गार्डियन माइक्रोले मंसिर १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ । यस्तै, ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा पुस ३ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । इन्स्योरेन्स कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
सूर्यज्योतिबाट बाहिरिएका पवनकुमार भोलिदेखि आइएमई लाइफको सीईओ बन्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट बाहिरिएका पवनकुमार खड्का आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । सोमबार सूर्यज्योति लाइफबाट औपचारिक रूपमा बाहिरिएका खड्का मंसिर ११ गतेदेखि आईमएई लाइफको सीईओ बन्ने भएका हुन् । आइएमई लाइफको सीईओ बन्नकै लागि खड्काले सूर्यज्याेति लाइफबाट राजीनामा दिएका हुन् । सूर्यज्योति लाइफमा उनले नायब कार्यकारी प्रमुख (डीसीईओ) बाट पदबाट शुक्रबार राजीनामा दिएका थिए । सोही दिन सूर्यज्योतिको बोर्ड बैठकले आज सोमबारदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृति गरेको थियो । आजसम्म सूर्यज्योतिमा काम गरिरहेका उनको सो कम्पनीबाट आज बिदाइसमेत गरिएको छ । भोलिदेखि आइएमई लाइफमा आबद्ध भएर काम गर्ने खड्काले विकासन्यूजलाई बताए । उनले भने, ‘भोलिदेखि आइएमईमा आवद्ध हुन्छु, सीईओको कन्ट्याक्ट भोलि नै फाइनल हुन्छ ।’ तीन महिनादेखि आइएमई लाइफ व्यवस्थापकीय नेतृत्वविहीन छ । गत भदौ ९ गते कवि फुयाँलले सीईओ पदबाट राजीनामा दिएपछि कम्पनी नेतृत्वविहीन बनेको हो । त्यसपछि कम्पनीले सीईओका लागि विभिन्न जीवन बीमा कम्पनीका डीसीईओहरूसँग छलफल बढाएको थियो । बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका बमोजिम कम्पनीमा सीईओ पद रिक्त रहेको ३ महिनाभित्र पदपूर्ती गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम कम्पनीले खड्कालाई सीईओमा भित्र्याउने निर्णय गरेको हो । खड्काले तत्कालीन सूर्य लाइफको सीईओ भएर काम गरिसकेका छन् । साविक सूर्य लाइफ र साविक ज्योति लाइफ मर्जपछि उनी डीसीईओ भएर काम गरिरहेका थिए । बीमा क्षेत्रको १० वर्ष बढी अनुभव रहेका उनले नेपाल लाइफबाट बीमा क्षेत्रको करिअर सुरु गरेका हुन् । नेपाल लाइफमा नायब महाप्रबन्धक (डीजीएम)बाट काम सुरु गरेका खड्का चिफ म्यानेजरबाट बाहिरिएका थिए । त्यसपछि उनी विशाल सिमेन्ट कम्पनीको सीईओ बनेका थिए । उनी साविक सूर्य लाइफको सीईओ बनेर बीमा क्षेत्रमा फर्किएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका खड्का चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । उनीसँग बीमा, सिमेन्ट उद्योग, हाइड्रोपावर, अडिट क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।