‘जहाँबाट आएको हो त्यही ।’ बुढा मुस्कुराउँदै फाइल च्याँपेर गए । बीच–बीचमा फाइलहरू थाक्थे सायद । झ्यालहरूमा अड्किन्थे । काम लिएर आएका मान्छेलाई थाक्ने छुट थिएन । उनीहरू एकैछिनमा बढ्ने लामो लाइनमा इमानदार भएर लामबद्ध देखिन्थे । समय धकेलिँदै थियो । फाइल र फाइलका भरियाहरू चुपचाप सँगै ‘जेरी झैं फनफनी’ घुमिरहेका थिए ।   काम कहाँबाट सुरु हुन्छ भनेर बुझ्न भित्र छिर्नेबित्तिकै देखिएको १२ नम्बर झ्यालमा गएँ । झ्याल नम्बर १० मा तोक लगाएर काम सुरु हुने थाहा पाएँ । अनि ११ नम्बर झ्यालमा दर्ता गर्न पठाइयो । १० नम्बर झ्यालमा तोक लाउने कर्मचारी नभेटिए पछि खोज्दै जाँदा माथिल्लो तलामा हाकिमको कार्यकक्षमा भेटिए । प्रमाणित गरेर १२ नम्बर झ्यालमा कम्प्युटर हुने कामका लागि फाइल पालोमा बस्यो । बाहिर गएर भूसेवा गरेर आउन भनी १२ नम्बरले निजी कम्प्युटरतिर पठाए । सकेर आएपछि १२ ले फेरि १३ मा पठाए । १३ ले सोधपुछ गरेर माथिल्लो तलाको ५ नम्बरमा पठाए । ५ नम्बरले फेरि १३ मै फर्काए । यति गर्दासम्म खाजाको ब्रेक समय आयो ।  पहिलोपल्ट सोधेरै भेटेका झ्यालका नम्बर कण्ठस्थ भए । १२ र १३ बाहेक यी कुनै पनि झ्याल लहरै छैनन् । कोही तल्लो तलामा छन् । कोही माथिल्लोमा । कोही पछाडि छन् त कोही घरको अर्कोपट्टि । फर्कीफर्की जाँदा झ्याल नम्बर भेटाउन सोध्न पनि नपर्ने भयो । बीचबीचमा आवाजहरू सुनिन्थे, बाहिर जानूहोस् । कम्प्युटर गरेर आउनूहोस् । हाकिमलाई सोध्नूहोस् । अलि बेरमा आउनूहोस् । मानिसहरूले फाइल ओसार्दै सरल रूपमा सोधिरहन्थे, ‘फेरि आउनु पर्छ ?’ झ्यालहरूले यी प्रश्नहरूको जवाफ दिएको सुनिएन । बरु अर्को झ्याल नम्बरतर्फ बाटो देखाइरहे । लाग्थ्यो, यो नागरिकको धैर्यको परीक्षा दिने यात्रा हो । खाजापछि झ्याल नम्बर १३ ले फेरि १० नम्बरमा गएर सदर गरेर आउन भने । १० मा फेरि कोही छैन । लिखत पारित र तोक लाउने ठाउँका ती कर्मचारी फेरि पनि माथि हाकिमकैमा भेटिए । तल उनको झ्यालमा लाइन बढ्दै थियो । बैंकमा राजस्व तिरेर फेरि १३ मा गएँ । फेरि बाहिरको कम्प्युटरमा पठाइयो । कर्मचारीले गर्ने काम किन पठायो भनेर कम्प्युटरवालाले सोधे । मसँग जवाफ थिएन, फिस्स हासेँ । उनले फाइलमा ‘अनलाइन सिरियल नम्बर’ हालिदिए र आफ्नो स्टाफ पनि पठाए । पछिपछि म फेरि १२ नम्बरमा फर्कें । हेरेर उनले उही कोठाको १३ नम्बर झ्यालमा दिए । लामै प्रतीक्षापछि १३ ले हेर्ने पालो आयो । फेरि माथि ५ नम्बरमा पठाइयो । ५ नम्बरबाट अब १५ मा जान भनियो । १५ वाला कर्मचारी नजिकको ट्वाइलेट गनायो भनेर १० नम्बरमा बस्दा रहेछन् । तेस्रोपाली उनी आफ्नो झ्यालमै भेटिए ।  लामो लाइन पार गरेर पालो पाएका मेरो अघिका एक बुज्रुकले फाइल फिर्ता बुझिसकेर सोधे अब कहाँ जाने ? झ्यालवालाले भने– ‘जहाँबाट आएको हो त्यही ।’ बुढा मुस्कुराउँदै फाइल च्याँपेर गए । मेरो काम भएपछि कुरो बुझेर आफै फेरि १३ मा पुगेँ । घण्टौंको दौडधुपपछि फाइल फेरि ५ नम्बरमा पुग्यो । त्यहाँ एक जना बुढा कर्मचारी थिए । उनको चाल सुस्त थियो, हात थरथरी काँपी रहेको थियो । तै पनि अनुभवले उनी पाका लाग्थ्यो । उनले फाइल फेरि अघि झैं गरी पल्टाए । अनि अन्ततः टिप्पणी लेख– ‘घर कायम गरिएको !’ उनले १४ नम्बरमा पठाए । बल्ल १४ नम्बर झ्यालवालाले मेरो पूर्जामा लेखे– ‘घर कायम गरिएको ।’ कसैले पनि किन भनेको, गुनासो गरेको सुनिएन । सबैजना यो जञ्जालमा अभ्यस्त जस्ता वा बोलेमा झन् काम नहोला वा ढिलो गरिएला भन्ने त्रासमा थिए ।  उनले प्रमाणित गर्ने ढड्डासहित मेरो पूर्जा भएको फाइल मेरै हातमा थमाए । त्यो बोकेर फेरि १० नम्बरमा गएँ । उनले हस्ताक्षर गरेपछि ११ नम्बरमा गएर छाप हानेपछि काम सकियो । अनि बल्ल भयो मेरो नामको जमीनमा ‘मेरो घर कायम ।’ यसबीच म एक ठाउँमात्र चाहिएँ, औंठा छाप र हस्ताक्षरका लागि । बाँकी म फाइलको भरिया मात्र थिएँ ।  एक दशकअघि मैले घर बनाएर सम्पन्नताको प्रमाणसमेत लिइसकेको थिएँ । तर कागजमा त्यो अझै अधुरो रहेछ । निर्माण सम्पन्नताको प्रमाणपत्र लिएपछि पुग्यो होला भन्ने लागेको थियो तर सरकारी लेखापढी पुगेको रहेनछ । मलाई त्यो कुरा बैंकको प्रयोजनले चाहिएको बेलामा मात्र थाहा भयो । सम्पन्नता प्रमाणपत्र जारी गरिसकेको नगरपालिकाको वडा कार्यालयले चारकिल्ला र घर कायम सिफारिस भन्दै एक हजार पाँच सय रुपैयाँ लियो । अनि मानिस पकाउने मालपोत अड्डाकाको ‘जेरी कारखाना’ तर्फ सोझ्याई दियो ।   त्यो भवनभित्र पसेपछि मलाई लाग्यो, म कुनै प्रशासनिक काम गर्न होइन, एउटा अदृश्य नक्सा पछ्याउन आएको हुँ । जहाँ समयसीमाको टुंगो स्पष्ट छैन, तर आदेशहरू लाम लागेका छन् । फाइलको भरिया बनाएर प्रत्येक झ्यालले अर्को झ्यालतर्फ औंला देखाउँदा फाइल अघि बढिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा म आफैं घुमिरहेको थिएँ, फनफनी । एउटा सानो कामका लागि कहिले बाहिरको निजी कम्प्युटर पसल, कहिले हुलाक टिकट खोज्न किराना पसल र कहिले खाजाको समय कुर्नुपर्ने बाध्यता । कहिले झ्यालवाला कर्मचारी कुर्सीमा नभेटिँदा उनलाई पर्खिनु पर्ने झञ्झट । धैर्यता सकिएपछि फाइल बोकेर हराएका कर्मचारी खोज्न कोठा कोठा पुगेँ घरीघरी ।  यो सबैबीच एउटा अनौठो अनुशासन थियो । यहाँ काम पूरा गर्नु भनेको एउटा क्रम पूरा गर्नु जस्तो थियो । कसैले पनि किन भनेको, गुनासो गरेको सुनिएन । सबैजना यो जञ्जालमा अभ्यस्त जस्ता वा बोलेमा झन् काम नहोला वा ढिलो गरिएला भन्ने त्रासमा थिए । म बिस्तारै थाक्दै थिएँ । बायाँ घुँडामा केही दिनदेखि नै दुखाइ थियो । तर त्यस दिन शरीरभन्दा बढी मन थाकिरहेको थियो ।  डिजिटल नेपालको कुरा यहाँ पुग्दा मीठो व्यङ्ग्यजस्तो सुनिँदो रहेछ । अनलाइन सेवा, स्मार्ट गभर्नेन्स, पेपरलेस प्रणाली यी सबै बेकार जस्तै लाग्छन्, जब वास्तविकता यसरी झ्याल–झ्यालको यात्रामा अल्झिएको अनुभव हुन्छ । त्यही भीडबीच मैले देखेँ, एउटी आमा लौरो टेक्दै छेउमा अफिसमा आएको । उनकी छोरी हातमा कागज समातेर उभिएकी थिइन् । दोहोरो–तेहरो उही टेबल वा झ्यालमा फर्किनुपर्दा झर्को मानेका उनीहरूको अनुहार थकित देखिन्थ्यो । बुढी आमालाई तल्लो तला र माथिल्लो तला गर्न अनि झ्यालझ्यालमा उभिन सकस भैरहेको प्रष्टै देखिन्थ्यो । त्यसैले होला, उनीहरू सोधिरहेका थिए, फेरि आउनु पर्छ ? तर, उत्तर कसैले दिइरहेको थिएन ।  हुँदाहुँदा सरकारी कार्यालय परिसरको निजी बैंकको सेवासमेत उराठलाग्दो देखियो । राजस्व जम्मा गर्ने भौचर ४ प्रति चाहिने रहेछ । प्रभु बैंकको टोखा काउन्टरमा न त कपी गर्ने कार्बन राखिएको छ न एक पन्नामा लेखेपछि अर्कोमा कपी हुने सुविधा छ । थाकेर आजित भएका बेला यही पनि दिक्क लाग्दो हुनेरहेछ । सरकारी सेवाभित्रकै काम भए पनि हुलाक टिकट किराना पसलमा खोज्नुपर्ने । अनलाइन प्रविष्टि बाहिरै गराउनुपर्ने । ‘फाइलको भरिया’ बनेको अनुभूति गर्दै चक्कर मारिरहेँ । एकपटक होइन, पटक–पटक जानुपर्ने । हरेक झ्यालमा एउटै कुरा दोहोर्याउनु पर्ने, ‘म आफै हुँ, मेरो नै घर हो !’ बकाइदा राजश्व तिरेर काम गर्न जाँदा पनि ‘जेरी’ जस्तो फनफनी घुम्दाघुम्दै लखतरान भएर शरीर थाक्ने अनि गिदी पाक्ने नियति किन थोपरिएको होला ?  डिजिटल नेपालको कुरा यहाँ पुग्दा मीठो व्यङ्ग्यजस्तो सुनिँदो रहेछ । अनलाइन सेवा, स्मार्ट गभर्नेन्स, पेपरलेस प्रणाली यी सबै बेकार जस्तै लाग्छन्, जब वास्तविकता यसरी झ्याल–झ्यालको यात्रामा अल्झिएको अनुभव हुन्छ । सुधार सम्भव अवश्य छ । त्यसका लागि एकद्वार सेवा, अन्तर–कार्यालय डेटा समन्वय, अनलाइन ट्र्याकिङ, सेवा समयको कडाइ र जेष्ठ नागरिक तथा अपाङ्गता–मैत्री संरचना तयार भयो भने । सबैभन्दा महत्त्वपूर्ण, नागरिकलाई ‘सेवाग्राही’ होइन, ‘सेवा पाउने अधिकार भएको व्यक्ति’ ठान्ने सोच विकास भयो भने यो सम्भव होला।  खासमा मलाई थाहा पनि थिएन, ११ वर्ष अघि बनाएको मेरो घर कागजमा अझै अधुरो छ भन्ने । घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिएपछि घरको सबै सरकारी प्रक्रिया सकियो भन्ने विश्वासमा मैले एक दशक विताएको थिएँ । यो काम गरिसक्दा प्रणालीगत असंवेदनशीलताले मन खिन्न भैरह्यो । वुढी आमाको पीडाले मनमा आक्रोश जाग्यो । न अपाङ्गता मैत्री संरचना, न स्पष्ट सूचना, न एकीकृत सेवा । हरेक टेबलले अर्को टेबलतिर औंलामात्रै देखाउने ।  यो सकसपछि मनमा लागि रहेको छ– एउटा घर पटक–पटक कायम गर्नु पर्ने किन ? अधिकार सम्पन्न भनिएको स्थानीय सरकारले घर बनेको र सम्पन्न भएको प्रमाणपत्रै दिइसकेको छ भने किन फेरि अर्को सरकारसँग थप प्रमाणित गर्नुपर्ने ? त्यसमाथि दिनभरको यत्रो रमिता  किन ? अनि राजस्व तिरेर काम लिन आएका सेवाग्राहीलाई फाइलको भरिया बनाएर झ्याल–झ्याल चहार्नु पर्ने व्यवस्था कहिले अन्त्य होला ?