डा गोविन्द केसीलाई माफियाहरुले मोहरा बनाए-डा. बंशीधर मिश्र

डा. बंशीधर मिश्र, सभासद् एवं उपाध्यक्ष, मनमोहन मेमोरियल मेडिकल कलेज मनमोहन मेमोरियल मेडिकल कलेजको लाईसेन्स लिने प्रक्रिया कहाँ पुग्यो ? हामी २०६४ सालदेखि नै मेडिकल कलेजको निर्माणमा लागेका हौं । मेडिकल काउन्सिलले कलेज सञ्चालनका लागि तोेकेको सबै मापदण्ड पूरा गरेका छौं । शिक्षा मन्त्रालयको उच्च प्राविधिक शिक्षा अनुगमन तथा प्रवद्र्धन तथा अनुगमन समितिले समेत तोकेको मापदण्ड पूरा गरिसकेका छौं । २०५१ सालमा बनेर ६३ सालमा परिमार्जन गरिएको मापदण्ड समेत पूरा गरिसकेका छौं । त्यसका लागि एक सय रोपनीमा पूर्वाधार, विभिन्न संकायहरुको गठन, प्रविधिक पूर्वाधार लगायतका सबै पूर्वाधार तयार भएका छन् । तीन सय शैयाको अस्पताल, बेसिक साईन्सका शैक्षिक विभाग, ल्याब, कर्मचारी, शिक्षक लगायतको राम्रो व्यवस्था गरिसकेका छौं । दुई वर्ष पहिले नै त्यो समितिमार्फत अनुगमन समेत गराई सकेका छौं । शिक्षा मन्त्रालयमा हामीले निवेदन दिईसकेपछि त्रिविलाई समेत प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल र मनमोहन अधिकारीसँगको घनिष्ट सम्बन्ध छ । उहाँको अन्तिम उपचार समेत त्यही भएको थियो । त्यसैले पनि हामीले मनमोहन अधिकारीका नाममा स्थापित हुने मेडिकल कलेजलाई त्रिविबाट सम्बन्धनको प्रखाईमा छौं । सम्बन्धनको प्रक्रिया कहाँ अड्किएको हो ? त्रिभुवन विश्व विद्यालय आफैं प्रकाशित गरेको सूचना र आफैंले गठन गरेको निरिक्षण समितिको प्रतिवेदन अनुसार डिनको कार्यालयमा रायका लागि पठाउनु पर्ने र त्यो राय मान्ने वा नमान्ने त्यो त्रिवि कार्यकारीणी समितिले मान्न पनि पाउने र नमान्न समेत पाउने नियमावलीमा व्यवस्था रहेको छ । त्यसरी रायका लागि पठाउन लाग्दा आईओएममा लफडा भयो । गोबिन्द केसीले आन्दोलन गर्नु भयो । चिकित्सक संघले पनि समर्थन ग¥यो । फेरि केहि महिना पहिले सम्बन्धनको प्रक्रिया अघि बढ्दा पुनः आन्दोलनको धम्की आयो । सार्क सम्मेलनलाई मध्यनजर गर्दै रोकिएको सम्बन्धन प्रक्रिया पुनः अघि बढ्ने अवस्था देखिएको हो । त्यो प्रक्रियालाई नै अघि बढाउन नदिने ठूलो खेल भैरहेको छ । अब गोबिन्द केसीको अगुवाईमा चलेको अभियानले नेपालमा थप मेडिकल कलेज खोल्न नदिएर कार्टेलिङद्धारा ६० लाखमा पढाउन पाईरहेका छन् । मेडिकल माफियाहरुको अगुवाईमा नेपाली जनताको स्वास्थ्य माथि गम्भिर खेलबाड भैइरहेको छ । मेडिकल कलेजको सम्वन्धन लिन ठूलो आर्थिक चलखेल हुने गरेको बताईन्छ, खास कुरो के हो ? मेडिकल काउन्सिलले तोकेको मापदण्ड पूरा नगरि कुनै पनि विश्वविद्यालयले मेडिकल कलेजलाई सम्वन्धन दिदैन । काउन्सिलले पहिलो निरिक्षण गर्छ, त्रिभुवन विश्वविद्यालय निरीक्षण गर्छ । सम्बन्धन दिईसकेपछि संयुक्त निरीक्षणद्धारा सिट संख्या निर्धारण गरिन्छ । त्यसपछि पनि प्रत्येक वर्ष निरीक्षण हुने गर्छ । पछिल्लो समयमा त अख्तियारले समेत विश्वविद्यालयहरुमा घर नै बनाएको छ । हामीसँग नीति छ, नियम छ, कानुन छ । सोही अनुसार सबै पक्ष चल्नुपर्छ । जानकी मेडिकल कलेजको सिट संख्या शुन्य बनाईएको छ । यसको अर्थ गलत काम गर्ने मेडिकल कलेजलाई कदम कदममा नियमन गर्ने पुरा अधिकार राज्यसँग छ । गलत काम गर्ने कलेजको सीट घटाउने, बन्द नै गर्न सक्ने अधिकार राज्यसँग छ । अनियमितता छ भने कारवाही गर्ने निकायहरुले कानुनअनुसार कारवाही गर्दा भईहाल्यो । अनसनमा बसेको डा गोबिन्द केसीलाई दोषी भनेर तपाईहरुले आफूलाई पानीमाथीको ओभानो बन्न मिल्छ ? हामी त पीडित पक्ष हौं । त्यो नीतिलाई परिमार्जन गरेर २०६३ सालमा सापेक्ष बनाईएको हो । काउन्सिलको आफ्नै नीति छ । विश्वविद्यालयको पनि नीति छ । तै पनि गोबिन्द केसीको पहिलो आन्दोलनपछि पूर्व शिक्षा सचिव जयराम गिरीको नेतृत्वमा समिति बनाईयो र त्यसले पनि नीति नै बनाएको छ । तर त्यो नीतिमा अहिले पूर्वाधार पूरा गरिसकेका कम्पनीहरुलाई लाईसेन्स दिनु भनेको हो । यसलाई पनि अस्विकार गरियो । त्यसको कारण भनेको यसमा मान्छेहरुको कुत्सित चाहना छ । अहिले फेरि केदारभक्त माथेमाको नेतृत्वमा नयाँ समिति बनेको छ । त्यसले पनि नीतिकै लागि काम गर्दैछ । यसरी नेपालमा मेडिकल कलेज खोल्ने नदिने अभियान चलिरहेको छ । यसको अनुसन्धान गरिनु आवश्यक छ । यसले राष्ट्रलाई ठूलो घाटा गरिरहेको छ । बंगलादेशका आधा मेडिकल कलेजहरु स्वास्थ्य मन्त्रालयको डिजीको आदेशका भरमा सञ्चालन भैरहेका छन् । हजारौं नेपालीको भविष्य अन्यौलमा छ । तर हामी त आफैं कानुनी रुपमा केहि गर्छाै भन्दा समेत भाँजो हालियो । लामो समयदेखि सत्तामा रहेको पार्टीका नेताले माग्दा त लाईसेन्स नपाउने अवस्था छ भने व्यवसायिक मान्छेले माग्दा के होला ? यो मुलुक कस्ले चलाएको छ ? हामी एक सय ४६ जना सभासदले लाईसेन्स दिनुपर्छ भने प्रधानमन्त्रीलाई बुझाएका छौं । सरकार अत्यन्तै कमजोर छ, हामी आफैं छौं सरकारमा तर त्यसलाई बलियो बनाउन सकिएको छैन् । एक जना मान्छे छोरोका हत्यारालाई कारवाही गरियोस भन्दै न्यायका लागि अनसन बस्छ । सरकार केहि गर्न सक्दैन् । अन्ततः उ मर्छ हामी पनि केहि गर्न सक्दैनौं । अर्काे मान्छे हावा हुन्डरी ल्याउँछ । अस्पताल बन्द गराउँछ । ऐन कानुनको धज्जी उडाउँछ । उनको पछाडि सिंगो मेडिकल एसोसियन लाग्छ । अस्पतालमा हड्ताल गर्छ । अवैधानिक काम गर्छ । हामी डाक्टरहरुले कसम खाएका हुन्छौं कि हड्ताल गर्दैनौ भनेर । तर सरकार चुप लाग्छ । डा गोबिन्द केसीका पछाडि पुरा डाक्टरहरु र सरकारी संयन्त्र लागेका छन्, केसीलाई मात्र दोष दिन मिल्छ र ? गोबिन्द केसीलाई मात्रै यो काण्डमा दोष दिन मिल्दैन । उहाँलाई मोहरा बनाएर एउटा समूहले लाभ लिईरहेको छ । जनताको स्वास्थ्यलाई गम्भिर चुनौति दिईरहेको छ । हामी माइक्रोबसको सिण्डीकेट तोड्न सक्दैनौं । यातायात व्यवसायीले सरकारले घटाएको भाडा कार्यान्वयन गरेर सरकारलाई ठाडै चुनौती दिईरहेको छ । मेडिकल कलेजका सवालमा पनि यस्तै भैरहेको छ । केहि मान्छेहरु धेरै मेडिकल कलेज खोल्दा राज्यलाई घाटा हुन्छ भनेर आफु नाफा कमाईरहेका छन् । हामीले त्यसलाई चिर्न सक्नुपर्छ । तपाईँले खोल्न लागेको मेडिकल कलेज केका लागि र कसका लागि ? हामीले नेपालमा मेडिकल कलेज खोलेर मध्यम र उच्च वर्गको पहुँचमा लान खोजेका हौं । चिकित्सा क्षेत्रमा मध्यम र उच्च क्षेत्रको जनशक्ति उत्पादन गर्ने स्वदेश तथा विदेश प्रतिष्पर्धा गरोस भन्ने सोँच राखेका छौं । स्वास्थ्य सेवामा ग्राण्डीको दर र वीर अस्पतालको सेवा शुल्कका बीचमा रहेको ग्यापलाई पुरा गर्न यसको स्थापना गरेका हौं । मनमोहन अधिकारीका नाममा वृद्धहरुको लागि छुट्टै सेवा नेपालमै पहिलो पटक सुरु गरेका छौं । असहाय बिरामी सहायता कोष सुरु गरेका छौं । हरेक कर्मचारीले नियुक्ती लगत्तै एक महिनाको तलब कोषलाई लिएका छौं । त्यसले असहायको उपचार गछौं । सरकारले भनेको १० प्रतिशत भन्दा बढि सहयोग गर्दै आएका छौं । धादिङको बिषादी मिश्रती खाद्यान्न पीडितको अहिले निशुल्क उपचार गराईरहेका छौं । प्रत्येक वार्डमा एउटा निशुल्क बेडको व्यवस्था गरेकाछौ । सबै नेपालीका लागि उपयूक्त सेवा दिने योजना हो । यहाँ क्याबिन देखि हेलिप्याडसम्म बनाउँदै छौं । ठूला भुकम्प र प्राकृतिक प्रकोपलाई समेत मध्यनजर गर्दै यसको निर्माण गरिएको छ । यो सहकारीद्धार सञ्चालन गरिएको हो । २४ सय भन्दा बढी जनताको लगानी छ । एक लाख ५० हजार देखि १० लाखसम्म लगानी गर्न सकिने व्यवस्था छ । हामीले पैसा कमाउने र धनी हुने उदेश्यले यो हस्पिटल खोलिएको होइन । शेयर पुँजी कति पुग्यो र शेयर धनीले के के पाए ? हाम्रो शेयर पुँजी ४० करोड हो । आठ वर्षअघि स्थापना भएको हो । अहिलेसम्म लाभांश दिएको छैन् । हामीले लगानीकर्ता र उसको परिवारलाई उपचारमा विशेष छुट दिएका छौं । श्रीमान श्रीमतीले उपचारमा ३० प्रशित सहुलियत दिएका छौं । आश्रित परिवारका लागि २५ प्रतिशत सुबिधा छ । ठूला दुर्घटनामा दुई लाखसम्मको उपचार सुुबिधा दिने, मृत्यु भएमा हकवालामा शेयर हस्तान्तरण गर्ने, र एक लाख रुपैंयाँ सहयोग गर्ने तथा जागिरका अवसरमा पाँच नम्बर बोनस दिने व्यवस्था गरेका छौं । तपाईहरुको व्यवसायिक योजनाले कहिले नाफा कमाउने देखाउँछ ? हामीले सम्बन्धन लिएर कक्षा सञ्चालन गरेको छैठौं बर्षदेखि नाफामा आउने प्रक्षेपण गरेका छौं । अहिलेसम्म दुई अर्ब लागानी गरिसकेका छौं । हाम्रो कुल सम्पति भनेको तीन अर्बको छ । विभिन्न बैंकहरुबाट ऋण लिएका छौं । सात वटा बैंकहरुको कन्र्साेटियममा ऋण लिएका छौं । हामी सम्बन्धन नपाएर आर्थिक रुपमा जर्जर बन्दै गएको अवस्था छ । मेडिकल कलेज खोल्न पूर्णरुपमा खुल्ला गरिनुपर्छ कि तपाईहरुलाई लाईसेन्स दिएपछि बन्द गरिनुपर्छ ? राज्यले बनाएको मापदण्ड पूरा गर्नेलाई लाईसेन्स दिनुपर्छ । संख्या तोक्ने र रोक्ने काम गर्नु हुँदैन । नयाँ मेडिकल कलेल खोल्न रोक्न राष्ट्रको अहित हो । यसको संख्या भनेको त्यसको दिगोपनले निर्धारण गर्ने हो । सक्नेहरु चल्छन नसक्नेहरु बन्द हुन्छन । चलाउन नसक्ने, प्रतिस्प्रर्धा गर्न नसक्नेहरु जानकी मेडिकल कलेज झै बन्द हुन्छन् । गुणस्तरीय सेवा दिने संस्थाहरु जति धेरै भयो उपभोक्ताले त्यति नै धेरै लाभ लिन सक्छन् । दक्ष जनशक्ति उत्पादनको क्रमलाई रोक्न पाईन्न । विश्व स्वास्थ्य संगठनले विकाशशिल मुलुकहरुमा प्रति दशहजार जनतामा एक जना डाक्टर चाहिन्छ भनेको छ । हामीले त्यो पूरा गर्न पनि दशकौं लाग्ने अवस्था छ । यसरी जनताको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कसैलाई छैन । नेपाल त मेडिकल एजुकेशनको हब बन्न सक्छ । मेडिकल कलेज खोल्दा हुने फाईदा के के हुन् ? विदेश पढ्न जाँदा विदेशीने पैसा र विद्यार्थी नेपालमै बस्न पाउँछन् । अर्बाै रकम स्वदेशमै रोकिन्छ । गरिब जनताका छोरा छोरीले १० प्रतिशतको सरकारी नियमानुसार निशुल्क अध्ययन गर्न पाउँछन् । २० वटा मेडिकल कलेज भयो भने दुई सय जना गरिबका छोराछोरीले निशुल्क अध्ययन गर्न पाउँछन् । स्वास्थ्य सेवा सुद्रिढ भयो भने उपचारका लागि विदेशीनेको संख्या घट्छ । गाउँ गाउँमा स्वास्थ्य सेवाको विस्तार हुन्छ । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पूर्वाधार विस्तार हुन्छ । नेपालको हावापानी राम्रो भएकाले मेडिकल एजुकेशनका लागि विदेशी समेत नेपाल आउँछन् र नेपालमा विदेशी मुद्रा समेत भित्रिन्छ । हामीले झापाको विर्तामोडमा एक सय बेड, ठमेलमा एक सय बेड र स्वायम्भुमा तिन सय बेडको अस्पताल सञ्चालन गरिरहेका छौ । हामीले एक हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं । धेरै मेडिकल कलेज सञ्चालन हुँदा शुल्क घटछ वा घट्दैन ? डाक्टर उत्पादन वृद्धिले स्वास्थ्योपचार शुल्क घट्छ वा घटदैन् ? उत्पादन र मागबीचको सम्बन्धले बजारलाई व्यवस्थित गर्ने हो । धेरै मेडिकल कलेजको स्थापनाले शुल्क पनि घट्छ र धेरै डाक्टरहरुको उत्पादनले स्वास्थ्य सेवा समेत सस्तो हुन्छ । गाउँ गाउँमा स्वास्थ्य सेवा र दक्ष डाक्टरहरुको पहुँच बढ्छ । राजधानीमा नयाँ मेडिकल कलेज खोल्ने बजार छ अझैं ? राजधानीमा अझै पनि तीन चार वटा मेडिकल कलेज धान्न सक्ने अवस्था छ । उनीहरुले बिरामी पनि पाउँछन् र पूर्वाधार पनि खडा गर्ने अवस्था छ । ४० लाखको आवादी छ । देशभरका बिरामी रिफर भएर आउने यही हो । अर्काे कुरा यो पक्ष पनि बजारले निर्धारण गर्नुपर्छ । दक्ष चिकित्सकको उत्पादनका लागि दक्ष शिक्षक छैनन रे नि ? नेपालमा एनाटोमी र फिजियोलोजीको शिक्षक अभाव छ । त्यसका लागि पनि हामीले अतिरिक्त व्यवस्था गरिसकेका छौं । मेडिकल कलेजले एउटा शिक्षकले बढिमा दुईवटा कलेजमा अध्ययन गराउन पाउने भनेको छ । कतै कतै भारतबाट ल्याएर पनि पढाउन सकिन्छ । हाम्रा डाक्टरले बेलायतमा पनि डिपार्ट हेड भएर पढाईरहेका छन् । त्यस कारण अभाव भएका कुराहरुको परिपुर्ति गर्ने हो । समस्या छ भनेर आँखा चिम्लेर बस्ने होईन । मनमोहन मेमोरिय मेडिकल कलेजको सिट संख्या र लागानी कत्ति हो ? हामीले एक सय सिटका लागि पूर्वाधार तयार पारेका छौं । त्यसका लागि तीन सय बेडको अस्पताल तयार पारेका छौं । कक्षा सञ्चालनको पाँचौ बर्ष पुग्दा ६ सय बेड पु¥याउनुपर्छ । यो मेडिकल काउन्सिलले तोकेको मापदण्ड हो ।

कम्पनी भनेको ब्रेन हो, प्लान्ट होईन- मोहन ओझा

मोहन ओझा, प्रबन्ध निर्देशक, ग्रोथ सेलर प्रा.लि. एच आर मिटको तयारी कस्तो छ ? ग्रोथ सेलर्सले बार्षिक रुपमा आयोजना गर्दै आएको एचआर मीटको आठौं सस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत १२ गते आयोजना हुने मिटका लागि ‘म्यानेजिङ ट्यालेन्ट, म्यानेजजिङ एचआर’ तय भएको छ । यसमा मेनेजर तहका करिब दुई सय मानिसको सहभागीता रहनेछ । वक्ताहरुको टुंगो लागिसकेको छ । नेपालका तर्फबाट उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा र विदेशीहरुका तर्फबाट भारतका ख्याति प्राप्त मोटिभेसनल वक्ताका रुपमा रहेका नसिर खान र डा. सुजया बेनर्जीलाई वक्ताका रुपमा निम्त्याएका छौं । मेनेजर अफ दि इयरको उपाधिले सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । हामीले संस्थागत तयारी सबै सम्पन्न गरिसकेका छौं । अब कार्यक्रम आयोजना स्थलको व्यवस्थापन गर्ने काम मात्रै बाँकी रहेको छ । एच आर मिटमा के के हुन्छ र गरिन्छ ? यो एक दिने कार्यशाला गोष्ठी हो । एकै दिन सबै काम गर्न सकिन्न । यो भेग भएको क्षेत्र हो । विश्वमा एचआरका बारेमा भईरहेका विकास, हाम्रो देशको अवस्था, कसले एचआर बुझ्नु पर्छ ? यसको फाईदा के हो ? भनेर बुझ्ने बुझाउने काम गर्छाै । एचआर भनेको खर्च होईन लगानी हो भनेर बुझाउन आवश्यक छ । कार्यालयहरुका हाकिमहरुले नै मुख्य त एचआर नबुझि हुँदैन । उद्यमी, व्यापारी, मेनेजर लगायत सबैले यसलाई बुझ्नु पर्छ । हाकिमहरुले एचआरलाई खर्चका रुपमा लिने गरेका छन् । त्यो सोचलाई बदल्नु आवश्यक छ । यो एचआर मिटमा विषयलाई केन्द्रमा राखिएको छ । सरकारी र निजी क्षेत्रले एचआरलाई कत्तिको प्राथमिकता दिईएको छ ? नेपाल सरकारले त एचआरलाई बुझेकै छैन । सरकारले एचआरलाई सुरुवात गरेकै छैन । हामीले सामान्य प्रशासन मन्त्रालयलाई एचआर मन्त्रालयका रुपमा स्थापित गर्नु पर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौं । निजी क्षेत्रले त १० बर्षदेखि एचआरको काम गर्दै आएका छन् । तै पनि हामी अझै बामेसर्दै छौं । कुनै पनि संस्था भनेको भवन र बंगला होईन त्यहाँको मानविय जनशक्ति हो । त्यसको शसक्तिकरण बिना कुनै पनि संस्था वा कम्पनीले प्रगति गर्न सक्दैन । कम्पनी भनेको ब्रेन हो, प्लान्ट होईन । त्यो भनेको मेनपावर हो । मानिसको क्षमता नबढ्दासम्म कम्पनीको उत्पादकत्व वृद्धि हुँदैन र व्यक्तिको उत्पादकत्व क्षमता वृद्धि नहुँदासम्म कम्पनीको उत्पादकत्व पनि बढ्दैन । जबसम्म कम्पनीहरुको उत्पादकत्व नबढेसम्म राज्यकै उत्पादकत्व बढ्दैन । यसको अर्थ देशको विकास गराउनका लागि एचआरलाई प्राथमिकता दिनुपर्छ । सरकारले सामान्य प्रशासन मन्त्रालय अन्तर्गत लोक सेवा आयोग मार्फत जनशक्ति छनौट गर्दै आएको छ, यसले क्षमता बढाउने भन्दा पनि जनशक्ति छान्ने काम मात्रै गर्दै आएको देखिन्छ, निजी क्षेत्रको अवस्था चाहीँ के हो ? सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको क्षमता बढाउने भन्दा पनि तीनलाई छान्ने काम मात्रै गर्दै आएको छ । अब हामीले स्किल्ड मेनपावरको उत्पादन गर्नु आवश्यक छ । नेपाल धमाधम औद्योगीकरणको मार्गमा अघि बढिरहेको छ । विदेशीले पनि ठूला उद्योगमा लगानी गर्दैछन् । तर हामीसँग ती उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौ । अपर कर्णाली, अपर तामाकोशी लगायतका ठुला परियोजना आउँदैछन् । तर त्यसका लागि आवश्यक दक्ष जनशक्ति खोई हामीसँग ? दैनिक विदेशियाका नेपालीलाई पनि दक्ष बनाएर पठाउन सकियो भने सुरक्षा र आम्दनीका हिसाबले फाइदा जनक हुन्छ । घर बनाउँदा बेल्ड बाध्न समेत नजान्ने नेपाली विदेश गएकाले जोखिम बढिरहेको छ । दैनिक तीन जनाको लास त्यसैले नेपाल भित्रिरहेको छ । दक्ष जनशक्तिको निर्माण बिना अब देशको बिकास सम्भव छैन. । त्यसका लागि सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन । सरकारले नियम बनाईदिए पुग्छ, काम हामी आफैं गर्छाै । त्यसका लागि राज्यका सरोकारित मन्त्रालयहरुले हाम्रो समेत सहभागीतामा एउटा बोर्डको गठन गर्नु पर्छ । युवा मन्त्रालयले युवा पाँचै बिकास क्षेत्रमा युवा परिषद बनाउनु पर्छ । दलका युवा संगठनहरुले पनि त्यसका लागि कमिटी बनाउनु पर्छ । सरकारको स्टाफ कलेज, आर्मी, पुलिस, उद्योग बाणिज्य महासंघ, चेम्बर र सिएनआई लगायतले त्यसका लागि सहजीकरण गर्नु आवश्यक छ । अहिलेसम्म त सरकारले लोक सेवा आयोगलाई एचआरको ठेक्का दिएको छ भने प्राइभेट क्षेत्रले पनि एचआर डिपार्टमेन्टको स्थापना मात्रै गरेको छ । एचआर विकासका लागि खासै काम गरेको छैन् । एचआर डेभलपमेन्टको तपाईहरुको अभियानमा सरकारको सहयोग कस्तो रह्यो ? अहिलेसम्म ग्रोथ सेलर्सले पाँच जना सचिव मार्फत आठ वटा कार्यक्रम सम्पन्न गरिसकेको छौं । सबै कार्यक्रम सचिवबाटै उद्घाटन गराउँदै आएका छौं । सबै कार्यक्रममा मन्त्रालयलाई पत्र काटेर दुई जनालाई अवलोकन गर्न बोलाउने गरेका छौं । यसपाली पनि समान्य सचिवज्युले नै कार्यक्रमको उद्घाटन गर्ने हो । तर अहिलेसम्म मन्त्रालयले एक पटक पनि एचआर डेभलपमेन्टमा तिमीहरुको योजना के हो भनेर सोधेको छैन् । हामीसँग सरकारले सहकार्यको हात अघि बढाउने हो भने हामी धेरै काम गर्न सक्छौं ।

प्लाष्टिक झोलाले माटो, पानी र हावालाई प्रदुषित गरेको छ

उपत्यकालाई प्लाष्टिक झोला मुक्त बनाउने अभियान कहाँ पुग्यो ? संसदको वातावरण समितिको २०७१ भदौ नौ गते बसेको बैठकले काठमाडौं उपत्यकालाई प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गर्न सरकारलाई निर्देशन दिएको थियो । विज्ञान प्रबिधि तथा वातावरण मन्त्रालयले संसदीय समितिको निर्देशन मुताविक २०७२ साल बैशाख १ गतेदेखि उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंलाई प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गर्न वातावरण विभागलाई निर्देशन दिएको हो र विभागले आवश्यक तयारीलाई तिब्रता दिईरहेको छ । विभागले ३० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक झोला देशैभर प्रयोग गर्न नपाउने नियम कार्यान्वयन गरिसकेका छौं । अब नयाँ वर्षदेखि उपत्यकालाई प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गर्दैछौं । त्यसका लागि विभागले नियमितरुपमा अनुगमन गरिरहेको छ । राजधानीलाई ३० माईक्रोनको झोला मुक्त बनाउने कार्यक्रम कार्यन्वयन गर्दा यस्ता झोला  उत्पादकलाई कस्तो असर पर्ने देखिन्छ ? बैशाख १ गते भन्दा अगाडि उत्पादित झोलाहरुको व्यवस्थापन, उद्योगीलाई विकल्प दिने कुराका लागि पनि उनीहरुसँग निरन्तर छलफल गरिरहेका छौं । संसदीय समितिले प्लाष्टिक झोला उद्योगीहरुलाई समेत बोलाएर पटक पटक छलफल गरेको थियो । प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई संसोधन गरेर ३० माइक्रोनको व्यवस्था गरिएको हो र खाद्यान्न बोक्ने झोलामा दुधिलोको ठाउँमा प्राकृतिक कलरको हुनु पर्ने व्यवस्था गरिएको हो । हामीले यसलाई कार्यान्वयन गरिसकेका पनि छौं । प्लाष्टिक झोला उद्योगलाई अन्य झोला उद्योगका रुपमा रुपान्तरण गराउने, उपत्यकामा उत्पादन गरेर बाहिर लैजान पाईने कि नपाईने ? जस्ता पक्षहरुमा व्यापक बहस र छलफल चलिरहेको छ । उद्योगीहरुलाई समेत मार नपार्ने गरि काम अघि बढाईरहेका छौं । उपभोक्ताहरुमा समेत व्यापक जनचेतना बढाउने काम भैरहेको छ । समय एक महिना मात्रै बाँकी छ । यो कार्यक्रम प्रभावकारी रुपमा चलेको देखिदैन नि ? पहिलो चरणमा हामीले उत्पादकसँग सम्वन्धित काम गरिसकिएको छ । दोस्रो चरणमा व्यापार नियन्त्रणतर्फ काम भईराखेको छ । केहिदिन अघि मात्रै ३० माइक्रोन भन्दा कम तौलका तीन सय किलो झोला जफत गरिएको थियो । ती बिक्रेतालाई कारबाहीको प्रक्रिया अघि बढाएका छौं । तेस्रो चरणमा अब उपभोक्ता माझ सन्देश लैजानका लागि हामीले विशेष टोली नै खटाएका छौं । उहाँहरुले व्यापक मात्रामा सन्देश बाढिरहनु भएको छ । पोष्टर, पम्प्लेट, पत्रपत्रिका तथा रेडियो, टेलिभिजन तथा अनलाईनहरुमा विज्ञापन गर्दैछौं । चोक चोकमा डिस्प्ले एड राख्छौं । जनतालाई सचेत पार्छौ । हामीले यो अभियानलाई सफल बनाउन कुनै कसर बाँकी राखेका छैनौ । प्लाष्टिक झोलालाई निषेध गर्ने अभियान सफल होला त ? विगत ४० बर्षमा राजधानीमा प्लाष्टिक झोलाको दुरुपयोगलाई हेर्ने हो भने बाग्मती, बिष्णुमती र डम्पीङसाईटमा जाँदा थाहा हुन्छ । यसको पुनः प्रयोग गरियो न व्यवस्थापन नै । बाग्मतीको सफाईका क्रममा सबै भन्दा ठूलो समस्या यसैमा देखिएको छ । जाडोमा मानिसहरुले यसैलाई बाल्ने गरेका छन् । यसबाट निष्कने डायोक्सीन तथा फ्युरानले मानव जीवन र वातावरणमा समेत ठूलो असर गरिरहेको छ । फोहर मैला व्यवस्थापनका क्रममा सबै भन्दा ठूलो समस्याका रुपमा प्लाष्टिकलाई नै लिने गरिएको छ । सबैले मान्ने कानून नै हो । धेरै मान्छेलाई यो अप्रिय निर्णय लाग्न सक्छ तर यसलाई निषेध गर्नुको विकल्प छैन । उपत्यकाबासीको सभ्यता जोगाउन पनि प्लाष्टिक निषेध क्षेत्र घोषणा नगरि हुँदैन । उद्योगीहरुलाई उद्योग विभागसँगको सहकार्यमा विकल्प उपलब्ध गराईन्छ तर यो निर्णय कार्यान्वयन गर्नुको अर्काे कुनै विकल्प छैन । दिगो विकाससँग जोडिएको वातावरण संरक्षणका लागि विभागले के कस्ता कार्य गर्दै आएको छ ? पक्कै पनि विभागले दिगो विकासको अभियानलाई सार्थक बनाउन वातावरण जोगाउन लागि पर्ने नै हो । मुलरुपमा विभागले माटो, पानी, वायु र ध्वनी प्रदुषणलाई रोक्न बिशेष महत्वका साथ काम गर्दै आएको छ । माटोको प्रदुषणलाई रोक्न प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागेका हौं । पानीको प्रदुषणलाई रोक्न विषाधी प्रयोगलाई निरुत्साहित गर्ने, ध्वनी प्रदुषणलाई रोक्न सवारी साधनहरुको ध्वनी नियन्त्रण गर्ने, वायुको प्रदुषणलाई रोक्न उद्योगहरुलाई नियमन गर्ने लगायतका कामहरु गर्दै आएको छ । वायु प्रदुषणलाई रोक्न पछिल्लो एक अध्ययन ५४ स्थानमा प्रदुषण मापन केन्द्र जडान गर्नु पर्ने भनेको छ । त्यो भन्दा पहिले जम्मा छ वटा मापन स्टेशन थिए । अहिले सबै बन्द भएका छन् । ती केन्द्रका तथ्यांक अनुसार पुतलीसडक लगायतका क्षेत्रमा वायु प्रदुषण अत्याधिक देखाएको छ । यसपालिको अध्ययनले शहरी क्षेत्रको प्रदुषण नाप्ने केन्द्र, दोश्रो विश्व सम्पदा सूचिमा रहेका क्षेत्रमा र तेश्रो चाँही चीन तथा भारतको सीमा नजिकका उद्योगहरुबाट आउने प्रदुषण मापन केन्द्र आवश्यक छ । लुम्बिनीमा सल्फर डाईअक्साइडका कारण अशोक स्तम्भ र मायादेवी मन्दिरमा त्यसको असर देखिन थालेको रिपोर्टहरु पनि आएका छन् । भारतका इँटा भट्टाबाट आएको वायु प्रदुषण मापन गर्न चितवनको इच्छाकामना डाँडामा पनि स्टेशन राख्ने तयारी गर्दैछौं । आवश्यकता धेरै देखियो विभागको प्राविधिक अवस्था के हो ? वातावरण विभाग पूर्णतः प्राविधिक उपकरण जनशक्तिले भरिपूणै हुनुपर्ने निकाय हो । तर हामीसँग न पर्याप्त दक्ष जनशक्ति छ न त प्रबिधि नै छ । विभाग स्थापना भएको पनि भर्खर दुई वर्ष भयो । दशैंपछि मात्रै आठ जना वातावरणविदहरु नियुक्त गरिएको छ । उपकरण चलाउन प्रविधिक नै चाहिन्छ । अहिले एक जना विज्ञले तीनवटा अञ्चल हेरिरहेको अवस्था हो । विभागमा जम्मा ४० वटा दरबन्दी छ । त्यो पनि पूरा भएको छैन । मातहतका निकाय छैनन् । जिल्ला प्रशासन र जिल्ला वनसँग सहकार्य गरिरहेका छौं । आफ्ना निकाय नभएपछि उनीहरुसँग सहकार्य गर्नु परेको हो ।