निलम्बित अध्यक्ष सिलवालको स्वार्थले ७ महिनादेखि प्राधिकरण ईडीविहीन, अर्थमन्त्रीसँगको ‘टकराव’ बाहिरियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष सूर्यप्रसाद सिलवालले व्यक्तिगत स्वार्थको कारण कार्यकारी निर्देशक (ईडी) नियुक्त नगरेको खुलेको छ । विगत सात महिनादेखि कार्यकारी निर्देशक पाउन नसकेको प्राधिकरणका अहिले अधिकांश काम पेन्डिङमा छन् । भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा परेका प्राधिकरणका अध्यक्ष सिलवालको मनपरिका कारण प्राधिकरण विगत ७ महिनादेखि ईडीविहीन बनेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । गत जेठ ११ गते तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलले अवकास पाएका थिए । उनी अवकाश भएदेखि प्राधिकरणले कार्यकारी निर्देशक पाउन नसकेको हो । प्राधिकरणले ईडीको पदपूर्ति प्रक्रिया थालनीसमेत गरेको छैन । लोकसेवाको व्यवस्थाअनुसार एकै वर्ष कर्मचारीको दुईपटक पदपूर्ति गर्न नमिल्ने भएकोले ईडीको नियुक्ती प्रक्रिया रोकिएको तर्क सिलवाल राख्दै आएका थिए । उनी आगामी आर्थिक वर्ष वर्ष लागेपछि मात्रै ईडीको पदपूर्ति प्रक्रिया अघि बढाउने रणनीतिमा थिए । यसकारण भयो ढिलाइ लोकसेवा आयोगको कानूनी व्यवस्थाअनुसार सरकारी निकायले एकै वर्ष दुई पटक कर्मचारीको आवेदन खुलाउन पाउँदैनन् । तर, आवश्यकता र औचित्यका आधारमा भने खुलाउन पाउने व्यवस्था छ । त्यसका लागि भने लोकसेवाले सहमति दिनुपर्ने छ । नेपाल प्रशासनिक कर्मचारी कलेज (स्टाफ कलेज) ले प्राधिकरणको संगठन र व्यवस्थापन सर्वेक्षण (ओएण्डएम सर्भे) गरेको थियो । जहाँ दुई जना उपकार्यकारी निर्देशक राख्नुपर्ने आवश्यकता देखाइएको थियो । यसैगरी, ३ जना निर्देशकको दरबन्दी पनि थपेर निर्देशकको दरबन्दी ७ पु¥याउनु पर्ने, यसैगरी, उपनिर्देशक र सहायक निर्देशकको पनि केही दरबन्दी थपिनुपर्ने आवश्यकता प्रतिवेदनमा उल्लेख थियो । ईडी नियुक्ति पहिला गर्नुपर्नेमा सर्भे रिपोर्टअनुसार दरबन्दी स्वीकृत गराउनतिर निलम्बित अध्यक्ष सिलवालको ध्यान गयो । अर्थात् उनले पहिलो दरबन्दी स्वीकृत गरेर मात्रै ईडी नियुक्ति गनतर्फ लागेपछि ईडीको पदपूर्ति लम्बिएको हो । दरबन्दी स्वीकृत भएपछि नयाँ सिर्जित उपकार्यकारीको सेवा सर्तको विषय कर्मचारी सेवा सर्त विनियमावलीमा उल्लेख गर्नुपर्ने हुन्छ । सो विनियमावलीमा लोकसेवा आयोगले पनि सुझाव तथा सहमति दिनुपर्ने हुन्छ । जसले गर्दा प्रक्रिया लम्बिने सम्भावना हुन्छ । प्राधिकरणको पदपूर्ति समितिका सदस्यहरुले पहिलो ईडीको पदपूर्ति गरेर थप दरबन्दीको काम अघि लैजानुपर्ने सुझाव सिलवाललाई धेरै पटक दिएका पनि थिए । सदस्यहरूको यस्तो प्रस्ताव सिलवालले सिधै अस्विकार गरेको एक सदस्यले विकासन्यूजसँग बताए । ‘थप दरबन्दीको काम गर्दै गरौंला, पहिला ईडी नियुक्त गर्ने प्रक्रिया अघि बढाऔं भनेर धेरै पटक अध्यक्षज्यूलाई भनेका थियौं । तर, उहाँले मान्नु भएन,’ ती सदस्यले भने । ती सदस्यका अनुसार अध्यक्ष सिलवालले नयाँ थपिएको दरबन्दीसहित नै ईडीको पदपूर्ति गर्ने लहडका कारण प्राधिकरण ७ महिनादेखि ईडीविहीन बनेको हो । नयाँ दरबन्दीसँगै नयाँ ट्वीष्ट जब सिलवाल नयाँ दरबन्दी पहिला स्वीकृत गर्नेतिर लागे, त्यसमा उनले निकै झमेला बेहोरे । सुरुमा अर्थ मन्त्रालयले नयाँ दरबन्दी स्वीकृत नै गर्न मानेन । अध्यक्ष सिलवालले त्यसका लागि मन्त्रालय धेरै पटक धाए । अर्थमन्त्री विष्णु पौडेललाई धेरै पटक भेटे । तर, अर्थमन्त्रीले उनको प्रस्ताव सुरुमा अस्विकार गरे । ओएण्डएम सर्भेमा निर्देशकको ७ दरबन्दी आवश्यकता देखिए पनि ६ निर्देशक राख्नेगरी र २ उपकार्यकारी थप्ने गरी मन्त्रालयबाट दरबन्दी स्वीकृत भयो । मन्त्री पौडेललाई कन्भिन्स गर्न सिलवाल सक्षम भए । दरबन्दी स्वीकृतसँगै अर्थमन्त्री पौडेलले तयसमा एउटा सर्त राखेको बुझिएको छ । मन्त्री पौडेलले ईडी बाहिरबाट ल्याउने गरी प्राधिकरणको कर्मचारी सेवा सर्त विनियमावली संसोधन गर्नुपर्ने सर्त सिलवालसँग राखेका थिए । त्यसमा सिलवाल पनि सहमत भएको स्रोतको दाबी छ । दरबन्दी स्वीकृत भएसँगै सिलवालले आफ्नो वाचामा इमान्दार नहुने संकेत अर्थमन्त्रीसँग देखाए । सिलवालले प्राधिकरणभित्रबाटै कार्यकारी निर्देशक बनाउनुपर्ने अडान कायम नै राखे । उपकार्यकारी निर्देशकको सेवा सर्तको लगायतको विषय विनिमावलीमा उल्लेख गरेर प्राधिकरणको सञ्चालक समितिले विनियमावली संसोधन ग¥यो । सुझावका लागि लोकसेवा आयोगमा पठायो । लोकसेवामा गत कार्तिक महिनामा नै सो विनियमावली पुगेको थियो । तर, सो विषय हालसम्म छलफलकै चरणमा रहेको छ । लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले विनियमावली छलफलकै चरणमा रहेको र अहिले सुझाव दिइने चरणमा पुगिनसकेको बताएकी छिन् । छलफल कहाँ पुग्यो र कहिले सकिन्छ भनेर ठ्याक्के अहिले भन्न नसकिने उनको भनाइ छ । तथापि लोकसेवा आयोग छलफलमा रहेको भनाइ छ । लोकसेवाबाट सहमति आएपछि मात्रै नयाँ दरबन्दीअनुसारको प्राधिकरणले आवेदन खुलाउँछ । त्यो सहमति कहिले आउँछ भन्नेमा अझै अनिश्चित नै देखिन्छ । प्रवक्ता हुमागाईंले पनि प्राधिकरणलाई सुझाव कहिले पठाउने भन्ने विषयमा यकिन नभएको धारणा राखिन् । अर्थमन्त्री पौडेल आफैंले नियुक्त गरेका भएपनि सिलवालसँग पछिल्लो समय उनको सम्बन्ध बिग्रिएको उनी निकटहरु बताउँछन् । तसर्थ लोकसेवाले कहिले सुझाव पठाउने र कहिले ईडी नियुक्तु गर्ने ? अनिश्चितता कायम नै छ ।
वार्षिकोत्सवमा प्रभु महालक्ष्मी लाइफले फेवा तालमा सहयोग गर्यो लाइफ ज्याकेट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । मंसिर २८ गते शुक्रबारका दिन फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रुपमा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले देशकै पर्यटकीय नगरी पोखराको मुटु एवं मुख्य आकर्षण फेवातालमा डुंङ्गामा सवार गर्दा लगाइने लाइफ ज्याकेटलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहयोग गरेकामा धन्यवाद व्यक्त गरे । ‘हामी सरकारले गर्नु पर्ने काम यस्ता संस्थाबाट सही ठाउँमा सहि निर्णय गरी गर्नु आफैमा सरहानिय कार्य भएको बताए । यस कार्यबाट अन्य संस्था तथा निकायले पनि सिक्न र अनुकरण गर्नु उपयुक्त हुन्छ,’ उनले भने । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको र यो पनि विगतको निरन्तरता भएको बताए । ‘लाइफ इन्स्योरेन्स भनेकै मानिसको जीवनको आर्थिक जोखिम बहन गर्नु हो, अनि लाइफ ज्याकेटको काम पनि मानिसको जीवनको रक्षा गर्नु नै हो । त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जीवनका यस्ता ढुक ढुक हुने पलहरुलाई ढुक्क बनाउन सधै तत्पर रहनेछ, उनले भने ।’ फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले भने, ‘फेवातालमा प्रयोग भइरहेका लाइफ ज्याकेटको अवस्था जिर्ण हुँदै गएको सन्दर्भमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हाम्रो एकै बचनलाई स्वीकार गरी यो लेवलको सहयोग गर्नु आफैंमा गर्वको विषय हो । फेवा तालमा डुंङ्गा सवारमा प्रयोग हुने लाइफ ज्याकेटले मानिसको जीवन रक्षामा ठूलो महत्व राख्ने र भविष्यमा हुनसक्ने कुनै पनि दुर्घटनालाई न्यूनिकरण गर्ने जिकिर गरे । यसलाई मध्यनजर गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गुणस्तरिय लाइफ ज्याकेट प्रदान गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गरे । उनले लाइफ ज्याकेट जस्तो मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा कम्पनीले आयोजना गरेको लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित हुन भई कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा धन्यवाद व्यक्त गरे । कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक सोन बहादुर मगर, वित्त विभाग प्रमुख लेखनाथ गौतम, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, अन्य कर्मचारी, अभिकर्ताको साथै सर्वसाधारणको उपस्थितिमा भएको कार्यक्रमको संचालन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पुष्कर भट्टराईले गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समाजसँग प्रत्यक्ष जोडिएर सामाजिक कार्यमा निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ ।
बीमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने दाहाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहककाे जिम्मेवारी पाएका हुन्। दाहाल प्राधिकरणको सञ्चालक समितिका सदस्य हुन् । मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका हुन् । उनी सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका छन् ।