सकसपूर्ण बीमा दाबी भुक्तानी, कम्पनीहरूले दुःख दिँदा नियामक धाउने बढे
काठमाडौं । बीमा दाबी भुक्तानी नपाएर नेपाल बीमा प्राधिकरणमा उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बीमा कम्पनीहरू जवाफदेही नहुँदा र आम जनताले बीमाका नियम तथा सर्तहरू नबुझ्दा प्राधिकरणमा उजुरीको चाङ लागेको हो । बीमा भनेको परम विश्वासको अवधारणमा चल्ने विषय हो । अर्थात बीमित र बीमकबीच परम विश्वास हुन्छ भन्ने अवधारणा हो । यो अवधारणा विश्वका देशहरूमा सायदै सत्य सावित होला । तर, नेपालको सन्दर्भमा भने बीमा परम अविश्वासको अवधारणा अन्तर्गत सञ्चालन भएको हो कि भन्ने जस्तो परिदृश्य बनिरहेको छ । भलै बीमा धोकाधडी भने विश्वका जुनै पनि देशमा नहुने होइन । तर, दाबी भुक्तानीको सन्दर्भमा भने विदेशी कम्पनीहरू जवाफदेही नै हुने बीमाका जानकारहरू बताउँछन् । नेपालका कम्पनीहरूले समयमा दाबी भुक्तानी नदिँदा बीमितहरू प्राधिकरणको शरणमा पुग्ने गरेको बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । ‘केही कम्पनीहरूले कुनै विषय देखाएर दाबी भुक्तानीमा झुलाउने, ढिला गर्ने र सकभर दिन नपरे हुन्थ्यो भन्ने सोचले गर्दा प्राधिकरणको शरणमा बीमितहरू पुगेका हुन्,’ उनी भन्छन् । उसो त उनले यसरी प्राधिकरणमा उजुरी बढ्नुमा बीमा कम्पनीहरूको मात्र दोष भने नरहेको बताउँछन् । उनका अनुसार बीमितहरूमा पनि बीमा गर्दाको बीमालेख र त्यसको सर्तहरू नबुझेर पनि दाबी भुक्तानी दिलाइदिन गुहार गर्दै प्राधिकरण पुग्छन् । यसैगरी केही बीमितहरूले फ्रड गरेर, केहीले बुझेर पनि प्राधिकरणमा जादाँ केही प्राप्त हुन्छ कि भन्ने सोचेर पनि उजुरी दिने गरेको विज्ञ शर्मा बताउँछन् । प्रचुर मात्रामा आम जनतालाई बीमासम्बन्धी शिक्षा दिएर, बीमा बारे सबैलाई सचेत गराएर र कम्पनीहरू पनि जवाफदेही भएर अघि बढ्दा यसरी उजुरी दिनेको संख्या घट्ने उनको भनाइ छ । कम्पनीले अत्यावश्यक कागजातका आधारमा केही भुक्तानी तत्कालै दिनुपर्ने उनको धारणा रहेको छ । बीमा क्षेत्रको नियामक प्राधिकरणले प्रभावकारी रुपमा नियमन तथा कमजोरी गर्ने कम्पनीलाई कारवाही नगर्दा पनि कम्पनीहरुको मनोमानी बढेको बीमाका जानकारहरु बताउँछन् । बीमकहरू भने बीमा कम्पनीहरूको कुनै कैफियत नरहेको दाबी गर्छन् । बीमा कम्पनीहरूको छाता संस्था नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री दाबी भुक्तानीको शन्दर्भमा बीमा कम्पनीहरूमा कुनै समस्या नभएको दाबी गर्छन् । सगरमाथा लुम्बिनी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका क्षेत्रीले बीमितहरूले बीमाको नियम तथा सर्तहरू नबुझेर प्राधिकरण धाउने गरेको बताए । उनले बीमा फ्रडका कारण पनि प्राधिकरणमा उजुरी बढेको हुन सक्ने अनुमान प्रस्तुत गरे । प्राधिकरणमा उजुरीको चाङ अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आव २०८०/०८१ मा उजुरीको संख्या ५७.४१ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आवमा १५५ वटा उजुरी परेका थिए भने गत आवमा २४४ वटा उजुरी परेका छन् । आव २०७५/०७६ मा १०० वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा उजुरीको संख्या २६ प्रतिशतले बढेर १२६ वटा उजुरी परेको थियो । त्यसैगरी ०७७/०७८ मा १३७, ०७८/०९७ र ०७९/०८० मा समान १५५ वटाका दरले उजुरी परेको थियो । आव २०७५/०७६ मा ८५ वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा ९१, आव ०७७/०७८ मा ९३, आव ०७८/०९७ मा १५२, आव ०७९/०८० मा समान १४९ र आव २०८०/०८१ मा १५० वटा उजुरी फर्छ्यौट गरेको छ । अझै १८७ वटा उजुरी फच्छ्र्यौट गर्न बाँकी रहेको प्राधिकणले जनाएको छ । फर्छ्यौट नभएका उजुरीहरू क्रमशः आउँदा वर्षहरूमा सर्दै जान्छ । र, फैसला पनि आउँदा वर्षहरुमा नै हुने गर्दछ । कर्मचारी अभावका कारण प्राधिकरणले समयमा उजुरीहरूलाई फर्छ्यौट गर्न नसकेको बताएको छ । प्राधिकरणको उजुरी शाखामा अहिले एक उप-निर्देशक र २ जना सहायक निर्देशक गरी जम्मा ३ जनाको दरबन्दी छ । प्राधिकरणमा विगत ५ वर्षदेखिका केही उजुरीहरु फर्छ्यौट हुन बाँकी नै छ । प्राधिकरणले मानिसहरुमा जनचेतनाको कमीका कारण उजुरीको संख्या बढ्ने गरेको बताएको छ । प्राधिकरणकी सहायक गुनासो अधिकारी रन्जिता केसीले बीमितहरुले बीमाको सर्तहरु नबुझी पोलिसि खरिद गर्ने लहडले उजुरी बढ्को बताइन् । ‘बीमा गर्दा सर्तहरु हुन्छन् । मानिसहरु बीमा गरेपछि पैसा पाइन्छ भन्ने बुझ्छन् । त्यसको सर्तहरुलाई ध्यान दिँइदैनन् । यसकारणले पनि उजुरी बढ्ने गरेको छ,’ उनले भनिन् । प्राधिकरणले अहिले प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । उक्त कार्यलय विस्तारसँगै जनतालाई कम्पनीविरुद्ध असन्तुष्टि भएमा उजुरी दिन सकिन्छ भरेर प्राधिकरणले सुसूचित गराएको उनले उल्लेख गरिन् । यसरी जनताहरू थप सचेत भएर पनि उजुरीको संख्या बढेको उनको भनाइ छ ।
नेपाल पुनर्बीमाको अध्यक्ष पद रिक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको पद रिक्त भएको छ । अर्थ मन्त्रालयका सहसचिव इश्वरीप्रसाद अर्यालले उमेर हदका कारण सेवाबाट अवकाश पाएसँगै नेपाल पुनर्बीमाको अध्यक्ष पद स्वत: रिक्त भएको हो । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको तर्फबाट ३ जना सञ्चालक रहने व्यवस्था छ । जहाँ अध्यक्षका रूपमा तत्कालीन सहसचिव अर्याल थिए । २०७९ मसिंर १९ गतेबाट कम्पनीको अध्यक्ष रहेका अर्याले २०८१ साउन १८ गते अवकाश पाएसँगै अध्यक्ष पदबाट पनि स्वतः बाहिरिएका हुन् ।
नेशनल लाइफको ४% र सूर्योदय वोमी लघुवित्तको १४% बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शसयरमूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । यी दुवै कम्पनस्ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेशनल लाइफको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात नेशनल लाइफको सेयर मूल्य ७०५.७७ रुपैयाँ र सूर्योदय वोमीको सेयरमूल्य १ हजार १३.११ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको सेयर प्रतिकित्ता ७३४ रुपैयाँ र सूर्योदय वोमी लघुवित्त १ हजार ११५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आज बिहीबार सोही समायोजित मूल्यका आधारमा सेयर कारोबार खुल्नेछ ।