‘विकास नायक २०८२’ को खोजी

विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ ।   हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं ।  जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो ।  तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं ।  विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला  

बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणाली पूर्ण रूपमा स्वचालनमा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस प्रणालीले बीमकहरूको लगानी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित बनाउनेछ भने नियमन तथा निरीक्षण कार्यलाई अझ दक्ष र पारदर्शी बनाउन सहयोग पुर्‍याउनेछ । एपीआई एकीकरण अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीसम्बन्धी एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ । प्रणालीमार्फत प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक अनुरोधहरू स्वतः प्रमाणीकरण हुनेछन् । सही विवरण भएको अनुरोध मात्र स्वीकृत हुने र त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत स्वचालित रूपमा बीमकलाई फिर्ता पठाउनेछ । यस एकीकरणका लागि नबिल बैंकले विशेष ‘मिडलवेयर’ प्रणाली विकास गरेको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणहरूलाई बैंकको कोर बैंकिङ प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्ने सुविधा प्रदान गर्छ । यो सहकार्य नेपाल बीमा प्राधिकरणको डिजिटल रूपान्तरण र प्रविधिमैत्री नियमनतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा रहेको बताइएको छ । यसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन, उपनिर्देशक रविन्द्र श्रेष्ठ, तथा नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाललगायतको उपस्थिति रहेको थियो ।

सिटिजन लाइफको अवार्ड वितरण र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशका विभिन्न क्षेत्रमा आयोजना गरेको ‘अवार्ड वितरण तथा सीप अभिवृद्धि समारोह’ सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र सहकार्य प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । प्रत्येक कार्यक्रममा २५० देखि ३६० जना सहभागी भएका थिए । कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का ‘ब्रोनज क्लब क्वालिफायर’ हरूलाई सम्मान गरिएको थियो ।  साथै विभिन्न दिनहरूमा उत्कृष्ट प्रदर्शन गर्ने ‘हिरो अफ द डे’ उपाधि प्राप्त लिडरहरूलाई पुरस्कार प्रदान गरिएको थियो । तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेका थिए । उनीहरूको प्रेरणादायी सत्रले सहभागीहरूमा नयाँ उत्साह र जोश भरिएको कम्पनीको भनाइ छ । कार्यक्रमपछि आयोजित मनोरञ्जनात्मक सत्रमा लोकप्रिय लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा आफ्ना गीत प्रस्तुत गरी माहोल झनै रोचक बनाएका थिए । सहभागीहरूले यसबाट नयाँ ऊर्जा र प्रेरणा प्राप्त गरेको बताएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना लिडरहरूमा सकारात्मक सोच र पेशागत क्षमता फैलाउने संस्कृतिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।  कम्पनीका अनुसार कडा मेहनत गर्ने लिडरहरूको सम्मान र पुरस्कार प्रदान गर्नु यसको नीति र मूल्यको महत्त्वपूर्ण अङ्ग हो । निकट भविष्यमा पश्चिम तथा हेटौंडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।