५ महिनामा जीवन बीमाको व्यापार पौने ६६ अर्ब, व्यवसाय वृद्धिमा रिलायबल र सिटिजन आक्रामक
काठमाडाैं । जीवन बीमाको व्यापार चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा पौने ६६ अर्ब पुगेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि मसिंर मसान्तसम्म १४ जीवन बीमा कम्पनीले ६५ अर्ब ७४ करोड १८ लाख बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको प्राधिकरणले जनाएकाे छ । नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख बीमाशुल्क संकलन गर्दा नेशनल लाइफलले ७ अर्ब ९८ करोड ६८ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले ७ अर्ब ६६ करोड ३६ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख र एशियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । व्यवसाय वृद्धिमा यी कम्पनी अगाडि व्यवसाय वृद्धिमा रिलायबल लाइफ आक्रामक देखिएको छ । रिलायबलले चालु आवको ५ महिनामा गत आवको सोही अवधिको तुलनामा २५.४३ प्रतिशतले व्यपार वृद्धि गरेको हो । गत आवको मसिंर मसान्तसम्म रिलायबलले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ । यसैगरी, सिटिजन लाइफको व्यपार १८.५८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको मसिंर मसान्तसम्म २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । यसैगरी, प्रभु महालक्ष्मी लाइफको व्यवसाय १५.९० प्रतिशत, आईएमई लाइफको व्यवसाय १५.७० प्रतिशत, सूर्यज्योति लाइफको १५.५६ प्रतिशत र नेपाल लाइफको ११.९५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, नेशनल लाइफ, एशियन लाइफ, एलआईसी नेपाल र सानिमा रिलायन्सको व्यापार क्रमशः ११.५१, ११.०९, १०.७४ र ९.६३ प्रतिशतले वृद्धि भएको छ ।
गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १४ हजार ७०९ जनाको हात खाली
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुल्ला गरेको आईपीओ पुष ८ गते बाँडफाँट गरेको हो । बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । गार्डियन माइक्रो लाइफले पहिलो चरणमा मंसिर १९ देखि पुष ३ सम्म वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको ३० प्रतिशतको २२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्न अनुमति पाएको थियो । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको २ लाख २५ हजार कित्ता सेयर बिक्रीको लागि उपलब्ध गराइएको थियो । यो आईपीओमा ३७ हजार २१९ आवेदकबाट १९ लाख ५४ हजार ६० कित्ता सेयरको माग आएको थियो, जुन ८.६८ गुणा बढी हो । आवेदनहरूमा १९ लाख ५३ हजार ८५० कित्ता सेयर सदर भएका थिए भने २१० कित्ता सेयर बदर भएका थिए । गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्, जबकि १४ हजार ७०९ आवेदकको हात खाली रहयो । अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशत (६७ हजार ५०० कित्ता) आफ्ना कर्मचारीलाई, ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।
घरजग्गामा लगानी गर्दै बीमा कम्पनी, ५ कम्पनीले लिए प्राधिकरणबाट अनुमति
काठमाडौं । बीमा कम्पनीहरूले घरजग्गामा समेत लगानी गर्न थालेका छन् । जसमध्ये चालु आर्थिक वर्षमा मात्रै ५ कम्पनीले घरजग्गा लगानीका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएका छन् । प्राधिकरणका अनुसार नेपाल लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स, सिटिजन लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सले घरजग्गा लगानीका लागि अनुमति मागेका हुन् । जसमध्ये नेपाल लाइफले करिब १७ करोड रुपैयाँ खर्च गरेर भवन खरिदसमेत गरिसकेको छ । नेपाल लाइफले इटहरी उपमहानगरपालिका- ६ स्थित सन्दीप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको जग्गासहितको भवन खरिद गरेको हो । कम्पनीले ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवन १६ करोड ७९ लाख रुपैयाँमा खरिद गरेको र ५६ हजार ८८९ रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १६ करोड ७९ लाख ५६ हजार ८८९ रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ । कम्पनीको व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि कार्तिक २८ गते उक्त जग्गा र भवन खरिद गरेको जनाइएको छ । यसैगरी, हिमालयन लाइफले १ अर्ब ६६ करोड रुपैयाँको घरजग्गा खरिदका लागि प्राधिकरणबाट स्वीकृत लिएको छ । हिमालयन लाइफले काठमाडौं आसपासमा घरजग्गामा लगानी गर्न लागेको कम्पनीले जनाएको छ । यसैगरी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब रुपैयाँको घरजग्गा कार्यालय प्रयोजनका लागि खरिद गर्न लागेको छ । त्यस्तै, सिटिजन लाइफले पनि ७० करोड रुपैयाँको घरजग्गा कार्यालय प्रयोजनका लागि खरिद गर्न लागेको जनाइएको छ । साथै, नेको इन्स्योरेन्सले पनि ८ करोड रुपैयाँको घरजग्गा कार्यालय प्रयोजनका लागि खरिद गर्न लागेको छ । नेकोले बुटवल क्षेत्रमा आफ्नो कार्यालय बनाउन घरजग्गा खरिद गर्न लागेको जनाएको छ । यी कम्पनीहरूले प्राधिकरणबाट चालु आर्थिक वर्ष २०८१/०८२ भित्रै उक्त घरजग्गामा लगानीका लागि स्वीकृति लिएका हुन् । प्राधिकरणका अनुसार नेको, सानिमा रिलायन्स, सिटिजन र हिमालयन लाइफ गरी ४ कम्पनीले कुल ३ अर्ब ४४ करोड रुपैयाँको घरजग्गा खरिद गर्न अनुमति लिएका हुन् । नेपाल लाइफले भने भवन खरिद गरिसकेको छ । कम्पनीहरूले प्राधिकरणबाट अन्तिम स्वीकृति लिएको ६ महिनासम्म पनि घरजग्गा खरिद नगरेमा उक्त स्वीकृति स्वत रद्द हुने प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले जानकारी दिए ।