गोली लाग्यो भन्दैमा युद्ध मोर्चाबाट भाग्ने सिपाही होइन म
बुढेशकालमा फेरी नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्त हुनुभयो त ? बास्तवमा म ५६ वर्षको उमेरमा अवकास भए । मैले नागरिकता लिँदा उमेर लेख्ने चलन थिएन । एसएलसी दिँदा मास्टर साबले ८५ जनाको एउटै जन्म मिति राखिदिनु भयो । म नौ सालमा जन्मिएको तर सर्टिफिकेटमा २००७ साल उल्लेख छ । मास्टरले दुई बर्ष उमेर बढाएको कारण मैले कोलम्बो प्लानमा अध्ययन गर्न स्कलरसिपमा पाएँ । मास्टरको पनि दोष छैन । मैले पनि त्यसैलाई माने । दुई वर्ष बढी जागिर खान उमेर सच्याउनेतर्फ मैले प्रयास पनि गरिन । सर्टिफिकेट अनुसार म अहिले ६३ वर्ष मात्र भए । मेरो परिवारमा १६० भन्दा बढी सदस्य व्यापार व्यवसायमा लागेका छन् । म मात्र सार्वजनिक सेवाको क्षेत्रमा काम गर्छु भनेर ३१ साल प्रबेश गरे । अझै १५÷२० वर्ष सार्वजनिक सेवाको क्षेत्रमा काम गर्न सक्छु भन्ने आत्मविश्वास छ । सार्वजनिक सेवाका क्षेत्रमा काम गर्दा प्रशंशा पनि हुन्छ । आलोचना पनि हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलाई भ्रष्टाचारको आरोपमा मुद्दा पनि हाल्यो । तर इतिहासमा पहिलो पटक अख्तियारको मुद्दा विरुद्ध जुलुस निस्कियो । ट्राभल एजेन्सी, टे«ेकिङ एजेन्सी, निगमका कर्मचारी सबैले डिल्ली बजार जेलमै गएर नाराजुलुस र भाषण गरेका थिए । जेलका कर्मचारी नै दंग परेका थिए । कति दिन बस्नुभयो जेलमा ? सात÷आठ दिन । त्यो पनि धरौटी तिर्न नसकेर । अदालतले कल्पनै नगरेको धरौटी माग्यो । मसहित छ जनाविरुद्ध मुद्दा परेको थियो । पाँच जनालाई १० देखि १५ लाखको धरौटी तोकिएको थियो । मैले पनि आफ्नो लागि करिब ६० लाख जति ठिक पारेको थिएँ । अदालतले अचानक छ करोड धरौटी माग्यो । धन्न न्यायलयले न्याय दियो । इतिहासमा पहिलो पटक बिशेष अदालत र सर्वाेच्च अदालत दुबैबाट सफाई पाएँ । त्यसपछि निगममा जाँदा निगमका सबै कर्मचारीले अविर माला लगाएर खुशी व्यक्त गरे । जुन संस्थामा काम गर्दैै गर्दा तपाई जेल पर्नुभयो, त्यही संस्थामा फेरी काम गर्ने जोस जाँगर छ तपाईमा ? त्यहि संस्थामा पुन जिम्मेवारी पाउनुलाई म प्रतिको सम्मानका रुपमा मैले लिएको छु । गोली लाग्यो, सानोतिनो घाउ भयो भन्दैमा म युद्ध मोर्चा छाडेर भाग्ने सिपाही होइन । त्यसैले फेरि पनि निगममा जाने सोँचसहित लागिपरेको थिए । अहिले जिम्मेवारी पाएको छु । यसले थप काम गर्ने हौसला प्रदान गरेको छ । निगममा फेरी कार्यकारी प्रमुख हुन कति जना मन्त्रीको घरमा धाउनुभयो ? हरेक मन्त्रीलाई भेटेर नियुक्तीका लागि प्रयास गरेको हुँ । विशेषत विद्युत प्राधिकरण र बायु सेवा निगम मेरो रोजाईका क्षेत्र हुन । निगममा मेरो कार्यकाल दुई महिना मात्रै बाँकी थियो । त्यतिबेलाका पर्यटनमन्त्री खड्ग बहादुर विश्वकर्माले मलाई बोलाएर सबै व्यवस्थापन परिवर्तन गर्न चाहेको छु, राजीनामा दिनुस भन्नुभयो । मैले ‘राजीनामा दिएर भाग्दिन, बरु तपाईले हटाउनुहोस्, तपाईको निर्णय विरुद्ध अदालतमा जान्न । त्यसरी तपाईलाई सहयोग गर्छु’ भने । त्यसपछि सौहार्दपुर्ण वातावरणमा म निस्किएँ । अनि उहाँले मनरुप शाहीलाई नियुक्त गर्नु भयो । लोकन्द्र बहादुर विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पनि जिम्मेवारी माग्दै गएको थिएँ । त्यसपछि पोष्ट बहादुर बोगटी मन्त्री बन्नुभयो । उहाँसगको दुईवटा भेटमा मलाई जिम्मेवारी दिँदा हुन्छ भनेर उहाँ कन्भिन्स भैसक्नु भएको थियो । मन्त्री बोगटीले भन्नु भएको थियो–‘सुगतजी तपाई बाहेक अरुले यो संस्था चलाउन सक्दैनन ।’ उहाँले मेरो बायोडाटा माग्नु भयो र प्रस्ताव पनि क्याबिनेटमा लानु भएको थियो तर त्यहाँबाट पास भएन । मदन खरेल ४ वर्षको लागि नियुक्त भएपछि म चुप लागेर बसेँ । विद्युत प्राधिकरणमा पनि मुकेशजी आउनुभएपछि मैले प्रयास गरिन । खाली भएको अवस्थामा मात्र म सक्रिय हुने हो । निगममा मदन खरेलले राजीनामा गरेपछि फेरी प्रयास गरेको हुँ । निगममा के के काम गर्ने योजना छ ? करिब १४ सय कर्मचारी छन् निगममा । कर्मचारीको मनोबल गिरोको छ । एक जना उच्च अधिकारीले राजीनामा दिने घोषणा गरेका थिए रे । मेरो नियुक्तीले निगमभित्र केही उत्साह थपिएको छ भन्ने सुनेको छु । मेरो पहिलो प्रयास भनेको कर्मचारीलाई मोटिभेसन गर्ने हो । दोश्रो कुरा भनेको निगममा रहेको राजनीतिलाई असल बाटोमा लैजाने । कसैलाई काखा कसैलाई पाखा गर्नै पर्छ । सहि मान्छेहरुलाई काँखी च्यापिन्छ खराबहरुलाई पाखा लगाउँछु । आजै बिहान पनि एक जनाले घरमै आएर चाकडीको प्रयास गरे । मैले नियुक्तीको पत्र पाएकै छैन । एक जना ९ औं तहको कर्मचारीले बिहान ६ बजे नै घरमा आएर भेटेर गए । यस्ता मान्छेहरु पनि छन्् । कुरा मिठो गर्ने तर काम नगर्नेलाई पाखा लगाउनैपर्छ । अर्काे महत्वपुर्ण कुरा भनेको जनशक्तिको आपूर्ति हो । चारवटा जहाज छन् । ती जहाज उडाउन पाईलट छैनन् । विदेशी पाईलट ल्याउनु परेको अवस्था छ । इन्जिनियर छैनन् । तीनको व्यवस्थापन गर्नुपर्छ । १० अर्ब ऋणको ११ प्रतिशतका दरले ब्याज तिर्नु पर्नेछ । चारैवटा जहाजलाई फुल फेजमा उडाउनु पर्नेछ । निर्माता कम्पनीको नियमानुसार नयाँ जहाज दैनिक १६ घण्टासम्म उडाउन सकिन्छ । पुराना जहाज पनि नौ १० घण्टा उडाउन सकिन्छ । विमान किन्ने कुरा सजिलो हुन्छ । खल्तिमा पैसा छ भने जहाज तुरुन्तै किन्न सकिन्छ । खल्तिमा पैसा छ भने आलु किन्नु र विमान किन्नु उस्तै हो । गाह्रो काम भनेको जहाज उडाएर पैसा कमाउनु हो । तर नेपाल त विमान किन्नु पनि ठूलो महाभारत बनिरहेको छ । त्यतिबेला मलाई खुरुखुरु काम गर्न दिएको भए अहिलेसम्म छ वटा जहाज आईक्थ्यो । अहिलेसम्म हाम्रो कार्यालय जापान, युरोप र अमेरिकामा हुन्थ्यो । बोनस खान नसके पनि हामी ऋण मुक्त हुन सक्थ्यौं । नाफामा गैसकेका हुन्थ्यौं । १० अर्बको सामान किन्न खोजेको १० करोडमा किचकिच भयो । १० तलाको घर बनाउन खोज्नेले एउटा चुक्कुलको साईज किन यस्तो भो भनेर विवाद गरेर पनि हुन्छ ? तर हामी कहाँ त चार बर्ष चुक्कुलमै विवाद गरेर बित्यो । तपाईको व्यापार योजना के हो ? नेपाल एयरलाईन्स भनेको नेपालको पर्यटन क्षेत्रका मेरुदण्ड हो । यो कुरा धेरैले बुझेनन् । मलेसियामा दुई करोड, थाईल्याण्डमा डेढ करोड, सिंगापुरमा एक करोड २५ लाख र थाईल्याण्डमा दुई करोड पर्यटक जान्छन । त्यसको कारण भनेको उनीहरुसँग बर्षाै पहिलेदेखि राष्ट्रिय ध्वजाबाहक थियो । मलेसियन एअर लाईसन्ससँग ८० वट जहाज छ । त्यसमा पनि आधा जति वाइड बडिका जहाज छन् । सिंगापुर एअरलाईन्स त दशौं बर्षसम्म संसारकै उत्कृष्ठ कम्पनीका रुपमा स्थापित रह्यो । हाम्रो मुख्य प्रयास भनेको अन्तराष्ट्रिय उडान वृद्धि गर्ने हो । जहाज थप्दै जाने हो । कति बर्षमा ऋण तिर्ने योजना छ ? नाफामा कहिले जाने ? कर्मचारी सञ्चय कोषको ऋण १५ बर्षमा तिरसक्नु पर्ने सम्झौता छ क्यारे । डिटेल चाँही चाटर्ड एकाउन्टेन्टले हेर्छन । म त्यहाँ हुँदा दुईवटा वाईड बडि किनिसकेपछि सातदेखि आठ बर्षसम्ममा सञ्चय कोषको ऋण तिरिसक्ने योजना बनेको थियो । निगमको संरचना परिवर्ततबारे कुनै योजना बनाउनु भएको छ ? म नेपाल टेलिकममा हुँदा २० बर्षसम्म निजीकरणको कुरा भयो । काम भएन । म प्रबन्ध निर्देशक भएपछि करिव ८ प्रतिशत सेयर सरकारले बिक्री ग¥यो । त्यसपछि निजीकरणतर्फ केही पनि काम भएको छैन । नेपाल एयर लाईन्समा पनि रणनीतिक साँझेदार भित्र्याउने कुरा दशौं बर्षदेखि बहसमा आएको कुरा हो । यो मालिकले तय गर्ने कुरा हो । म त केबल व्यवस्थापक मात्रै हुँ । यो सरकारले गर्ने निर्णय हो । यसको पक्षमा लाग्नेहरु राम्रा कुरा मात्रै गर्छन भने बिरोधीहरुले बिरोध मात्रै गर्छन । नेपाल एयरलाईन्सलाई थाई एयरवेजकै उचाईमा लैजाने हो भने म्यानेजमेन्ट कन्सल्टेन्ट नियुक्ती गर्न लाज नमान्दा हुन्छ । फूर्ति गर्दै नेपालीहरु पनि के कम भनेर मात्रै हुँदैन । व्यवस्थापन विज्ञ नियुक्त गर्ने निर्णय सरकारले गर्छ भने त्यसको कार्यान्वयनका लागि म तयार हुन्छु । साँझेदार भित्र्याएपछि उसले राख्ने सर्तपनि हेर्नुपर्छ । तुरुन्तै तीन सय कर्मचारी निकाल भन्यो भने त्यो निर्णय न कर्मचारीले मान्छन्, न मैले नै मान्न सक्छु । निजीकरण वा रणनीतिक साँझेदारीमा जाने बारे केही सोच्नु भएको छ ? भर्खरै रुप्थान्सासँगको साँझेदारी प्रस्तावका बारेमा कुरा चलेको छ । बाहिर आएका प्रस्तावहरुमध्ये एउटा व्यवस्थापनमा सघाउने र राजश्वको केहि प्रतिशत हिस्सा लिने भन्ने रहेछ । अर्काे प्रस्ताव भनेको उसले एकै पटक छ सात वटा जहाज फाईनान्सिङ गरेर ल्याईदने भन्ने रहेछ । यो प्रस्ताव मलाई ठिक लाग्यो । हामी कहाँ विमान किन्नु भनेको साह्रै लफडाको काम हो । फेरि एयर बससँगै विमान किन्छु भनेर पनि कुर्ने समय छैन । आज विमान अर्डर गर्यो भने दुई बर्षपछि दिन्छु भन्छ । अनि हामी दुई बर्षचाँही हात बाँधेर बस्ने कुरा पनि भएन । त्यसैले अहिले नियमित उडान भरिररहेका पाँच सात महिना वा एक डेढ बर्ष पुराना जहाज ल्याएर उडाउने कुरा साह्रै राम्रो हो । तर यसमा पनि समस्या छ । यसमा पनि सार्वजनिक खरिद ऐनले बाधा गर्छ । प्रतिष्पर्धा गराउन अनिवार्य जस्तै छ । रणनीतिक साँझेदार वा निजीकरण नगराई तपाईकै नेतृत्वमा अबको चार बर्षमा निगम कहाँ पुग्ला ? चार बर्षमा युरोप जापान र अष्टे«लिया र अमेरिकामा नेपाली ध्वजाबाहक पुर्याउनु पर्छ । एसियामा सबै भन्दा महंगो हवाई टिकट काठमाडौंमा रहेछ । काठमाडौं आउने टिकट अन्त भन्दा ३० प्रतिशत महंगो छ । नेपाल आउन २५ वटा एयर लाईन्सले सबै भन्दा बढि पैसा काठमाडौंमा उडानमा कमाउँछन् । जापानबाट नेपाल आउने टिकटको मुल्य एक लाख ४० हजार देखि एक लाख ५० हजारसम्म पर्छ । यो त विश्व घुम्ने पैसा हो । विश्व घुम्ने पैसाले कोही नेपाल आउँछ । पक्कै पनि आउँदैनन । त्यसका लागि नेपाल बायु सेवा निगमले उडान बढाएर टिकटको मुल्यमा बजार हस्तक्षेप गर्नुपर्छ । अहिले चार वटा विमान चलाउन पनि गाह्रो भैरहेको छ । त्यसका लागि सात आठवटा जहाज चाहिन्छ । दुईवटा वाईड बडि त तुरुन्तै चाहिन्छ । जहाज मात्रै आएर पनि हुँदैन । अब पाईलट र इन्जिनियरहरु पनि चाहिन्छ । त्यसैले जहाज ल्याउने र कर्मचारीको व्यवस्थापनको एकै पटक काम गर्नुपर्छ । चिनियाँ जहाज उडाएर पैसा कमाउन सकिन्न भन्ने छ नि ? आन्तरिक उडानका जहाजमा मेरो जोडबल थिएन । ती जहाजमा समस्या छन् रे । एक जना इन्जिनियरले भन्दै थिए–पार्टपुर्जा चाहियो भनेर फोन गरियो भने उसले अग्रेजी नबुझ्ने अनि हामीले चिनियाँ भाषा नबुझ्ने भयो रे । यस्तो अवस्थामा सानो पेजकिलाले पनि करोडौं नोक्सानी गर्न सक्छ । दुईवटा जहाज निशुल्क आईसक्यो अब चार वटा आउँदै छन् । यी जहाजको उचित व्यवस्थापन पनि मेरो लागि ठूलो चुनौती हो । थप चिनियाँ जहाज लिने कि नलिने भन्ने पनि प्रश्न उठिसकेको छ । तर यो सरकारले गर्ने निर्णय हो । मेरो प्राथमिकता भनेको विदेश उडान नै हो । विदेश उडाएर पैसा कमाउने अनि जनतालाई सेवा दिन ग्रामीण क्षेत्रमा उडान भर्ने हो । चिनियाँ जहाजका बारेमा सरकार र निगमको कुरा बाझिएको हो ? बाहिर आएका कुराहरुलाई मान्ने हो भने निगम र सरकारको कुरा बाझिएकै देखिन्छ । निगमले अब हामी चिनियाँ जहाज उडाउन सक्दैनौ भनेको सुनिन्छ । सरकारले वास्ता गरेको देखिन्न । ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने बारे ठूलो प्रयास भईराखेको छ नि ? अहिलेकै अवस्थामा ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने सम्भावनै छैन । यो कल्पना भन्दा बाहिरको कुरा हो । हामीले अन्तराष्ट्रिय उडानबाट नाफा नकमाउँदासम्म ग्राउण्ड ह्याण्डलिङ अरु कम्पनीले पाउँदैनन् । हामी नाफामा गएर बोनस खान सक्ने भएपछि आफैं भन्नेछौं अब हामीलाई यो काम चाहिएन । निजी कम्पनीलाई दिने वित्तिकै ग्राउण्ड ह्याण्डलिङमा सुधार आउँछ भन्ने कुरा गलत भएको तथ्य देखिईसकिएको छ भारतबाट । संसारभर ग्राउण्ड ह्याण्डलिङमा ध्वजा बाहक कम्पनीले प्राथमिकता पाउँदै आएको छ र यहाँ पनि त्यहि हुनेछ ।
भूकम्प पीडित ८० हजार परिवारलाई सहयोग गर्दैछौं
धर्मराज पाण्डेय, प्रकोप व्यवस्थापन विभाग प्रमुख, नेपाल रेडक्रस सोसाईटी बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि नेपाल रेडक्रस सोसाईटीले के कस्तो काम गरिरहेको छ ? भूकम्प गएपछि नेपाल रेडक्रस सोसाईटीले करिब सात हजार स्वंयसेवक परिचालन गरेको छ । उनीहरुले घट्नाको बस्तुगत जानकारी लिने, खोज तथा उद्दार गर्ने, प्राथमिक उपचार गर्ने, राहात सामाग्री वितरण गर्ने, तयारी खाना दिने, सरसफाईको काम गर्ने लगायतका धेरै काम गरिरहेका छन् । शुक्रबारसम्म हामीले करिब ६० हजार त्रिपाल वितरण गरेका छौं । करिब १७ हजार वटा व्याङ्केट वितरण गरेका छौं । करिब तीन हजार परिवारलाई फूल प्याकेज राहात वितरण गरेका छौं । त्यसमा त्रिपाल, ब्याङकेट, कपडा, भाडाकुडा छन् । ६ हजार १३६ जनालाई प्राथमिक उपचार सेवा प्रदान गरेका छौं । खानेपानी र सरसफाईका क्षेत्रमा पनि धेरै काम भएका छन् । त्रिपाल भन्दा पनि टेन्टको माग धेरै भएको देखिन्छ, थप टेन्ट वितरण गर्ने योजना के छ ? हामीले आह्वान गरेको तारपोलिन (पाल) हो । चाइना रेडक्रसले दुई हजार टेन्ट ल्याएर वितरण ग¥यो । टर्किस रेडक्रसले १५० वटा टेन्ट ल्याएर बाँड्यो । साउदी अरेविया रेडक्रसले २०० टेन्ट ल्याएर वितरण गरेको छ । यस्तो टेन्ट कार्यलय सञ्चालन प्रयोजनमा वितरण भएका छन् । बढी प्रभावित जिल्लामा २÷२ सयको दरले वितरण गरेका छौं । विभिन्न देशका रेडक्रस सोसाईटीहरुले आ–आफ्नै तरिकाले राहात वितरणमा गरेका छन् । नर्वेजियन रेडक्रसले काभ्रेमा ५६ वेडको हस्पिटल नै चलाएर सेवा गरिरहेको छ । कोरियन रेडक्रसले मोवाईल हेल्थ क्याप सञ्चालन गरिरहेको छ । रेडक्रसले वितरण गर्ने राहत तथा सेवा सुविधा लिन रेडक्रसका कर्मचारीसँग, यसको सञ्चालकसँग प्रत्यक्ष पहुँच हुनुपर्छ, पहुँच नहुनेले पाउँदैन भन्ने आरोप छ नि ? राहात वितरण गर्ने प्रणाली के हो ? पहुँच हुनेले पाउने, पहुँज नहुनेले नपाउने होइन । माग धेरै भयो, आपूर्ति कम भयो । साढे पाँच लाख घर पूर्ण क्षति भएको छ, साढे दुई लाख घर आंशिक क्षति भएका छन् । उनीहरु सबैलाई त्रिपाल चाहिएको छ । घर क्षति नभएका परिवार पनि भूकम्पको पराकम्पनको डरले घर बाहिर रात विताउन चाहन्छन् । उनीहरुको लागि पनि त्रिपाल चाहिएको छ । हामीले जम्मा ८० हजार त्रिपाल बाढ्ने योजना बनाएका छौं । सबैलाई पु¥याउने सकिदैन । पाउने भन्दा नपाउनेको संख्या धेरै छ । नपाउनेले ‘रेडक्रसले मलाई त्रिपाल दिएन, पहुँचवालालाई मात्र दियो’ भन्नु स्वभाविक हो । म आफैले रेडक्रसबाट त्रिपाल, टेन्ट केही लगेको छैन । रेडक्रसमा स्वयंसेवा गर्नेले समेत त्रिपाल पाउन नसकेको अवस्था छ । दोस्रो, नेपाल रेडक्रस सोसाईटीले स्थापना (वि.सं २०२०) भएदेखि उद्दार तथा राहात वितरणका काम गर्दै आएको छ । ५२ वर्षसम्म काम गरेको अनुभव छ । नेपाल रेडक्रस उद्दार तथा राहातका काम व्यवस्थित बनाउन प्रकोप प्रतिकार्य निर्देशिका बनाएको छ । सबै काम त्यो निर्देशिका अनुसार भएको छ । तेस्रो, राहात वितरणको काम नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यलयबाट हुँदैन । ७५ जिल्लामा जिल्ला शाखा छन् । जिल्लाहरुमा पनि उपशाखा छन् । जिल्ला शाखा र उपशाखाले मात्र राहात वितरण कार्य गर्छन् । स्थानीय तहमा राहात वितरण गर्दा बढी प्रभावित क्षेत्र, समूह, व्यक्तिलाई, जोमिममा परेका समूहलाई बढी प्राथमिकता दिईन्छ । एउटा व्यक्तिले पाँच वटा त्रिपाल संकलन गर्न सक्ने, अर्को व्यक्तिले एउटा त्रिपाल पनि नपाउने, एउटाले ६ महिनालाई पुग्ने खाद्यन्न संकलन गर्ने, अर्कोले एक हप्तालाई पनि जोहो गर्न नसक्ने अवस्था पनि देखिन्छ । दोहोरो÷तेहेरो राहात सुविधा लिने प्रवृति रोक्न के गर्नुभएको छ ? तपाईले भनेको कुरामा केही सत्यता होला, तर ज्यादै धेरै डुब्लिकेशन भएको छैन । राहात वितरणमा धेरै संघ संस्थाले काम गरेका छन् । उनीहरुले राहात वितरण गर्दा जिल्ला दैविक प्रकोप उद्दार समितिसँग समन्वय गरेर काम गर्नुपर्छ । उद्दार समितिभित्र राहात वितरण उपसमिति छ । उपसमितिले राहात वितरणको रेकर्ड राखेर काम गरेको अवस्थामा डूब्लिकेशन हुँदैन । आगामी योजना के के छन् ? bikashnews.com नेपाल रेडक्रस सोसाईटीले भूकम्पबाट भएको क्षतिबारे प्रारम्भिक सर्वेक्षणको काम गरिसको छ । २३ जिल्लामा अब विस्तृत सर्बेक्षणका काम शुरु भएको छ । त्यसका आधारमा नयाँ योजना पनि बन्दै जानेछन् । प्रारम्भिक सर्वेक्षण नतिजाअनुसार भूकम्पले ५७ वटा जिल्लामा धनजनको क्षति भएको छ । साढे पाँच लाख घरहरु पूर्ण क्षति भएका छन् । साढे दुई लाख घरमा आंशिक क्षति भएको छ । हामीले भूकम्प प्रभावित जिल्लाहरुलाई उच्च प्रभाव, मध्यम प्रभाव र कम प्रभावका आधारमा तीन वर्गका विभाजित गरेका छौं । हामी ८० हजार वटा त्रिपाल वितरण गर्ने योजना बनाएका छौं । त्रिपाल वितरणको काम सकिएपछि आवास निर्माणमा हामी केन्द्रीत हुनेछौं । सरकारले तोकेका अति प्रभावित १४ वटा र हाम्रो अध्ययनमा भूकम्पको मध्यम खालको प्रभाव परेका ९ वटा जिल्ला थप गरी २३ जिल्लामा ४० हजार परिवारलाई अस्थायी आवास निर्माण गर्ने गरी आवश्यक सामाग्रीहरु वितरणको तयारी गरिरहेका छौं । सामाग्रीहरु आईरहेको छन् । त्यसपछि निजी तथा सार्वजनिक भवनको पुर्ननिर्माणमा काम गर्ने योजना छ । जीविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यसहित पेशा, व्यवसायको पुर्नउत्थानको काम गर्नेछौं । भूकम्प पीडित समूदायको पुर्नस्थापनाको क्षेत्रमा कम्तिमा आगामी दुई वर्ष नेपाल रेडक्रसले काम गर्छ । त्यस्तै, नेपाल रेडक्रस सोसाईटीको जिल्ला शाखाका १८ वटा भवन भत्केका छन, उपशाखाको भवनहरु भत्केका छन् । तिनीहरुको पुर्ननिर्माणको काम गर्नुछ । रेडक्रस सोसाईटीका शाखा, उपशाखाहरुको प्रतिकार्य क्षमता विकास गर्नुपर्छ । नेपाल रेडक्रस सोसाईटीको पार्टनर अर्गनाईजेशन को को छन् ? इन्टरनेशनल फेडरेशन अफ रेडक्रस (आईएफआरसी) १८९ देशका रेडक्रस सोसाईटी सदस्य छन् । बैशाखमा भुकम्प आएपछि चाइना रेडक्रस, इन्डिया रेडक्रस, पाकिस्तान रेडक्रस, अमेरिकी रेडक्रस, व्रिटेन रेडक्रस, डेनिस रेडक्रस, स्वीस रेडक्रस लगायत २५ देशका रेडक्रस सोसाईटीहरुले हामीसँग काम गरिरहेका छन् । अरु देशका रेडक्रस सोसाईटीहरु पनि सहयोग गर्न आउने क्रम जारी छ । प्रकोप व्यवस्थापन गर्ने क्रममा आर्थिक स्रोत परिचालन कसरी गरिरहनु भएको छ ? अहिलेसम्म फण्ड राईजिङ कति भयो ? नेपाल रेडक्रस सोसाईटीले हरेक वर्ष विपद्मा परेका १० हजार परिवारलाई नियमित कार्यक्रमबाट सहयोग गर्छ । बैशाख १२ गतेको भूकम्पबाट लाखौ परिवार पीडित भएका छन् । यस प्रकोप प्रतिकार्यका लागि हामीले ३३ मिलियन स्वीचफ्रेंक (करिव ३ अर्ब ५६ करोड रुपैयाँ) बराबरको सहयोग गर्न अन्तराष्ट्रिय समूदायलाई अपिल गरेका थियौं । बस्तुगत र नगद गरी हामीले अपिल गरेजति सहयोग प्राप्त भएको छ । अब हामी अहिलेसम्मको अवस्थाको मूल्याङकन गरेर थप सहयोगको लागि अपिल गर्नेछौं ।
पूनःनिर्माणका तीन चरण
डा. चन्द्रमणि अधिकारी–सदस्य, राष्ट्रिय योजना आयोग बैशाख १२ गते आएको महाभूकम्पले पारेको आर्थिक क्षतिको विवरण संकलनको काम जारी छ । जेठको अन्तिमभित्र क्षतिको आधिकारीक तथ्यांक आउँछ । सम्भवतः जेठ २७ गते क्षतिको तथ्यांक सार्वजनिक गर्न सकिन्छ होला । महाभूकम्पले नेपालमा बहुआयामिक क्षति पुर्याएको छ । मानविय क्षतिका साथै आर्थिक, समाजिक, सास्कृतिक, राजनीतिक, भौगोलिक सबै रुपले अतुलनिय क्षति गरेको छ । त्यसलाई पुरा गर्न ठुलो इच्छाशक्ति, योजना र बजेटको आवश्यकता पर्छ । केहि विदेशी संघ संस्थाहरुले महाभूकम्पको क्षतिको आंकलन गरेको रिपोर्टहरु आईरहेका छन् । उनीहरु मध्ये केहिले १० खर्ब भनेका छन् भने केहिले १५ खर्ब अनि केहिले २० खर्बको क्षति भएको अनुमानित रिपोर्ट अघि सारेका छन् । ती रिपोर्टहरु अनुसन्धानमा आधारित नभएर उनीहरुको पुर्व अनुमान हो । आधिकारीक तथ्यांक राष्ट्रिय योजना आयोगले तयार पार्छ र त्यहि तथ्यांकका आधारमा तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार गर्छ । हामी त्यो काममा अहोरात्र जुटिरहेका छौं । जस्तै केहि क्षेत्रको प्रारम्भिक तथ्यांक आईसकेको पनि छ । पुरातात्विक क्षेत्रमा आठ अर्बको क्षति भएको पहिलो चरणको अध्ययनले देखाएको छ । त्यसमा दरबार, संग्रहालय, विश्व सम्पदा सुचिमा परेका ऐतिहासिक क्षेत्रहरु परेका छन् । प्रारम्भिक अध्ययनबाट उर्जा क्षेत्रमा पनि ११ अर्बको क्षति भएको अनुमान गरिएको हो । कृषिमा १० अर्ब ६० करोडको क्षति भएको छ । यसरी नै नेपाली जनजिवनका सबै क्षेत्रमा महाभूकम्पले व्यापक क्षति गरेको छ । यसले बहुआयामिक क्षति गरेको छ । त्यसको सहि ढंगले पूनःनिर्माण गराउन तीन चरणका योजना सहित काम अघि बढाउनु आवश्यक छ । पहिलो चरणमा उद्धार गर्नु पर्छ । सरकार र जनता मिलेर उद्धारको काम द्रुत गतिमा सम्पन्न गरिसकेपछि छोटो समयका लागि पुनस्थापनको कार्यक्रम अघि बढाउनु पर्छ । पहिलो चरणको कामलाई उद्धार र पुनस्थापना भन्दा उपयुक्त हुन्छ । यो भनेको बर्षा धान्ने खालको कार्यक्रम हो । उद्धार गरिसके पछि तत्कालिन बसोबासको व्यवस्थापन र त्यसपछि बर्षाको पीँडा थेग्ने संरचनामा उनीहरुलाई पुनस्थापित गर्ने कामलाई पहिलो चरणमा राखेर तत्कालिन कामका रुपमा परिभाषित गर्नु पर्छ । अहिले भने उद्धार र बर्षा अघिकोको व्यवस्थापन मात्रै गरिँदै छ । यो क्रम सकिएसँगै बर्षायाम धान्ने संरचनामा पुनस्थापित गर्नेक्रम शुरु हुन्छ । यसको अवधी ६० दिनको रहन्छ । त्यसपछि दोश्रो चरणमा मध्यकालिन योजना अनुसार कामहरु बढाउनु पर्छ र बढ्छन् पनि । मध्यकालिन योजनाको समय करिब दुई बर्षको हुन्छ । बजेटको निर्माण र कार्यान्वयनको काम यसमा पर्छ । नयाँ बजेटको आधार, प्राथमिकताका क्षेत्र, त्यसको कार्यान्वयन यसमा पर्छन् । यसले भत्केका संरचनाहरुमा प्राण भर्ने काम गर्छ । बजेट निर्माणको चक्र सकिएसँगै जब त्यसले काम गर्न थाल्छ तब हामी दिर्घकालिन योजना तर्फ अघि बढ्छौं । तेश्रो चरणको दिर्घकालिन योजनाले पाँच सात बर्षको पुनःनिर्माण प्याकेज ल्याउन सक्छ । कस्तो व्याकेज ल्याउने भन्ने टुङगो लाग्नका लागि क्षतिको पुर्ण विवरण आउनु पर्छ । मान्छेहरुले पूनःनिर्माण भनेका पहिलेकै अवस्थामा पुर्याउनु हो भनेको पनि सुनियो । भत्केका संरचनाहरुलाई जस्ताको त्यस्तै बनाउनु मात्रै पननिर्माण होईन् । भत्केका संरचनाहरुलाई विस्तारित क्षमतामा पुनःनिर्माण गरिनु पर्छ । दातालाई आव्हान गर्छौ एकातिर उद्धार र तत्कालिन पुनस्थापनाको काम चलिरहेको छ भने अर्काेतिर क्षतिको तथ्यांक लिने काम जारी छ । क्षतिकोे पुर्ण विवरण आउने वित्तिकै दिर्घकालिन पुनःनिर्माणको खाकाबारे विस्तृत छलफल हुन्छ । त्यसपछि एउटा ठोस योजना तयार हुन्छ । अनि त्यहि योजनाका आधारमा पूनःनिर्माणका लागि सघाउने विदेशी सहयोगी हातहरुलाई आव्हान गर्छाै । योजना हामी आफैं बनाउँछौ र त्यस अनुसारको पुनःनिर्माण प्रक्रियामा सघाउन दातृ निकायहरुलाई आग्रह गर्छाै । जनशक्ति दिन चाहनेले जनशक्ति सहयोग गर्छन भने पैसा दिन सक्नेले पैसा उपलब्ध गराउँछन् । उद्धार कोषमा पुनःनिर्माणको पैसा दिने होईन पूनःनिर्माणको रकम उद्धार कोषमा दिने होईन् । धेरैले उद्धार कोषमा खासै पैसा जम्मा भएन भनेर चिन्ता गरेको सुनियो । उद्धार कोषमा आएको रकमले पूनःनिर्माण गर्ने होईन् । त्यो त तत्कालिन उद्धार र केहि समयका लागि पुनर्वास गर्नका लागि स्थापित कोष हो । त्यहाँ रहेको पैसाले पूनःनिर्माण गर्ने होईन् । पूनःनिर्माणका लागि त सरकारले पूनःनिर्माण कोष खडा गरिसकेको छ । सरकारले दुई खर्बको पूनःनिर्माण कोष खडा गरेर २० अर्ब आफैंले राखिसकेको छ । त्यसको कार्यबिधी बन्नै बाँकी छ । कार्यबिधी बनिसके पछि त्यसमा दातृ निकायहरुले पैसा राख्छन् । एसियाली विकास बैंकले दिने भनेको २० अर्बको सहयोग पनि त्यहि कोषमा जम्मा हुने हो । यहाँ त उद्धार कोषमा त्यो रकम पनि जम्मा हुनुपर्ने भनेर भ्रम फैलिएको छ । दातृ निकायहरुले पनि हचुवाका भरमा सहयोग रकम उपलब्ध गराउँदैनन् । निश्चित कार्यबिधी र योजना सहितको कोषमा मात्रै रकम जम्मा गर्छन । प्रधानमन्त्री उद्धार कोषमा जसरी रकम जम्मा भैरहेको छ त्यसको मात्रामा पनि सन्तोष जनक नै छ । तत्कालिन उद्धारका लागि भनेर खडा भएको कोषमा साढे तीन अर्ब रकम जम्मा भैसक्नु पनि राम्रो कुरा हो । विदेशी सहयोग दाताहरुले उपलब्ध गराउने रकम कि बजेटेरी सिस्टमबाट प्राप्त हुन्छ कि भने पूनःनिर्माण कोषमा जम्मा हुने हो । अवसर र चुनौतीको संगम महाभूकम्पले नेपाली जनजिवनमा बहुआयामिक चुनौतीहरु ल्याईदिएको छ । ध्रुव सत्य कुरा के हो भने चुनौती र अवसर एकै सिक्काका दुई पाटा हुन् । जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ । अनि जहाँ अवसर हुन्छ त्यहा त्यहि मात्राको चुनौती पनि हुन्छ । हामी अहिले चुनौतीको सामना गरिरहेका छौ र यो नै हाम्रा लागि ऐतिहासिक अवसर पनि हो । हामीले चुनौतीका बिचमा अवसरको कस्तो सदुपयोग गर्छाै त्यसले नै हाम्रो भविष्य निर्धारण गर्छ । हामीले यो चुनौतीलाई राष्ट्र निर्माणको सुवर्ण अवसरका रुपमा लिएको छौं र त्यहि स्पिरिटका साथ देश बनाउने अभियानमा जुटिरहेका छौं । यसमा सबै जनताको साथ सहयोग र सहभागीता अत्यावश्यक छ । डा.अधिकारसँग गरिएको कुराकानीमा आधारित