आईएमई लाइफ इन्स्योरेन्सको सीईओ बने पवनकुमार खड्का

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्तिको स्वीकृतिका सम्बन्धमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरी कम्पनीका सञ्चालक समितिलाई आवश्यक कार्य गर्न जानकारी गराएको थियो । सीईओ खड्कासँग आईएमई लाइफ पूर्व नेपाल लाइफ, तत्कालीन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जरपश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्च व्यवस्थापकीय पदसहित सीईओ र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्य अनुभव रहेको छ । उनीसँग बीमा, जलविद्युत तथा सिमेन्ट क्षेत्रको कार्य अनुभव रहेको छ । उनीसँग एसीसीए संयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविध्यालयबाट स्नात्तकोत्तरको शैक्षिक योग्यता रहेको छ ।

लघु निर्जीवन बीमाको व्यापार २६ करोड बढी, कुनको कति ?

काठमाडाैं । चालु आर्थिक वर्ष (२०८१/०८२) को चार महिना (साउनदेखि कार्तिकसम्म) मा लघु निर्जीवन बीमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपालमा सञ्चालनमा रहेका ४ लघु निर्जीवन बीमा कम्पनीले उक्त रकम संकलन गरेका हुन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ९० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै पहिलो स्थानमा रहेको छ । यसैगरी, ५ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै ट्रस्ट माइक्रो इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ भने ६ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ट्रस्टलाई पछ्याइरहेको छ ।

निर्जीवन बीमाको व्यापार १४ अर्ब बढी, शीर्षस्थानमा सलिको, तेस्रो स्थानमा झर्‍यो शिखर

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गर्न ५ कम्पनी सफल भएका छन् भने अन्य कम्पनीहरूको व्यापार १ अर्बभन्दा कम रहेको छ । १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्नेहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । जसमध्ये सबैभन्दा धेरै सलिकोले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बीमशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा स्थानमा ओर्लिँदै शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ । विगतमा दिनहरूमा शिखर पहिलो स्थिानमा रहँदै आएको थियो । चालु आवको तेस्रो त्रैमासदेखि शिखर तेस्रो स्थानमा झरेको हो । यस्तैगरी, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ कारेड र आईजीआई इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख, दि ओरिन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख, यूनाईटेड अजोडले ८४ करोड १ लाख, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख, सानिमा जीआईसीले ७७ करोड ९३ लाख, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।