३३ वर्ष राष्ट्र बैंकमा रहदा स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ
सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु । पाँच वर्ष डेपुटी गर्भनर सहित ३३ वर्षको कार्यकालमा म जुनजुन भूमिकामा रहेँ, सोही अनुरुपको धर्म निभाए । अनुचित सुविधाहरु आफ्नो पक्षमा पार्न इमान्दारिता र स्वाभिमानलाई कहिल्यै सौदाबाजी गरिनँ र स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ । वित्तीय स्थायित्व कायम गर्ने नेपाल राष्ट्र बैंकको उद्धेश्य पुरा गर्न र दण्डहिनता तोड्न मैले निष्ठापूर्वक कार्य गरें । मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुलधारमा राखेर पद्धति अनुरुपको कार्यलाई पक्षपोषण गरें । केन्द्रीय बैकको अस्मिता चीरहरण हुन खोज्दा यस्को स्वायत्तताको रक्षार्थ आवाज उठाइरहे । समग्र वित्तीय क्षेत्र र कार्यरत संस्थाको हीतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालाहरु बीच समन्वय र सहकार्य मार्फत उल्लेखनीय अनुभव हासिल गरें । कर्मचारी मित्रहरु र सेवाग्रहीहरुसँग सकेसम्म उदारतापूर्वक मित्रवत व्यवहार गरें । सानो चित्त गरिनँ । पटक पटक म माथि आरोप, प्रत्यारोपका प्रयत्नहरु भए तर म कहिल्यै निराश र हतोत्साही भइनँ । बरु ती झुटका पुलिन्दाहरुले उल्टै मलाई अग्रगमनका लागि उर्जा प्रदान गरे । विदाइको यो संघारमा मलाई जिम्मेवारी दिने र सो पूरा गर्न सहयोग गर्ने नेपाल सरकार र नेपाल राष्ट्र बैकप्रति सदा आभारी छु । मेरो कार्यकालमा मलाई सहयोग गर्ने र सद्भाव राख्ने गभर्नरज्यूहरु र सञ्चालकज्यूहरु, सम्पूर्ण कर्मचारी मित्रहरु, बैंकरहरु, दातृ निकाय, सरोकारवाला संघ संस्था, पत्रकार बन्धुहरु र शुभेच्छुकहरुलाई अन्तरआत्मादेखि नै धन्यवाद दिन चाहान्छु । निर्णय तहमा रहेर काम गर्दा सबैको चित्त बुझाउन नसकिएको हुन सक्छ । मबाट जान अन्जानमा कुनै कमी कमजोरी भएको भए वा मेरो कामकारवाहीबाट कसैलाई चोट पुगेको भए माफी चाहान्छु । (नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर सिवाकोटीले अवकाश पाएपछि व्यक्त गरेको धारणा) सम्बन्धित सामग्री राष्ट्र बैंकमा चिन्तामणिका ३२ वर्षः अफिसमै ‘नजरबन्द’देखि खुल्लामञ्चमा जुत्ता पसलसम्म
नेपालको सेयर बजार हल्लाकाे भरमा दौडिरहेको छ, आधारभूत पक्ष हेरेर लगानी गरौं
मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसुचक उच्च विन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसुचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ । नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस (प्रतिसेयर आम्दानी) लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ । यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घट्बढ् हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसुचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १०/११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेसन’ र विकास भने सन्तोषजनक छ । (चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नबिल बैंकका डीजीएम हुन् । उनीसँग गरिएको कुराकानीमा आधारित)
अक्षर भुल्ने साक्षर समाजको दशा !
घरमा नयाँ मान्छे देखेपछि कत्लैकत्ला भएको अनुहार लिएर दैलोको एकातिर आड लाउँदै डराउने समाजसम्म गएर सिकाइ र व्यवहारलाई हेरिनुपर्ने रहेछ । हामीलाई त्रिपिटक र मुन्धुमको लिपि किन सिकाइएन ! पाणिनिको माहेश्वर सूत्र खोजेर अक्षरको खेती गर्ने सोचबाट भाग्दा हामीले अक्षर सिकेर जीवन चिन भन्दै भनेनौँ । कपडा सिउन जान्नु, जुत्ता सिउन जान्नु, सुन-चाँदी-पित्तला आदिका गरगहना बनाउने, फलामको काम गरेर कोदालो, हँसिया, फालीदेखि गाग्रो, खड्कुँडो सबै बनाउने, हलो बनाउने, डोका-थुन्से-भकारी चित्रा आदि बुन्ने कलालाई किन प्राविधिक सिप मानेनौँ ? अनि कामलाई जातका आधारमा मात्रै हेर्ने सामाजिक र आत्मिक चिन्तनभन्दा पर भौतिक लालसाको बौद्धिक आतङ्कभित्र अन्धाधुन्ध हुरिन खोज्छौँ । तब, सुख र आनन्दको आत्मनिर्भरतालाई भुल्छौँ । व्यवस्थित समाजको गरिमालाई कुल्चने रहेछौँ । “हाम्रा पालाँ त स्कुल थेनन् बाबै, तँ चाइँ स्कुल जा ।” दिनभरि पँधेराको एक अम्खोरा पानीका भरमा मकै गोडेर बेलुका अँगेनामा अलिकति पीठो मस्काउने आमाको योगदान कति अतुलनीय हुन्छ । आफ्नो झुपडीबाट दुई घण्टा परको स्कुल पुग्न सिस्ने खोलादेखि खसिने खोला, मसिने खोला हुँदै अरु कति खहरे पार तर्नुपर्दो हो । बल्लतल्ल किनिदिएको किताब र कापी च्यापेर स्कुल जान लागेको छोरालाई मुटु गाँठो पारेर बिदा गर्नुपर्ने विवसता आज पनि छ । दशैँ आएपछि बल्लतल्ल नयाँ लुगा सिलाइदिने बुवाले भन्नुहुन्थ्यो- “बढ्ने मान्छे हो अलिक ठूलो सिलाइदिनुपर्छ है ।” पाइन्टको घुँडातिर, पछाडितिर देखिने भेन्टिलेसन टाल्ने साइत पनि त त्यही नै हो अनि बल्लबल्ल सिलाएको कपडा उही विद्यालयको पोसाक न हो । रात्रिकालीन फुर्सदमा गृहकार्य गर्ने जीवनसँग टुकी युगको सार्थकता पनि आज यथावत नै छ ! नीति र लक्ष्यका पानाले सुविधाविहीनलाई आँखामा आँखा जुधाएर हेर्नै सक्दैन रहेछ । ए शेर्पा दाइ ! तिम्रो चौँरी गाईको छुर्पीको स्वाद मुखमा झुन्डिएको छ । घरायसी विज्ञानको जादु टिप्छौ तिमी । चर्म चक्षु र ज्ञान चक्षुको “अमन्त्रम् अक्षरम् नास्ति” को उक्तिसँग नातो जोड्न नसकेरै त म हारेको हुँ । कर्मले ज्ञान र ज्ञानले कर्मसँग सर्म माने मानव धर्म नै धराशायी बन्ने रहेछ । एक्काइसौँ शताब्दीका ठूला गफमा असुविधाले अँध्यारो उल्झनमा अल्झाएपछि घायल हुन्छ, त्यो पाखो । ऊ त रक्त चन्दनको बासना बोकेर रम्न चाहन्छ । उसमा रुद्राक्ष लगाएर शिवभक्त बन्ने चाहना हुँदो हो । पाखामा आँखा लगाउन भन्दा डाकामा भाका मिलाउन उद्यत मान्छेको नालीबेली सुनाएर फाइदा के होला र खै ! कचहरी र धर्मसभाबाट मौलिक साक्षरता सिक्ने हामी नेपाली । राणाकालीन वैधानिक कानुनले चर खन्यो अनि प्रजातान्त्रिक युगले चेतनाको एउटा खरेप हाल्यो । पृथ्वी कसरी बन्यो ? मान्छे कसरी उब्ज्यो ? कुमान्छे कसरी भयो ? सुमान्छे बन्ने चक्कर किन चल्यो ? दानव र देवता कहाँ खोज्ने ? तमाम प्रश्नमा घोत्लिएर मान्छेले यन्त्रमानव बनाएको होस् या त अन्तरिक्ष जगत्सम्मको यात्रामा पाइलो सारेको मूल कारण यही हो भने पनि– मान्छेलाई सुख चाहिएको छ । भौतिक विकासमा लम्कन खोज्दा हामीलाई असुविधाको गलपासोले झापड हान्छ अनि पेट पूजाको समस्यामा कोर्राले छप्काउँछ । बाह्र महिना पाखुरी बजार्छौं । तीन महिनापछि पेट भोकै । विद्यार्थीलाई दिवा खाजा, नुन र तेल अनि लत्ता कपडा पाउँछु भनेर कति दिन पढ्न विद्यालयमा जाँदो हो ! मान्छे र कुमान्छेभित्र वनमान्छे र घरमान्छेको अन्तर किन हुन्छ ? पाखाले गाँसेको नातालाई पुस्तकका पानाले कसरी तोड्न सक्छ ! जीवन सिक्न जीवन बिर्सेर उही जीवनको शिक्षा भन्दै रुसोलाई हेप्न मिल्छ ! मलाई माक्र्स, लेनिन, फुकोभन्दा मेरा हजुरबा, जिजुबा, मामाघरकी हजुरआमाभित्रको ज्ञानको बन्दगोभी खोल्ने बुद्धि दिए हुँदैन ? विद्यार्थीले देशलाई गर्व गर्न पढोस् अनि परदेशलाई बुझ्न पढोस् तब मात्र मुलुकका कथाका पात्रभित्र सिँगाने, गोठाले, पाखेहरू पनि समावेश हुन्छन् । कमसेकम अक्षर चिन्नेले नचिन्नेका दशालाई बोध गर्नुपर्ने हो । साक्षर भएर तिनकै पसिनामा ¥याल काढ्ने बुद्धिलाई कसरी उत्तम मान्ने ! चेतनाको दियोमा अवसरको वर्तन नहुँदा त्यहाँ अँध्यारो त हुन्छ नै । तर, सुतेपछि देख्ने सपना होइन सुत्नै नदिने सपनाले सताउने संसारलाई म कसरी उन्नति भनौँ ! जीवन सिकाउन र चिनाउने कथाका पात्रहरूसँग मलाई सोध्न मन छ: जीवन पैसा हो ? उन्नति सम्पत्ति हो ? मान–सम्मान हो ? प्रौढ शिक्षा, साक्षरता शिक्षा, निरक्षरता उन्मूलनका अभिष्ट बोकेर अनकन्टार अक्करमा टुप्लुक्क बनेको एउटा घरले कति लाभ पाउँछ ! सुविधा र असुविधाभित्र विज्ञानको चेतना अनि रैथाने ज्ञानको सागरमा मन्टेस्वरीको चेतनाले शहर चकाचक हुन्छ अनि रुसोको “प्रकृति तर्फ” को सिद्धान्तका कुरा चाहँदा गाउँतिर फर्के हुँदैन ? समयले समस्याका चाङमाथि सम्भावनाको दैलो पनि त खोल्दै छ । आ.व. २०७५/०७६ को तथ्याङ्कले मुलुकमा ८६ प्रतिशतले रेडियोको सुविधा पाउँछन् भन्छ अनि ७२ प्रतिशत टेलिभिजनको पहुँचमा छन् । ९० प्रतिशत मोबाइलको पहुँचमा रहेछन् अनि ६५.९ प्रतिशतले इन्टरनेटको पहुँच बनाएका छन् । एउटा मोबाइलसँग कतै शिक्षा र साक्षरताको अभिष्टमा लम्कने खुबी त छैन ! भाग्य सुधार्न कर्म सुध्रिनुपर्छ । बाह्रखरी चिने पनि बाह्रथरि सोच्ने जीवनले सिकाइको पहुँचमा हीनताबोध मात्र देख्छ । विसङ्गति मात्र नियाल्छ तर कोइला र हिराको विशाल अन्तरलाई देख्दैन । स-साना हातलाई हल्लाएर सार स्वरमा वेदका ऋचा वाचेको देख्दा संस्कृतिको प्रभाव र अवसरको आकाङ्क्षाले परेट खेल्ने रहेछ क्यार । खेतका आलीहरूमा कोदोको कपनी हेरेर ‘अक्षरको खेतीमा फल यसरी लाग्छ’ भन्ने संस्कार कहाँ छ र ! चेतना र अवसर, इच्छा र सुविधा अनि समाज र संस्कारको द्वन्द्व तबसम्म रहिरहन्छ । चाउरिएको हातले कलिलो हातमा छेस्को थमाएर धुलौटो कोर्ने संस्कार ‘साक्षर सिकाइका ढाँचा’ भन्दा दमदार भए भने ! कलम र हलो एकसाथ मिल्न जान्ने संस्कृति मरेर त परदेसिने संस्कार मौलायो । मान्छे सभ्यताको सिँढी चढ्न चाहन्छ । पुर्खाको सानमा अभिमान गर्न लजाउँदा वेद, पुराण, मुन्धुम, त्रिपिटकका गहन मर्मको आदर्श ढल्छ । ताडको पात घोटीघोटी छेस्का वा प्वाँखले आफैँ मसी बनाएर लेखिएका अक्षरको रचनाशिल्पमा गर्व कसरी गर्ने ! साँच्चै, पुर्खाले बनाइदिएका भाषा र लिपिमा कति पसिना र बुद्धि खर्च भएको हुँदो हो ! आजको पुस्ताले हिजोको ज्ञानसँग मितेरी गाँस्न नचाहँदा भोलिको जीवनमा समेत आततायी अन्योल आउने पो हो कि त ! कालो अक्षर भैंसी बराबर भएपछि अलिक बढी अज्ञानतामा मेरो गोरुको बाह्रै टक्का भइरहन्छ ! हामी पिरुकामा माटोको धुलो चालेर, स-साना ढुङ्गाका गिर्खा फालेर सिमालीको छेस्काले कखरा सिक्दै गर्दा जीवनको लक्ष्य जान्दैन थियौँ । गोठालो जाँदा खरी ढुङ्गाले डल्सिन ढङ्गामा बाह्रखरी कोर्दै गर्दा गाईवस्तुले बाली खाएर हामीले गाली खानुपर्थ्याे । गोठालो गएको मान्छेले समेत अक्षरको खेती गर्ने चाहना बोकेपछि नजानी नजानी खेतका गरामा, ठूलो ढुङ्गामा ढुङ्गैको चक बनाएर कखरा सिक्दै गर्दा गाईवस्तुले खेती स्वाहा पारिदिँदा परिवारको अपमान हुन्थ्यो । आखिर युगले आज स्मार्ट बोर्डसम्म ल्याइपु¥यायो । ल्यापटपमा पावर प्वाइन्ट हुँदै भर्चुअल जमानामा विज्ञानले थाहै नपाएका कति जन्माइसक्यो तर पहाडका कन्दरादेखि तराईका झुपडीका लागि यी प्रविधि आज पनि त कागलाई बेल पाक्यो हर्ष न विस्मात् हुन् । नेपालको संविधान २०७२ ले मौलिक हकभित्र शिक्षाको हकलाई गाँसेको छ । तर फेरि, विपन्नको वेदनाले निरक्षरताको जड जन्माउँछ अनि उसैले हुर्काउँछ । सामाजिक कुसंस्कार, रीतिका नाममा बनेका कुनीति र अन्धसंस्कारमा दियो बाल्न मनोसामाजिक परामर्श, अभिभावक अभिमुखीकरण, जनहभागितामा मतैक्यताको अपेक्षा भन्दा व्यावहारिकता हुनुपथ्र्यो । कानुनको गलपासो लाएर मस्तिष्कको खिललाई निकाल्न सकिँदैन । बस्तीबस्तीमा घुम्ती शिक्षालय होओस् । समन्वयात्मक सहसम्बन्धको विकास, जिम्मेवारी र जवाफदेहिता फुलोस् । सकारात्मक अनुकरण र अभ्यासले अक्षर चिनाउने र चेतना बढाएर जीवन सिकाउने अभियान चलोस् न ! प्रौढ शिक्षा र साक्षरताको इतिहास वि.सं. २०१३ हुँदै सेती परियोजना, चेलीबेटी साक्षरता कार्यक्रमले दूरदराजलाई कति छोयो कुन्नि तर वि.सं. २०६८ को राष्ट्रिय जनगणनाले ६५.९ प्रतिशत साक्षरमध्ये काठमाडौँमा ८६.३ प्रतिशत र हुम्लामा ४७.८ प्रतिशत साक्षरताको अन्तरलाई देखाउँछ । २०७१ सालको असारमा- “१५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएका जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने” भनिए बमोजिम वि.सं. २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम गरेर “साक्षर नेपाल” घोषणा गर्ने भनियो । यद्यपि आज बीसओटा भन्दा पनि बढी जिल्लामा निरक्षरताको बोर्ड झुन्डिइरहेकै छन् । साक्षर नेपाल २०७६ को पनि अपेक्षित लक्ष्यलाई टेकेन । आखिर सुन्दर नीतिमा उही कार्यान्वयनको मार्ग अक्षम भयो । गिजुभाइको “दिवास्वप्ना” उपन्यासमा जसरी शिक्षकले विद्यार्थी मनोविज्ञानमा खेलोस् । कला र विज्ञानको नातो गाँसोस् । कक्षामा कक्षा पुस्तक कुनो होस् । इच्छाएको पुस्तकलाई घरमा हजुरबा हजुरामाले पनि पढ्नुहोस् । मोबाइलमा कखरा सिक्ने अनि टेलिभिजनमा पढ्नेदेखि रेडियोमा सुनेर कपीमा उतार्नेलाई पुरस्कार र पुनर्बल दिइयोस् । त्यसदिन नेपाल आमाले शिक्षा र साक्षरतामा रोजगारका सम्भाव्यता नियाल्ने विज्ञसँग भन्दिहुन्, “मलाई माया गर्ने भेष र भाषाका पारखी खोज्न गाउँमै जाऊ ।” तब सामुदायिक जागरणको पहलुमा ओल्लो डाँडा र पल्लो डाँडाको एउटा जमघट होला । वैकल्पिक विधि र प्रविधिले विकासमा साइनो गाँस्न सक्ला नि त ।