एलन मस्कको जीवनबाट सिक्ने कि ?

समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान् । वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी । उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्दा उनको प्रगतिमा रिस गर्नेहरु पनि कम छैनन् । उनी इन्जिनियर मात्र होइनन् कि नवीकरणीय ऊर्जाबाट चल्ने सवारी साधन एवम् मानवतामैत्री आर्टिफिसियल इन्टेलिजेन्सका समेत वकालतकर्ताका साथै लगानीकर्ता समेत हुन् । उनले नयाँ नामकरण गरेको एक्स अर्थात् ट्विटर एउटा चर्चित नेटवर्क साइट हो । ट्विटर र टेस्ला कम्पनीका माध्यमबाट सङ्कलित डाटा पनि समग्र विश्वकै लागि एउटा ठूलो स्रोत हो, ऊर्जा हो । प्रविधिलाई साधन मान्ने हो भने डाटा चाहिँ सो साधनमा प्रयोग हुने इन्धन वा ऊर्जा नै हो । सन् २०२३ सेप्टेम्बर १२ मा एलन मस्कको बायोग्राफी बजारमा आयो । जीवनी पुस्तक उनले आफैँले भने लेखेका होइनन् । उनका बारेमा जानकारी राख्ने र एकनामी लेखकको चिनारी बनाइसकेका व्यक्तिले प्राप्त सूचनाका आधारमा उक्त बायोग्राफी तयार पारेका हुन् । सिएनएन र टाइमका पूर्वकार्यकारी अधिकृत वाल्टर आइज्याक्सन नै ती व्यक्ति हुन् जसले मस्कको बायोग्राफी तयार पारे । उनै व्यक्तिले यसअघि पनि लियोनार्दो द भिन्ची, बेन्जामिन फ्रान्कलिन, अल्बर्ट आइन्सटा इन, स्टिभ जब्सको समेत जीवनी लेखन गरिसकेका छन् । विद्युतीय सवारी साधन, निजी तवरबाट अन्तरिक्षको खोजी र आर्टिफिसियल इन्टेलिजेन्सको दबदबाको समयमा यी तीनवटै विषयमा लगानी गरी सफल समेत भएका टेकआइकन हुन् एलन मस्क । दक्षिण अफ्रिकाको प्रिटोरियामा सन् १९७१ जुलाई २८ मा जन्मेका उनी १७ वर्षको उमेरमा क्यानडा र पछि अमेरिकामा बसोबास गरेका हुन् भने उनले गरेको खोज, अध्ययन, जोखिमसहितको काममा रमाउने र लगानीबाट भएको प्रतिफलकै आधारमा संसारकै धनी व्यक्ति समेत बन्न सफल उनी सन् २००८ यता निरन्तर चर्चामा रहन सफल छन् । एलन मस्क संलग्न रहेका कम्पनी भनिन्छ कि उनी कलेज पढ्दै गर्दा ब्लास्टर नामक सफ्टवेयर बनाएर बेचेका थिए । उनले लगानी गरेको पहिलो कम्पनी जिपटु हो जसलाई कम्प्याक कम्पनीले खरिद गरेको थियो । तत्पश्चात् सुरुमा एक डटकम नाम रहेको र पछि पेपल नामकरण भएको कम्पनीको खासगरी वित्तीय विश्वमा बदलाव ल्याउने उद्देश्यका साथ स्थापना भएको थियो । दुई वर्षमा दुई लाखभन्दा बढी प्रयोगकर्ता भए । आफ्नो उद्देश्यमा कम्पनी सफल भयो र पछि त्यो कम्पनी पनि ठूलो रकममा बिक्री भयो । यसपछि उनी लसएन्जल्स गए, जहाँ उनले आफ्नो रुचि रहेको अन्तरिक्ष यान सम्बन्धमा अध्ययन गर्न र काम गर्न पाए । उनले अन्तरिक्ष यानसम्बन्धी कम्पनी स्पेश एक्सको स्थापना सन् २००२ मा गरे । सफल प्रयोगपछि नासाले पनि उनको कम्पनीलाई समेत सहकार्यका लागि अनुमति दियो । न्युरालिङ्क पनि मस्कले अघि बढाएको एउटा परियोजना हो, जसमा मानव ब्रेनमा माइक्रो चिप्स जडान गर्ने लक्ष्य लिइएको थियो । यसको पहिलो प्रयोग सफल भएको भनेर उनले सन् २०२४ जनवरी ३० मा पुष्टि गरेका छन् । यसको लागत सम्बन्धमा विवादहरु भएता पनि अमेरिकी डलर १० हजारमा एउटा चिप्स जडान हुने बताइएको छ । त्यसैगरी, इन्टरनेट सेवालाई सरल र सहज बनाउनका लागि उनले लोअर्विट स्याटेलाइटका रुपमा स्टारलिंक सञ्चालनमा ल्याएर यसमा जोडिन विश्वव्यापी रुपमा आग्रह समेत गरेका छन् । लेखक एआईका सम्बन्धमा पनि उनको चासो छ । जुनसुकै प्रविधि आफैँले राम्रो काम गर्दैन यसका लागि त मानवीय सक्रियता आवश्यक पर्दछ । यदि हामी सजग भएनौँ र सुरक्षाका प्रवन्ध अपनाएनौँ भने एआइले मानवलाई प्रतिस्थापन गर्ने जोखिम छ । उनी संलग्न रहेको ओपन एआईको रिसर्च ल्याव स्थापनाको लक्ष्य भनेकै एआईलाई मानव हित हुने गरी सुरक्षित तबरले विकास गर्ने सम्भावना बढाउनु हो । मस्कको विचारमा एआईको दुरुपयोग गर्नबाट रोक्ने सबभन्दा गतिलो उपाय भनेको बढीभन्दा बढी मानिसहरुको सशक्तीकरण गर्नु हो । भनिन्छ कि उद्यमी हुने हो भने जोखिम लिन डराउन हुँदैन । मस्क जोखिमयुक्त काम गर्न सदा इच्छुक देखिन्छन् । उनले प्रारम्भ गरेका कम्पनीको प्रकृति हेर्दा जोखिमसँगै खेलेर अगाडि बढेको देखिन्छ । जोखिमको पुर्वानुमान गर्ने र जोखिम व्यवस्थापन गर्ने उनको क्षमता विशेष नै लाग्दछ । यसबाट उनले फाइदा लिन सकेका पनि छन् । २००० वर्ष अगाडि एरिष्टो टलले अगाडि सारेको फस्ट प्रिन्सिपल थिङ्किङ भन्नाले कुनै पनि चिजको मूलभूत आधारहरुको ज्ञान भन्ने बुझिन्छ । धेरैले यो सिद्धान्तको प्रयोग गरेको भएता पनि एलन मस्कले स्पेश एक्समा गरेको प्रयोगलाई सबैले बुझ्दछन् । उनले अन्तरिक्ष यानको मूल्य के कसरी घटाउन सकिन्छ भनेर यो थिङ्किङको प्रयोग गरेका थिए । एलन मस्क एक इन्जिनियर अनि एक सफल उद्यमी मात्र रहेनन् । उनी त विश्वकै धनी व्यक्ति पनि बने । सन् २०२१ सेप्टेम्बर २७ मा टेस्लाको कमाई अरूको भन्दा अगाडि आयो । पछि यो कम्पनीको बजार मूल्य घटेको हुँदा उनी धनी व्यक्ति भइरहन सकेनन् तर उनी बढी धनी १० जनामा अहिले पनि छन् । एलन मस्कको जीवनबाट सिक्नुपर्ने विषय असफल हुनासाथ नआत्तिने र धैर्यतापूर्वक त्यसबाट के कसरी बाहिर निस्कने र सफल कसरी बन्ने भन्ने रणनीति बनाउन सक्ने र निरन्तर आफ्नो मिसनमा अग्रसर हुने व्यक्तिका रुपमा एलन मस्क चिनिन्छन् । टेलिफोन बुकको अवधारणामा स्थापना भएको जिपटु नामक कम्पनीमा शुरुमा लगानी जुटाउन धौधौ परेको भएता पनि यसको अनलाइन भर्सन थालनी भएपछि लगानी जुट्यो र उनले यसबाट नाफा कमाएरै छाडे । उनको नवीन क्षमताकै कारण पेपल नामक कम्पनीमा सहलगानी गर्ने अवसर जुट्यो । सन् १९९९ मा पेपललाई सबभन्दा कमजोर व्यावसायिक आइडिया भनेर समेत प्रचार गरियो तर यसलाई प्रयोगकर्ताको पक्षबाट इनोभेट गरेर अनलाइन वा लेटको रुप दिएपछि भने यसले सफलताको भ¥याङ्ग चढ्यो । टेस्ला नामक कम्पनी डुब्नै लाग्दा र स्पेश एक्स लगभग अव डुब्यो भनेपछि पनि उनले जसोतसो लगानी जुटाए र अगाडि बढ्ने क्रममा यी दुवैदुवै कम्पनी चर्चाको शिखरमा पुगे र सफल पनि बने । उनको ट्विटरमा रहेको संलग्नता पनि विवादमुक्त रहेन । तथापि उनले ट्विटरलाई पनि चर्चामा ल्याउन सके । यी उदाहरणबाट के देखिन्छ भने यदि आफ्नो रुचिको क्षेत्रमा स्वप्रेरित भएर लागि प¥यो भने सफलता टाढाको विषय होइन । उनको जीवनबाट पाइने आठवटा सन्देशलाई यसरी बुँदामा राख्न सकिन्छ : –असफलता र त्यसले दिने पीडाबाट सिक । असफलताबाट सिक्दै र धैर्यतापूर्वक कमजोरी हटाएर अगाडि बढ्नु उपयुक्त बाटो हो । यदि असफलता झेल्न सिकिएन भने नवप्रवर्तनकारी बन्न सकिदैन । – विज्ञ र पुस्तकबाट सिक । कम्पनी वा सङ्गठन राम्रो हुने भनेको राम्रा व्यक्तिहरुबाट नै भन्ने विश्वास उनीमा देखिन्छ । – महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गर । निजी तबरबाट स्थापना गरिएको स्पेश एजेन्सीले मङ्गल ग्रह कब्जा गर्ने र भविष्यका लागि वैकल्पिक वस्तीको विषय उठान गर्नु कम्ती महत्वाकांक्षी हैन तर उनको क्षमता हेरेर यो विषयलाई उत्सुकतापूर्वक हेरिरहेका छन् । यसरी लक्ष्य राख्दा लामो समयपछि परिणाम आउने प्रोजेक्टका लागि पनि हेरेर अल्पकालीन फाइदाका लागि मात्र मरिमेट्नु हुँदैन भन्ने उनका लक्ष्यहरुले सिकाउँछन् । – आफ्नो कामको जिम्मा आफैँ लिने गर । आफ्नो जिम्माको काममा हरेक पक्षको जानकारी राख्ने र परिणामप्रति आफुले जिम्मेवारी लिने गर्नु जीवनकै ठूलो कला हो । जुन कुरा गर्नु जरुरी छ त्यो काम तुरुन्त गर । महत्वपूर्ण काममा ढिलाई गर्दा आफू त पछाडि परिन्छ नै । अर्को सोही कामको लागत पनि बढी पर्ने हुन्छ । – काम गर्ने तरिकालाई सरलीकृत गर । परिवर्तनमा रमाऊ । काम गर्ने तरिका परिवर्तन गरेर पनि आफ्नो प्रोजेक्ट या भनौँ जीवनलाई सरल बनाउन सकिन्छ । – आफूमा विश्वास राख । आफ्नो सोँच वा लक्ष्यप्रति विश्वास राख्दै निरन्तर र कडा परिश्रमका साथ लागिपर्नु आवश्यक छ । “म गर्न सक्छु” भन्ने दृढ अठोट राख्नु सफलताका लागि महत्वपूर्ण छ । – हरेक नयाँ काम र आवश्यकता उपर प्रश्न गर । स्वभावतः जुन आवश्यक छ भनिएको छ त्यो गलत हुन्छ । जबसम्म आवश्यक छ भनेर सत्य सावित नभएको होस् । एलन मस्कले विभिन्न समय र क्रममा अभिव्यक्त गरेका केही भनाइबाट समेत उनको जीवन मार्ग र विचारका सम्वन्धमा अनुमान लगाउन तथा केही सिक्न सकिन्छ । केही भनाइहरु यहाँ समेट्न खोजिएको छ । –सामान्य व्यक्तिमा समेत असमान्य व्यक्तित्व बन्ने सम्भावना रहन्छ । – यदि असफलताको अपेक्षा गर्दैनौं भने बुझे हुन्छ कि तिमी नवप्रवर्तनशील छैनौँ । – सुन्दर र मानवीय भविष्यको लागि अहिले रहेका कतिपय समस्याको समाधानमा मेरो जोड छ । म पैसैका लागि मरिमेट्ने गर्दिन । – अन्तत्वगत्वा म मङ्गल ग्रहमा मर्न चाहन्छु । – लामो समय पर्खने कामका लागि हाम्रो जीवन छोटो छ । –आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमले हामी राक्षसलाई काबुमा ल्याउँदैछौँ । – धैर्यता निकै राम्रो गुण हो, म धैर्यवान् बन्न सिकिरहेको छु । – कुनै काम सम्भव छ भन्ने स्थापित गर्नु पहिलो पाइला हो, त्यसपछि त काम बन्ने सम्भावना हुन्छ नै । – कतिपय अवस्थामा कुनै व्यक्तिको ब्रेनलाई ज्यादा र उसको व्यक्तित्वलाई कम महत्व दिनु मेरो त्रुटी हो । – यो संसारमा धेरै राम्रा पुस्तक र मानिसहरु छन् । म पुस्तक पढ्छु र मानिसहरुसँग सल्लाह लिन्छु, सिक्छु । – सरकारले लगानी गर्छ भनेको सर्वसाधारण जनताकै तर्फबाट लगानी हो किनकि सरकारसँग हुने भनेकै जनताले तिर्ने कर वा शुल्कको पैसा हो । ‘स्पेसएक्स’को स्थापनाअघि उनले ८० प्रतिशत मेहनत इन्जिनियरिङको अध्ययन र प्रयोगमा व्यतीत गर्थे भनिएको छ । उनले स्वयम् अध्ययनबाटै स्पेसक्राफ्टका चिफ इन्जिनियर भएका हुन् । भनिन्छ कि उनले एक महिनामा ६० वटासम्म पुस्तक अध्ययन गरे । एलन मस्कको हालसम्मको जीवनबाट भनौँ या उनको जीवनशैली, अभिव्यक्ति, जीवन भोगाइबाट सिक्ने बुझ्ने र अवलम्बन गर्ने भनेको जीवनलाई कसरी महत्वपूर्ण तर नवीन क्षेत्रहरुमा प्रवेश गराउने, मानव मात्रका लागि कसरी उपयोगी हुने गरी काम गर्ने तथा जरुरी कामहरुमा के कसरी प्रस्तुत हुने भन्ने नै देखिन्छ । उनीमा घमण्ड देखिँदैन तर काम गर्ने दृढ इच्छा शक्ति भने पाइन्छ । विश्वविद्यालयको कक्षामा नगएर पनि सिक्न सकिन्छ भन्ने सिद्ध गर्ने उनी थप एक उदाहरण हुन् । भनिन्छ कि एलन मस्कको माइन्डसेट एवम् उद्यमी र काम गर्ने तरिका नै समस्या समाधान गर्ने खालको छ । भविष्यमा पनि मानव मात्रको हितका लागि उनका सफलताका कथा पढ्न पाइने आशा गर्न सकिन्छ । रासस (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् )  

६ लाख व्यवसायीको परिवारमा आम्दानी र खर्चबीच तालमेल मिलेको छैन

म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । योकार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरू एक/दुई जना साथीभाई र परिवारबाट शुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेकोे छ । महासंघमा जोडिएसंगै करिब ६ लाख व्यवसायी सहितको परिवार बन्यो । हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन् । यसको अर्थ महासंघ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरूको हो । हाम्रो वृहत परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहद परिवारको आय आर्जन गर्ने सदस्यहरू हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा विना काम गर्न सक्दैनौ । हामीलाई सेवा र सुरक्षा दिएवापत राज्यलाई कर बुझाउँछौं । अहिले परिवारमा आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ । तर, त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ । म युवाहरुको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठीन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरवार धितो राखेर नै गर्नुपर्छ । अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरि तयार पार्नुपर्यो । राजनीतिक तहबाट त्यसलाइ अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अड्चन हुनु भएन र वातावरणीय रूपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत बिषय पुरा गरेपछि मात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ । तर, यति हुँदा हुँदै पनि म आज यहाँ निराशामात्र व्यक्त गर्न चाहन्न । म यो सम्भावना नै सम्भावना भएको मुलुकको रूपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाको बारेमा पनि कुरा गर्छु । सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैंकहरूमा पनि तत्काल कर्जाका रूपमा दिन सकिने करिब ६ खर्ब रुपैया छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर, यस अवधिमा १ खर्ब रुपैयाको निर्यात हुँदा ८० अर्ब रुपैया त विद्यार्थीहरू विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ । वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत हाराहारीमात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पूँजीगत खर्चभन्दा झण्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना देखिएको छ । निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ । रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ । विगतमा बढदो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजश्व पनि बढेको थियो । राजस्व अपेक्षित रुपमा बढ्न सकेको छैन् । न्यून पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ । यी माथिका तथ्यांकहरु मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्दछ । करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ । यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेस हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । श्रीलङ्का बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब २ प्रतिशत सकारात्मक भएको छ । नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन । किनभने यस अवधिमा भारत, बंगलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत बर्ष पनि नेपालको वृद्धि २ प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो । भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी क्षेत्रले डोर्याएको वृद्धि नै हो । कुनै समयका द्धन्दग्रस्त र निक्कै गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ । पछिल्लो २ वर्षमा न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । यस वर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक छ । म व्यक्तिगत रूपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रूपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ । हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैया बनाउने अवसर दियौँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भुकम्पपछि कसरी उठ्यौं ? अनि कोभिड पछि कसरी तंग्रियौं ? यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र बिकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ । सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरु सामु पाँच बुँदे प्रतिवद्धतापत्र पेस गरेका छौ । यसमा हामी यहाँहरुको प्रतिबद्धताको अपेक्षा गरेका छौँ । अहिले निराशा र अविस्वास बढेका बेला यहाँहरुले यी प्रतिवद्धता जनाइदिनुभए मात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरु समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु । नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्धिपक्षीय लगानी सम्झौता बीआईएको खाका मन्त्रीपरिषदबाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यु प्रति आभार व्यक्त गर्दछु । अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौ । आजको यस कार्यक्रममा मुलुकभरबाट करिब १ हजार भन्दा बढि उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ । अबको दुइ दिनपछि नयाँ बर्ष २०८१ शुरु हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, नेतृत्व वर्ग नयाँ बर्षमा हामी व्यवसायीहरुले यहाँहरुबाट के सन्देश लिएर जाने अब यो यहाँहरुको हातमा छ । (महासंघका अध्यक्ष ढकालदवार उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभामा प्रस्तुत मन्तव्य)

कर्जा लगानी बढाउन बैंकहरूले थालेका प्रयास

अन्तर्राष्ट्रिय परिवेशमा सन् २०२३ बाट सन् २०२४ मा आउँदा कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदर खासै बदलिएको छैन । सन् २०२३ मा औसत ३.१ प्रतिशत जीडीपी रहेकोमा सन् २०२४ मा पनि यही हाराहारीमा रहने अपेक्षा छ । र, सन् २०२५ मा पुग्दा पनि धेरै उछाल आउने देखिदैँन । एशियन मुलुक भारत, चीनमा जीडीपी ग्रोथ स्थिर छ । सन् २०२३ मा ५.४ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.२ प्रतिशतमा झरेको छ । सन् २०२४ बाट सन् २०२५ मा आउँदा एशिया क्षेत्रमा पनि जीडीपी ग्रोथ उत्साहजन हुने प्रक्षेपण छैन । भारतको स्थिर हुने र चाइनाको जीडीपी ग्रोथ घट्ने हुँदा नेपाललाई पनि दबावमा राख्ने देखिन्छ । भारतमा सन् २०२३ मा ६.७ प्रतिशत रहेकोमा सन् २०२४ मा आउँदा ६.५ प्रतिशत र चाइनामा सन् २०२३ मा ५.२ प्रतिशत थियो भने सन् २०२४ मा पुग्दा ४.६ प्रतिशतमा झरेको छ । दक्षिण एशियाको पनि सन् २०२३ मा ६.६ प्रतिशत जीडीपी ग्रोथ रहेकोमा सन् २०२४ र २०२५ मा आउँदा घट्ने देखिन्छ । सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण छ । दक्षिण एशिया क्षेत्रमा पनि आगामी २ वर्ष जीडीपी ग्रोथ उत्साहजनक हुने देखिँदैन । तर, ३ वटा मुलुकमा सन् २०२३ को तुलनामा सन् २०२४ मा १ प्रतिशत सकारात्मक परिवर्तन हुने देखिन्छ । श्रीलङ्का, पाकिस्तान र नेपालमा तुलनात्मक रूपमा दक्षिण एशियामा वृद्धिदर ठिकठिकैको अवस्थामा रहेको देखिन्छ । मूल्यवृद्धि अहिलेको लागि सकारात्मक पक्ष भनेको मूल्यवृद्धि दर घट्दो क्रममा छ । सन् २०२३ मा ६.८ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२४ मा ५.८ प्रतिशतमा झरेको छ । जबकी एक वर्षको अवधिमा १ प्रतिशतले मूल्यवृद्धि घटिसकेको छ । सन् २०२५ मा अझै घट्ने अवस्था रहेको छ । जीडीपी ग्रोथ स्थिर रहने अनुमान छ भने मूल्य वृद्धि दर भने घट्ने क्रममा रहेकोले केही सहजता प्रदान गर्नेछ । पछिल्लो ८/१० महिनायता अमेरिकामा समेत मूल्यवृद्धि दर स्थिर छ । अमेरिकामा सन् २००१ पछिको इतिहासकै उच्च भए पनि घटबढ भएको छैन । बढ्ने ट्रेण्ड घटेको छ भने स्थिर रहिरहेको छ । भारतमा सार्वजनिक भएको मौद्रिक नीतिले पनि थप घट्न मद्दत पुग्नेछ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ५.५ प्रतिशत, यूरोपमा ४.५ प्रतिशत, इङ्ग्ल्याण्डमा ५.२५ प्रतिशत र भारतमा ६.५ प्रतिशत मूल्यवृद्धि रहेको छ । नेपालमा एक वर्षअघिको तुलनामा मूल्यवृद्धि घटेको छ । एक वर्षअघि ७.८८ प्रतिशत रहेको थियो भने यस वर्ष ५.०१ प्रतिशतमा झरेको छ । विश्वव्यापी रूपमा मूल्यवृद्धि घट्ने ट्रेण्डमा रहेकाले नेपालमा पनि थप घट्न मद्दत पुग्नेछ । राष्ट्र बैंकले बैंकदर रिभाइज गरेको छ । गत साउनमा बैंकरेट ७.५ प्रतिशत रहेकोमा मंसिरमा ७ प्रतिशत, पोलिसी रेट ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र फ्लोररेट ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ । रेमिट्यान्स वृद्धिदर पनि विगतको तुलनामा बढेको देखिन्छ । बिओपी, रिजर्भ लगायत सबै सूचक सकारात्मक छन् । बैंकिङ क्षेत्रको ताजा अवस्था पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूको कुल पुँजी ६४३.८५ अर्ब रुपैयाँ छ । यस्तै, क्यापिटल एडुकेसी रेसियो (सीएआर) १२.४१ प्रतिशत, खराब कर्जा (एनपीएल) ३.६३ प्रतिशत रहेको छ । बैंकहरूमा गैर बैंकिङ सम्पत्ति १९.९१ अर्ब रुपैयाँ बराबर छ । कुल कर्जाको प्रोभिजिनिङ ४.२६ प्रतिशत रहेको छ । एनपीएल उच्च भयो भनेर आत्तिनु पर्ने अवस्था छैन । नेट लिक्वीड एसेट २९.७० प्रतिशत र एसएलआर २६.३२ प्रतिशत छ । माघसम्मको तथ्याङ्क अनुसार निक्षेपको व्याजदर ७.०१ प्रतिशत र कर्जाको व्याजदर ११.०७ प्रतिशत छ । घट्दो क्रममा रहेको आधार दर ८.७७ प्रतिशत रहेको छ । इन्ट्रेस्ट स्प्रेड दर ४ प्रतिशत छ । कर्जा निक्षेप अुनपात (सीडी रेसियो) ७९.६० प्रतिशत रहेको छ । सरकारले ताेकेको क्षेत्रमा बैंकहरूले ३०.५ प्रतिशत कर्जा प्रवाह गरेका छन् । जसमध्ये कृषिमा १३.३५ प्रतिशत, जलविद्युतमा ७.४३ प्रतिशत र एमसीएसएमआईमा ९.७२ प्रतिशत कर्जा प्रवाह गरेका छन् । कालोसूचीमा पर्ने घट्दै चालु आर्थिक वर्षमा २६ हजार २३७ बढी कालोसूचीमा परेका छन् । जसमध्ये अधिकांश चेक बाउन्सका ७० प्रतिशत रहेका छन् भने ३० प्रतिशत मात्रै डिफल्टका मात्रै छन् । अघिल्लो वर्षको तुलनामा यो दर पनि घटेको देखिन्छ । अघिल्लो वर्ष ३४ हजार बढी कालोसूचीमा परेका थिए । माघसम्मको तथ्याङ्क अनुसार १ लाख १३ हजार ३०५ जना ऋणीका ग्राहक छन् भने १८५.२८ अर्ब रुपैयाँ कर्जा स्वीकृत भइसकेको छ । निक्षेप तथा कर्जा गत वर्ष निक्षेप वृद्धि ११.१२ प्रतिशत (५ खर्ब ५ अर्ब) वृद्धि भएको थियो भने कर्जा लगानी ३.४२ प्रतिशत (१ खर्ब ४३ अर्ब) मात्रै बढेको थियो । चालु आर्थिक वर्षको चैतसम्म निक्षेप ८.७८ प्रतिशत (४ खर्ब ४३ अर्ब) र कर्जा ४.१७ प्रतिशत (१ खर्ब ८० अर्ब) बढेको छ । निक्षेप वृद्धिदर सन्तोषजनक छ भने कर्जा पनि सुधारोन्मुख नै छ । बैंकिङ क्षेत्रका लागि चुनौति बैंकिङ क्षेत्र विभिन्न ३/४ वटा चुनौतिसँग जुधिरहेको छ । सरकारको राजस्व संकलन र पुँजीगत खर्च उत्साहजनक छैन । चैतसम्म ५० प्रतिशत कम राजस्व संकलन भएको छ भने पुँजीगत खर्च २९.५८ प्रतिशत मात्रै छ । अघिल्लो वर्षको तुलनामा आयात र निर्यात घटेपनि ब्यापार घाटा सधैं नै चुनौतिको विषय बनिरहेको छ । आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा १४.३८ अर्ब विदेशी लगानी (एफडीआई) भित्रिएको थियाे भने चालु आर्थिक वर्षको ७ महिनामा ५.१८ अर्ब भित्रिएको छ । जबकी भारतले ५० अर्ब विदेशी लगानी भित्र्याइसकेको छ । प्रत्येक वर्ष साढे ७ लाख नेपाली विदेश पलायन भइरहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार साढे ४ लाख बाहिरिसकेका छन् । यसकारण पनि मागमा कमी आएको देखिन्छ । यी काम गर्दैछन् बैंकहरू बैंकहरूले कर्जा लगानी बढाउन जोड दिइरहेका छन् । उच्च ब्याजदरले कर्जा लगानीमा कमी आएको भनेर दोष लगाउँथे । तर, उच्च ब्याजदरले मात्रै कर्जा लगानी रोकिएको होइन भनेर अहिलेको तथ्याङ्कले पुष्टि गरिसकेको छ । अझैपनि बैंकप्रति नकारात्मक सन्देश प्रवाह भइरहेका छन् । जसले गर्दा मनोबलमा असर गरिरहेको छ । आम जनमानसमा नकारात्मक सन्देश बढी फैलिएको छ । सही सूचना दिन वा मनोबल बढाउन बैंकहरूले विभिन्न गतिविधि गरिरहेका छन् । खुद एनपीएल धेरै नबढेकाले आत्तिनु पर्ने अवस्था छैन । तैपनि सजग भने जरूरी हुनु पर्नेछ । समय अनुसारको पोलिसी रेटलाई टेकओभर गर्दै बैंकहरूले कार्यान्वयन गर्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित दुईवटा विधेयक संसदमा दर्ता छन् । त्यसको प्रभाव के पर्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । बैंकलाई पनि जग्गामा हदबन्दीको विषय आइरहेको छ । यसमा पनि सरकारसँग छलफल भइरहेको छ । राज्यको नीतिलाई सहयोग पुर्याउन बैंकहरूले सहुलियतपूर्ण कर्जा दिएपनि लामो समयदेखि १२ अर्ब बढी भुक्तानी पाउन सकिएको छैन । शर्मा नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।